नेपाली कांग्रेसलगायतका पाँच दलले स्थानीय तहको निर्वाचनमा गरेको गठबन्धनले केही बढी स्थानमा चुनाव जित्न सके पनि जनताको मन जित्न सकेको देखिएन । अझ केही स्थानमा त मतदातालाई गठबन्धन पटक्कै मन नपरेको उदाहरणसमेत देखियो ।
त्यसो त जनता केही समय यता ठूला भनिएका दलका कथित ‘शीर्ष नेता’का कुरा र कामबाट वाक्क भएको सङ्केत पनि देखिएकै हो । तै पनि कुनै दलका नेताले भुइँमा टेक्न खोजेनन् । जनताका आँखाबाट आफूलाई हेर्न चाहेनन् ।
जनताले व्यक्त गरेको वितृष्णा
मतदानमा खासै उत्साह नदेखाएर जनताले राजनीतिक संस्थापनप्रति वितृष्णा देखाएका थिए । मतपरिणाममा पनि झल्क्यो भने आश्चर्य मान्नु पर्दैन । नेपाली कांग्रेसका कार्यकर्ताहरू बागी भएका केही ठाउँको प्रारम्भिक मतगणनामा देखिएको प्रवृत्ति नेतृत्वले गरेको घातप्रति जनताले प्रकट गरेको आपत्ति नै हो ।
पहिले नै बिग्रेको राजनीतिक संस्कार गठबन्धनलेझन् विकृत बनाएको देखियो । सिद्धान्त गौण बनाइएपछि प्रलोभन र भय मत आकर्षण गर्ने साधन बने । नेकपा (एमाले) का अध्यक्ष खड्गप्रसाद ओलीलाई गठबन्धनका नेताले खलपात्र बनाउन खोजे पनि जनताले पत्याएनन् । त्यसरी नै ओलीका आरोप र कटाक्षलाई पनि जनसाधारणले खासै रुचाएनन् ।
बाध्यता, पुरानो लगाव र लोकतान्त्रिक अभ्यासप्रतिको मोह तथा उपयुक्त विकल्प नभएका कारण बहुसङ्ख्यक मतदाताले पुरानै दलका उमेदवारलाई मत दिएका हुन् ।यसैले स्थानीय निर्वाचनमा पाएको मतलाई दल विशेषको जनाधार ठान्नु सही हुँदैन । दुर्भाग्य, दलका नेता र तिनका भारदारहरूले अर्को चुनावका लागि यही मतलाई आधार मान्नेछन् ।
उत्ताउलो चर्तिकला
निर्वाचनमा सक्ने जति सबैले आचारसंहिता मिचे भन्नु अत्युक्ति हुँदैन । सत्ता पक्षले त झन् उत्ताउलो चर्तिकला देखायो । ‘निउरोलाई बन्चरो’ भनेजसरी केही उमेदवारविरुद्ध भद्दा शक्ति प्रदर्शन गरियो । चितवन, दमौली वा डँडेलधुरालगायत केही ठाउँलाई नेता विशेषले ‘प्रतिष्ठाको प्रश्न’ बनाए । राज्यको सबै शक्ति लगाएर धम्क्याउनेदेखि उमेदवारमाथि सांघातिक हमलासम्म भयो ।
निर्वाचन आयोगको क्षमतामा प्रश्न
मतदान केन्द्रमा आफ्नो प्रतिनिधि खोजेको कारण तनहुँको दमौली नगरपालिकाको प्रमुखकाे पदमा स्वतन्त्र उमेदवार दीपकराज जोशीमाथि गरिएको सांघातिक प्रहारले सत्तासीनहरूको सर्वसत्तावादी मानसिकता र तिनीहरू कुन हदसम्म गिर्न सक्छन् भन्ने पोल खोलेको छ । नेपाली कांग्रेसकै नेता तथा पूर्वमन्त्री गोविन्दराज जोशीका छोरा दीपकमाथि त यसरी सांघातिक आक्रमण हुन्छ भने सर्वसाधारणले विद्रोहको आवाज निकाल्ने आँट कसरी गर्लान् ? तैपनि, निर्वाचन आयोगका पदाधिकारी बोलेका छैनन् । यसले तिनको नियत र क्षमता दुवैमा प्रश्न उठेको छ ।
पत्याउन नसकिने प्रचारवाजी
दीकपराज जोशीले मतपत्र च्यातेको प्रचार गराइएको छ । दीपकमाथि आक्रमण भएको ठाउँ कांग्रेसकै नेता रामचन्द्र पौडेलको गाउँ हो । दीपकले मतपत्र च्यातेकै भए पनि उनीमाथि नियमानुसार कारबाही गर्नुपर्थ्यो । कानुनले दिएमा उमेदवारी खारेज गरेको भए पनि हुन्थ्यो । तर, दीपकमाथि सांघातिक प्रहार गरियो ।
सुरक्षाकर्मीको चुक
दीपकले केही नहुँदो गरेकै भए पनि उनलाई रोक्न त त्यहाँ तैनाथ सुरक्षाकर्मीले सजिलै सक्थे होलान् । लठ्ठीले हान्नै पर्ने भए पनि खुट्टामा हान्न सक्थे । मुचुल्कामा लेखिएको अदालतले मान्न पनि सक्ला तर सार्वजनिक भएको घटनाको विवरण सुन्दा दीपकमाथि सांघातिक आक्रमण गर्ने सुरक्षाकर्मी नभएर कुनै खटाइएको बाहुबली नै हुनुपर्छ भन्ने अनुमान सहजै गर्न सकिन्छ ।
उदयपुरमा प्रहरीको गोली लागेर एक युवाको ज्यान गयो । प्रहरीलाई शान्ति सुरक्षा कायम राख्न बन्दुक दिएको हो । यसको अर्थ जथाभावी गोली हान्ने ‘लाइसेन्स’ पाएको त पक्कै होइन होला । प्रहरीले गोली हान्दा संयम अपनाएको भए उदयपुरका ती युवाको ज्यान जाने थिएन ।
निष्पक्ष छानबिन जरुरी
गठबन्धन दलका वा एमालेका नेता कार्यकर्ताका बीचमा भएका झडपमा पनि केही घाइते भए । गोली धेरै ठाउँमा चलाइयो । तर, तनहुँ र उदयपुरको घटनाको राष्ट्रिय मानव अधिकार आयोगले पनि जाँच गर्नु पर्ने देखिन्छ । सत्ताधारीको सहमै यी घटना भएका होइनन् भने सरकारले पनि यिनको निष्पक्ष न्यायिक छानबिन गराओस् । ‘स्यमन्तक मणि’ चोरीको आरोप लागेपछि कृष्ण आफैँले मणि खोजेर सत्राजितलाई सुम्पेको कथाबाट सरकारले सिकोस् ।
यसरी बल प्रयोग गरेको मात्र होइन केही दलका नेता कार्यकर्ता पैसा बाँड्दै गर्दा दसीसहित समातिएको समाचार सार्वजनिक भएको छ । चितवनमा त माओवादी र कांग्रेसका कार्यकर्ता सँगै समातिएका थिए क्या रे ।
मतका ठेकेदार
राजनीतिक दलका नेताहरूको मानसिकता अझै पनि पञ्चायतकालकै जस्तो छ । अहिले कसैको मतको ठेक्का अरूले लिन सक्तैन । पञ्चायतकालमा गाउँका ठालुहरूलाई पैसा दिएर मत खरिद गर्ने चलन थियो । अहिले पनि यिनीहरूमा जनताको मत ठेकेदारमार्फत् किनबेच गर्न सकिन्छ भन्ने विश्वास देखिन्छ ।
चुनावमा मत आएन भने आफ्नो कमजोरी केलाउनुको साटो जनता कसैको इसारामा बहकिएको भाष्य स्थापित गराउन दोज्छन् । माओवादी नेता कृष्णबहादुर महराले घोराहीको एउटा कार्यक्रममा ‘चुनावको रिमोट कन्ट्रोल अन्तै कतै जान लागेको छ ’ भनेछन् । उनको यो भनाइले अहिलेका धेरै नेतालाई मनपर्ने ‘ठालुतन्त्र’कै सोचको प्रतिनिधित्व गर्छ ।
भुइँफुट्टा भाष्य निर्माण
अहिले सबै दलको शीर्ष नेतृत्व तहमा जनताकाे निर्णयलाई पचाउन र पत्याउन नसक्नेहरू नै छन् । खबका केही दिनमै यस्ता भुइँफुट्टा विश्लेषण र भाष्य अरू धेरै सुनिनेछ । यिनीहरू वा यिनले नेतृत्व गर्ने दलहरूलाई विस्थापित नगर्दासम्म नेपालको राजनीति सुध्रिनेछैन । यसको तात्पर्य दल नभए राजनीति सुध्रिन्छ भन्ने भने होइन । बरु अहिलेका दलहरूको विनिर्माण वा नयाँ दलको प्रदुर्भाव अनिवार्य छ भन्ने हो । अनिमात्र नेपालको राजनीतिमा राजनीति शक्तिका लागि हो र सत्तामा पुग्न अनि टिक्न जे गरे पनि हुन्छ भन्ने अपसंस्कारको अन्त्य हुनेछ ।