सप्तरी । एक महिनाअघि सप्तरीको डाक्नेश्वरी– ८ गम्हरीया, परवाहा जाँदा त्यहाँ आधा जमिनमा पनि धान रोपाईं गरिएको थिएन । जमिनहरू पटपटी फुटेका थिए । काँधमा फरुवा बोकेर आँपको बोटमुनी सुस्ताइरहेका किसानहरूको ओठमा खेतका भन्दा ठूला धाँजा फाटेका थिए ।
भारतले आफ्नो जमिन सिँचाइ गर्न तेर्स्याएको पानी हेरर मुख मिठ्याउनु र आँत चिस्याउनु सिवाय उनीहरूसँग कुनै विकल्प थिएन ।
त्यसको ठीक एक महिना नबित्दै सप्तरीको त्यही आसपासका गाउँहरू अर्को प्रकोपको निर्मम सिकार बनेको छ । अविरल वर्षा र त्यसबाट उत्पन्न भेल गाउँमा पस्दा दश हजारबढी सप्तरीबासीको थात न बास भएको छ । चुरे शृंखलाबाट बग्ने माहुली र खाँडो नदीले बाटो बिराएपछि दक्षिणी सप्तरीका केही ठाउँ र कोसी तटीय क्षेत्रहरू भग्न सहरमा परिणत बनेका छन् ।
पाँगोले पुरेका धानखेतको आलो माटोमा केही किसानहरू जसोतसो धान रोप्ने कृत्यमा देखिन्छन् । बाढीले बसोबास गुमाएका अधिकांश पीडितहरूचाहिँ मूलबाटामा पलेँटी कसेर राहतको पर्खाइमा आँखा बिच्छ्याइरहेका छन् ।
० ० ०
शनिबार सप्तरी भारदहस्थित इलाका प्रहरी कार्यालयमा पीडितहरूको ठूलो भीड थियो । करिब पाँच सय पीडितहरू राहत पाइन्छ कि भनेर झरीले चुटेको शरीर उखरमाउलो घाममा सेकाइरहेका थिए । भोका, नांगा बालिबालिकाहरू राहत बोकेका गाडी अघिल्तिर खानेकुराको याचना गरिरहेका थिए ।
मुस्किलले आउने एक दुई गाडी राहत दहमा ढुंगो फ्याले सरह प्रतीत हुन्थ्यो । त्यसमाथि पीडितभन्दा गैरपीडित र टाठा–बाठाले राहतमाथि रजाइँ गर्न खोज्ने प्रवृत्तिबाट सप्तरी पनि कहाँ मुक्त रहेछ र ! थप आहत रहेछन् सप्तरीका बाढीपीडित । “आएको राहत पनि जान्ने बुझ्नेहरू आफ्नै गाउँमा लैजान खोज्छन्, पाएसम्म आफ्नै ठाउँमा पुर्याउन खोज्छन्,” एउटी महिला आक्रोश पोख्दै थिइन्, “बाढी नै नपसेका घरधनीहरू पनि घर भत्किएकाको पंक्तिमा उभिएर राहत बटुलिरहेका छन्, हामी गरिबहरूको राहत थाप्ने पालै आएन ।”
एक फाँको च्युरा र एक प्याकेट चाउचाउको लागि चर्को घाममा लाम बसेर पोल्टो थापिरहेकाहरू रित्तो हात घर फर्कनुपर्ने टीठलाग्दो अवस्था पनि रहेछ त्यहाँ ।
तीन दिनअघि राहत बोकेर भारदहबाट दक्षिणको बस्ती पुग्दा शनिबारको जस्तो अवस्था थिएन । पानीले चुल्होचौको भिजेको, आँगन मझेरी हिलाम्य भएका पीडितहरू पानीले भिजेर जमाराजस्ता भएका अन्तपात घाममा सुकाउँदै थिए भने भत्किएको थातबास पन्छाउँदै पनि थिए कोही ।
तर, अहिले त्रिकोल, मैनाकडेरी, गोइठी लोहजरालगायत भित्रि गाउँबाट आएका पीडितहरूले भारदह भरिएको छ ।
“दिनको एक दुईवटा गाडी आउँछ, त्यही पनि टाठाबाठाहरूले आफ्नै गाउँतिर लैजान्छन् । वास्तविक पीडितहरू भोकभोकै छन्,” सुनाउँदै थिए पोर्ताहा–३ का पीडित अशोक मरिक ।
उनीलगायत २५ पीडित परिवार भारदह धाउन थालेको बाढी पसेको भोलिपल्टैदेखि हो । तर, कसैको आँखा परेन उनीहरूको पीडामा । “नहर फुटेर पोर्ताहा गाउँमा पस्दा उनीहरू घरबार बिहीन बनेका छन् । खुला आकाशमुनी भोकै, अनिदै छन् उनीहरू ।
गाउँमा कोही अगुवा नहुँदा जतिपटक राहत लिन आए पनि उनीहरू रित्तो हात फर्कनु परेको छ,” स्थानीय नेता एवम् दलित जनजाति पार्टीका जिल्ला उपाध्यक्ष नरेश मरिक सुनाउँदैथिए, “ठूला राजनीतिक पार्टी र मधेसी पार्टीले पीडितलाई राहत दिनुको सट्टा झनै आहत दिइरहेका छन् ।”
पूर्वदेखि पश्चिम तराईसम्मका अधिकांश भू–भाग जलमग्न बने । बालुवाले पुरिएर भग्न बने । वस्तुभाउ, अन्नपातमात्रै होइन, बस्ने थातसमेत बाढीको आहारा बने । तर, सबैभन्दा बढी पीडा बेहोर्यो तराईले । त्यसको प्रमुख कारण भनेको जनप्रतिनिधिबिहीन अवस्था हो ।
काठमाडौँलगायत मुलुकमा राहत उठाउने होडबाजी चलेको छ । प्रत्येक संघ–संस्थाको प्रमुख कार्य अहिले बाढीपीडितका नाममा सहयोग संकलन गर्ने नै भएको छ । त्यसका अलावा सामाजिक सञ्जालमा सक्रिय विभिन्न समूह, उपसमूहहरूले पनि स्वतःस्फूर्त राहत संकलन कार्यमा आफूलाई समाहित गरेका छन् । राजधानीका अधिकांश निजी तथा आवासीय विद्यालयले अभिभावकलाई चिट्ठी नै पठाएका छन्– तराईलगायत मुलुकका धेरै भूभाग बाढीले जलमग्न बनेको छ । विद्यालयले पनि बाढीपीडितका लागि सहयोग संकलन गरेर प्रभावित क्षेत्रमा पुग्दैछ । अभिभावकज्यूहरूबाट पनि यथासक्य सहयोगको अपेक्षा राखेका छौँ ।
राहत वितरणमा सरकारले लागु गर्न खोजेको एकद्वार प्रणाली सर्वोच्च अदालतले खारेज गरिदिएपछि राहत संकलन र वितरणको अन्योल दूर पनि भएको छ ।
तर, राहत लगेर कसरी बाँड्ने ? अन्योलमा छन् राहत संकलनकर्ता ।
हनुमाननगर कंकालिनी नगरपालिका–४ मजुवापुरका शिवनारायण मण्डल भन्दै थिए, “राजमार्ग पश्चिम, दक्षिण र केही उत्तरी गाउँहरू पूर्णतया डुवानको कहरमा छन् । सयौँ घरपरिवार चार–पाँचदिनदेखि भोकै छन् । तर केही पीडितहरू राजमार्गमा आएर थुप्रिएकाले राहत वितरणमा कठिनाइ भएको छ ।”
उनले जनप्रतिनिधि र गाउँमा नेतृत्व गर्ने मानिस नहुँदा पीडितहरू मर्कामा परेको गुनासो गरे । “राजनीतिक पार्टीका नेता–कार्यकर्ताले राहतलाई पनि आफ्नै कार्यकर्ता पोस्ने माध्यम बनाएका छन्,” उनी थप्दै थिए, “पहुँच भएका पीडितहरूले दोहोर्याएर, तेहेर्याएर राहत लिँदा वास्तविक पीडितहरू झनै मर्माहत भएका छन् ।”
जनप्रतिनिधि नहुँदा राहत वितरणमा कठिनाइ भएको उनी पनि स्वीकार्छन् । “बाढीपीडित क्षेत्रमा जनप्रतिनिधि भइदिएको भए राहत वितरणमा एकरूपता ल्याउन सकिन्थ्यो । दामासाहीका दरले राहत वितरण हुन्थ्यो । ‘कतै मातैमात कतै पुर्पुरोमा हात’को अवस्था आउँदैनथ्यो, कसले नपाएको, कसले दोहो¥याएको थाहा पनि हुन्थ्यो,” थपे उनले ।
राजमार्गबाहेक भित्रि बाटोहरू, नहरका छेउका बाटोहरू पूर्णतया क्षतिग्रस्त छन् । डुबान प्रभावित बस्तीहरूमा अझै भेल बगेको देख्न सकिन्छ । जगैसमेत नहरने गरी घरहरू बाढीमा विलय भएका छन् ।
बाटै नभएकाले राहत गाउँमा लैजान नसकिने भएकाले संकलित सामग्री राजमार्ग आसपासकै ठाउँमा बाँडेर आउँछन् संघ–संस्थाहरू ।
० ० ०
बाढी प्रभावित क्षेत्रमा अत्यावश्यकीय सामग्रीहरू अझै पुग्न नसकेको पीडितहरूको गुनासो छ । त्यसो त चाउचाउ, बिस्कुटलगायत ‘जंकफुड अत्यधिक मात्रामा पुगेका छन्, जुन उपयुक्त होइन । कुपोषणका सिकार भएका बालबालिकाको स्वास्थ्यमा विकार उत्पन्न गराउने खतरा त्यसले बढाएको स्थानीय बताउँछन् ।
त्यसबाहेक पुराना लुगाफाटो त्यहाँ पुगेका छन् । “सहरी क्षेत्र र पहाडी भेगबाट पुराना लुगाफाटो आएका छन् । पहाड र मधेसको लवाइमा अन्तर छ । त्यसैले यहाँका पीडितहरू पुराना लुगा लिन मानिरहेका छैनन्,” मण्डलले अनुभव सुनाए ।
आवश्यकीय त्रिपाल, खानेपानी शुद्धिकरणका लागि आवश्यक पर्ने सामग्री, खाद्यान्नलगायत चिजबिज पुग्न नसकेको मण्डल बताउँछन् ।
० ० ०
संकलित राहत सामग्री प्रशासनसँगको समन्वयमा बाँड्न आग्रह गर्छन् इलाका प्रहरी कार्यालय भारदहका प्रहरी सहायक निरीक्षक भवानी ठाकुर ।
स्वयम्सेवी समूहले आफूखुसी राहत बाँड्दा पीडितलाई राहत होइन, झनै आहत पुर्याउने उनको तर्क थियो । “विपद्को घडीमा पीडामा परेकालाई सहयोग गर्नु राम्रो कुरा हो । प्रशासनको सहयोग लिएमा वितरणमा कठिनाइ झेल्नुपर्दैन,” उनको सुझाव थियो ।
राहत सामग्री संलनमा भेल बाढी नै आएको भए पनि त्यो पीडितसम्म पुर्याउन नसकिएको उनको गुनासो थियो । “पीडितका नाममा पहुँचवालाको हालीमुहाली छ । राजनीतिक दलका कार्यकर्ता पनि आफ्नै ठाउँमा लान खोज्छन् । त्यसैले आएका सामग्री पनि पीडितको घरआँगनमा पुर्याउन सकिएको छैन,” उनको भनाइ थियो ।