site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
छोरी गुमाइसक्यौँ, अब क्षतिपूर्ति होइन न्याय माग्दैछौँ
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । काठमाडौंको नक्सालस्थित हिमाल अस्पताल अगाडि पाँच दिनदेखि लगातार एउटा समूह आन्दोलनमा छ । उनीहरूले दिनहुँ नाराबाजी गरिरहेका छन् । प्ले कार्डमा लेखिएको छ– प्रशंसालाई न्याय दे, दोषीलाई कारबाही गर ।

सडकको एक छेउमा बालिकाको फोटोसहितको ब्यानर राखिएको छ । आन्दोलनमा सहभागीसँगै ब्यानरको अगाडि एक महिला टोलाएर बसेकी छन् । एकोहोरो ब्यानरको फोटोमा हेरिरहेकी छन् । कसैसँग बोल्दिनन् । बेलाबेला आँखाबाट आँशु बगाउँछिन् । उनको सञ्चार यतिमै सीमित छ ।

भिडबाट फेरि 'प्रशंसालाई न्याय दे, हिमाल अस्पताल मुर्दावाद'जस्ता नारा लाग्छन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

आशिका गौतम । जो आफ्नो २८ महिने छोरीको मृत्युपछि न्यायका लागि लडिरहेकी छन् । छिनमै लल्याकलुलुक हुन्छिन् । पानी खुवाइन्छ । हातखुट्टा मुसारिन्छ । तर, उनी बेहोस् भइसक्छिन् । छेवैमा रहेका दिदीबहिनी र आमाले उठाउने प्रयास गर्छन् । नसकेपछि श्रीमान आफैँ आएर जुरुक्क काँधमा राख्दै उनलाई अस्पतालभित्र दौडाउँछन् । बुढी आमा हातमा जुसको गिलास बोकेर आत्तिँदै पछिपछि दौडिन्छिन् ।

सोमबार नक्सालस्थित हिमाल अस्पताल अगाडि पुग्दा देखिएको दृश्य हो, यो ।

Royal Enfield Island Ad

गत माघ २६ गते महाराजगञ्जस्थित मेट्रो अस्पतालमा उपचारको क्रममा मृत्यु भएकी प्रशंसा गौतमको उपचार प्रक्रियामा हिमाल अस्पतालका चिकित्सकको लापरबाही रहेको गौतम परिवारको आरोप छ । मोरङको पथरी शनिश्चरे–२ प्रगति टोल स्थानीय ठेगाना भएको गौतम परिवार पाँच दिनदेखि हिमाल अस्पताल अगाडि यही अवस्थामा भेटिन्छ ।

Himal 11677556246.jpg

घटना के थियो र उनीहरूका माग के हुन् भन्नेबारे स्वर्गीय प्रशंसाका बुबा गंगा गौतम (गौरव दर्पण) को भनाइ उनकै शब्दमा :

“दुर्गम गाउँबाट बिरामी उपचारका लागि देशको राजधानी ल्याइन्छ, निको पारेर फर्काइन्छ । त्यही राजधानीमा सामान्य रुघाखोकी लागेकी मेरी साढे दुई वर्षकी छोरी प्रशंसा गौतमले चार दिनदेखि लगातार डाक्टरको सम्पर्क र निगरानीमा हुँदाहुँदै पनि उचित उपचार नपाएर मृत्युवरण गर्नु पर्‍यो, किन ? हाम्रो स्वास्थ्य प्रणालीमा वा उपचार पद्धतिमा कहीँ कतै कमजोरी छ कि किन यस्तो हुन्छ ? कि नेपालमा बेचिने औषधिमा खराबी छ ? कि डाक्टरको योग्यतामा कमजोरी छ ? बिरामीको उपचार गर्दा अवस्था अध्ययन गर्ने, जाँच गर्ने अनिवार्यता हुन्छ कि हुँदैन ?

छोरी प्रशंसालाई सामान्य रुघाखोकी थियो, नक्सालको एक क्लिनिकमा देखाएर औषधि लगेर खुवाइयो । दुई–तीन दिनसम्म बेलाबेला कम हुँदै फेरि ज्वरो फर्किने हुन थालेपछि माघ २३ गते नक्साल, कमलपोखरीकै हिमाल हस्पिटलमा लगेर त्यहाँ उपलब्ध बच्चाको डाक्टर डा. जयदेव यादव (एन.एम.सी. नं. १०८४५) लाई देखायौँ । अगाडि खुवाइरहेको औषधि र अवस्था सबै देखाएपछि डाक्टरले आफ्नो उपचार थाले । ज्वरो नाप्ने मुखभित्र हेर्ने, छातीको आवाज सुन्ने आदि ।

Himal1677556223.jpg

'भाइरल ज्वरो हो । म औषधि लेखिदिन्छु, खुवाएर हेर्नुस्, अनि चार दिनपछि मलाई आएर भेट्नुस्' भनेर शुक्रबारलाई फलोअपका लागि बोलाउँदै हामीलाई पठाए । छोरीलाई उनले दिएअनुसार दबाइ र खाना खुवाउँदै भोलिपल्टसम्म हेर्‍यौँ । तर, सुधार देखिएन । अलिअलि गर्दै छोरीको खाना कम हुँदै गयो । उनी कमजोर देखिन थालिन् । फेरि भोलिपल्टै लिएर गयौँ र उनै डाक्टरलाई देखायौँ । 'औषधिले काम गर्न थालेको हो, डराउनुपर्दैन झोलिलो कुरा प्रशस्त खुवाउनुस्' भने । मलाई डर लागेर ‘कि केही अरू जाँचहरू गराएर हेर्नुपर्छ कि ?’ भनेर सोध्दा डाक्टरले 'केही पर्दैन, बरु यही ल्याएर बिहान बेलुका ३ दिन बाफ लगाउनू, म लेखिदिन्छु' भनेपछि हामीले पनि त्यही गर्‍यौँ ।

त्यो सबै गर्दै गर्दा पनि नानीलाई सञ्चो भएन घ्यारघ्यार बढ्न थाल्यो । दिउँसो छोरी सुतेको बेला अलि ज्यादै ‘घ्यारघ्यार’ भएको सुनेर मोबाइलमा छोरीको भिडियोसमेत खिचेर लगेर डाक्टरलाई देखायौँ । डाक्टरले भने, 'त्यो हेर्नै पर्दैन, बिरामीलाई यही देखिरहेको छ ।' मेरो कुरालाई खासै महत्त्व दिएनन् । बिहान बेलुका दुईपटक हस्पिटल जाँदै बाफ लगाउँदै साँझ फेरि डाक्टरलाई देखाउँदै गर्‍यौँ ।

माघ २५ गते बुधबार डाक्टरलाई भेट्दा छोरीको अनुहार हल्का सुन्निएको र पेट अलिकति फुलेको पनि देखाएँ र ‘कि एक्सरे गरेर हेरौँ’ भनेर सोधेँ । डाक्टरले 'यो सामान्य हो, खाना नखाएर ग्यासले होला' भने ।  बिहीबार पनि बिहान बाफ लगाउन लैजाँदा इमर्जेन्सीका नर्सहरूले ‘नानी शिथिल छिन् त’ भन्दै थिए । तर, डाक्टरलाई रिपोर्ट गरेनन् होला ।

सोही दिन बेलुका ५ः३० मा फेरि छोरीलाई लिएर गयौँ । बाफ लगायौँ । डाक्टरको क्याबिनमा लिएर गयौँ । छोरी कुर्सीमा बस्न सकिनन् अनि बेडमा सुतायौँ । सबै अवस्था बेलिबिस्तार लगाएर ‘अब बरु भर्ना गरेरै उपचार गरौँ, घरमा राख्दा गाह्रो होला’ भनेर डाक्टरलाई भन्यौँ । तर डाक्टर फेरि पनि 'आत्तिनुपर्ने कुरा छैन । तर त्यसो भन्नुहुन्छ भने एउटा एक्सरे हेरौँ अनि रगतको जाँच पनि गरौँला' भनेर लेखिदिए ।

हामी एक्सरे गराउन गयौँ र लिएर आयौं, जब रिपोर्टमा फोक्सोमा दुबैतिर निक्कै पानी फैलिएको देखियो तब मात्र बिरामीको स्याचुरेसन (अक्सिजन) जाँचियो र भर्ना प्रकृया सुरु गरियो । अक्सिजन लेवल धेरै घट्न थालेपछि “यहाँ भर्ना नगरौँ, अर्कै अस्पताललाई रेफर गरिदिन्छौँ, पीआइसीयु  भएको ह्याम्स अस्पतालमा पठाइदिन्छौँ” भने । त्यो पनि मान्न हामी तयार भयौँ । तर फोनमा डाक्टरले बिरामीको कन्डिसन बताएपछि हेम्सको डाक्टरले नपठाउनु भने ।

त्यसपछि डा. जयदेव यादवले अर्को नाटक रचेर भने, 'कान्ति बाल अस्पताललाई मैले कुरा गरेँ । बेड खाली छ, लेटर लेखिदिन्छु । सिधै इमर्जेन्सीमा लैजानू र मेरो नाम लिनू ।'

हामी आत्तिएका बाबुआमा त्यो पनि मन्जुर गरेर एम्बुलेन्स खोज्न थाल्यौँ । जब बिरामीलाई गाडीमा सार्न लाग्यौँ डा. जयदेव यादवले एउटा पत्र लिएर आए र हातमा दिँदै ‘यो मात्र लिएर जानुस्, अरू कागजात केही लानुपर्दैन’ भन्दै छोरीको मेडिकल रेकर्ड कार्ड (प्रेसक्रिप्सन) नर्सलाई लुकाउन लगाए । त्यतिबेला भने मेरो मनमा चिसो पस्यो र डाक्टरको आँखा छलेर गएर काउन्टरमा नर्सको हातबाट कागज खोसेर बोकेर हिडेँ ।

त्यसपछि अक्सिजन जोडेर नानीलाई कान्ति बाल अस्पताल पुर्‍यायौँ । त्यहाँ अस्पतालले बेड खाली नभएको भनेर लिनै मानेन । फेरि त्यहाँ 'कुनै डाक्टर वा हिमाल हस्पिटलले केही खबर गरेको छैन, कसैसँग कुरा गरेको छैन' भनेर नानीको अवस्था नाजुक भइसकेको भन्दै तुरुन्तै पीआईसीयू भएको अर्को अस्पताल लैजान सुझाव दिए ।

हामीले खोजी गर्ने क्रममा मेट्रो हस्पिटलमा बेड खाली भएको बुझेर फेरि एम्बुलेन्स बोलाएर त्यहाँ पुर्‍यायौँ । मेट्रो हस्पिटल पुग्दासम्म छोरीले बोलाउँदा रेस्पोन्स गरिरहेकी थिइन् । तर, त्यो बेलासम्ममा छोरीको स्याचुरेसन ५० को हाराहारीमा झरिसकेकाले सिधै सघन उपचार कक्षमा हालियो । उता छोरीको उपचार सुरु भयो । यता हामी अन्य कागजी प्रक्रिया मिलाउन थाल्यौँ ।

लगभग एक घण्टापछि भित्रबाट मलाई बोलाइयो र म भित्र गएँ । छोरी हेर्न सकिने अवस्था मै थिइनन् । हाम्रो काख र अँगालो रित्तिसकेको थियो । बाँकी कुरा हजुरहरूलाई अवगत भइसक्यो ।”

भावुक बनेका गंगा रोकिएनन् । अगाडि फेरि भन्न थाले, "अस्पताल प्रशासन र सरोकारवाला निकायहरूसँग अब मेरा यी प्रश्न छन्, जसले आज हामीलाई न्यायका लागि आन्दोलन गर्न बाध्य बनाएको छ ।

– चार/पाँच दिनदेखि ज्वरो तथा खोकी लागेको बच्चालाई किन कुनै परीक्षणहरू गरिएन र उपचार थालियो ?

– लगातार तीन दिनसम्म बाफ लगाउन लगाएर पनि किन एक्सरे, रगत जाँच तथा पिसाप जाँचजस्ता अत्यावश्यक जाँचहरू गरिएन ?

– पेट फुल्ने, अनुहार सुनिने, घ्यारघ्यार हुने, लामो समय पिसाप नहुनेजस्ता लक्षणहरू थपिँदै जाँदा अभिभावकहरूको कुरामा किन ध्यान दिइएन र किन मानिएन ?

– अस्पतालले पीआईसीयू आवश्यक छ भनी त्यहाँबाट अर्को अस्पताल पठाउनुअघि ‘कान्ति अस्पतालमा पीआईसीयू खाली छ, सम्बन्धित डाक्टरसँग कुरा भयो, छिटो लैजानोस्’ भनेर त्यहाँ कसैसँग कुरा नगरी पीआईसीयू खाली नभएको ठाउँमा पठाएर त्यस्तो संवेदनशील अवस्थामा किन खेलबाड गरियो ?

– रेफर लेटरमा डाक्टरको हस्ताक्षर नगरी र अस्पतालको छापसमेत नहानी किन पठाइयो ?

– बिरामीको पुरानो चार दिनदेखिको हिमाल हस्पिटलको मेडिकल रेकर्ड र औषधि किन लुकाउने कोसिस गरियो ?

– अब म के गरौँ ? कोसँग लडौँ ?

– मसँग को उभिन्छ ? देश कि नागरिक ?

– यति संवेदनशील सेवामा किन लापरबाही गरियो ?

– यो विषयमा विज्ञ म हो कि डाक्टर ? उसको कुरा मानेर मैले कहाँनिर गल्ती गरेँ ?

– मैले बेहोरेको क्षति यो राज्यको क्षति हो कि होइन ?

– सम्बन्धित डाक्टरको योग्यता छानबिन हुनुपर्छ कि पर्दैन ?

– न्याय माग्न पाउने अधिकार त छ । तर न्याय पाउने भरोसा कसले दिन्छ ? 

फागुन १ गते ५ दिनमा प्रशंसाको मृत्यु संस्कार सकियो । त्यसपछि काठमाडौं आएका गौतम परिवारले फागुन ९ गते पत्रकार सम्मेलन गर्दै घटनाबारे जानकारी दियो । सोही दिनदेखि न्यायका लागि भन्दै अस्पताल अगाडि आन्दोलनमा उत्रिएका गौतम परिवारलाई हिमाल अस्पतालले फागुन १० गते छलफलका लागि बोलायो । फागुन १३ गते पीडित पक्षका पाँचजना, अस्पताल प्रशासनका प्रतिनिधि, डा. यादव र सञ्चारमाध्यमका प्रतिनिधि पाँचजना सहभागी भई फागुन १३ गते वार्ता गर्ने  सहमति गरियो ।

Himal a1677556246.jpg

तर, जब वार्ताको दिन आयो सञ्चारकर्मीलाई सहभागी गराउन अस्पताल प्रशासनले मानेन । बरु क्षतिपूर्तिको लालच देखाइयो । त्यसपछिका दिनमा गौतम परिवार निरन्तर आन्दोलनमा छ ।

गंगा भन्छन्, "मैले छोरी गुमाइसकेँ । अब मलाई कुनैपनि क्षतिपूर्ति चाहिँदैन । गल्ती गर्ने डाक्टरलाई कारबाही होस्, अस्पतालले घटनाको जिम्मा लेओस् । म कानुनी प्रक्रियामा जान्छु, कानुनबाटै न्याय चाहान्छु ।"

नेपाल मेडिकल काउन्सिलमा घटनाबारे उजुरी गरेका गंगालाई थोरै भएपनि त्यहाँबाट निष्पक्ष छानबिन हुने आशा छ । अन्यथा कानुनी प्रक्रियाकै भर ।

अस्पताल भन्छ– चिकित्सकको दोष देखिएको छैन
प्रशंसा गौतम मृत्युको घटनामा दोषी भनिएको हिमाल अस्पतालमा आन्तरिक छानबिन समिति गठन गरिएको छ । डा. शशिकुमार थापा संयोजक रहेको समितिले अहिले पनि छानबिन गरिरहेको बताउँछ । “उहाँहरूको बिरामीमा पहिलेदेखि नै जटिलता थियो । आन्तरिक छानबिनबाट डा. यादव दोषी देखिएका छैनन्,” संयोजक डा. थापाले बाह्रखरीसँग भने ।

अस्पतालले ओपीडीमार्फत मात्रै उपचार गरेको र अर्को अस्पतालमा भएको घटनाबारे आफूहरूले जिम्मा नलिने  डा. थापाको दाबी छ । "जतिखेर समस्या देखियो, त्यतिखेरै हामीले रेफर गरेका छौँ । अझैपनि समितिले छानबिन गर्छ, अहिलेसम्म चिकित्सकको दोष देखिएको छैन," उनी थप्छन् ।

घटनामा सम्बन्धित चिकित्सकले नै वार्ता प्रक्रियामा सञ्चारकर्मी राख्न नमानेपछि वार्ता अघि नबढेको उनको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९  ०९:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro