site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हिमाल अस्पताल–बालिका मृत्यु प्रकरण : के हुँदै छ कारबाही प्रक्रिया ?

काठमाडौं । काठमाडौंको नक्सालस्थित हिमाल अस्पतालबाहिर १३ दिनयता आन्दोलन जारी छ । मोरङकी २८ महिने बालिका प्रशंसा गौतमको उपचारका क्रममा लापरबाही गरिएको भन्दै आन्दोलन भइरहेको हो ।

उपचारका क्रममा लापरबाही गरेको आरोप लागेका डा. जयदेव यादव पछिल्ला दिनहरूमा अस्पतालमा अनुपस्थित छन् । घटनाबारे अस्पताल प्रशासन मौन छ ।

गएको माघ २६ गते महाराजगन्जको मेट्रो अस्पतालमा मृत्यु भएकी बालिका प्रशंसाको उपचारका क्रममा हिमाल अस्पतालले लापरबाही गरेको आरोप छ । प्रशंसालाई मेट्रो पुर्‍याउनुअघि हिमालमा लगिएको थियो । त्यहाँ चार दिन ओपीडीमा उपचार गरिएको थियो । माघ २६ साँझ हिमालले आफ्नोमा बाल आईसीयू नभएको भन्दै कान्ति अस्पतालमा लैजान रिफर गरेको थियो । तर, कान्तिमा बाल आईसीयू खाली नभएपछि प्रशंसालाई उपचारका लागि मेट्रो पुर्‍याइएको थियो । मेट्रो लगिएको केही समयमै उनको मृत्यु भएको थियो ।

मोरङको पथरी शनिश्चरे नगरपालिका–२, प्रगति टोलका गौतम परिवारले दैनिक बिहान ११ बजेदेखि तीन/चार घण्टा अस्पतालअगाडि आन्दोलन गरिरहेको छ । अस्पताल प्रशासनले घटनाको जिम्मा लिनुपर्ने आन्दोलनरत पक्षको माग छ ।

घटनाको छानबिन गर्नुपर्ने मागसहित परिवारले नेपाल मेडिकल काउन्सिलमा उजुरी समेत दिइसकेको छ । तर, उजुरी दर्ता गरेको १४ दिनसम्म काउन्सिलले कुनै प्रतिवेदन सार्वजनिक गरेको छैन ।

कानुनी प्रक्रियामा जाने परिवारको तयारी 
फागुन १ गते प्रशंसाको शनिश्चरेमै मृत्यु संस्कार सकिएको थियो । त्यसपछि काठमाडौं आएको गौतम परिवारले फागुन ९ गते पत्रकार सम्मेलन गर्दै घटनाबारे जानकारी गराएको थियो ।

सोही दिनदेखि न्यायका लागि भन्दै आन्दोलनमा उत्रिएको गौतम परिवारलाई हिमाल अस्पतालले फागुन १० गते छलफलका लागि बोलाएको थियो । त्यति बेला पीडित पक्षका पाँच, अस्पताल प्रशासनका प्रतिनिधि, डा. यादव र सञ्चारमाध्यमका प्रतिनिधि पाँचजना सहभागी भई फागुन १३ गते वार्ता गर्ने  सहमति गरियो । जब वार्ताको दिन आयो, सञ्चारकर्मीलाई सहभागी गराउन अस्पताल प्रशासनले मानेन । बरु, क्षतिपूर्तिको लालच देखिाइयो ।

त्यसयता दुई पक्षबीच सहमतिको प्रयास नभएको बताइएको छ । प्रशंसाका बुवा गंगा गौतम भन्छन्, “मलाई प्रत्यक्ष बोलाएर कुराकानी गरिएको छैन । बरु, बाह्य दबाब दिइएको छ । दुईतर्फी चिनजानका व्यक्तिहरूमार्फत सम्झौता गर्न भनिएको छ । मेरो कुरा प्रस्ट छ, गल्ती गर्ने चिकित्सकले स्वीकार्नुपर्‍यो, अस्पतालले घटनाको जिम्मा लिनुपर्‍यो । उहाँहरू एउटा विन्दुमा पुगेर सम्झौता गरौँ भनेर आर्थिक क्षतिपूर्तिको कुरा गर्नुहुन्छ, मेरो सम्झौताको विन्दु क्षतिपूर्ति होइन, न्याय हो ।”

अस्पतालले ओपीडीको बिरामी भएकाले घटनाको जिम्मा नलिने तर्क गर्दै आएको छ । तर, गौतम भन्छन्, “मेरो छोरीलाई ‘इन प्यासेन्ट’ किन गरिएन त ? यसमा उपचारमा संलग्न डा. यादवको सरासर लापरबाही छ ।” 

अस्पतालले घटनाको जिम्मा नलिएको र मेडिकल काउन्सिलका तर्फबाट पनि चिक्तबुझ्दो छानबिन नगरिएको भन्दै कानुनी प्रक्रियामा जाने तयारी गरेको उनले बताए ।

माफी माग्न मान्दैनन् डा. यादव, अस्पताल मौन
बालिका मृत्युको घटनाबारे छानबिन गर्न  हिमाल अस्पतालमा डा. शशीकुमार थापाको संयोजकत्वमा आन्तरिक छानबिन समिति गठन गरिएको छ । आन्तरिक छानबिनका क्रममा डा. यादव दोषी नदेखिएको समितिको निष्कर्ष छ । तर, घटना मेडिकल काउन्सिलमा पुगिसकेकाले अब त्यहाँकै निर्णयानुसार अघि बढ्ने संयोजक डा. थापाले बाह्रखरीसँग बताए ।

आरोपित डा. यादवले घटनामा आफ्नो दोष नभएको भन्दै गौतम परिवारसँग माफी माग्न समेत मानेका छैनन् । मेडिकल काउन्सिलको प्रतिवेदनपछि मात्र उनलाई डिउटीमा निरन्तरता दिने/नदिनेबारे निर्णय गरिने छानबिन समितिका एक सदस्य बताउँछन् । आन्दोलनका कारण अस्पताल सञ्चालनमा समेत अप्ठ्यारो भएको ती सदस्यको भनाइ छ ।

“प्रहरीले समेत अस्पताललाई सहयोग नगरेको र काउन्सिलले पनि प्रक्रिया छिटो अघि नबढाइदिँदा अस्पताल नै बन्द गर्नुपर्ने अवस्थामा पुगेका छौँ,” ती सदस्यले भने ।

के गर्दै छ मेडिकल काउन्सिल ? 
प्रशंसा मृत्युको १३ दिनपछि फागुन ८ गते बुवा गंगा गौतमले छानबिनका लागि नेपाल मेडिकल काउन्सिलमा उजुरी दिएका थिए । फागुन २१ गते बेलुका ५ बजेका लागि बयानका निम्ति भन्दै काउन्सिलबाट आफूलाई फोन आएको गंगाले बताए ।

“उजुरीपछिको यतिका दिनपछि मलाई आइतबार ५ बजे बयानका लागि आउनू भन्दै साढे ४ बजे फोन आयो, म बाहिर थिएँ, आधा घण्टामा पुग्न नभ्याउने बताएँ । त्यसपछि फेरि एक साता पछिमात्रै बयान हुने बताइयो । काउन्सिलले बोलाएजस्तो पनि गर्ने तर घटनालाई प्राथमिकता नदिएको देखिएको छ,” गंगाले भने ।

काउन्सिलका रजिष्ट्रार डा. कृष्णप्रसाद पौडेल घटनाका बारेमा आफूहरूले छानबिन प्रक्रिया अघि बढाएको बताउँछन् । “हामीले छानबिनको काम थालेका छौँ, अहिलेलाई यति मात्रै भन्न मिल्छ,” डा. अधिकारीले भने ।

पाँच सदस्यीय काउन्सिलको व्यावसायिक आचरण तथा स्वास्थ्य समितिले यस्ता घटनाको छानबिन गर्ने व्यवस्था छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २३, २०७९  ०९:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro