काठमाडौं । “अब कलाकारहरू पनि राजनीतिमा लाग्ने रे ! अब वकिल, पत्रकारहरू पनि राजनीतिमा आउने रे ! तर, राजनीतिज्ञहरू चाहिँ राजनीतिमा नलाग्ने रे !”
यसरी राजनीतिमा कलाकारहरूको प्रवेशलाई दलका नेताहरूले नै व्यंग्यात्मक रूपमा मजाक उठाउँदै दिएको अभिव्यक्तिले अभिनेता भुवन केसीको चित्त दुखेको छ ।
“राजनीतिक दलका नेताज्यूहरूले कहीँकतै दिएको भाषणमा यसो भनेको सुन्न आउँछ । कुनै एउटा क्षेत्रमा लागेर दक्षता हासिल गरेर राजनीतिमा आउँदा हाँस्ने, कुनै एक क्षेत्रमा पनि दक्षता हासिल नगरेकाहरू राजनीतिमा आउँदा नहाँस्ने रे,” अभिनेता केसी भन्छन् ।
सरकारले स्थानीय चुनावको मिति घोषणा गरेसँगै उन्नत लोकतान्त्रिक पार्टीले अभिनेता केसीलाई मेयरका लागि उमेदवारी दिन सिफारिस गरेको थियो । तर उनले सामाजिक सञ्जालमार्फत आफूले अहिले मेयरमा उठ्नेबारे ठोस निर्णय नलिइसकेको बताए ।
कुनै समय एमालेमा आबद्ध केसीलाई मंगलबार बालुवाटारमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले माला र खादा लगाएर आफ्नो पार्टीमा स्वागत गरे ।
उनीसहित अभिनेत्री श्वेता खड्का र कलाकार तथा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का एकैचोटि कांग्रेस प्रवेश गरेका छन् ।
पछिल्लो समय नेपाली कलाकारहरू कुनै राजनीतिक दललाई समर्थन गर्ने मात्रै नभएर खुला रूपमा नै पार्टी प्रवेश गर्ने 'ट्रेन्ड' बाक्लिँदै गएको छ ।
हालै अभिनेत्री करिष्मा मानन्धर पनि नेकपा (एमाले) प्रवेश गरेकी छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले टीका लगाइदिएर अभिनेत्री मानन्धरलाई पार्टीमा स्वागत गरेका थिए ।
त्यसैगरी, अभिनेत्री रेखा थापा पनि यतिबेला राप्रपाबाट स्थानीय निर्वाचनको प्रचारप्रसारका लागि देश दौडाहामा छिन् । दिग्गज कलाकार मदनदास श्रेष्ठ पनि राप्रपाबाटै काठमाडौंको मेयर पदमा उठेका छन् ।
उसो त नेपालमा पहिलेदेखि नै गायिका कोमल ओली, दिग्गज कलाकार नीर शाह, फिल्मकर्मी रमेशजङ्ग रायमाझी, जेबी टुहुरेलगायत थुप्रै कलाकारहरू राजनीतिमा कुनै न कुनै पार्टीबाट सक्रिय छन् ।
एउटै पार्टीमा किन टिक्दैनन् कलाकार ?
कलाकारहरू एउटै पार्टीमा लामो समय टिकिरहेका छैनन् । अभिनेत्री करिश्मा मानन्धर र अभिनेताद्वय भुवन केसी र सरोज खनाल कुनै समय तत्कालीन नयाँ शक्तिमा प्रवेश गरेका थिए । तर, अहिले अभिनेत्री मानन्धर एमालेमा छिन् भने भुवन कांग्रेस प्रवेश गरेका छन् । त्यस्तै, सरोज पार्टीविहीन अवस्थामा छन् ।
अभिनेत्री मानन्धर भने पार्टी परिवर्तन गर्नुको कारण आफ्नो व्यस्तता भएको बताउँछिन् । उनी भन्छिन्, “नयाँ शक्तिमा आफ्नो इच्छाले नै लागेको थिएँ । पछि व्यस्तताले छुट्न पुग्यो । अब फेरि राजनीतिमै सक्रिय हुन्छु भन्ने सोचेर एमाले पार्टीसँग जोडिएको हुँ,” उनले भनिन् ।
यता, अभिनेता खनाल भने राजनीतिक दलबाट निराश छन् । राजनीतिक दलका प्रतिनिधि, नेताहरूले आफ्नै मान्छेलाई चुन्ने पद्धतिले उनी आजिद भइसकेका छन् । त्यसैले, उनी यसबारे बोल्न नै चाहँदैनन् ।
नयाँ शक्तिबाट निस्कनुको कारण बताउँदै उनी भन्छन्, “नयाँ शक्तिमा म झण्डा नै बोकेर नलागे पनि बाबुरामजीको भिजन मनपरेको थियो । तर, संगत गर्दै जाँदा उहाँमा त्यो क्षमता मैले देखिनँ । म ब्याक भएको कारण पनि यही हो । बौद्धिक मान्छे भए पनि इम्प्लिमेन्ट गर्ने क्षमता उहाँमा रहेनछ ।”
उनीजस्तै थुप्रै कलाकारहरू पार्टी परिवर्तन गर्नुको कारण मुख्य कारण नेताहरूको भिजन सुन्छन्, तर क्षमता नदेखेपछि पार्टी त्याग्छन् ।
कलाकारहरूको राजनीतिमा प्रवेश जरुरी छ ?
कलाकार मात्रै नभएर हरेक क्षेत्रका व्यक्तिहरू अब राजनीतिमा प्रवेश जरूरी भएको कलाकारहरूको भनाइ छ । अभिनेता भुवन केसी भन्छन्, “कलाकारले कलाकारिता गर्ने हो । इन्जिनियरले ठूला–ठूला भवन अनि पुल निर्माण गर्ने हो । डाक्टर, पत्रकारले आ–आफ्नो काम गर्ने हो । हरेक मान्छेलाई आफ्नो क्षेत्रलाई कसरी विकास गर्ने, त्यसका कमी–कमजोरी के छ भन्ने ज्ञान हुन्छ । त्यसैले, सबै क्षेत्रका विज्ञहरू नै अब राजनीतिमा उठेर आ–आफ्नो क्षेत्रको विकासमा लागे भने मात्रै देश बन्छ । त्यसैले म यसलाई सकारात्मक रूपमा लिन्छु ।”
अभिनेत्री मानन्धर पनि केसीको कुरामा सहमत छिन् । कलाकारलाई मात्रै आफ्नो क्षेत्रको सूक्ष्म–सूक्ष्म समस्या र कमजोरीहरू थाहा हुने भएकाले यसका लागि सरकारले नीति नियम बनाउने तहसम्म कलाकार पुग्नैपर्ने उनको जोड छ । यति भइसकेपछि मात्रै साँच्चै कला क्षेत्रमा सुधार हुने उनले बताए ।
कलाकार सरोज खनाललाई राजनीतिमा त्यति चासो छैन । कुनै समय डा. बाबुराम भट्टराईको भिजन मन परेर नयाँ शक्तिबाट राजनीतिमा प्रवेश गरेका थिए । तर, केही दिनअघि सामाजिक सञ्जालमा राखिएको स्टाटसले राजनीतिबाट नभई स्वतन्त्रबाट आउनुपर्ने उनको मनसाय देखिन्छ ।
तर, कलाकार किरण केसीको विचार भने अन्य कलाकारभन्दा विपरीत सुनियो । उनले कलाकारले कलाकारिता, पत्रकारले पत्रकारिता मात्रै गर्ने कि भन्ने आशय पनि व्यक्त गरेका छन् । त्यसैले, उनकै भनाइमा ९ वर्षअघि नेपाली कांग्रेस र एमालेबाट केन्द्रीय स्तरको गरिमामय पदका लागि अफर आउँदा पनि उनले स्वीकारेनन् ।
तर, यति भनिरहँदा अरू कलाकारहरूको राजनीति प्रवेश उनीहरूको व्यक्तिगत निर्णय भएकोले यसबारे ठिक/बेठिक, जरूरी छ वा छैन भन्नेबारे उनी केही बोल्न चाहेनन् ।
तर हिजोसम्म राजनीतिको आलोचना गरिरहेका कलाकाररू आज आफैँ त्यो ठाँउमा जान खोज्दा के भोलि जनताबाट त्यही गाली सुन्न नपर्ला त ? भन्ने जिज्ञासामा अभिनेत्री मानन्धर भन्छिन्, “अहिले धेरै साथीहरू यो क्षेत्रमा लाग्नुभएको छ । गाली खानेभन्दा पनि केका लागि गरिरहेको छु भनेर आफैँ क्लियर भइसकेपछि गालीसँग डराउनु पर्छ जस्तो मलाई लाग्दैन । यसलाई सहज रूपमा हेर्नुपर्छ ।”
कलाकारहरूको राजनीतिमा प्रवेश रुचिभन्दा पनि बाध्यता भएको गायक प्रकाश सपूतको बुझाइ छ ।
“कुनै पनि नीति–निर्माणको तह वा भनौँ सरकारसम्म पुग्नका लागि नै तपाई राजनीतिक बाटो भएर जानुपर्छ । स्वतन्त्रबाट प्रयास त भइरहेका छन् । तर, हाम्रोमा स्वतन्त्रबाट त्यहाँसम्म पुग्नका लागि अझै केही वर्ष लाग्छ होला । त्यसैले राजनीतिमा प्रवेश गर्न जरुरी नै छ,” सपूतले बताए ।
पदको लोभ !
अभिनेत्री मानन्धरले सार्वजनिक रूपमा नै राजनीतिमा प्रवेश गर्दा कहीँकतै पदको पनि लोभ र आशा पनि हुने बताएकी थिइन् ।
यसबारे प्रष्ट पार्दै उनले पदको लोभभन्दा पनि आफ्नो काम देखाउनका लागि त्यो पद नै जरुरी हुने बताइन् । अभिनेता भुवन केसी पनि पदको लोभमा आफ्नो लक्ष्य भुल्न नहुने बताउँछन् । अझ गोजीमा राजीनामा पत्र नै बोकेर हिँड्न सक्ने नेताको आवश्यकता भएको उनी औँल्याउछन् ।
“मैले आवाज उठाएँ भने मेरो पद गुम्ला कि भन्ने डरछेरुवा नेताले जतिसुकै ठुलो पोस्टमा गए पनि केही गर्दैन । भोलि जहाँ पुगे पनि देश र जनताको लागि काम गर्छु, सरकारले नदिए राजीनामा दिन तयार छु भन्न सक्ने खुबी भएकाहरूले मात्रै विकास गर्न सक्छ,” अभिनेता केसीले बताए ।