site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बरीसँगको मृगतृष्णामा अल्झिएको सुयोगवीरको जीवन

के मृत्यु जीवनको अन्त्य हो ? मृत्यु शून्यता हो ? 

पटक्कै होइन । 

पारिजातको भौतिक शरीर हामीमाझ छैन । तर, नेपाली साहित्यमा उनी अमर छिन् । आज पनि हामी उनको जन्मदिन मनाइरहेका छौँ । ताकि जन्मजयन्ती होइन । 

मृत्यु विमर्श पनि हो । साहित्यिक कृतिमार्फत उनी अमर र विमर्शमा छिन् । जसका कारण पारिजातको चर्चित उपन्यास ‘शिरीषको फूल’का बरी (सकमबरी) र सुयोगवीर हामीमाझ जीवन्त छन् । 

पाँच दशकसम्म किताबका पानामा सिमित रहेका सकमबरी र सुयोगवीर यतिबेला रंगमञ्चमा दर्शकमाझ प्रस्तुत भइरहेका छन् ।

उपन्यासमा भनिएकी पाँच फिट तीन इन्च अग्ली, गोरी, दुब्लो शरीर,  अस्वाभाविक उठेको छाती, कोप्चो र कालो चम्किलो आँखामा कालो फ्रेमवाला चस्मा लगाएर धोतीमा सजिएकी बरी रियलमा कस्ती होलिन् भन्ने कौतुहलता पाठकमा हुन सक्छ । यो कौतहुलता कीर्तिपुरस्थित ‘थिएटर मल’ मा मञ्चन भइरहेको ‘शिरीषको फूल’ हेरेर दशकौँअघि पारिजातले कल्पिएकी पात्र सकमबरी हामी जीवन्त भेट्न सक्छौँ । 

एक विद्रोही पात्र सकमबरीलाई जीवनघातक सुनगाभा र कमलो शिरीषको फूलले प्रतिविम्बित गरिरहेका छन् । 

सकमबरीको आँखाबाट अर्थात् एक विद्रोही महिलाको आँखाबाट हेर्ने हो भने सकमबरीलाई जीवनघातक सुनगाभाभन्दा फरक नपर्ला । 

“यसको आफ्नै विशेषता छ नि ! यसको हाँगामा पलाएको कोपिला नै यसको मुख्य अंग हो, यसले किरा मार्छ । यसलाई जीवघातक सुनगाभा पनि भनिन्छ । भमरा, माहुरी, अरिंगाल यहाँ आउनै हुँदैन । यीनीहरूमा त्यस्तो के छ कुन्नि ! फूल छोडेर किरा यसमै पस्छन् । एउटा थैलोमा किराहरू पसेपछि, यसले आफ्नो मुख बन्द गर्छ । र, किरा भित्रै निस्सासिएर मर्छ,” बरीले एकदमै खुसी, उत्साहित हुँदै सुयोगवीरलाई सुनगाभाको विशेषता सुनाइरहेकी छिन् ।

तर, यो बरीले एउटा फूलको विशेषता मात्रै सुनाइरहेकी छैनन्, जीवनलाई त्यही फूलको रूपमा लिने आफ्नै विशेषता पनि सुनाइरहेकी छिन् । 

नाटकको अन्त्य पनि त्यही विशेषताबाट हुन्छ । जब आफूभन्दा २० वर्ष जेठो भयंकर भमरा (सुयोगवीर) आफूमाथि आएर बस्छन्, तब बरी त्यहीँ जीवनघातक सुनगाभा बनिन् । बगैँचाको सुनगाभाले आफूमाथि बस्न आएका भमरालाई सिध्याउँछन् । तर, बरीले आफ्नै बलिदान दिइन् । 

“त्यसो भए भमरासँग लाप्पा खेल्न नपाउने फूलको के अर्थ” ४५ वर्षीय अविवाहति भूतपूर्व सिपाही सुयोगवीरको यो प्रश्न आफैँमा बलियो प्रतिविम्ब हो ।

दोस्रो विश्वयुद्धको मैदानमा माया प्रेम त्यागेर होमिएका सिपाहीको यौन तृष्णाको चाहलाई नाटकले भमरा र फूलसँगको संघर्षले जीवन्त चित्रण गरिरहेको छ । 

शिव अर्थात् बरीका दाइ, शिवको घरमा आउ–जाउ गर्ने क्रममा हृष्टपुष्ट तर बुढौली गनाइसकेका सुयोगवीरलाई शिवका तीन बहिनीले गिज्याइरहेको अनुभूति हुन्छ ।

विशेषगरी, निलो शिरीषको फूलजस्ती बरीले । शिवकी जेठी बहिनी मुजुरा, सुन्दर, शालिन अनि घरधन्दामा विछप्तै पोख्त, माहिली अघि भनिएजस्तै निलो शिरीषको फूलजस्तै बरी अनि सुन्दर देखिन औधी रुचाउने अनि चञ्चल स्वभावकी कान्छी बहिनी सानी । 

सुयोगको मन बरीमा अल्झिन पुग्यो । त्यसैले त हरेक दिन आँगन र बैठककोठामा ढकमक्क भएर फुलिरहेका फूलसँग रमाइरहने, फूलजस्तै बरीलाई सुयोगवीरले घुमाएर मनको चाहना पोख्न खोज्छन् । 

जसको प्रतीकात्मक जवाफमा बरी भन्छिन्, “आफ्ना निम्ति फूल्ने, फक्रिने र झर्नेजस्तो एउटा बाध्यतालाई स्वीकार गर्नका लागि एउटा भमरासँग लाप्पा खेल्नैपर्छ ? झर्नु त यसले पर्छ भने भमराको चोट सहेर किन झर्ने आफू मात्रै झर्ने । आफ्नो इच्छाले झर्ने ।” 

साँच्चै जीवन एक पुरुष मान्छेको साथ र सामिप्यताबिना अधुरो हन्छ र ? जन्म र मृत्यु स्वीकार्नैछ भने किन स्वेच्छाले जीवन नजिउने र स्वेच्छाले नमर्ने त ?

पारिजातको अस्तित्वादी र विसंगतिवादी चिन्तन उपन्यासको सुन्दरता हेरिरहँदा कतै पारिजातकै जीवन हो कि जस्तो भान हुन सक्छ । किनभने पारिजातले जस्तै बरीको मुडौली कपाल, शारीरिक असक्षमता अनि प्रेमप्रतिको वितृष्णा नाटकमा पाइन्छ । 

नाटक दोस्रो विश्वयुद्धपछिको मानवीय संवेदना र विसंगत सामाजिक परिवेशबीच युद्धबाट फर्केका ४५ वर्षीय सुयोगवीर सिंह र जीवनलाई आफ्नै दृृष्टिकोणले हेर्ने स्वच्छन्द २५ वर्षीय सकमबरी र उनका परिवारसँगको सम्बन्धको कथाको दृश्य भाषा हो । 
तर, यति मात्रै कहाँ हो र ? 

नाटकमा पितृसत्तात्मक चिन्तन र नारीवादी चेनताबीचको विमर्श हो । अनि एक भावनाविहीन पुरुषलाई प्रेमले कसरी पगाल्न सक्छ भन्ने कुराको चित्रण पनि हो । 

नाटकमा एक संवाद छ, ‘प्रेम केवल दुःख हो ।’ 

हुन पनि हो । 


सुयोगवीरले युद्धमा हुँदा कैयौँ ‘स्वास्नीमान्छे’ लाई यातना दिए । कैयौँ ‘स्वास्नीमान्छे’सँग यौवनको प्यास मेटाएर लास बनाएर छाडे । त्यतिखेर उनलाई दुःख लागेको थिएन । 

तर, आज सुयोगवीर मनमनै बरीलाई माया गरेर एकदमै दुःख अनि लाचार महसुस गरिरहेको छ । बरीलाई माया व्यक्त गर्न नसक्नुको काराण अनि उसलाई आफ्नो बनाउन नसक्नुको लाचारताले सुयोगवीरलाई झनै लाचार बनाएको छ । सुयोगवीर सायद दोस्रो पटक शून्य भएको छ । ऊ पहिलो पटक युद्धको मैदानमा शून्य भएको थियो । 

कोरसमा आउने पात्र केवल दृश्य राम्रो देखाउनका लागि मात्रै आएका थिएनन् । उनीहरूले कथालाई छोटो÷मिठो रूपमा प्रस्तुत गरिरहेका थिए । जसले साँच्चै नाटकमा अर्को रङ थपिदिएको छ । 

“शिवराजले मेरा बहिनीहरूमध्ये छानेर लैजाउ भन्यो भने म मुजुरालाई लगेर कोठामा टाँगिदिन्थेँ । तर, म स्वास्नी स्थापना गर्ने कुरामा विश्वास राख्दिनँ । एउटा रमाइलो कथा मुजुरा जसलाई मनभरी पढ्न सकिन्छ । तर, उसलाई मुजुरामा प्रेम भएको होइन्,” सुयोगवीरले भने । नाटकको करिब इन्टरभलपछि भन्ने सुयोगवीरको यो वाक्यांशले प्रष्ट पार्छ कि पुरुष जतिसुकै मोर्डन युगमा भए पनि विवाह गर्दा मुजुराजस्तै शालीन, तर्कवितर्क नगर्ने, आफ्नो घरधन्दाको जिम्मेवारी बेखुबीले सम्हाल्नसक्ने, अलि लजालु र पुरुषको मायामा लुटपुटिन मन गर्ने महिला पहिलो रोजाइमा पर्छन् ।

फेरि आफ्नो यौवनको प्यास मेटाउन भने उनीहरू सकमबरीजस्तै चल्तीको भाषामा भन्नुपर्दा ‘बोल्ड’, प्रेमको महत्व नराख्ने, जीवन बिताउन पुरुषको साथ नै चाहिन्छ भन्ने विचारमा विश्वास नराख्ने  । अनि अँ ! अनि दुनियाले के भन्ला भन्ने कुरालाई वेवास्ता गर्दै चुरोटको खिलीमा रमाउने ‘आधुनिक’ भनिने महिला नै खोज्छन् । 

वर, सुयोगवीरको अप्राप्य रहरको लहरो हो र उसको निराश जीवन त्यही लहरो समातेर झुन्डिएको छ । 

यो जीवनबाट हतास दुई पात्रको कथा हो ।

“के काम बाँच्ने बुढाबुढी हुन्जेल किन बाँच्ने ? शिव तपाईं आशिष दिनै जान्नुहुन्न समयमा नै मर भन्नुपर्छ । के छोप्न बाँच्ने ?” 

सकमबरीले आफ्नो २४ औँ जन्मोत्सव मनाइरहँदा प्रस्फुटित यो संवादले सकमबरीको जीवनप्रतिको वितृष्ण प्रष्ट छचल्किन्छ ।
भर्खरै २४ उर्वर, जोसिलो उमेरमा प्रवेश गरेकी सकमबरी कहीँकतै आफ्नो एक्लोपनले निस्सासिएकी पो हुन कि भन्ने भान पर्न सक्छ । फेरि अर्कोतर्फ एक स्वतन्त्र, उदार स्वभावकी दृढ महिला पात्रको छनक पनि दिन्छ । 


सुयोगवीर जीवनबाट भाग्न र निराशलाई छोप्न रक्सीको साहारा लिन्छन् भने बरी चुरोटको । 

नाटक मञ्चन भएसँगै दार्शनिक संवाद, प्रश्न गर्दै अघि बग्दै जान्छन् । सुन्दर विम्बको प्रयोगका कारण नाटक रोचक देखिन्छ । नाटकमा केदार श्रेष्ठको परिकल्पना र अन्जान प्रदीपको निर्देशन छ । 

फागुन २७ गतेदेखि मञ्चन भएको नाटक चैत १२ गतेसम्म हरेक दिन दिउँसो ४ः३० बजे मञ्चन भइरहेको छ । शनिबार भने दिउँसो २ बजे पनि मञ्चन भइरहेको छ ।

यी पात्र अघि बढ्नुअघि पारिजात आफैँ मञ्चमा आएर आफ्ना कृतिबारे बेलिविस्तार लगाउँछिन् ।

तस्बिर : हरिशजंग क्षेत्री

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, चैत २, २०७८  ०७:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro