पोखरा । गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति हुन्, सूर्य खड्का बिखर्ची । उनले गएको कात्तिक १७ गते एउटा पुस्तक प्रकाशनमा ल्याए, ‘लमजुङ र पृथ्वीसुब्बा’ ।
गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र उनको गृहजिल्लाका बारेमा आधारित यो पुस्तक प्रकाशन हुनासाथ गुरुङ समुदायले यसलाई ‘विकृति’को संज्ञा दियो । संयोग के छ भने, गुरुङ मुख्यमन्त्री हुँदा नै आर्थिक सहायता कार्यविधि उल्लंघन गरेर बिखर्चीलाई पुस्तक लेख्न एकै वर्ष एउटै शीर्षकमा दुईपटक गरी एक लाख ५० हजार रुपैयाँ दिइएको थियो ।
कुलपति बिखर्चीलाई आर्थिक वर्षको अन्त्यतिर गुरुङ नेतृत्वको सरकारले ‘पुस्तक प्रकाशनमा आर्थिक सहयोग’ शीर्षकमा एक लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको थियो । गण्डकी मन्त्रिपरिषद्को ०७७ असार २५ गतेको बैठकले यो निर्णय गरेको थियो ।
मन्त्रिपरिषद्ले असार २५ गते निर्णय गरे पनि बिखर्चीले जेठ ३० मा एक लाख र असार ११ गते ५० हजार रुपैयाँ लिएका थिए । भुक्तानी पहिल्यै लिएर निर्णय अन्तिम असारमा गरिएको थियो । आफ्नो सरकार धरमराएपछि मुख्यमन्त्री गुरुङले उनै बिखर्चीलाई ०७८ वैशाख १४ गते कुलपतिमा नियुक्त गरेर पाँच वर्षका लागि सरकारी पद थमाए ।
उनले गएको कात्तिकमा प्रकाशन गरेको कृतिले गुरुङ समुदायमा विकृति ल्याएको भन्दै विरोध भयो । त्यति बेला गुरुङसम्बद्ध संघसंस्थाले सच्याएर प्रकाशन गर्न आग्रह गरे ।
आग्रह स्वीकार गरेर फागुनमा पुनः प्रकाशन गरे । तर, त्यो पुस्तक पनि विवादमा प¥यो । विवाद यति अगाडि बढ्यो कि कुलपतिले आफ्नै पुस्तक आफ्नै हातले जलाउनुपर्यो ।
तमू धिं नेपाल, तमू प्ये ल्हु संघ, गुरुङ फिल्म एसोसिएसन नेपाल, गुरुङ साहित्यिक मञ्च नेपाल, तमू ह्युल छोंज धी कास्की, तमू ह्युल छोंज धी गण्डकी प्रदेश समिति, तमू ह्युल छोंज धी केन्द्रीय समिति, तमू सांस्कृतिक प्रतिष्ठान नेपाल, तमू कलाकार संघ गण्डकीको निरन्तर विरोध र दबाब आयो ।
गएको शुक्रबार गुरुङ समुदायका नौ संस्थाका पदाधिकारीसामु उपस्थित भएर उनले भने, “...फागुनमा पुनः पुस्तक प्रकाशन गर्दा सच्याइएको व्यहोरा अनुरोध गर्दै पहिलो संस्करणका सञ्चित सबै प्रतिहरू, कम्प्युटरमा रहेका डिजिटल कपी समेत नष्ट गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।”
त्यतिखेरै उनले आफ्नो पुस्तकको एक अंशमा आगो पनि लगाए । आगो लगाइएको पृष्ठ १५ को एक अनुच्छेदमा लेखिएको थियो, “गुरुङ जातिहरूमध्ये उच्चस्तरको चार जात र निम्नस्तरको सोह्र जात भनेर पनि चिनिन्छ । यिनी (पृथ्वीसुब्बा गुरुङ) चारजाते हुन् । तर, यिनी जातीय विभेदको विरोध गर्छन् ।”
सोही वाक्यका कारण गुरुङसम्बद्ध संघसंस्था एकजुट भएर विरोध जनाएका थिए । विज्ञप्ति निकाले । कुलपति बिखर्चीले माफी माग्नुपर्ने र तत्काल पदबाट राजीनामा दिनुपर्ने भन्दै बिहीबार २४ घण्टे ‘अल्टिमेटम’ दिए ।
२४ घण्टापछि कुलपति आफैँ उपस्थित भए । शुक्रबार गुरुङ साहित्यिक मञ्चले आयोजना गरेको कार्यक्रममा माफीसहित विज्ञप्ति जारी गरे । आफ्नै कृति जलाए । आफूले नियतवश नभई भूलवश उक्त कुरा लेखेको र एउटा समुदायको बारेमा राम्रो लेख्छु भन्दा आफू चिप्लिएको भन्दै आत्मालोचना गरे ।
बिखर्चीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “...अनुच्छेदमा रहेका केही अभिव्यक्तिहरू नेपालको संविधानको मर्मविपरीत रहेको र समुदायमा असमानता ल्याउने तथा समुदायमा विचलन खडा गर्ने खालको रहेको हुँदा उक्त अभिव्यक्तिलाई २०७८ साल फागुनमा पुनः पुस्तक प्रकाशन गर्दा सच्याइएको व्यहोरा अनुरोध गर्दै पहिलो संस्करणका सञ्चित सबै प्रतिहरू, कम्प्युटरमा रहेका डिजिटल कपी समेत नष्ट गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।
तमु सद्भाव र संस्कृतिप्रति गहिरो सानिध्यता रहेको छ । मेरो जीवनको सबै सफलतामा यहाँहरूको साथ, सहयोग र सद्भाव अपरिहार्य रहेको कुरा आत्मसात् गर्दछु । देशको चौतर्फी विकासमा अहम् भूमिका खेलेको गुरुङ समुदायका बुवाआमा, दाजुभाइ, दिदीबहिनीहरूमा अन्तरआत्माबाट नै श्रद्धा व्यक्त गर्दछु । यहाँहरूसँग सदा निकट रहने एवं रचनात्मक कार्यहरूमा यहाँहरूको सद्भाव, प्रेरणा सहयोग र सानिध्यताको अपेक्षा गर्दै म अन्जानमा हुन गएको त्रुटिका कारण यहाँहरूमा पर्न गएको आघातप्रति हृदयदेखि नै क्षमायाचना गर्दछु र आगामी दिनमा जान–अन्जानमा कुनै पनि भूल नगर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।”
यता, राजीनामा मागेको गुरुङसम्बद्ध संस्थाहरूले तत्कालका लागि माफी दिने र राजीनामा नमाग्ने निर्णय गरिएको छ । ‘बजारमा सो पुस्तक भेटिए त्यसको जिम्मा कुलपतिले लिने र गुरुङलगायत कुनै पनि समुदायको बारेमा लेख्दा सम्बन्धित समुदायका विज्ञहरूसँग राय–सुझाव लिएर मात्र लेख्ने प्रतिबद्धता जनाएका कारण माफी दिने र विरोधका कार्यक्रम स्थगित गर्ने निर्णय गरेको’ तमू प्ये ल्हु संघका अध्यक्ष हितकाजी गुरुङले जानकारी दिए ।
नौ संघसंस्थाका पदाधिकारी उपस्थित बैठकले गरेको निर्णयमा भनिएको छ, “लमजुङ र पृथ्वीसुब्बा नामक हातेपुस्तकमा आफूले लेखेको विभेदकारी वाक्यांश गुरुङ समाजको संरचनात्मक यथार्थसँग कहीँ कतै सत्य नरहेको, नियतवश नलेखेको र आफूले विवेक पु¥याउन नसकेको स्वीकार गर्दै उक्त पुस्तकको विवादित पृष्ठ स्वयंले च्याती सम्पूर्ण गुरुङ समुदायको प्रतिनिधिहरूमाझ जलाएर नष्ट गर्दै अबउप्रान्त गुरुङ समुदायको आत्मसम्मानमा दख्खल दिने कार्य नगर्ने र बाँकी सबै वितरण गरिएका पुस्तकहरू (इलेक्ट्रोनिक भर्सनसहित) नष्ट गर्ने र कहीँ कतै सो पुस्तक भेटिएमा स्वयं जिम्मेवार रहने प्रतिबद्धता जनाउँदै आत्मालोचनासहित क्षमायाचना गरिएकोले माफी दिने निर्णय गरियो ।”