site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
सम्झना र बिर्सनामा सन् २०२४

नेपालका लागि सन् २०२४ खासै उपलव्धिमूलक देखिएन । यो वर्ष पनि नेपालमा बाडी–पहिरो, दुर्घटना र भूकम्पका धक्का र झड्का जस्ता प्राकृतिक विपत्तिबाट अर्बौको धनजनका तथा सम्पत्तिको क्षति बेहोर्नुपरेको अवस्था छ । 
समानुपातिक निर्वाचन पद्धतिका कारण नेपालको राजनीतिलाई अस्थिरता, अन्यौल तथा भ्रष्टाचारतिर धकेल्दै लगेको छ । यो निर्वाचन पद्धति हुँदा कुनै पनि दलले बहुमत प्राप्त गर्न सक्ने अवस्था रहन्न । गठबन्धनको मिलिजुली सरकारबाट कुनै पनि देशमा स्थिरता, आर्थिक तथा सामाजिक एवं पूर्वाधार विकास तथा उद्योग कलकारखानालगायत कृषि, पर्यटन र सांस्कृतिक विकास हुन सक्ने स्थिति छैन । 

२०५१ सालयताका हाम्रै देशका मिलीजुली सरकारका काम–कारबाहीहरूले देखाएका छन् । तर पनि नेपाल मिलिजुली सरकार बनाउनबाट बाहिरिन सक्ने देखिँदैन ।

नेपालमा बत्तीस सिट भएको पार्टीको नेतृत्वमा पनि गठबन्धनको सरकार बन्यो भने प्रतिनिधिसभाका दुई ठूला पार्टीहरूसमेतको बलियो सरकार गठन भएको छ । यसले पनि राजनीतिक सिथरता, विकास तथा समृद्धि र शान्ति ल्याउने लक्षण र संकेत देखाएको छैन ।

Dabur Nepal

बितेको वर्ष भ्र्रष्टाचार नियन्त्रणका सवाल निकै उठे । तर पनि कुनै पनि पार्टीका सरकारले भ्रष्टाचार नियन्त्रणका लागि ठोस नीति, योजना, कार्यक्रम र लक्ष्य राखेको देखिएन । बरु राजनीतिक दलका नेताहरूले भ्रष्टाचार नियन्त्रण गर्नभन्दा दलका नेता तथा कार्यकर्ताहरूलाई कसरी चोखो पार्ने भन्नेमा नै आफ्नो ध्यान केन्द्रित गरेको देखियो । अदालत पनि भ्रष्टाचार नियन्त्रणभन्दा पार्टीका नेता तथा कार्यकर्ता चाख्याउन लागेको टीकाटिप्पणी बाक्लिएको छ ।

देशमा दिनदिनै बढ्दै गएको महँगी, बेरोजगारी तथा अन्यौलता र भ्रष्टाचारले नेपाली राजनीति, समाज, र प्रशासन विकृत बनाउँदै लगेको छ । हरसंस्थामा भ्रष्टाचार बढ्दै गएकाले विदेशी दाताहरू नेपालमा आर्थिक सहयोग गर्नबाट पछि हट्न थालेका छन् । 

नेपाली राजनीति, प्रशासन र समाजमा अनियमितता र भ्रष्टाचारले यति बलियो जरा गाडिसकेको छ कि यसलाई हल्काफुल्का प्रयासले उखेल्न सकिने अवस्था छैन । सहकारी संस्था तथा बैंक र वित्तीय संस्थाहरूको रकम अपचलन गर्ने र दुरूपयोग गर्नेमा राजनीतिक दलका नेता तथा कार्यकर्ता धेरै देखिएका छन् ।

यिनले गैरसरकारी संस्थाहरूको रकम पनि त्यस्तै रूपले अपचलन गरेको चर्चा गर्ने गरिन्छ । तर त्यस्ता नेता कार्यकर्तामाथि निष्पक्ष र स्वतन्त्ररूपले अनुसन्धान गरी निष्पक्षरूपले कानुनी कारबाही गर्ने प्रयास कुनै पनि पार्टीका सरकारले देखाएनन् । त्यसकारण सुशासन, समृद्धि र शान्तिको चाहना यस वर्ष पूरा अधूरै रहन गयो ।

सरकारले भर्खरै सहकारीसम्बन्धी अध्यादेश जारी गरेको छ । यसले सहकारी पिडितलाई सहत दिने वा उनीहरूको डुबेको बचत रकम फिर्ता गर्नेसम्बन्धमा कुनै प्रावधान राखेको देखिँदैन । संघीय संसद्को अधिवेशन बस्ने बेलामा सरकारले संसद् छल्दै अध्यादेश ल्याउनु गैरसंवैधानिक र गैरलोकतन्त्रिक कदम हो । यो सरकारलाई उल्टो बाटो हिँड्न पर्ने वाध्यता किन पर्यो ?

अन्तर्राष्ट्रिय जगतमा पनि यो वर्ष सकारात्मक सन्देश वा माहौल छाएनन् । विश्वमा जताततै युद्ध, द्वन्द्व, आतंकवाद चलिरहेछ । यी घटनामा विश्वका महाशक्ति राष्ट्रहरूकै संलग्नता देखिन्छ । रसिया–युक्रेन युद्ध, अरब–इजरायल युद्धका कारण लाखौं जनताको ज्यान गइसकेको छ र करोडौं जनता घरबारबिहीन र अपांङ्ग बन्न गएका छन् ।

आरक्षणको विरोधमा सडकमा उत्रेका विद्याथीहरूमाथि राज्य आतंक र दमनको शिकार बंगलादेशमा सोह्र वर्षसम्म शासन गरेकी शक्तिशाली प्रधानमन्त्री शेख हसिना सत्ताबाट मात्रै लखेटिइनन् । देशै छाड्दै सपरिवार विदेश भाग्न बाध्य भइन् ।

दक्षिण कोरियाका राष्ट्रपति युन सुक यउलले विपक्षी दलहरूलाई तह लगाउन अराष्ट्रवादीको आरोप लगाउँदै देशमा २०२४ डिसेम्बर ३ तारिखको मध्यरातमा सैनिक शासन लागू भएको घोषणा गरे । राष्ट्रपति युन सुकले सैनिक शासन लागू गरेको घोषणा गर्नासाथ राष्ट्रपतिलाई जिताउने तिनै जनताले राष्ट्रपति युन सुकको सैनिक कदमविरुद्ध सडकमा उत्रिएर विरोध जनाए । जनता कसैका दास होइनन् भन्ने यो घटनाले देखाएको छ । 

तर नेपालमा जनता मात्रै होइनन्, दलका नेता पनि शीर्ष नेताका दास नबने भीम रावल बनाइन्छन् भन्ने घटना भर्खरै मञ्चन भएको छ । दक्षिण कोरियाको संसद, नेशनल एसेम्लीले सैनिक शासनलाई अमान्य घोषित गर्नुका साथै राष्ट्रपति युन सुक यउलमाथि महाभियोग लगाएर छाड्यो । दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपतिमाथि पनि महाभियोग प्रस्ताव पारित भएको र निलम्वित राष्ट्रपति युन सुकविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी गरिएको छ ।

यस घटनाले दक्षिण कोरियामा राजनीतिक संकट दिनहुँ निम्त्याएको छ । यस्तै राजनीतिक अन्यौलता घेरिएको दक्षिण कोरियामा भर्खरै जेजु एअर प्लेन  दुर्घटना हुन पुग्यो, जहाँ एक सय ७९ यात्रुको मृत्य हुन गएको छ । शान्ति र समृद्धि तथा विकासले चमत्कारपूर्ण गति लिएको दक्षिण कोरियामा विपत्तिका घटना एकपछि अर्को हुनुलाई दुभाग्र्यपूर्ण भन्नुपर्छ ।

सिरियामा विद्रोहीहरूले विगत चौबीस वर्षदेखि रसियाको आडमा निरंकुश र बर्बर शासन गरिरहेका वसहर अल असदलाई लखेटेरै छाडे । चौवन्न वर्षसम्म सिरियामा असदका बाबु–छोराकै निरंकुश शासन चलेको थियो । हाल उनी रसियामा शरण लिइरहेका छन् । उनको भविष्य के हुन्छ ? अझै अन्यौलमै छ  । 

यसवष भारतले भद्र स्वभावका नेता तथा पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहलाई गुमाउन पुग्यो । प्रशासनबाट क्यारिएर शुरु गरेर देशको अर्थमन्त्री र प्रधानमनत्री बन्न सफल सिंहले देशमा आर्थिक सुधार र उदारवाद तथा खुलापनको नीति प्रार्दुभाव गरी आज भारतलाई विश्वको एक आर्थिक दृष्टिले सशक्त राष्ट्र बनाउने काम गरेका छन् ।

उनले अर्थमन्त्री हुँदा पुरानो राजनीतिक ट्रयाक समाजवादी धारलाई विदा गर्दै अर्थतन्त्र र व्यापार व्यवसायमा उदारवाद र खुलापनको नीति अबलम्वन गर्दै भारतलाई आर्थिक रूपले सम्पन्न बनाउन सके ।

संघीय संसद् र प्रदेशसभामा चालिस प्रतिशतको समानुपातिक व्यवस्थासँगै अस्थिरताका अतिरिक्त अनेक किसिमका विकृति देखिएका छन् । नेपालको संघीय संसद् र सात प्रदेश सभाको योग्यता, दक्षता र प्रभावकारिता राष्ट्रिय पञ्चायतकालीनभन्दा पनि खस्केर गएको छ । 

हाम्रा राजनीतिक दलका नेताहरू अझै निर्वाचित कार्यकारी राष्ट्रपति, पूर्णसमानुपातिक निर्वाचन जस्ता नारा निकाल्न छाड्दैनन् । आफू असफल भएको कुनै नेता स्वीकार्दैनन्, बरु दिनदिनै उग्र नारा दिएर जनतालाई भ्रमित पार्न खोज्छन् । यिनको चाहना र सपना तानाशाही शासक बन्ने हो । सँगै राज्य स्रोत–साधनमा कब्जा जमाउँदै निरन्तर शासन चलाउने नै हो ।

नेपाल भारतअगावै आर्थिक खुलापन र उदार नीति अबलम्वन गरे पनि संरक्षणवाद र उदारवादको दोधारमा हिँड्दा  नेपालले आर्थिक विकासमा फड्को मार्न सकेन । नेपालमा अनावश्यक सरकारी संरचना र सार्वजनिक संस्थाहरू पाल्नाले राष्ट्रलाई वर्षेनी अर्बौको क्षति बेहोर्न बाध्य पारिएको अवस्था छ ।

नेपालमा सरकार मितव्ययी, सार्वजनिक साधन–श्रोतको हिनामिना, भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी बन्न सकेको देखिएन । अनावश्यक आयोग र समिति गठन गरी जनतालाई करको बोझ थप्न सरकार लागिपरेको देखिन्छ ।  

अमेरिकामा राजनीतिबाट धेरै टाढा धकेलिएका पूर्वराष्ट्रपति डोनाल्ड फेरि बितेको वर्ष राष्ट्रपतिमा भारी मतले विजयी भएका छन् । उनको जितसँगै विश्वभरि अचम्म मानिँदैछ । तर, अमेरिकी लोकतन्त्रमा जनता नै सर्वेसर्वा र अन्तिम निर्णायक हुन् भन्ने प्रमाणित हुन गएको छ ।

अमेरिकालाई महान बनाउने, सरकारी खर्च एक तिहाई घटाउने तथा भन्सार शुल्क बढाउने नीति कार्यान्वयनमा उनी कति सफल होलान् । त्यो समयले देखाउनेछ । तर उनले सरकारी खर्च घटाउन विश्वप्रसिद्ध धनाढ्य मस्कलाई जिम्मेवारी दिइसकेका छन् ।

यस वर्षको अन्तिममा अमेरिकाका पूर्व राष्ट्रपति तथा मानव अधिकार र विश्व शान्ति तथा लोकतन्त्रका पुजारी मानिने जिम्मी कार्टरको पनि निधन भएको छ । 

नेपालका नेताहरूले अस्थिरता, अन्यौलता र भ्रमको राजनीतिलाई छोडेर लोकतान्त्रिक अभ्यासबाटै देशमा विकास, समुन्नति र शान्ति ल्याउन सकिन्छ भन्ने पाठ मनमोहन सिंह र जिमी कार्टरबाट पाठ सक्नुपर्छ ।
spjthapa@gmail.com

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २१, २०८१  ०९:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
CAN Banner adCAN Banner ad
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro