काइँयो, कपाल कोर्ने साधन । लट्टा परेको कपाल कोर्ने औजार । काइँयो प्रयोग नगर्ने सायदै कोही होलान् । तर, कतिले काइँयोलाई ‘कलाकृति’को रूपमा हेर्छन् होला ?
नेपाली योङ कन्टेम्पोररी आर्टिस्ट (समकालीन युवा कलाकार) सबिता डंगोलका लागि काइँयो केवल कपाल कोर्ने साधन मात्र होइन । उनका लागि काइँयो कलाको रूप हो । उनी काइँयोलाई कलात्मक भाषाबाट फरक तरिकाले प्रस्तुत गर्न रुचाउँछिन् ।
सबिताका पछिल्ला हरेक कलामा काइँयोलाई बिम्बको रूपमा देख्न सकिन्छ । काइँयोलाई उनले सम्बन्धमा भएको उल्झनलाई फुकाएर माया गर्ने जोडीलाई एकअर्कासँग जोड्ने कसीको रूपमा देखाएकी छन् ।
विवाहपछिको जीवन, पत्नीको पतिप्रेम वा पतिको पत्नीप्रेम, दाम्पत्य जीवनमा प्रवेश गरेपछि सबिताले कपल सिरज मार्फत् देखाउँदै आएकी छन् । आफ्नो पति ईशान परियारसँगको प्रेम, कहिलेकाहीँ मनमुटाउ तर समग्रमा आफ्नै जीवनाभूति झल्किन्छन्–उनका चित्रहरूमा ।
यस्तै अनुभूति देखाउने प्रयास हो–‘काइँयो सिरिज’ । जहाँ काइँयोले प्रेमिल जोडीका उल्झनहरू फुकाएका छन् । प्रकृतिका बिम्बहरूसँग उनका प्रेमिल जोडीहरू मुस्कुराइरहेका छन् ।
बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा डंगोलको एकल कला प्रदर्शनी भइरहेको छ । क्यानभासमा देखिने उनका काइँयोहरू अहिले साँच्चिकै काइँयो बनेर ग्यालरीको दोस्रो तलामा सजिएका छन् । उनले काठबाट बनाएको काइँयोमा विभिन्न चम्किला रङ प्रयोग गरी बुट्टा भरेकी छन् ।
उनले आफ्नो कलालाई ‘इन्क्लाइनेसन अफ सोल’ नाम दिएकी छन् । जसलाई उनी आत्मा, प्रकृति र परम्पराको संगम भन्न रुचाउँछिन् । यही शीर्षकमा उनका ३१ वटा चित्र र करिब ९ वटा काइँयोे अवलोकन गर्न सकिन्छ ।
प्रदर्शनीमा उनले कोरोना समयमा घरभित्रै थुनिँदा ‘मिस’ गरेका धार्मिक एवं सांस्कृतिक महत्व बोकेका सम्पदाहरूलाई पनि क्यानभासमा सजाएकी छन् । यस्तै केही क्यानभासमा प्रकृति, मानव र सम्पदाबीचको सम्बन्धलाई पनि काइँयोले जोडेकी छन् । प्रदर्शनीमा कोरोना कालदेखि हालसालै तयार पारेका कलाकृतिहरू राखेको उनले बताइन् ।
‘अडेसियस एमिकेबल’ शीर्षकमा तयार पारेको एउटा बडेमान पेन्टिङमा उनले आफू र आफ्नो कलाकार पति ईशानको जीवनीको बारेमा चित्रण गर्न खोजेकी छन् ।
यसमा एकप्रेमिल जोडी सूर्यको प्रकाश अर्थात् उज्यालोतर्फ उडिरहेको देख्न सकिन्छ । पृष्ठभूमिमा उज्यालो रातो रंग र त्यसमाथि फूलबुुट्टा भरेकी छिन् । यही पेन्टिङमा उनले माछा र सामाजिक सञ्जालमा प्रयोग हुने ईमोजीहरू पनि कोरेकी छन् ।
“यो मेरो र ईशानको जीवन हो,” पेन्टिङबारे प्रष्ट पार्दै सबिताले भनिन्, “यहाँ प्रयोग गरिएका यी ईमोजीमार्फत् हाम्रा कला र काम हर्ने साथीहरूले कसरी हेरिरहनु भएको छ भन्ने देखाउने कोसिस गरेकी हुँ ।”
“कसैले वाह ! भन्नुहोला, कसैले छ्या !, कसैले अर्कै प्रतिक्रिया दिनुहोला । त्यही प्रतिक्रियालाई ईमोजीमार्फत् देखाउन खोजेकी हुँ,” उनले थपिन्, “र, माछा भनेको स्वतन्त्रताको प्रतीक हो ।”
कला लेखकको आँखामा डंगोलका पेन्टिङ
कला लेखक मुकेश मल्लका अनुसार सबिता डंगोल कम्टेम्पोररी (समकालीन) कलामा परम्परागत आकृतिलाई पनि स्थान दिएर ‘टू डिमेन्शन’मा खेल्ने कलाकार हुन् ।
‘टू डिमेन्शन’ भनेको नेपाली परम्परागत कला हो, जहाँ बुट्टाहरू, डिटेलिङहरू पर्दछन् । यस्तै थ्री डिमेन्शन भनेको पश्चिमा शैली हो । पश्चिमाहरू ‘टू डिमेन्शन’ र नेपाली कलाकारहरू ‘थ्री डिमेन्शन’को अवधारणामा समकालीन कलातर्फ आकर्षित भइरहँदा कलाकार डंगोलले भने ‘टू डिमेन्शन’ लाई पनि स्थान दिएको मल्लले बताए ।
“सबिताले टू डिमेन्शनमा खेलेर हाम्रो परम्परागत कला र पश्चिमा कलालाई जोड्ने कोसिस गरेकी छन् । उनका कला समकालीन भए पनि नेपालीपन पनि झल्किन्छ । हाम्रो परम्परालाई पनि जोड्न खोजेकी छन् । यो डंगोलको अर्को परिचय हो,” मल्ल थप्छन् ।
उनको पेन्टिङको मुख्य आकर्षण भनेकै ‘प्रोफाइल फेस’ हो । उनका पेन्टिङहरूमा देखिने प्रेमिल जोडीका अनुहार जहिले पनि आधा भागमात्रै देखिन्छ । एकअर्कालाई हेरिरहेकोे वा दाँया या बाँया मात्रै फर्किरहेको देखिन्छ ।
प्रोफाइल फेसको प्रयोग गर्नुमा पनि सबिताको आफ्नै धारणा छ । यसको कारण खुलाउँदै उनी भन्छिन्, “कोहीसँग जतिसुुकै नजिक भए पनि पूर्ण रूपमा चिन्नै सक्दैनौं । आफूले आफैँलाई जति चिन्छौँ त्यति दोस्रो व्यक्तिले चिन्नै सक्दैन । त्यही भएर मैले प्रोफाइल फेस बनाएको हुँ ।”
यो शैली भने नयाँ होइन । परम्परागत लोककला विशेषगरी मुगल आर्टमा पनि प्रोफाइल फेसहरू देख्न सकिन्छ । त्यसैले उनी जानीनजानी परम्परागत शैलीबाट प्रेरित भएको भान हुन्छ ।
समकालीन र परम्परागत कलाको समिश्रण स्वरूप उनले एउटा पेन्टिङमा नेवारी पहिरन अनि गहनामा सजिएका ‘बाउचा, मैंचा’लाई भगवान उमा महेश्वरीको मुद्रामा राखेर हातमा आइफोन ठमाइदिएकी छन् ।
छ वर्षदेखि उनले यही कपल सिरिजमा नै काम गरिरहेकी छन् । अब भने केही फरक गर्ने उनको योजना छ । तर, उनलाई चिनाएको यो शैलीलाई पनि सँगै लान चाहन्छिन् । कलाप्रेमिको भाव बुझेकी उनी नयाँपन ल्याउने सोचमा छिन् ।
‘झन्डाबिनाको कार्यकर्ता’
जेलिएको सम्बन्धलाई सलक्क पार्न ‘काइँयो’ बनाउने कलाकार डंगोललाई लाग्थ्यो–कलाकारिता, विशेषगरी ललितकलाका कलाकारहरू स्वतन्त्र हुन्छन् । तर, यस क्षेत्रमा प्रवेश गरेपछि धेरै गुटबन्दी देखेको उनले बताइन् ।
“कलाकारिता भनेको स्वतन्त्र पोखिने भाव हो । तर यहाँ आएपछि थाहा पाएँ कि यो क्षेत्रमा झन् धेरै गुटबन्दी हुने रहेछ,” कला क्षेत्रको अवस्था सुनाउँदै सबिता भन्छिन्, “यहाँ यतिधेरै संस्थाहरू छन्, कसैले कता, कसैले कता बोलाइरहेका हुन्छन् । एउटासँग गयो अर्को रिसाउँछ । हामी त कार्यकर्ता जस्तै भैसकेका छौँ, झन्डामात्रै छैन । झन्डाबिनाको कार्यकर्ताभन्दा पनि फरक नपर्ला ।
यस्तो गुटबन्दीबाट मुक्त भएर काम गर्नु पर्ने उनको बुझाई छ । “हामी भने स्वतन्त्र भएर काम गर्न सकिन्छ भनेर काम गरिरेहका छौं,” उनले थपिन् ।