site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
किरण केसी : ‘चोक, पाठ्यक्रमदेखि ‘राता मकै’मै थेसिससम्म (भिडियो वार्ता)
फोटो/भिडियो : सचिन श्रेष्ठ/बाह्रखरी ।

काठमाडौं । ‘ए राता मकै ! होइन हो, ड्राइभर सा’ब कतापट्टि फर्केर हेरि’रा भन्या ? कति पैसा भो ? मिटरमा कति उठ्यो भन्या ?’ एकताकाको एउटा नेपाली टेलिशृंखलाको संवाद हो यो । पूरा संवाद सायद धेरैले बिर्सिसके । तर, थेगो ‘ए राता मकै !’ दर्शकको मनमस्तिष्कमा आज पनि उत्तिकै ताजा छ ।

कलाकार किरण केसी यही थेगोबाट लोकप्रिय भए । ‘दुर्घटनावश’ राखिएको थेगोको ‘ब्याज’ उनी आजसम्म पनि खाइरहेका छन् ।

‘१५ गते’ र ’लालपुर्जा’ले उनलाई नेपाली मनोरञ्जन क्षेत्रमा विशेषगरी हास्य विधामा स्थापित गरेकै थियो, ‘जिरे खुर्सानी’को उक्त थेगोले परिचयमा उपमा थपिदियो । 

शृंखलाको १७औँ तर कलाकार केसीका लागि पहिलो भागको छायांकन चलिरहेको थियो । केसी उक्त घटनामा सम्झिँदै भन्छन्, “सुटिङ गर्ने क्रममा निर्देशकले एक्सन भन्यो, मैले आफ्नो डायलग भनेँ । तर, एउटा सानो बच्चाले क्यामेराको ह्यान्डलमा छोएर क्यामेरा हल्लियो । फेरि गर्नुपर्ने भयो । रिपिट गर्दा जितु नेपालले खुसुक्क आएर ‘ए दाइ, ए राता मकै भन्ने हो कि !’ भन्यो । म पनि भन्न तयार भएँ । अनि, एक्सन भन्नेबित्तिकै सोही थेगोबाट सुरु गरेँ ।”

महजोडीको ‘१५ गते’, ‘लालपुर्जा’ वा ‘जिरे खुर्सानी’ नै किन नहोस्, एकपछि अर्को गर्दै सानो पर्दाका दर्शकलाई पेट मिचिमिची हाँस्न बाध्य बनाएका थिए । चार दशकदेखि उनले आफ्नो ठट्यौली हाउभाउ र संवादबाट हँसाउँदै आएका छन् ।

पछिल्लो समय उनी चलचित्र निर्माणमा पनि होमिएका छन् । उनी कार्यकारी निर्माताका रूपमा जोडिएको मल्टिस्टारर चलचित्र ‘लक्का जवान’ प्रदर्शनको अन्तिम चरणमा छ ।

बलिउड र दक्षिण भारतीय चलचित्रको छायामा नेपाली चलचित्र पर्‍यो भन्ने गुनासो निर्माता तथा निर्देशकहरूको छ । कलाकार किरण भने एकपछि अर्को गर्दै निर्माणमा होमिएका छन् । “चुनौती त हो नै, हामीले बनाएको फिल्म मात्रै देखाउनुपर्छ भनेर हुँदैन । बजारमा गएपछि बजारसँग प्रतिस्पर्धा गर्नैपर्छ । तर, प्रतिस्पर्धा गर्ने भन्दैमा हामीले हाम्रो संस्कृति र कलालाई नेपाली चलचित्रमार्फत देखाउन छोड्नु हुँदैन ।”

विदेशी चलचित्रले ओझेलमा पर्छ भन्दैमा चलचित्रमार्फत आफ्नो पहिचान जोगाउन छोड्न नहुनेमा उनी जोड दिन्छन् । “यसलाई सम्बन्धित निकाय जस्तै : विकास बोर्ड र नेपाल सरकारको सञ्चार र संस्कृति मन्त्रालयबाट परिमार्जित गरेर कोटा सिस्टममा लग्न सक्यौँ भने हाम्रो कला र संस्कृतिको उत्थान हुन्छ । नभए हाम्रो संस्कृति अतिक्रमण मात्रै होइन, न्याक्ने नै खालको अवस्था अहिले सिर्जना भएको छ,” केसीले भने ।

टर्निङ प्वाइन्ट 
कलाकार केसी आफ्नो करियरमा तीनवटा ‘टर्निङ प्वाइन्ट’ भएको बताउँछन् । पहिलो, महजोडीसँग खेलेको लोकप्रिय टेलिशृंखला ‘१५ गते’ । दोस्रो, महजोडीकै ‘लाल पुर्जा’ र तेस्रो, ‘जिरे खुर्सानी’ ।

जिरे खुर्सानीमा किरण केसीले बोलेका संवादहरू एकपछि अर्को गर्दै चर्चित हुँदै गए । फलस्वरूप, उनले विभिन्न विज्ञापनहरूमा खेल्ने मौका पाए । देशकै विभिन्न जिल्लादेखि विदेश सयरसम्मको अफर आयो ।

उनको लोकप्रियता यतिमा मात्रै सीमित छैन । काठमाडौंको इमाडोलका स्थानीय उनको घर जाने चोकको नाम नै ‘राता मकै’ नामांकन गरिएको छ । नेपाल सरकारले ‘राता मकै’ मार्ग भनेर रातो बुकमा लेखिदियो । कक्षा–५ को अंग्रेजी पाठ्यक्रममा ‘राता मकै’ भनेर एउटा विषय नै राखिदियो । एकजना विद्यार्थीले ‘राता मकै’को नाममा थेसिस नै गरेका छन् ।

ख्यालठट्टा र रमाइलो गर्न रुचाउने सानैदेखिको स्वभावका कारण न उनलाई पढाइमा रुचि भयो न त बुवाले भनेजस्तो ‘बिँडो’ नै थाम्न सके । कुनै समय सानो पर्दामा राजाराम पौडेल र किरण केसीको जोडी मज्जाले जमेको थियो । क्यामेरामा मात्रै नभएर पौडेल र केसी रियलमा पनि एकदमै ठट्टामजाक गर्छन् ।

ख्यालठट्टा गर्न र व्यंग्यात्मक रूपमा जस्तालाई त्यस्तै जवाफ फर्काउन सक्ने क्षमता उनमा छ । राजाराम पौडेलको एउटा ठट्टाकै कारण किरण केसीलाई आजभन्दा २५ वर्ष अगाडि पशु अस्पतालसम्म पुर्‍याएको रमाइलो प्रसंग पनि छ ।

ठूलो पर्दामा समेत उनले आफ्नो छाप छोडेका छन् । गीत पनि गाएका छन् । उनै केसीसँग नेपाली चलचित्र, हास्यव्यंग्य, माडीको जग्गा विवाद र राजनीतिमा कलाकारहरूको प्रवेशबारे गरिएको भिडियो संवाद हेर्नोस्–

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, वैशाख १९, २०७९  १४:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro