
काठमाडौं । कथासाहित्यको पुनर्जागरणका निम्ति क्रियाशील मासिक कथावाचन अभियानको २०औँ शृंखला सम्पन्न भएको छ ।
कार्यक्रममा अभियानका परिकल्पनाकार चन्द्रप्रसाद भट्टराईले उद्देश्यबारे प्रकाश पारे । कथा विधाप्रति आमपाठकको रुचि जगाउन र यसको कालखण्डगत विकासबारे चिन्तन, छलफल, अनुसन्धानजस्ता काम होस् भन्ने विषयमा उनले चर्चा गरे ।
कार्यक्रमको प्रारम्भमा सदाझैँ दिवंगत कथाकारको कथावाचन गरियो । त्यसक्रममा कथाकार केशवराज पिँडालीको कथा ‘परदेशी’ वाचन गरिएको थियो ।
त्यसपछि ६ कथाकारले ०३० देखि ०७० को दशकसम्म प्रकाशित आफ्ना कथावाचन गरे ।
कार्यक्रममा कथाकार शैलेन्द्र साकार, अमरकुमार प्रधान, मधुसूदनप्रसाद घिमिरे, सविता श्रेष्ठ ‘बेहोसी’, योगेन्द्र तिमिल्सिना र पवित्रा अधिकारीले आआफ्ना कथावाचन गरे ।
अर्का परिकल्पनाकार अग्रज साहित्यकार पुष्कर लोहनीले यो अभियानले कथासाहित्यमा रुचि हुने लेखक, पाठक, पत्रकार र समालोचकको ध्यानाकर्षण हुँदै गएको र सहभागिता बढ्दै गएकामा खुसी व्यक्त गरे ।