site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
यसकारण खानु आवश्यक छ हात्तीपाइलेको औषधि 

काठमाडौं । सरकारले १३ वर्ष अघिदेखि हात्तीपाइलेविरुद्ध निःशुल्क आम औषधि अभियान सञ्चालन गर्दै आएको छ । सरकारले सोही अभियानअन्तर्गत यसवर्ष पनि शनिबारबाट १० जिल्लाका ६२ लाख ६३ हजार नागरिकलाई लक्षित गरी हात्तीपाइलेविरुद्ध निःशुल्क औषधि अभियान अभियान सुरु गरेको छ । 

नेपालले सन् २०२६ सम्ममा हात्तीपाइलेको संक्रमण दर एक प्रतिशतभन्दा कम गर्ने र २०३० सम्ममा निवारण गर्ने लक्ष्य लिएको छ । अहिले यो दर चार प्रतिशतमा झरेको छ । नेपालका सहरी क्षेत्रमा हात्तीपाइलेविरुद्धको औषधिबारे गलत बुझाइ रहेका कारण निवारणमा चुनौती रहेको देखिएको छ । 

यस्तो छ नेपालमा हात्तीपाइले संक्रमणको अवस्था 
नेपालका ६४ जिल्ला हात्तीपाइले ग्रसित रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक छ । तीमध्ये ५३ जिल्लामा यो रोग नियन्त्रणमा आएको छ भने बाँकी १० जिल्ला (मोरङ, कपिलवस्तु, दाङ, बाँके, कैलाली, झापा, बारा, लमजुङ, पर्वत र बाग्लुङ)मा औषधि वितरण अभियान जारी छ । 

रसुवामा भने जनसंख्या र हात्तीपाइले रोगीको तथ्यांक संकलन कार्य भइरहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कीटजन्यरोग शाखा प्रमुख डा. गोकर्ण दाहालले बताए । 

नेपालमा करिब ३० हजार जना हात्तीपाइले रोगी भएको र अहिले यसको संक्रमण दर चार प्रतिशत रहेको महाशाखाको तथ्यांक छ ।
 
यसकारण खानुपर्छ हात्तीपाइलेको औषधि 
हात्तीपाइलेको जीवाणु कम्मरमुनि विशेषगरी घुँडादेखि तल र अण्डकोषमा बस्ने र त्यही स्थानमा नयाँ जिवाणु उत्पादन गर्दै जाने हुँदा अधिकांश हात्तीपाइले रोगीको खुट्टा असामान्य देखिन्छ । 

यसरी खुट्टा वा अण्डकोष सुन्निएका रोगीको शल्यक्रियाबाट उपचार गर्न सकिन्छ । तर, अधिकांश व्यक्तिमा यसको लक्षण ढिलो देखिँदै जान्छ । र, कतिपयमा लक्षण नदेखिए पनि जीवाणु रहिरहेको हुन्छ । कीटजन्य रोग विशेषज्ञ तथा केन्द्रीय कारागार अस्पतालका निर्देशक डा. प्रकाश साहका अनुसार हात्तीपाइलेको परजीवी शरीरमा रहेको २० वर्षसम्म पनि असर देखिन सक्छ । लक्षण देखिए वा नदेखिए पनि जोखिमयुक्त क्षेत्र छुट्याएर अभियान चलाएका स्थानका सबै व्यक्तिले औषधि सेवन गर्नुपर्ने डा. साह बताउँछन् । 

त्यस्तै, हात्तीपाइले रोगी भएका घरमा एउटै लामखुट्टेले अरूलाई पनि टोक्नसक्ने र संक्रमण सार्ने जोखिम भएकाले घरका सबै सदस्यले औषधि सेवन गर्नुपर्ने डा. साहको सुझाव छ ।  

अहिलेसम्म हात्तीपाइलेविरुद्धको खोप विकास भएको छैन । जति पनि मुलुकबाट यो रोग निवारण भएको छ, औषधिकै कारण भएको छ । यसको परीक्षण एन्टिजेन प्रविधिबाट गरिन्छ । त्यसका लागि रातको समयमा रगतको नमुना संकलन गर्नुपर्ने हुन्छ । तर, परीक्षणका लागि आवश्यक कीट अस्पतालहरूमा सहज उपलब्ध छैन, त्यसैले व्यक्तिलाई शंका लाग्दैमा हात्तीपाइलेको परीक्षण गर्न सम्भव छैन । 

रोग देखिएका समुदायमा परीक्षणका लागि विश्व स्वास्थ्य संगठनले कीट उपलब्ध गराउँदै आएको छ । कीटको सीमितताकै कारण सुमदायस्तरमा निश्चित नमुनाको मात्रै छनोट गरी परीक्षण गर्ने गरिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डा. गोकर्ण दाहाल बताउँछन् । यसैकारण सरकारले आम औषधि वितरण अभियानमार्फत हात्तीपाइले नियन्त्रण अभियान अघि बढाइरहेको छ ।
 
औषधिबारे भ्रममा नपरौँ 
विश्व स्वास्थ्य संगठनले सन् २००१ मा विश्वका ७१ देशमा हात्तीपाइले संक्रमित रहेको प्रतिवेदन निकालेको थियो । जसमध्ये कुनै मुलुकमा लगातार आठ वर्ष, केहीमा ६ वर्ष औषधि वितरण कार्यक्रम सञ्चालन गरी ५० मुलुक हात्तीपाइलेमुक्त भइसकेका छन् । 

२१ देशमा अभियान जारी छ भने पाँच अफ्रिकी मुलुक अझै पनि हात्तीपाइलेको जोखिममा छन् । 

विश्व स्वास्थ्य संगठनको सिफारिसमा ७१ मुलुकमा प्रयोग भएको औषधि नै नेपालमा वितरण गरिँदै आएको हुनाले औषधिबारे भ्रममा नपर्न डा. साह सुझाउँछन् । 

हात्तीपाइले रोकथामका लागि लगातार ६ वर्षसम्म एक मात्रा प्रतिवर्षका दरले औषधि सेवन गर्नुपर्ने हुन्छ । 

हात्तीपाइलेको औषधि खाएपछि सामान्य टाउको दुख्ने, वाकवाकी लाग्ने, हल्का पेट दुख्ने, रिंगटा लाग्नेजस्ता लक्षण पनि स्वाभाविक भएको डा. साह बताउँछन् । यस्ता लक्षणहरू थोरै समय रहने र विस्तारै ठीक हुँदै जाने खालका हुन्छन् । तर, कसैलाई लामो समय रहेमा औषधि वितरण भएकै स्वास्थ्य संस्थामा सल्लाह र उपचार सेवा लिन डा. साहको सुझाव छ ।  

कस–कसले नखाने हात्तीपाइलेको औषधि ?
हात्तीपाइलेको औषधि दुई वर्षमुनिका बालबालिका, गर्भवती तथा सात दिनसम्मका सुत्केरी तथा सिकिस्त बिरामीले सेवन गर्न नहुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै खाली पेटमा पनि यो औषधि सेवन गर्नु हुँदैन ।
 
कति उचाइ भएका व्यक्तिले कति चक्की औषधि खाने ?
सरकारले आमऔषधि अभियान अन्तर्गत तीन प्रकारका औषधि वितरण गरिरहेको छ । चक्कीको रूपमा रहेका डाइथाइलकार्बामाजिन, अबलेन्डाजोल र आइभरमेक्टिननामक औषधि व्यक्तिको उचाइअनुसार खानुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले उचाइअनुसार छुट्याएको औषधिको मात्रा यस्तो छ । 

सन् २०३० सम्ममा हात्तीपाइले विश्वव्यापी रूपमै निवारण गर्ने लक्ष्य 

सरकारले हात्तीपाइले रोकथामका लागि प्रत्येक वर्ष निःशुल्क आमऔषधि वितरण अभियान सञ्चालन गर्दै आएको छ । नेपालका ५३ जिल्लामा हात्तीपाइले नियन्त्रण भइसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक छ । 

तीन चरणको परीक्षणपछि यी जिल्लालाई हात्तीपाइलेमुक्त घोषणा गर्न सकिने डा. दाहाल बताउँछन् । दिगो विकास लक्ष्य प्राप्तिका लागि औषधिबारे भ्रममा नपरी सरकारको अभियानलाई साथ दिनुपर्नेमा डा. दाहालको जोड छ । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: सोमबार, फागुन ३०, २०७८  ०६:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro