सप्तरी । भारदहका लक्ष्मी राउत भत्किएको घरको भुइँतलामा सामान मिलाउँदै थिए । बाढी गएको तीन दिनपछि मंगलबार घर फर्किएका राउतको परिवार विचल्लीमा छ यतिबेला । बाढीले घर भत्काइदिएको छ भने बँचेखुचेको अन्न पनि ‘जमरा’ बनेका छन् ।
यो पीडा लक्ष्मी राउतको मात्रै होइन, भारदह राउत टोलका करिब डेढ सय घर परिवार यतिबेला विचल्लीमा परेका छन् । र, राहतको पखाइमा छन् उनीहरू ।
दश घन्टा छानामाथि
शुक्रबारदेखि अविरल वर्षा भएपछि महोली र खाँडो नदीले धार परिवर्तन गरेर शनिबार बिहान भारदह, परवानीपुर, कञ्चनरूपलगायतका स्थानमा बाढी पसेको थियो । र, विध्वंश निम्त्याएको थियो ।
“शनिबार पनि पानी परिरहेको थियो । बाढी गाउँमा पसिहाल्यो । ज्यान जोगाउन छानामाथि चढ्यौँ । कच्चि घरको छानोले के थेग्नु अन्ततः घरै भत्कियो,” लक्ष्मीले पीडा सुनाए ।
उनले भारदहका अधिकांश पीडितहरूले दश घन्टा छानामाथि चढेर रात कटाएको बताउँछन् । “पानी नघटुञ्जेल छानामाथि बस्यौँ, पानी घटेपछि तल झर्यौँ,” थप्छन् अरू ।
चुरे दोहनको पराकाष्ठा
२०६५ सालमा कोसीको बाँध फुट्दा ठूलो जनधनको क्षति भयो । सप्तरी, सुनसरीका हजारौँ घरपरिवारको पाटीको बास भयो । तर, यसपटक सप्तरी डुवानको मुख्य कारण चुरे दोहन हो । चुरेबाट गिटीबालुवा उत्खनन गरेको कारण ठाउँठाउँमा पहिरो गएको र भेलमा मिसिँदा वितण्डा मच्चाएको सप्तरीबासी बताउँछन् ।
“खाँडो, दूधेल, महोली खोला र तटीय क्षेत्रमा थुप्रिएका रुख, बालुवाले पनि त्यसलाई पुष्टि गर्छ, चुरे दोहनकै परिणाम हो,” पीडित भन्छन् । सप्तरीका प्रशाकीय अधिकृत जनक कोइरालाले सहायक नदीहरूबाट बग्ने पानीको निकाश नहुँदा बाढी गाउँमा पसेको बताउँछन् । “खाँडो, महोली, दूधेललगायत नदीको निकाश कोसी नै हो, कोसीकै बहाव उच्च भएकाले निकाश हुन सकेन,” उनले भने ।
बाढी रोक्न बालुवाको बाँध
तराईका अधिकांश जिल्लाका सानाठूला नदीमा तठबन्धका लागि भनेर करोडौं रकम विनियोजन पनि हुन्छ । तर, परिणाम भने वर्षेनी बाढी बेहोर्नुपर्छ । बगान, डुवान र कटान त महारोग नै भइसक्यो तराईको ।
भारदहबासी भन्छन्, “बजेट सक्न आर्थिक वर्ष सकिनेबेला तिर बोरामा बालुवा भरेर तठबन्ध बनाउँछन् । बालुवाको बाँधले के बाढी रोकिन्थ्यो ?”
बाढीको जोखिमयुक्त नदी र तटीय क्षेत्रमा तारजालीभित्र ढुंगा हालेर तठबन्ध बनाउने हो भने धेरैहदसम्म बाढी नियन्त्रण हुने उनीहरूको भनाइ छ । “पानी पो नियन्त्रण गर्न सकिँदैन । बाढीबाट बस्ती जोगाउन त सकिन्छ नि !,” उनीहरू भन्छन् ।
दश हजारको विचल्ली
सप्तरी जिल्लामा मात्रै दश हजार घरपरिवार बाढीको चपेटामा परेको जिल्ला दैवी प्रकोप उद्धार समितिको निष्कर्ष छ । यद्यपि यो प्रारम्भिक आँकडा भएको र विभिन्न माध्यमबाट पीडितको लगत उठाउने काम भइरहेको जिप्रकाको भनाइ छ । त्यसमध्ये हालसम्म १९ सय घरपरिवारले मात्रै राहत पाएका छन् । “मंगलबार बिहान पानी घटेपछि थोरै भुजिया र एक पाकेट चाउचाउ पायौँ, चुल्होभरी पानी जमेकाले पकाउन सकिने अवस्था छैन, च्युरा खाएरमात्रै कतिञ्जेल प्राण धान्नु ?,” पीडितको गुनासो थियो ।
विभिन्न संघ/संस्था, व्यक्तिगत तवरबाट र सरकारले पनि राहत र उद्धारलाई प्राथमिकतामा राखेकाले पीडितहरूको गुनासो सम्बोधन हुने कोइराला बताउँछन् । “सोमबारसम्म सुरक्षा निकाय नै समस्यामा थिए । पानी नरोकिएकाले तत्कालै राहतमा जुट्ने सम्भावना पनि थिएन । अहिले पानी घटिसकेको छ । घाम लागेको छ । उद्धार र राहतमा जिल्लाको सम्पूर्ण शक्ति परिचालित भएको छ,” उनले विश्वस्त हुन आग्रह गरे ।
त्रिपाल र खाद्यान्नको आवश्कता
दश हजार बाढी पीडितमध्ये अधिकांशको घर बस्नै नहुनेगरि भत्किएकाले कतिपय पीडितहरू खुला आकाशमुनि रात विताउन बाध्य भएकाले त्रिपालको आवश्यकता रहेको कोइरालाको भनाइ रहेको थियो । त्यस्तै खाद्यान्न, लत्ताकपडासमेत बाढीले आहारा बनाएकाले सफा कपडा, खाद्यान्नको आवश्यकता रहेको उनको भनाइ थियो । उनले कसैले पाएको पायै हुने र कसैले पाउँदैनपाउने अवस्था अन्त्य होस भनेर संघ–संस्थालाई स्थानीय प्रशासनसँग समन्वय गरेरमात्र राहत बाँड्न आग्रह गरिएको बताए ।
प्रकोपको जोखिम
पानी सुकिसकेकाले सामान्य क्षति भएका घरहरूमा बस्ने अवस्था छ । तर, बाढी प्रभावित क्षेत्रका अधिकांश खानेपानीमा बाढी मिसिएको छ । ट्युवेलको पानी धमिलिएको छ । यसले बाढी प्रकोप क्षेत्रमा हैजा, झाडापखाला निम्त्याउने खतरा देखिएको छ ।
त्यस्तै बाढीमा परी मरेका चौपायाहरू व्यवस्थापन नहुँदा बाढीग्रस्त क्षेत्रमा महामारी फैलनेतर्फ सजग हुन पनि जिल्ला दैवी प्रकोप उद्धार समितिले आह्वान गरेको कोइरालाको भनाइ छ ।
खानेपानी प्रशोधनको कुनै विकल्प नदेखिएकाले पानीमा क्लोरिन झोल हालेर अथवा, साडीलाई सात-आठपल्ट पट्याएर पानी छान्ने तरिका अपनाउन पनि स्वास्थ्यविद्हरूले अनुरोध गरेका छन् ।