तनहुँको एउटा गाउँमा सामान्य किसान परिवारका रामचन्द्र पौडेलका लागि गणतन्त्र नेपालको राष्ट्रपति पदमा निर्वाचित हुनभन्दा पनि कठिन र चुनौतीपूर्ण देखिएको छ पदको गरिमा स्थापित गर्न । पूर्वराष्ट्रपतिहरूले मानक खडा गरेका भए यस्तो कठिनाइ हुने थिएन । उनीहरूभन्दा अलग बनून् भन्ने जनचाहना पूरा गर्न उति कठिन नभए पनि बाटो र मानक आफैँले तय गर्न सजिलो हुँदैन ।
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको पहिलो कार्यक्रमबाटै ‘परिवर्तन’को आभास हुने जनअपेक्षा थियो । उनले सार्वजनिकरूपमै भनेका पनि थिए । विडम्वना, उही तामझाम दोहोरियो । जनताले उस्तै सास्ती पाएको गुनासो गरे ।
‘गृह मन्त्रालयले स्वीकृत गरेको कार्यविधि ‘ लाई सबैले दोष दिने गरेका छन् । कार्यविधि संशोधन गर्न सरकारलाई खासै कठिन त नहुनुपर्ने हो ।
यद्यपि, सुरक्षा निकायका हाकिमहरू संशोधनका लागि सजिलै तयार हुँदैनन् । पहिलो त राष्ट्रपतिको तामझाम घटाएपछि आफ्नो पनि घट्ने डर उनीहरूलाई हुन्छ ।
दोस्रो, कदाचित कुनै अप्रिय घटना भए न सरकारी अधिकारीहरू न जनसाधारण र सञ्चारकर्मीहरूनै यथार्थ बुझ्नतिर लाग्छन् । स्थलगत सुरक्षामा तैनाथ सुरक्षाकर्मीलाई सजिलै दोषी ठहर गरिन्छ । यसैले जनतालाई सास्ती भए होस् वा विशिष्ठ व्यक्ति र व्यवस्थाकै बदनामी भए पनि होस् आफूलाई अप्ठेरो नपरोस् भन्ने चाहन्छन् ।
शक्ति राजनीतिबाट परहेज
सामान्यतः राजनीति गर्नेहरू आआफ्नो हैसियतअनुसार शासकीय शक्तिको प्रयोग गर्न पनि चाहन्छन् । राज्यका पदहरूको भागबन्डा यसको एउटा विधि हो । पार्टीको नेता हुँदा शक्तिको भागबन्डा (पावर सेयरिङ) खोज्नु र पाउनु एउटा सामान्य अभ्यास पनि हुन्थ्यो होला तर संवैधानिक राष्ट्रपति आफ्नो मर्यादामा बस्ने हो भने सरकार वा अन्य निकायमा भागबन्डा खोज्नु उचित हुँदैन ।
आश्रित कार्यकर्ताको मोह त्याग
राष्ट्रपतिका रूपमा रामचन्द्र पौडेललाई सबैभन्दा कठिन सम्भवतः आफ्ना निकट कार्यकर्ताको मोह त्याग गर्नु हुनेछ । लामो समयसम्म सँगै काम गरेका, आफूलाई सधैँ सहयोग गरेका र लगभग आफूमा आश्रित कार्यकर्ताको व्यवस्थापन होस् भन्ने चाहना हुनु पनि अस्वाभाविक होइन । शक्तिको भागबन्डामा नलाग्नेबित्तिकै यस्ता कार्यकर्ताको व्यवस्थापन पनि हुन सक्तैन । सत्तासँग शक्तिको भागबन्डा खोज्नेबित्तिकै सम्झौता पनि गर्नुपर्ने हुन्छ ।
तत्काल कसी तनहुँ -१ को निर्वाचन
राष्ट्रपति निर्वाचनपछि रिक्त तनहुँ -१ को प्रतिनिधि सभा सदस्यमा उमेदवारी तय गर्दा उनको भूमिका के हुन्छ भन्नेले पनि धेरै हदसम्म राष्ट्रपतिका रूपमा पौडेलले गर्ने अभ्यासको छनक दिनेछ ।
उनले आफू निकट कार्यकर्तालाई उमेदवार बनाउन दबाब दिएर पार्टी राजनीतिमा संलग्नता देखाँउछन् कि तटस्थ रहन्छन् ? चुनावमा प्रभाव पार्न कति सक्रिय हुन्छन् त्यसले पनि उनको भावी शैलीको झलक देखाउनेछ ।
रामचन्द्र पौडेलसँग व्यक्तिका रूपमा सफल राष्ट्रपति बन्न आवश्यक केही सकारात्मक पक्ष पनि छन् ।उनले अहिलेसम्म अपनाएको जीवन शैली सरल छ । ‘विलासको लालस’ देखाएका छैनन् । सन्तानको पनि चिन्ता गर्नुपर्ने अवस्था छैन ।
डा. रामवरण यादव र विद्यादेवी भण्डारीजस्तो पार्टी वा मुलुककै पनि राजनीतिक वरीयतामा तल पनि छैनन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत सक्रिय राजनीतिमा रहेका सबैलाई औँला ठड्याउने हैसियत राख्छन् । ब्रह्मले देखेको बोल्न हिचकिचाउँदैनन् । (यद्यपि, उनको प्याच्च भनिहाल्ने बानीले अप्ठेरो पनि पार्न सक्छ अब !)
जनताका अपेक्षा
नवनिर्वाचित राष्ट्रपति पौडेलसँग नेपाली जनताको अपेक्षा धेरै छैनन् । शीतलनिवास पार्टीको शाखा कार्यालय नबने हुन्थ्यो ।
सुरक्षाकर्मीले राष्ट्रपतिका नाममा दिने सास्ती र हैकम कम होस् । उनी कतै जाँदा छोरीबुहारी कसैको जुत्ता सुरक्षाकर्मीले नबोकुन् । सांस्कृतिक परम्पराको पालना त गरुन् तर शाह राजाले गर्ने सबै पूजापाठको नक्कल नगरून् । धर्म निरपेक्ष देशको राष्ट्रपति भएको हेक्का राखून् !
राष्ट्रपतिको सचिवालयमा नेपालकै जनसङ्ख्याको प्रतिविम्ब झल्के उत्तम हुन्थ्यो । पार्टीका वा आफ्ना निकट कार्यकर्ता व्यवस्थापनका लागि पद सिर्जना गर्ने र व्यक्तिको दक्षता एवं आवश्यकताभन्दा बढी निकटता नै योग्यता ठान्ने प्रवृत्ति कम देखिए हुन्थ्यो ।
‘योग्यहरू इमानदार हुँदैनन् र इमानदारहरू योग्य छैनन्’ भन्ने नठानीकन योग्य र इमानदार सहयोगी खोजुन् । योग्य नपाए इमानदार रोजुन् । सकेसम्म विवादमा नपरून् ।
राष्ट्रपतिका आधिकारिक सल्लाहकार प्रधानमन्त्री नै हुन् । न्यायिक सल्लाह आवश्यक भए संस्थागतरूपमा सर्वोच्च अदालतसँग लिए हुन्छ । यसैले शीतलनिवासमा सल्लाहकार र विज्ञका नाममा चाकरीदारको भिड जम्मा नगर्नु बेस हुन्छ । कारण, राष्ट्रपतिको विवेकमा नियुक्त हुने हुनाले तिनको कामकारबाहीप्रति पनि राष्ट्रपति नै उत्तरदायी जो हुनुपर्छ ।
राष्ट्रपतिले न सबै काममा आफैँ खटिएर सम्भव हुन्छ न कर्मचारीको धेरै भर पर्न नै हुन्छ । कम्तीमा महत्त्वपूर्ण विज्ञप्तिहरू आफैँले पनि हेरुन् । राष्ट्रपति भवनबाट जारी हुने विज्ञप्तिलगायतका अभिलेखका भाषा शुद्ध र स्पष्ट हुने अपेक्षा पूरा गर्न सुरुका दिनमा पौडेलले थप दुःख पनि गर्नुपर्ने हुनसक्छ ।
रामचन्द्र पौडेललाई राष्ट्रपति बनाएको जस लिन तम्सनेहरू त धेरै नै होलान् तर शेरबहादुर देउवा र पुष्पकमल दाहालको गुन भने पक्कै उनले पनि बिर्सनेछैनन् ।
तर, तिनको गुन तिर्न असंवैधानिक बाटो हिँडे भने उनी ‘विद्यादेवी-२.०’ हुनेछन् जनताका नजरमा । गुनको होइन नुनको सोझो गरून् । विशेगरी माओवादी हिंसाका सन्दर्भमा उठेका प्रश्नहरूमा दण्डहीनतालाई प्रश्रय नदिऊन् ।
उक्साउनेहरूको लहैलहैमा नलागून् । आलोचनाप्रति असहिष्णु र ईर्ष्या नराखी तिनका कुरा सुनून् । सामाजिक सञ्जालमा उनको धेरै प्रशंसा गरिएको र अपेक्षा राखिएको देखिन्छ । तर, उनले अस्वाभाविक अपेक्षा कम गराऊन् र प्रचार मोह त्यागून् ।
र अन्त्यमा,
सम्भवतः नवनिर्वाचित राष्ट्रपति पौडेलका लागि उनको कद नै अहिले चुनौती र अवसर दुवै हो । उनले साँच्चै नै चाहे भने त्यस सर्वोच्च पदको गरिमा उच्च बनाउन सक्छन् ।
विगतका राष्ट्रपतिहरूको बिग्रेको छवि पनि पौडेलका लागि अवसर हो । तर, त्यसभन्दा बढी रामचन्द्र पौडेलको छवि नै उनको सबैभन्दा ठूलो शक्ति हो ।
यस्तै, पौडेलको अहिलेको राजनीतिक कदले उनीप्रति बढी अपेक्षा जन्माएको छ । आफ्नै कदको बोझ र पदको ओजले उनलाई नथिचोस् ।
राष्ट्रपतिका रूपमा पौडेलले मानक कायम गर्ने सफलता पाऊन् । शुभकामना !