काठमाडौं । थापागाउँस्थित कुञ्ज थिएटर हाल गुरुकुलको नाटकघरभित्र आइतबार बिलकुलै फरक भाषाको नाटक प्रस्तुत भइरहेको थियो । उक्त भाषा तपाईं हामीमध्ये प्रायःले त्यही नाटकघरभित्र पहिलोपटक सुन्ने मौका मिल्यो होला ।
नाटकघभित्र लाप्चा भाषाको ‘स्वर्ग जानो बाटो’ नाटक मञ्चन भैरहेको थियो । उक्त नाटक इलामको सूर्योदयको फिक्कलको लाप्चा उत्थान मञ्चका रंगकर्मीहरूबाट प्रस्तुत भइरहेको थियो ।
नाटक हेर्न दर्शकदीर्घामा बसेका कसैले पनि भाषा बुझेनन् तर नाटक सकिएसँगै तालीको गुन्जायमान अनि नाटक घरबाहिर आउँदा कलाकारहरूलाई उपस्थित दर्शकहरूले खुसी हुँदै गरेको तारिफबाट कलाकारहरूको अभिनय अनि लाप्चा समुदायको पहिचान गर्न गाह्रो भएन ।
नेपालभरि जम्माजम्मी करिब ६ हजार मात्रै जनसंख्या रहेको लोपोन्मुख लाप्चा समुदायको पहिचान देखाउन निर्देशक सोङकित लाप्चाले आफ्नो समुदायको चिनारीसँग जोडिएको पौराणिक कथालाई नाट्य रूपान्तरणका लागि छानेकी हुन् ।
नाटकका मुख्य पात्रले सपनामा स्वर्ग गएको कथा सुनाएपछि सम्पूर्ण गाउँलेहरू मिलेर माटोको घैला एकमाथि अर्को गर्दै खोप्ट्याउँदै स्वर्ग जाने बाटो बनाउँछन् । तर, स्वर्ग जाने बाटो बनाउने नेतृत्व लिएका व्यक्ति र गाउँलेहरूबीचको सञ्चारमा तालमेल नभएपछि माटोको घैलाको बाटो भत्किन्छ र बाटो बनाउन पुगेका गाउँलेहरू घाइते हुन्छन् ।
“लाप्चा जातिको इतिहाससँग जोडिएको पौराणिक कथालाई नाट्य रूपान्तरण गर्दै त्यसभित्र लाप्चा जातिको रीतिरिवाज, भाषा, संस्कृति, जीवन दर्शन समावेश गरी यस समुदायको जानकारीसहित नाटक प्रदर्शन गर्ने जमर्को गरेका छौँ,” निर्देशक सोङकित लाप्चा बताउँछिन् ।
लाप्चा समुदायले हरेक वर्षको पुस महिनामा एक हप्ता पर्व मनाउँछन्, जहाँ उनीहरूले कञ्चनजंगा हिमाल, प्रकृति र कुलदेवताको पूजा गर्ने गर्छन् । साताव्यापी पर्व सकिएपछि उनीहरू सबैजना भेला भएर देउसी–भैलो खेल्ने चलन पनि छ । यस पर्वलाई पनि नाटकमा प्रस्तुत गरिएको छ । कलाकारहरूमा सोङकित लाप्चा, ज्ञान बहादुर लाप्चा, खेम बहादुर लाप्चा, ओङछिरिङ लाप्चा, मिनामित लाप्चा, पेमकित लाप्चा, छिकित लाप्चा, राजेन्द्र कट्टेल, सृष्टि राई र संजोक घिमिरे छन् ।
निर्देशक सोङकित लाप्चाका अनुसार लाप्चा जातिहरू इलामको तीन ठाँउमा मात्रै छन् ।
‘स्वर्ग जानो बाटो’ सँगै नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित बहुभाषिक नाट्य उत्सव २०७९’ सुरुवात भएको हो । उत्सवको उद्घाटन नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा संस्कृतिविद् डा.जगमान गुरुङ, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव श्यामप्रकाश तमोट, प्राध्यापक अभि सुवेदीले उत्सवको संयुक्त उद्घाटन
गरे ।
उत्सवको समुद्घाटन गर्दै डा. जगमान गुरुङले नेपालमा थुप्रै गहन विषयमा नाटक लेखन भए पनि लक्ष्मीप्रसाद देवकोटाको ‘मुना मदन’ बाट ग्रामीण समुदायका व्यक्तिहरूले पनि बुझ्न सक्ने नाट्य पुस्तकको सुरुवात भएको भन्दै यस नाट्य उत्सवले लोपोन्मुख अनि दबिएर रहेका बहुभाषिक नाटकहरूले मञ्च पाउने बताए । यस्तै, नाटक हेरेपश्चात् डा. अभि सुवेदीले लाप्चा समुदायका रंगकर्मीहरूको अभिनय र नेचुरपनको तारिफ गर्दै काठमाडौंमा रहेका नाट्यघर र रंगकर्मीहरूले पनि सिक्नुपर्ने बताए ।
दुई वर्षअघि नै आयोजना गर्ने अन्तिम तयारीमा रहेको तर कोरोना महामारीका कारण बल्ल आयोजना गर्न सकेको रंगकर्मी तथा प्रमुख नाट्य विभागकी प्राज्ञपरिषद् सदस्य तथा उत्सव संयोजक निशा शर्माले बताइन् । आइतबारबाट सुरु भएको यो उत्सव सप्ताहव्यापी रूपमा आयोजना हुनेछ ।
दोस्रो दिन आज रौतहटको पुरानो घर नाट्य समूहको थारू भाषाको ‘कनन हरलता’ मञ्चन हुँदैछ । तेस्रो दिन अर्थात् असार १४ गते ओखलढुङ्गाको वाम्बुले राई समाजको वाम्बुले राई भाषाको ‘सेमुना’ चौथो दिन आरोहण गुरुकुलले तयार पारेको चाम्लिङ÷नेपाली भाषाको ‘सेमुना’, पाँचौँ दिन ललितपुरको सुम्निमा थिएटर ऐकेडेमीको पुमा भाषाको ‘होङ्छा’, छैटौँ दिन इलामकै चुलाचुली संगमञ्चले तयार पारेको लिम्बू भाषाको सुविउ चरी र अन्तिम दिन जुम्लाको कर्णाली खस संस्कृति मञ्चले तयार पारेको खस भाषाको ‘कुटिरो’ मञ्चन हुने छ । नाटक हरेक साँझ बेलुका ५ः३० बजे मञ्चन हुँदै छ ।