वर्षा महर्जन । मृत्युले सबैलाई दुखी बनाउँछ, चाहे त्यो आफ्नो मान्छेको होस् वा आफूले माया अनि स्याहार सुसार गरेर पालेको घरपालुवा जनावर नै किन नहोस् । अझ, प्रेमललवाका लागि त वसन्ती एउटा साधारण घोडा मात्रै थिएन । वसन्ती उसको सुखदुःखको साथी थियो । उनी ८ वर्षको हुँदानहुँदै बुबालाई ट्रकले किचेर मारिदियो । सोही वर्ष उनको आमाको पनि दमका कारण निधन भयो ।
उसको बुबालाई किचेर मारेको ट्रकको मालिकबाट प्रेमललवालाई नेता राजेन्द्रराजले ८ हजार रुपैयाँ क्षतिपूर्ति दिलाइदियो । त्यसको दुई वर्षपछि प्रेमललवाले त्यही पैसाबाट एउटा टाँगा किने । टाँगा त पाए तर घोडा थिएन । घोडा किन्न प्रेमललवासँग दाम पनि थिएन ।
त्यस्तो पनि दिन आयो प्रेमललवा निमोनियाबाट थला परे । पेट भोको राखेर बचाएको ६० रुपैयाँ अनि राजेन्द्रराजसँग ३०० रुपैंया सापटी मागेर उपचार गराए ।
उधारो तिर्न प्रेमललवाले राजेन्द्रराजको उक्साहटमा घर बेचे । सिलाबाबुसँग एक लाखको सम्झौतामा बेचेको घरबाट राजेन्द्रराजले प्रेमललवालाई जम्मा ३० हजार थमाइदिए । प्रेमललवाको घर भएकै ठाँउमा सिलाबाबुको पार्टी कार्यालय छ ।
प्रेमललवाले त्यो ३० हजारमध्ये २० हजारमा जग्गा किने बाँकी रहेको १० हजारले उसले घोडी (वसन्ती) किने ।
वसन्ती उसको दुई छाक भोक टार्ने एउटै साहारा थिई । प्रेमललवा टाँगा चलाएरै जिविकोपार्जन गर्थे । वसन्ती आएपछि प्रेमललवालाई केही सहज भएको थियो । तर, एकदिन वसन्ती उलारका कारण बित्छे । जीवनको एउटै साहाराले पनि सधैँका लागि साथ छोडेर जाँदा प्रेमललवा कस्तो दुःखको भुमरीबाट गुज्रिनुपर्यो ? आखिर के कारण उलार भयो ? के वसन्तीको उलार कुनै राजनैतिक घटनाक्रमसँग जोडिएको छ ? छ भने त्यो के थियो ? यीर यस्तै प्रश्नहरूको उत्तर पाउनका लागि टेकुस्थित कौशी थिएटरको ‘कथा घेरा’ एकपटक पुग्नै पर्छ ।
यो दृश्यको वर्णन गरिरहँदा कतिलाई चिरपरिचित कथा जस्तो भान हुनसक्छ । यो सहित्यकार नयनराज पाण्डेको चर्चित उपन्यास ‘उलार’ भित्रको एउटा घटनाक्रम हो । नयनराजको शब्द भाषा यतिबेला वैशाख १८ गतेसम्मका लागि ‘कथा घेरा’ मा दृश्यभाषामा मञ्चन भैरहेको छ । २५ वर्षअघि प्रकाशित ‘उलार’ रंगमञ्चमा चे शंकरले ल्याएका हुन् । नाटकमा उनको नाट्य रुपान्तरण र निर्देशन रहेको छ । नेपालगन्जको परिवेशमा बुनिएको सिमान्तकृत नागरिकको संघर्षको कथा हो ।
उपन्यासमा पढिसकेका दर्शकका लागि यो कथा कुनै नौलो होइन । त्यसो भए किन उनीहरु ‘उलार’ हेर्न जाने ? जिज्ञासा पैदा हुन सक्छ । जवाफमा निर्देशक चे शंकर भन्छन्, “नाटकको भाषा फरक हुन्छ । नाटक जीवनसँग सहजै जोडिन्छ, पाँच नेत्रहरूको अनुभव लिन सकिन्छ । किताब पढेर जुन अनुभव लिनुभएको थियो, अब दृश्यमार्फत त्यहीलाई अनुभूत गर्न आउने । नाटक युुनिभर्सल भाषा हो । त्यसैले एकपटक आउँदा राम्रो हुन्छ । उपन्यास नपढेका दर्शकका लागि पनि नाटक हेरेर निराश बनाउँदैनौं ।”
आञ्चलिक भाषा (लवज)का संवाद, सोही लवजमा बेलाबेला गाउने गीत, पहिरन, बिम्बहरुको प्रयोगले दर्शकलाई साँच्चै त्यही समुदायमा लगेको भान हुन्छ । तर, सोही लवज भएकै कारण दर्शकलाई कैयौं संवादको अर्थ बुझ्न केही कठिन हुन सक्छ । यति भनिरहँदा नाटक दृश्य भाषा भएका कारण दृश्य (अभिनय र हाउभाउ)ले धेरै कुरा प्रस्ट्याउँछ ।
साहित्यकार पाण्डेले कैयौं पानामा अटाएको शब्द भाषालाई करिब डेढ घण्टाको दृश्यभाषामा प्रस्टरुपमा देखाउनका लागि निर्देशकले चालाखीपूर्ण प्रयोग गरेको सूत्रधार (न्यारेटर)ले पनि नाटक बुझ्न अझै सहज बनाइदिन्छ ।
नाटकमा बादी समुदायको रोदन, विवश्ता, अनि लाचारपनलाई द्रोपदी पात्रमा सरिता गिरीले जिवन्त उतारेकी छन् । पुस्तौदेखि यही पेशा गर्न बाध्य द्रोपदीले आफ्नी छोरीलाई भने यो पेशाबाट टाढै राख्न चाहिन्छन् । निर्वाचनमा भोट हाल्न जाँदा द्रोपदीको नाम भोटिङ लिस्टमा हुँदैन । यो एउटा दृश्यले समाजमा बादी समुदायको अस्तित्वलाई छर्लङ्ग पार्छ ।
समग्रमा नाटकले सैयौँ भुईँमान्छेको त्याग, साथ, सहयोग अनि बलिदानका कारण सत्तामा पुगेका राजनीतिक दलका नेताहरुले ती भुर्इँमान्छेको जीवन अनि आशामा ल्याउन नसकेको परिवर्तनलाई चित्रण गर्न खोजेको छ ।
मुख्य पात्रमा द्रोपदीको भूमिकामा सरिता गिरी, प्रेमललवामा सबिर चुरौटे, कलुवाको भूमिकामा सञ्जय गुप्ता, ननकौवको भूमिका नबिन अरियाल, राजेन्द्र बाबुको भूमिका विशाल क्षेत्री अनि शान्तिराजामा ऋसिकेश बस्यालले निभाएका छन् भने शेखर चापागाईंले शूत्रधारको भूमिका निभाएका छन् ।
गार्डेन थिएटर र कौशी थिएरको सहकार्यमा नाटक मञ्चन भैरहेको छ ।