काठमाडौँ । भारदहबाट दक्षिणतिर झरेपछि सप्तरी जिल्लाको पुरानो बजार आउँछ, हनुमाननगर । हनुमानगरबाट दक्षिणतर्फ नियाल्दा धमिलो पानीबाहेक केही देखिँदैन, आँखाले भ्याएसम्म ।
धमिलो सागरमा परिणत भएको भू–भाग गोबरगाढा हो । सप्तरी सदरमुकामबाट १२ किलोमिटर पर रहे पनि कोसौँ टाढा प्रतीत हुन्छ । शिक्षा, स्वास्थ्य, सञ्चार, यातायातलगायत विकासका न्यूनतम पूर्वाधारसमेत छैनन् गाउँमा ।
बाढीले चारैतिरबाट घेरेपछि दुई सय गोबरगाढाबासी स्कुल र स्वास्थ्यचौकीको शरणमा छन् भने उनीहरूको अवस्था बुझ्न राज्य पुग्न सकिराखेको छैन । ‘राज्यविहीन’को टीठलाग्दो अवस्था छ त्यहाँ ।
चारैतिर हरियाली घाँसे मैदान । उर्वरायुक्त जमिन । कोसी किनारमा अवस्थित सीमावर्ती गाउँको मनोरम दृष्य अक्षरमा अटाउन निकै गाह्रो छ । त्यति नै गाह्रो छ अहिले त्यहाँको कहर शब्दमा समेट्न ।
शुक्रबारदेखि परेको पानीले कोसीको भँगालो बढेको छ । दर्जन भँगालोले अँगालो मारेको गोबरगाढाको भूभाग जलमग्न मात्रै छैन, पानी सुकेपछि भग्न बगरमा परिणत हुने पक्कापक्की छ ।
२ वर्षअघि हनुमाननगर योगिनीमाई नगरपालिकामा समेटिएको गोबरगाढा नयाँ पुनर्संरचनाअनुसार हनुमाननगर कंकालिनी नगरपालिकामा गाभिएको छ । फराकिलो अस्तित्व बोकेको गोबरगाढा पहिला सिंगै गाउँ विकास समिति थियो । अहिले एउटा वडामा समेटिएको छ । ठीक त्यस्तै भय छ– गोबरगाढा सिंगैलाई कहिले कोसीले निलिदिने हो, पाँगोले पुरेर निमट्यान्न बनाइदिने हो ।
० ० ०
“बर्सेनि कोसीको सतह बढ्ने र नदीले धार परिवर्तन गर्दै जाने हो भने एक दिन गोबरगाढाको अस्तित्व नामटे हुनेछ । र, इतिहासमा मात्रै सीमित हुनेछ,” स्थानीय हरिनारायण यादव सुनाउँदै थिए, “हामी त राज्यको उपेक्षाको सिकार भएका छौँ ।”
भर्खरैको बाढीले २५० वटा गोरु बगायो । तिनै थिए गोबरगाढाबासीको हातमुख जोर्ने माध्यम । भएका वस्तुभाउ लगेर मृगकुञ्जमा बाँधेका छन् । मुस्किल छ बाढी छिचोलेर स्याहारसुसार गर्न जान पनि । खेती गरेको जमिन जलासयमा परिणत भएका छन् । “खेत डुबाए त केही थिएन मध्यरात कतिबेला बाढी आउने हो र जीवनलीला नै समाप्त पारिदिने हो, भयले कुँजो बनाएको छ हामीलाई,” पीडा पोख्दै थिए उनी ।
बाढीले विद्यालय बन्द छन् । त्यसो त हिँउदमा पनि कहाँ स्कुल खुल्ला थियो र ? सात कक्षासम्म पढाइ हुने शारदा निम्न माध्यामिक विद्यालय छ, गाउँको मध्य भागमा । तर, शिक्षक छन् तीन जना । त्यो पनि हिँउदमा मात्रै मुख देखाउन आउँछन् ।
शिक्षक स्कुलमा पढाउन नआउने भएपछि त्यहाँका पढ्ने उमेरका बालबालिकाको दैनिकी दिनभर डुँगा खियाउँदै, कोसीको भेलले बगाएर ल्याएका दाउरा बटुल्दै र माछा मार्दै व्यतीत भइरहेको छ ।
“तीन शिक्षकको दरबन्दी छ तर प्रधानाध्यापकमात्रै विद्यालय आउँछन्,” हरिनारायण त्यहाँको शैक्षिक स्थिति प्रकाश पार्दै थिए, “दुई–तीन कक्षाका विद्यार्थी एकै कक्षामा राखेर पढाउनुपर्ने बाध्यता छ ।
सुरक्षाको अवस्था झनै डरलाग्दो भएको उनको भनाइ थियो । “कहिले कोसीटप्पुबाट आएको हात्तीले बितन्डा मच्चाउँछ । अन्य जंगली जन्तुको भय त्यतिकै छ । बालिनाली विनास गरे त केही थिएन, मान्छेकै ज्यान जाने भयले रातभर जागै बस्छन् गोबरगाढाबासी ।”
त्यस्तै अर्को भय छ– भारतीय अपराधीहरूको । भारतीय सीमा क्षेत्र भएकाले तस्करीहरूको लुक्ने ठाउँ त बन्दैछैन भन्ने डरले लुगलुगी कँपाएको छ गोबरगाढाबासीलाई ।
कोसीका दर्जन भँगालो छिचोलेर गोरबगाढा पुग्नुपर्ने भएकाले सुरक्षाकर्मीको उपस्थिति शून्यप्रायः छ । “रित्तो प्रहरीचौकीको सुरक्षा होर्डिङ बोर्डले गरिरहेको छ, गाउँको सुरक्षामा कसले ध्यान पुर्याउनु,” अर्का स्थानीय भागवत यादव सुनाउँदै थिए ।
गोबरगाढामा हुनसक्ने आपराधिक चलखेलका बारेमा सुरक्षा निकाय चनाखो रहे पनि कागजमै सीमित भएको ठानेका छन् स्थानीयले । “भारतीयले गर्ने ज्यादती र नेपाल सरकारले गरेको हेला सम्झँदा हामीलाई बेग्लै देशको जस्तो लाग्छ,” आँसु झारौँलाझैँ गरे हरिनारायणले ।
० ० ०
गोबरगाढाको अर्को नाम हो श्रीलङ्कन टापु । चारैतिर कोसीले घेरिएकाले आवतजावत गर्न डुंगाकै सहायता चाहिन्छ । कोसीको सतह बढ्दै गएपछि र दुई महिना वर्षा झिमिक्क आँखा पार्न नपाएपछि त्यहाँका हुनेखाने योगिनियातिर बसाइँ सरिसकेका छन् ।
तर कुर्मी, तेली, राम, पासवान, रजकलगायत दलित, विपन्नहरू रात–दिन नभनी आउने बाढीसँग सिँगौरी खेलेरै त्यहाँ बसिरहेका छन् ।
“गोबरगाढाबासी त्यहाँबाट सर्ने हो भने देशै सिमाना सर्छ । भारतले गोबरगाढा तुरुन्तै हडप्छ । समय–समयमा हाम्रो भूमिमा बाली लगाउन आउने भारतलाई कतिखेर निलुँ भएको छ यो भूभाग,” मुख बिगारे भागवतले ।
कोसीले गोबरगाढामात्रै डुबाएको छैन । देशको सिमानासमेत निलिरहेको छ । यसपटकको डुबानमा देशका दशवटा सीमास्तम्भ गायव भए । त्यसो त वर्षेनी त्यहाँबाट जंगेपिलर हराउँछन् । तर, कसलाई दुख्ने ?
देशको सीमा मिचिएको घाउ पनि गोबरगाढाबासीलाई मात्रै दुखेकाले उनीहरूको मन कुँडिएको छ ।
“बरु कोसीमै विलय हुन मञ्जुर छौँ । गोबरगाढाको एकमुठी माटो पनि भारतको पोल्टामा पर्न दिँदैनौँ,” कसम नै खाएका छन् उनीहरूले । र त, गोबरगाढाबासीले देशको सिमानामा काँडेतार लगाएजसरी दशगजासँगै टाँसेर घर बनाएका छन् । सीमाको रक्षक बनेका छन् ।
सिंहदरबारको सरकारले त बिर्सियो–बिर्सियो, गाउँकै सरकारले टाढाको आँखाले हेर्दा रिसले आगो भएका छन् उनीहरू । “गोबरगाढाबासीलाई आवतजावत गर्न कठिनाइ भएकाले गाविसकै पालादेखि डुंगा दिने निर्णय भएको थियो । अहिले नगरपालिकाले पनि दिन्छु भनेको छ । तर समयमा रकम कहिल्यै निकासा हुँदैन । बर्सेनि ढिलागरी दुईवटा डुंगालाई पुग्ने रकम त दिन्छ । तर, आवतजावत गर्न त्यसले पुग्दैन । सक्ने बसाइँ सरे, नसक्ने त्यहीँ मरून् भनेजस्तै गरेका छन्,” आक्रोश पोख्छन् स्थानीय ।
० ० ०
त्यहाँको स्वास्थ्यको अवस्था झनै दर्दनाक छ । ‘गोठ’जस्तो स्वास्थ्यचौकीका स्वास्थ्य सहायक कहिल्यै भेटिँदैनन् । हनुमाननगरतिर डेरा लिएर बसेका अहेव दिनभर उतै बरालिन्छन्, गोबरगाढा जाँदैनन् । पखाला चलेको बेला जीवनजलसमेत हुँदैन । प्रसूति व्यथाले छटपटाएका महिलालाई बोकेर हनुमाननगरसम्म पुर्याउनुपर्छ,” भागवत भन्दै थिए । गोबरगाढाकी महिला स्वास्थ्य स्वयम् सेविका सुशीलादेवि रजकका अनुसार अहेब कहिल्यै स्वास्थ्यचौकीमा हुँदैनन् । सामान्य ज्वरो आउँदा दिने सिटामोलसमेत छैन । सदरमुकामबाट नजिकै रहेको ठाउँ पनि अति विकट अबस्थाबाट बाँचिरहेको छ,” पीडा पोखिन् उनले ।
चारैतिर नदीले घेरिएकाले गोबरगाढा अब मानचित्रमा मात्रै सीमित हुने दिन धेरै टाढा छैन । त्यसैले होला स्थानीयबासी भन्छन्, “बाढी आइरहन्छ । सरकारले हेर्दैन त्यसैले हामी जतिबेलै भेलमा बग्न सक्छौँ । हामी बगे पनि देशको सिमाना नबगोस् ।”
नोट : राहत सामग्री लिन हनुमाननगरस्थित इलाका प्रहरी कार्यालय आएका गोबरगाढाबासीसँगको कुराकानीमा आधारित । प्रस्तुत तस्बिर गत साल डुवानमा पर्दा पंक्तिकारले गोबरगाढा पुगेर खिचेको हो ।