नेपाली कांग्रेसका अहिलेका नेताहरूको शैलीविपरीत डा. शेखर कोइराला चुनाव आउनुभन्दा धेरै पहिलेदेखि सक्रिय देखिएका छन् । यसले देखाउँछ - शेखरमा पार्टी सभापति हुने हुटहुटी निकै बलियो छ । यस्तो दौडधुप गर्नेमा गिरिजाप्रसाद कोइरालापछि सायद शेखर नै होलान् ।
मर्यादाको यान्त्रिक परिभाषा
उमेरका दृष्टिले शेखर गगन थापाहरूभन्दा पुरानो पुस्ताका हुन् । उनको राजनीतिक सक्रियता ढिला सुरु भएको भन्दै अगिल्लो चुनावमा स्वयं उनैका भाइबहिनीहरू डा. शशाङ्क कोइराला र सुजाता कोइरालाले पनि सभापतिमा सहयोग गरेनन् । यस्तै, कांग्रेसभित्रका अरू परम्परागत शक्तिकेन्द्रका वारेसहरू विमलेन्द्र निधि र प्रकाशमान सिंहले पनि शेखरलाई स्वीकार गरेनन् । बरू सबैलाई शेरबहादुर देउवा सहज स्वीकार्य भए । देउवाको पहिलो कार्यकालमा कांग्रेस ओरालो लागेको थियो । तैपनि उनीहरूले देउवालाई नै सघाए । कांग्रेसको भविष्य होइन उनीहरूले आफ्नो ‘अहम्’लाई बढी महत्त्व दिए । परिणाम कांग्रेसमात्र होइन उनीहरू स्वयं पनि खुम्चिएका छन् । सम्भवतः अब यिनीहरूले देउवाको आशीर्वादविना पार्टीको नेतृत्व गर्ने कल्पना पनि गर्न छाडिसके ।
शेखरको पनि संगत भने उनको छवि सुहाउँदो देखिँदैन । विवादास्पद व्यवसायीलाई सारथी बनाएर देउवाभन्दा बेग्लै देखिन कठिन हुन्छ । नेपाली समाज अमेरिकीजस्तो निस्फिक्रीको पनि छैन । आफू जस्तो भए पनि नेता ‘आदर्श’हुनुपर्छ भन्ने ठान्छ । यसैले सभापति जिते पनि नजिते पनि ‘कोइराला निवासको वारेस’का रूपमा शेखरले आफूलाई प्रस्तुत गर्ने हो भने संगत पनि ‘स्वच्छ’ हुनु जरुरी हुन्छ । अपराधमा मुछिएकालाई अँगालो हालेर कम्तीमा कोइराला निवासको प्रतिनिधित्व हुँदैन ।
कोइराला निवासका वारेसको भुल
सभापति देउवा विराटनगर जाँदा शेखर त्यहाँ बस्नु कोइराला निवासको संस्कारअनुसार पनि आवश्यक थियो । अझ कोइराला निवासमा जाँदा त शेखर हुनैपर्थ्यो । देउवाले त शेखरलाई ‘लज्जित’ बनाउने रणनीति अपनाए । शशांकलाई लिएर कोइराला निवास गइदिए । बाहिरबाट उनले कोइराला निवासको ऐतिहासिक धरोहरलाई सम्मान गरेको देखाए । भित्री रणनीति भने शेखर केही होइनन् भन्ने देखाउनु थियो ।
शेखरप्रति देउवाले पूर्वाग्रह देखाउने गरेका छन् । निकटतम प्रस्तिस्पर्धीका रूपमा शेखरलाई पार्टीमा दोस्रो वरीयता नदिइनु न्यायोचित व्यवहार पक्कै पनि होइन । तर, अरू पदाधिकारीहरूले पनि पार्टीमा स्वच्छ परम्परा बसाउन चाहेको देखिएन । आउने चुनावमा शेखर सभापति निर्वाचित भए भने प्रमुख प्रतिद्वन्द्वीको यसरी नै उपेक्षा हुनसक्छ ।
यसको अर्थ पार्टीभित्र ‘स्थायी प्रतिपक्ष’ अर्थात् विरोधी गुट कायम रहनेछ । शेखर कोइराला निवासमा वास्तिक वारेस हुन् । पिताजी कृष्णप्रसाद कोइरालाले राणाकालमै लोकतान्त्रिक प्रगतिशीलताको क्रान्ति सुरु गरेका थिए । त्यसैको सम्मान र सम्झनामा कोइराला निवासलाई अझै पनि ‘तीर्थ’ मानिन्छ ।
उनका छोराहरू मातृका, बीपी र गिरिजाले नेपालको इतिहासमा आआफ्नै स्थान बनाए । तर, इतिहासले त तारिणी र केशवलाई पनि बिर्सन सक्तैन । कोइराला निवासका जति एउटै परिवारका छोरीबुहारीहरू पनि लोकतान्त्रिक आन्दोलनमा समर्पित सम्भवतः विश्वको अरू मुलुकमा बिरलै पाइएला । यसैले कोइराला निवासको गरिमा सामान्य राजनीतिक रणनीतिभन्दा माथि राखिनुपर्छ । यसको लागि सुजाता, प्रकाश, शशांकहरू भन्दा शेखर नै जिम्मेवार र उपयुक्त पात्र हुन् ।
विराटनगरमै गएर शेखरको तेजोबध गर्ने देउवाहरूको व्यवहार पक्कै भयो होला । यसैले उनले मुठभेड रोक्न कार्यक्रमै छाडेको हुनसक्छ । तर देउवा कोइराला निवास गएका बेला शेखर नबस्नु रणनीतिकरूपमा जे भए पनि राजनीतिक व्यवहार भएन । पिताजीका उत्तराधिकारीका लागि त सुहाउँदै सुहाएन । उनले त आफूलाई गरिएको उपेक्षालाई नै उपेक्षा गरेर उपेक्षा गर्ने गराउनेलाई लज्जित बनाउनु पर्थ्यो ।
बिग्रेको विचार र व्यवहार
नेपाली कांग्रेस आन्तरिकरूपमा कति सशक्त होला त्यो बाहिरबाट देखिँदैन । बाहिरबाट देखिने छवि भने उति आशालाग्दो छैन । कांग्रेसका अहिलेका नेताहरूको विचार र व्यवहार नेपाली कांग्रेसको सुहाउँदो छैन । यसैले शेखरले नेतृत्व लिने हो भने यसको भित्री र बाहिरी विचार एवं व्यवहार सबै बदल्ने र मानकीकरण गर्ने अठोट गर्नुपर्छ । नत्र शेखर सभापति भइहाले पनि अर्को देउवामा सीमित हुनेछन् ।
गुटबन्दी नगर्ने गुट
पार्टीभित्र गुटबन्दीको मूल दोष त सभापति देउवालाई नै लाग्छ तर शेखर पनि यस मामिलामा चोखो देखिएनन् । देउवाको शैली पछ्याएर सभापति बन्न त सम्भव होला तर कांग्रेसको नेता बन्न सकिँदैन । दलभित्र नेता विशेषका समर्थक हुन्छन् । केही कार्यकर्ता नेताका विशेष निकट पनि हुन्छन् । तर, नेताले तिनलाई काखा र अरूलाई पाखा गर्नु हुँदैन । कम्तीमा गरेको देखिनु हुँदैन । यसैले शेखरले अलि उदार व्यवहार गर्नुपर्छ कोइराला निवासको प्रतिनिधिका रूपमा ।
देशमा अझै अर्को उदार लोकतान्त्रिक दलको जन्म नै भएन । यसैले नेपाली कांग्रेस प्रगतिशील लोकतान्त्रिक विकल्प तयार नहुँदासम्म कमजोर हुनुहुँदैन । अब देउवा नेतृत्वबाट हट्ने भएपछि कांग्रेसलाई उदार लोकतान्त्रिक दलका रूपमा पुनः स्थापित गर्ने बाटो पनि खुल्छ । शेखरले यसको नेतृत्व लिनसके भने कोइराला निवासको परम्परागत स्थान पनि पुनःस्थापित हुनेछ ।
पीएल सिंह विभाजित कांग्रेसका प्रति कटाक्ष गर्दा नेपाली कांग्रेसलाई ‘यान्त्रिक’ र देउवा कांग्रेसलाई ‘तान्त्रिक’ भन्थे । अहिलेसम्म त्यही यान्त्रिक र तान्त्रिक प्रवृत्ति नै बलियो छ कांग्रेसमा । अब कांग्रेस जीवन्त र स्वच्छ बनोस् भन्ने चाहने हो भने शेखरले त्यस्तै संगत रोज्नुपर्छ ।
डा. शेखर कोइरालाको हुटहुटी फलदायी होला त ?
र अन्त्यमा
नेपाली राजनीतिको एउटा उज्यालो तारा अस्तायो । देशको लोकतान्त्रिक आन्दोलनको कर्ता, द्रस्टा र अभिलेख सबै थिए पीएल सिंह । उनका समकालीनमात्र होइन अग्रजहरू पनि हच्किन्थे पीएलसँग । र पीएलको व्यक्तित्व बनेको थियो उनको निष्ठाबाट । निष्ठाकै कारण नेपाली राजनीतिका दधीचि बनेका थिए पीएल ।
पीएल एक युगमा एकजना मात्र जन्मछन् सायद । हाम्रो युगका दधीचि पीएल सिंह ( पीएल दाइ) प्रति श्रद्धाञ्जलि !