पोखरा । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले आफ्नै कर्मचारीमाथि हातपात गरेका छन् । मनाङेको सचिवालय आफैँले यसलाई भनाभन भएको भन्दै पुष्टि गरेको छ ।
स्वतन्त्रबाट निर्वाचित भएर पनि गण्डकीमा बनेका दुवै सरकारमा मन्त्री बनेका मनाङे कर्मचारीका लागि चाहिँ अभिसाप बनेका छन् । उनको हातपात काण्ड यो पहिलो होइन ।
यसअघि पनि मन्त्रालय जाँदा चप्पल, ट्रयाकसुटमा जाने मनाङेले कर्मचारीलाई अगाडि बोलाएर अपशब्द बोल्नु कुनै नयाँ कुरा होइन । पहिलोपटक काम विशेषले मन्त्रालय जाँदा मन्त्री मनाङे भएको खण्डमा अपशब्द सुनेरै फर्किन्छन् ।
मंगलबार घटना हुँदा पनि बागलुङबाट सम्झौताका लागि उपभोक्ता समूह आएका थिए । यही क्रममा उनले मंगलबार आफ्नै मन्त्रालयका युवा शाखा प्रमुख प्रकाश ओझामाथि हातपात गरेका हुन् ।
तर, मन्त्रालयका कोही पनि कर्मचारीले यो घटनालाई पुष्टि गर्न मान्दैनन् । तर, जानकारी भने सबै कर्मचारीलाई छ । मन्त्रालयका सचिव बद्रिनाथ अधिकारी आन्तरिक मामिला मन्त्रालयको सुरक्षा सम्बन्धित कार्यक्रममा सहभागिता जनाउन बागलुङ पुगेका छन् ।
उनले घटनाबारे बुझ्न खोजेको तर सम्बन्धित कर्मचारीको मोबाइल अफ रहेको प्रतिक्रिया दिए ।
“म बागलुङ छु, घटनाबारे बुझ्न खोज्दै छु, सम्पर्क हुन सकेको छैन,” उनले भने ।
यसबाहेक मन्त्रालयका अन्य कर्मचारीले भनाभन भएको सुनेको बताएका छन् । मन्त्रालयका एक कर्मचारीले भने, “म अर्को शाखामा गएको बेलामा त्यस्तो घटना भएको रहेछ ।”
यता मनाङेको सचिवालय आफैँले सामान्य भनाभन मात्रै भएको जनाएको छ । तर, विगतमा उनका व्यवहारको आधार हेर्दा उनले सार्वजनिक स्थलमै एकजना व्यक्तिमाथि हातपात गर्दा पनि सम्झाएको भन्ने जवाफ मन्त्रीले दिएका थिए ।
यसबाहेक उनले दिने सार्वजनिक अभिव्यक्ति पनि विवादास्पद छन् ।
मनाङे आफैँले चाहिँ युवा स्वरोजगारको कार्यक्रमको कार्यविधिलाई लिएर सम्झाएको बताएका छन ।
“आचारसंहिता लाग्दैछ, त्यसपछि हामीले कार्यक्रम खर्च गर्नै पाइँदैन, त्यही बारेमा सम्झाएको हुँ,” उनले भने ।