site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
दाउमा कांग्रेसको प्रतिष्ठा र भविष्य 

केही दिनपहिले तनहुँका रामचन्द्र पोख्रेलसँग भेट भयो । कुरै कुरामा उनले भने - तपाईँ पनि मान्छे त अचम्मकै हो । जिल्लाको उपसभापति भइसकेको मान्छे यसरी राजनीतिबाट सरक्क पन्छेर कसरी बस्न सकेको ?

उपनिर्वाचनमा तनहुँको क्षेत्र नम्बर १ बाट उमेदवार हुन पोखरेल इच्छुक रहेछन् । हामी त्यही सन्दर्भमा कुरा गर्दै थियौँ । मैले भने - नछाडेको भए के हुन्थ्यो र ? तपाईँजस्तै अहिले चुनावमा टिकट माग्ने लाममा एकजना थपिन्थेँ । 

(रामचन्द्र पोखरेलसँग मेरो पहिलो भेट २०२३ सालमा बन्दिपुरमा भएको थियो । त्यसयता हामीबीच धेरै निकटता नभए पनि सम्पर्क र संवाद भने निरन्तर छ । मसँग अझै पनि कुराकानी गर्ने कांग्रेसका नेता रामचन्द्र पोखरेल जीमात्रै हुन् । तेजबहादुर पन्त सक्रिय राजनीतिमा छैनन् । मैले तनहुँमा सबैभन्दा पहिले संगत गरेका कांग्रेसहरूमा पोखरेल जी, तेजबहादुर पन्त जी, मेघनाथ कैनी जी, तारापति भट्टराई जीहरू नै हुन् । मेघनाथ र तारापति दिवंगत भइसके । यीबाहेक अहिले कांग्रेसको राजनीतिमा रहेकामध्ये रघुनाथ पौडेलसँग अझै संवाद सम्पर्क हुन्छ । )

Agni Group

नभन्दै, पोखरेललाई टिकट दिइएन । तर, यसपटक नेपाली कांग्रेसले बनाएको उमेदवारका विषयमा कार्यकर्ताहरूमा खासै गुनासो भने देखिएको छैन । हुन पनि गोविन्द भट्टराई अरू जिल्लामा वा अरू पार्टीमा भएको भए निकै पहिले सांसद भइसक्ने थिए होलान् । उनी अवसर नपाएका नेतामध्येका हुन् । भट्टराई जतिबेला राजनीतिमा सक्रिय भए मैले राजनीति छाडिसकेको थिएँ । 

अबको तनहुँ कांग्रेसको राजनीति पूरै पछिल्लो पुस्ताको नेतृत्वमा आएको छ । कांग्रेसको केन्द्रीय राजनीतिमा तनहुँले सधैँ ठाउँ बनाएकै छ । श्रीभद्र शर्मा, गोवर्धन पोखरेलपछि रामचन्द्र पौडेल र गोविन्दराज जोशी । पछिल्लो पुस्ताका शङ्कर भण्डारी दुईपटक सांसद र मन्त्री पनि भइसके । ध्रुव वाग्ले पनि सांसद भइसके । प्रदीप पौडेल पनि यसपटक सांसद भएका छन् ।  नेविसंघका सभापति र पटकपटक केन्द्रीय सदस्य भइसकेका गोविन्द भट्टराई यही पुस्ताका हुन् । 

Global Ime bank

डा. स्वर्णीम वाग्लेले आरोप लगाएजसरी टिकट त यिनले किन्न पक्कै परेन होला । नेतृत्वप्रति निकै आक्रामक भएर भर्खरै कांग्रस छाडेका स्वर्णीम वाग्ले चुनाव लड्न तनहुँ जाने रे ! नेकपा (एमाले)ले पनि काठमाडौंमा -६ मा हारेका सर्वेन्द्र खनाललाई उमेदवार बनाउने निधो गरेछ । सबै दलका ठूला नेताहरू चुनाव प्रचारका लागि तनहुँ जालान् । कांग्रेसका सभापति गए भोट घट्नेमात्रै हो । स्वर्णीमविरुद्ध प्रचारमा जान महामन्त्रीहरूले गाह्रो मान्ने हुन् कि ?  सर्वेन्द्रको जति साधनस्रोत जुटाउन पनि भट्टराईलाई कठिन होला ।

सर्वेन्द्र काठमाडौंवासी तनुङे हुन् । राजनीतिक महत्त्वाकांक्षाले उनी एमाले निकट पुगेका हुन् । परिवारिक पृष्ठभूमि कम्युनिस्ट होइन । यद्यपि, तनहुँसुरमा २०१७ भन्दा पहिले नै खनाल परिवारमा कम्युनिस्टहरू थिए । सर्वेन्द्रको परिवार भने कांग्रेस समर्थक हो । काठमाडौंमा अर्का चुँदेली खनाल शिशिरसँगै हारेलगत्तै सर्वेन्द्र तनहुँ-१ पुगे । एमालेसँग उपयुक्त उमेदवारको कमी भएकाले पनि यसरी ल्याउन परेको हो कि?

स्वर्णीमको पैत्रिक वासस्थान गोरखा हो । उनले नै खुलाएका छन् आफू तीन पुस्ते कांग्रेस भएको त । त्यसपछि चितवन, काठमाडौं । उनले देउवा दम्पतीको इखमा कांग्रेस नछाडेका भए सम्भवतः अहिलेको चुनावमा भट्टराईको प्रचारमा हुन्थे होलान् ।   

राजनीतिकरूपमा भने सबै उमेदवारभन्दा वरिष्ठ गोविन्द भट्टराई नै देखिन्छन् । अरू उमेदवारको राजनीतिक चरित्र वा पृष्ठभूमि छैन । यसैले उनको जितसँग यसपटक कांग्रेसको प्रतिष्ठामात्र होइन भविष्य पनि जोडिएको देखिन्छ । यसपटक हारेमा तनहुँमा कांग्रेसको वर्चस्व समाप्त हुनसक्छ । गोविन्द भट्टराईले जिते भने चाहिँ दोस्रो पुस्ताले पनि तनहुँमा नेपाली कांग्रेस बचाउन सक्ने सन्देश जानेछ । अनि, तनहुँमा हारे कांग्रेस अन्त पनि कम्तीमा गण्डकीमा ओरालो लाग्नेछ ।

यसैले यो चुनाव गोविन्द भट्टराईका लागिमात्र नभएर शङ्कर भण्डारी, वैकुण्ठ न्यौपाने, ध्रुव वाग्ले, प्रदीप पौडेल, जितप्रकाश आले सबैका लागि प्रतिष्ठाको प्रश्न हुने देखिन्छ । उनीहरूले ‘पौडेल दाइ र जोशी सर’ विनाको कांग्रेस हाँक्ने मौका पाएका छन् । जोगाउलान् त किल्ला !

गठबन्धनका लागि पनि चुनौती देखिन्छ । विशेषगरी नेकपा (एकीकृत समाजवादी) र माओवादी केन्द्रका लागि । यसपटक कांग्रेसलाई भोट नदिए मताधार जोगाउन कठिन हुनेछ । युवा मतलाता रास्वपातिर र पाका जति एमालेतिर लाग्न सक्छन् । कांग्रेसलाई त कुरा मिलुन्जेल भोट दिने त हो !

 स्वर्णीमको बहिर्गमन 

डा. स्वर्णीम वाग्ले नेपाली कांग्रेसबाट अवसर पाउनेमध्येकै हुन् । उनी योग्य भएरै पाए होलान् तर जीवनराज वाग्लेका छोरा नभएका भए योग्य भए पनि अवसर पाउन सजिलो त हुनेथिएन । भुइँतह भनिन्छ नि त्यहाँबाट उठेर त अवसर पाउन निकै कठिन छ जति नै योग्य भए पनि । यसैले स्वर्णीमले कांग्रेस छाड्दा आश्चर्य मान्नुपर्दैन । देशको अवस्था बदलिने अपेक्षा राख्नु पनि पर्दैन । यो घटना पनि ‘नियमित आकस्मिकता’कै एउटा कडी हो । यसलाई सहजरूपमा लिएमै ‘दाजु भाउजु गिरोह’ र ‘स्वर्णीम दिनहरू’को प्रतीक्षा गर्नेहरूको पनि भलो होला ।

राजनीतिक संस्कार बदल्न नसके स्वर्णीम पनि अन्ततः डा. रामशरण महत न हुने हुन् । पहिलो चुनावमा कार्यकर्ता ‘परिचालन गर्न’ पैसा खर्च नगरेकै कारण हारेका डा. महतले पछि कुरा बुझे । तनहुँ-१ मा स्वर्णीमले चुनाव कसरी लड्छन् ? त्यसमा धेरै निर्भर हुनेछ उनको राजनीतिक भविष्य । चुनाव जित्न पैसा खर्च गरे त्यो उठाउनै पर्‍यो । पैसा आफ्नो होस् वा अरूको खर्च गरे उठाउनुपर्छ । पैसा खर्च नगरी चुनाव जित्न मुस्किलै हुन्छ । श्रीभद्र शर्माले हारेर नरबहादुर गुरुङले जितेको ठाउँ पनि त्यही हो । 

राष्ट्रिय स्वतन्त्र पार्टीको चरित्र पनि अरूभन्दा खासै फरक नभएको देखिइसकेको छ । ‘सत्ताका दलाल’ हरूसँग पार्टीका नेताहरूको बसउठ जति बाक्लिन्छ उति नै ‘हेम सुब्बाले पान खाए’ शीर्षकको डा. ध्रुवचन्द्र गौतमको कथाको ‘कथावस्तु’ दोहोरिन थाल्छ । तीनवटा क्षेत्रमा उपचुनाव हुँदा तीनैजना खसआर्य पुरुष र ‘तरमारा वर्ग’कै प्रतिनिधि उमेदवार बनाएकाले पनि रास्वपा अरूभन्दा फरक होइन भन्ने नै पुष्टि भएको छ । त्यसमाथि केही महिना पहिले चुनाव हारेकालाई नै उमेदवार बनाउनु राजनीतिक अपसंस्कारकै जग बसाउनु हो । स्वर्णीमले ‘पान खाए’ भने उनलाई अतिमहत्त्वाकांक्षी र अवसरवादी भनिनेछ भने पान नखाए अव्यावहारिक र अराजनीतिक ।  

नेतृत्वको व्यवहारमा चित्त नबुझाएर वा विमति राखेर पार्टी छोड्ने चलन नेपाली कांग्रेसमा गठन भएदेखि नै चलेको हो । नेपाली कांग्रेसका सभापति नै प्रधानमन्त्री हुने भएपछि मातृकाप्रसाद कोइरालाले अर्को पार्टी गठन गरेका थिए । त्यसपछि सामूहिकरूपमै पार्टी छाड्ने वा फुटाउने क्रम मूलतः २०३४ मा बखानसिंह गुरुङ र २०३८ मा परशुनारायण चौधरीको नेतृत्वमा भएको थियो ।

अहिलेका सभापति शेरबहादुर देउवाले त २०५९ मा पार्टीलाई दुई फ्याक नै बनाएका थिए ।  यस्तै नेपाली कांग्रेसमा कति प्रवेश गरे र कतिले छाडे भन्ने त हिसाब पनि कसैसँग नहोला । यसैले कांग्रेसलाई माया गर्नेहरूले स्वर्णीमको बहिर्गमनमा चित्त दुखाए पनि कांग्रेस चिनेकाहरूले खासै गम्भीरतापूर्वक लिएको देखिएन । यसै पनि स्वर्णीमले दिएको झड्काले कांग्रेस सुध्रिएला वा देउवाको शैली फेरिएला भन्ने पक्कै त कसैले चिताएकै छैनन्  !  

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १९, २०७९  १०:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC