site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
नेपालमा भ्रष्टाचारको जरा

भ्रष्टाचार नेपालमा गहिरो जरा गाडेको समस्या हो । यसले देशको सामाजिक, आर्थिक र राजनीतिक विकासलाई अवरुद्ध गरिरहेको छ । भ्रष्टाचारले समाजमा विकृति फैलाएको छ भने देश नै दुर्गन्धित बनाएको छ । अहिले कर्मचारी वा नेता सबैमा सरकारी जिम्मेवारी प्राप्त गर्नु भनेको भ्रष्टाचार गरेर व्यक्तिगत लाभ उठाउनु हो भन्ने मानसिकता व्याप्त छ । यसले राज्य संरचनाको सबै तहमा प्रभाव पारेको छ र यो समस्या लाई समाधान नगरी नेपालको विकास सम्भव देखिँदैन । भ्रष्टाचार नियन्त्रण भएन भने नेपालको विकास निर्माण रोकिनुका साथै देशले गम्भीर समस्या भोग्नुपर्ने अवस्था आउन सक्छ । 

नेपालमा अहिले निम्न प्रकारका भ्रष्टाचार भएको देखिन्छ

नीतिगत भ्रष्टाचार

नीतिगत भ्रष्टाचार नेपालको विकास प्रक्रियामा सबैभन्दा खतरनाक पक्ष हो । उदाहरणको रूपमा मन्त्रिपरिषद्ले लिने निर्णयलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यक्षेत्र बाहिर राख्नु नीतिगत भ्रष्टाचारको ठोस उदाहरण हो ।

ठूला परियोजनामा ठेकेदार छनोटदेखि नीतिहरू निर्माणसम्म पहुँच हुने व्यक्तिहरूले आफ्नो निजी लाभका लागि नियम तोड्ने गरेको पाइन्छ । एक जना व्यवसायीलाई फाइदा हुनेगरी नीति नियम बनाउने, कानुनी अड्चन फुकाउने, जघन्य अपराधको मुद्दा फिर्ता लिने आदि यस प्रकारको भ्रष्टाचारले जनताको विश्वासमा गम्भीर आघात गरेको छ ।

अहिले प्रायः कमिसनको कारण मन्त्रीपरिषदले निर्णय गरी ठेक्का दिने र त्यसलाई नीतिगत निर्णयको आवरणमा उन्मुक्ति दिने गरिन्छ ।

संरचनागत भ्रष्टाचार

नेपालको सरकारी संरचना भ्रष्टाचारको जालोले घेरिएको छ । संवैधानिक नियुक्तिहरू, सरुवाबढुवा र ठेक्का प्रक्रियामा हुने लेनदेनले यो प्रमाणित गर्छ  । उदाहरणका लागि राज्यका प्रमुख नाका, विमानस्थल र अन्य राजस्व कारोबार धेरै हुने केन्द्रमा सरुवा चाहने कर्मचारीले ‘ प्रिपेड घूस’ दिनु सामान्यजस्तै भइसकेको छ ।

यस्ता संरचनागत समस्याले प्रशासनलाई निष्पक्ष र पारदर्शी बनाउने प्रयास कमजोर बनाएका छन् । जहाँ पैसा आउँछ त्यहाँ सरुवा हुने अनि कमिसन उठाउने र बुझाउने गर्दा अपराध नियन्त्रण फितलो र सेवा अवरुद्ध हुनेगरेको छ ।

स्थानीय तहमा भ्रष्टाचार
संघीयताको कार्यान्वयनसँगै स्थानीय तहहरूलाई सशक्त बनाउने प्रयास गरिए पनि यी तहहरू भ्रष्टाचारको अखडा बनेका छन् । ठूला आयोजना सञ्चालन गर्ने नाममा पारदर्शिताको अभाव र जनताको आवश्यकताभन्दा पनि व्यक्तिगत लाभका लागि निर्णय लिने प्रवृत्ति मौलाएको छ ।

स्थानीय तहमा हुने सार्वजनिक खरिद प्रक्रियामा देखिने अनियमितता, कर उठाउने प्रक्रियामा हुने पक्षपात, प्रमुख/उपप्रमुखले व्यावसायिक रूपमा महँगो डोजर लगाउने, अमानत वा कोटेसनका नाममा ठेक्का दिने र सेवा प्रवाहमा हुने ढिलासुस्तीले यस समस्यालाई झन् गम्भीर बनाएको छ ।

'गाउँगाउँमा सिंहदरबार' भनिएका स्थानीय तह 'घरघरमा भ्रष्टाचार'को अखाडा पो बनेका छन् । अहिले स्थानीय तह भ्रष्टाचार घरघरसम्म पुर्‍याउने मध्यम बनेका छन् । यो नै संघीयताका लागि दुर्भाग्य हो  । 

राजनीतिक नेतृत्व र भ्रष्टाचार

नेताहरूका लागि भ्रष्टाचार अब व्यक्तिगत लाभको कारकमात्र नभई राजनीतिक रणनीतिको हिस्सा पनि बनेको देखिन्छ । उदाहरणका लागि निर्वाचन खर्च उठाउन नेताहरूले ठूला व्यवसायीहरूसँगको साठगाँठलाई सामान्य बनाएका छन् ।

यसले राजनीतिलाई जनताको सेवाको माध्यमभन्दा पनि लाभको व्यवसाय बनाइदिएको छ । पैसा बुझाएर मन्त्री, सांसद बन्ने र बुझाएको पैसामात्र होइन अर्को निर्वाचनसम्म पुग्ने खर्च उठाउने र कुनै ठेकेदारलाई बेहोर्ने लगाउने माध्यम बनेको छ । राजनीति सेवा नभई पेसा बन्नु राजनीति व्यवस्थाको दुर्भाग्य हो ।

प्रशासनिक र कर्मचारीतन्त्रमा भ्रष्टाचार

लोक सेवा आयोगमार्फत सरकारी सेवा प्रवेश गर्ने कर्मचारीहरूले पनि भ्रष्टाचारलाई ‘अनौपचारिक तलबभत्ता’को रूपमा स्वीकार गरेका छन् । ‘काम गरेपछि घुस लिनुपर्छ, सित्तैमा काम गर्नु हुँदैन’ भन्ने धारणा उनीहरूको मानसिकतामा गहिरो गरी बसेको छ ।

लोकसेवा उत्तीर्ण गरेबापत तलब पाएको हो काम गरे बापत चाहिँ अर्को पैसा पाउनुपर्ने मानसिकता कर्मचारीमा छ । परिणाम स्वरूप, जनताले सेवा लिन जाँदा अनावश्यक झन्झट बेहोर्नुपर्ने, घुस लिने र अतिरिक्त रकम खर्च गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

उदाहरणको लागि वीरगन्जको भन्सार नाकामा जान निजामती सेवाका कर्मचारी जति भनसुन जोडबल गर्छन् त्यहीँ हुम्ला, जुम्ला, मुगु र मुस्ताङ जानै चाहँदैनन् । सोह्रखुट्टे, बालाजु, चितवनको प्रहरी कार्यालयमा जान भनसुन गर्ने अधिकृत प्रहरी प्रधान कार्यालय बस्न चाहँदैन । यी सबै भ्रष्टाचारकै लागि हो भन्ने स्पष्ट नै छ ।

घुस, कमिसन र सेयरमार्फत भ्रष्टाचार

डिजिटल लेनदेन, विदेशी बैंक खाताहरू र सेयर कारोबारमार्फत हुने भ्रष्टाचार पनि नेपालमा तीव्र रूपमा बढ्दैछ । ठूला व्यापारीहरू र राजनीतिक नेतृत्वको गठजोडले यसलाई थप प्रोत्साहन दिएको छ । ठूला परियोजनाहरूको कमिसन लेनदेन नेपालमा नभई विदेशमा गर्ने र उनको आफन्तलाई दिने, सेयर कारोबारमा सेयरकै कित्ता दिने, बिरामी हुँदा उपचार खर्च बेहोर्नेजस्ता कार्यले नेपालमा भ्रष्टाचार बढेको हो ।

भर्खरै केही दिन अगाडि वाइडबडी खरिदमा भएको अर्बौं रुपयाँ भ्रष्टाचार सिंगापुर, अमेरिका र दुबईमा लेनदेन भएको सञ्चार माध्यममै सार्वजनिक भएको छ ।

भ्रष्टाचार विरुद्धको संघर्ष र चुनौती

नेपालमा भ्रष्टाचारविरुद्धको संघर्ष सधैं चुनौतीपूर्ण रहेको छ । सरकार सत्ता सम्हाल्नेबित्तिकै सुशासनको नारा दिन्छ तर व्यवहारमा त्यसलाई कार्यान्वयन गर्न अनिच्छुक हुन्छ । उदाहरणका लागि, नेकपा (माओवादी केन्द्।र) अध्यक्ष पुष्पकमल दाहाल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नेतृत्वको गठबन्धन सरकारको पालामा गिरीबन्धु प्रकरणले ठूलो चर्चा पायो ।

मिडिया, सडक र सदनमा आवाज उठ्यो । तैपनि कसैले सुनेजस्तो गरेन । सहकारी रकम अपचलनको बारे उजुरी दिंदासमेत दर्ता गर्न मानेनन् ।   

प्रधानमन्त्री दाहाल र गृहमन्त्री लामिछानेले गिरीबन्धु र सहकारी रकम बारे अनुसन्धानको कदम चलेको भए कसैले छेक्न सक्ने अवस्थामा थिएन तर सत्तामा टाँसिन चुपचाप बसे । अहिले आएर म गिरीबन्धु प्रकरणको अनुसन्धानको माग गर्छु, भण्डाफोर गर्छु भन्नु लाजमर्दो कुरा हो । भ्रम सिर्जना गरेर आखिर जनता अल्मलाउने जुक्तीमात्रै हो । उनीहरूको भ्रष्टाचार विरुद्धको अभियान राजनीतिक बयानवाजीमा सीमित भएको छ । अहिलेको अवस्थामा भ्रष्ट्राचारको विरोध गर्नु सत्ताको लागि 'बार्गेनिङ' मात्रै हो ।

समाधानका सम्भावना

भ्रष्टाचार अन्त्यका लागि नेपालले केही ठोस कदम चाल्नुपर्ने हुन्छ ।

कानुनी सुदृढीकरण: भ्रष्टाचारविरुद्धका कानुनलाई थप कडा बनाउनु र ठूला भ्रष्टाचार काण्डहरूमा संलग्न व्यक्तिहरूलाई राजनीतिक आवरणमा संरक्षण पाउने अवस्था हुनु दिनु हुँदैन । समाजबाटै तिनलाई बहिष्कार गरिनुपर्छ ।

साक्षरता र सचेतना: जनस्तरमा सचेतना कार्यक्रम सञ्चालन गरी भ्रष्टाचारका दीर्घकालीन नकारात्मक प्रभावहरूको बारेमा जानकारी दिनुपर्छ । भ्रष्टाचार गर्नु सार्वजनिक सम्पत्ति लुट्नु हो र भ्रष्ट्राचार नियन्त्रण गर्नु नागरिकको कर्तव्य भन्ने जनचेतनामूलक कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्छ ।

प्रविधिको प्रयोग: प्रशासनिक प्रक्रियामा प्रविधिको अधिकतम प्रयोग गरी पारदर्शिता बढाउनुपर्छ ।

स्वतन्त्र निकायहरूलाई सशक्त बनाउने: अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता निकायलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राखेर स्वतन्त्र रूपमा काम गर्ने वातावरण दिनुपर्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्तमा निजामती वा अन्य सेवाबाट निवृत्त कर्मचारीलाई नियुक्ति नगरी लोकसेवाबाट छुट्टै स्वायत्त निकायको रूपमा जिम्मेवार दिनुपर्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्तहरूले कर्मचारी रहँदा सहयोग र असहयोग भएको आधारमा पूर्वाग्रही राखी फाइल खोल्ने गरेको थुप्रै उदाहरण छन्  ।

नैतिक नेतृत्वको विकास: नेतृत्व तहमा नैतिकतामा आधारित प्रशिक्षण र जनउत्तरदायित्त्वको प्रवर्द्धन हुनुपर्छ । भ्रष्टाचार गर्नु पाप हो भन्ने मानसिकता हुनुपर्छ । सामाजिक बहिष्कार: भ्रष्टाचारीलाई सामाजिक बहिष्कार गर्नुपर्छ । विदेश जानसमेत प्रतिबन्ध लगाई सामाजिक अपराधको कठघरामा राख्नुपर्छ । 

अन्ततः नेपालमा भ्रष्टाचारले हरेक क्षेत्रमा नकारात्मक प्रभाव पारेको छ । यस समस्याको समाधानबिना देशको समृद्धि र सुशासनको कल्पना गर्न सकिन्न । भ्रष्टाचारको अन्त्यका लागि नागरिक, प्रशासन, बुद्धिजीवी र राजनीतिक नेतृत्वबीच सामूहिक पहल आवश्यक छ । यो चुनौतीपूर्ण भए पनि सम्भव छ । सबै तहले पारदर्शिता र नैतिकताको महत्त्व बुझ्न सके भ्रष्टाचार नियन्त्रण गर्न सकिन्छ । भ्रष्टाचार नेपाल र नेपालीको लागि सरुवा रोग भएको छ । 
 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बुधबार, पुस २४, २०८१  ०९:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro