site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रास्वपा र कांग्रेसबीच चर्काचर्की परेको जग्गा प्रकरण के हो ?

काठमाडौं । बुधबार संघीय संसद् प्रतिनिधिसभाको शून्य समयमा रास्वपा सांसद शिशिर खनाल र सुमना श्रेष्ठले एउटै विषय उठाए । 

सुरुमा शिशिर खनालले हालको तारकेश्वर–९ साविक मनमैजु नगरपालिकाको सरकारी जग्गा कांग्रेस नेताले कब्जा गरेको भन्ने अरोप लागेको बताए । 

खनालले भने, “..नेपाल सरकारको नाममा रहेको नेवार समुदायको चिहान रहेको जग्गा कित्ता नम्बर ६२ र ६३ नेपाली कांग्रेस नेताले कब्जामा लिई भोगचलन गर्दै आइरहेको र स्थानीयवासीको गुनासो र उजुरीका बाबजुद स्थानीय सरकारले कुनै पहल नगरेको आमगुनासो छ ।” 

खनालले त्यसो भनिसक्दा नै नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले आपत्ति जनाए र उनले पार्टीलाई बदनाम गर्न नपाइने भन्दै व्यक्तिको नाम खुलाउन माग गरे । 

तर, उनलाई व्यक्तिको नाम नतोकेको भन्दै आसन ग्रहण गर्न सभामुखले आग्रह गरे र बोल्न रोके । उनी बस्न बाध्य भए । 

त्यसको केही बेरपछि लेखेर राखेको उही व्यहोराको विषय रास्वपा सांसद सुमना श्रेष्ठले उठाइन् । 

कांग्रेस सांसदहरुले त्यसमा आपत्ति जनाउँदै कसले सरकारी जग्गा कब्जा गरेको हो ? खुलाउन माग गरे । कांग्रेस  सचेतक सुशीला थिङ, सांसदहरु राजेन्द्र केसी, देवप्रसाद तिमिल्सना र राजेन्द्र बजगाईँलगायतका सांसद पुनः उठेर विरोध गर्दै समय मागे । 

उनीहरुले ‘कुन नेताले गरे’ ? भन्दै नाम तोक्न माग गरे । सभामुखले कुनै नेताको नाम नलिइएको भन्दै सदनमा लाञ्छना लगाएर बहस नटुंगिने बताए ।

“लाञ्छना हो कि होइन भन्ने पक्ष–विपक्ष भएर बोलेर टुंगिदैन,” सभामुख घिमिरेले भने । 

सभामुखको रुलिङपछि कांग्रेस सांसदहरु बसे र बैठक सञ्चालन भयो । बैठक संचालन भए पनि संसदमा सांसदले उठाएको सरकारी जग्गा पार्टीका नेता विशेषले कब्जा गरेको विषय सेलाउने कुरा भएन । 

कांग्रेसले नाम खुलाउन माग गरेको विषय सांसदहरुले संसदमा नखुलाए पनि सामाजिक सञ्जालमा छरपस्ट भयो ।

जग्गा कब्जाको आरोप नेपाली कांग्रेसका नेता तथा नेपाल मेडिकल एशोसिएसनका पूर्वअध्यक्ष समेत रहेका डा. केदारनरसिंह केसीमाथि लागेको खुल्यो ।  यस विषयमा स्थानीयस्तरमा प्रश्न उठेर तारकेश्वर नगरपालिकाले मालपोत कार्यालयसँग सूचना मागेको र त्यसको जवाफ पनि टिपाइएको पाइएको छ । 

मालपोत कार्यालय मनमैजुले लेखेको पत्रमा भनिएको छ, “उपरोक्त सम्बन्धमा ताहाँ कार्यालयको मिति २०८१–०४–१४ को पत्र प्राप्त भइ व्यहोरा अवगत भयो सो सम्बन्धमा का.जि. साबिक मनमैजु वडा नं. ९ सिट नं. १०२०९४४२३ कि.न.६२ क्षेत्रफल २१.६२ ब.मी. जग्गा ज.ध. केदार नरसिंह के.सी. का नाममा र कि.नं. ६३ क्षे.फ. २६३.६१ नेपाल सरकारका नाममा यस कार्यालयको मोठ श्रेस्तामा जनिएको ब्यहोरा जानकारीका लागि अनुरोध छ ।” 

गत साउन १६ गते नै मालपोत कार्यालयले विवरण खुलाएर पठाए पनि नगरपालिकाले निकास ननिकालेको पाइएको छ । 

यसबारे बाह्रखरीले डा. केदार नरसिंह केसीलाई सरकारी जग्गा कसरी कब्जा गर्नुभयो ? भनेर प्रश्न गर्दा उनले आफूले जग्गा कब्जा नै कब्जा नगरेको बेलिविस्तार सुनाए । 

“मैले २०४९ सालमा नै त्यहाँ जग्गा किनेको हुँ । मेरो जग्गा सँगै रहेको जग्गा सडकको भनेर श्रेष्तामा नै जतिएको छ,” डा. केसीले भने, “मैले सरकारी जग्गा उपयोग वा कब्जा केही पनि गरेको छैन । मेरो सार्वजनिक छवि बिगार्न चाहनेहरुले हल्ला चलाएका हुन् ।”

उनले त्यसो भन्दै गर्दा सरकारी जग्गा समेत कब्जा गरेर पर्खाल लगाएको आरोप लगेको छ । 

त्यसो भए पर्खाल किन लगाइएको भन्ने जिज्ञासामा उनले ढिस्कोमा रहेको जग्गा थेग्नका लागि स्थानीय र जनप्रतिनिधिसमेतको रोहवरमा पर्खाल लगाइएको बताए ।

यस विषयमा नबुझेकाहरुले प्रश्न उठाएपछि आफूले आफ्नो जग्गा एकिन गरेर सरकारी जग्गा छुट्टयाउन निवेदनसमेत दिएको जानकारी दिए । 

“मैले त ०४९ सालमा किनेको जग्गा हो । यदि मेरो नियत खराब हुन्थ्यो भने त्यो जग्गा मेरो नाममा पारेर हाल साविक गर्न लाग्दिनथेँ हुँला र ?,” प्रश्न गर्दै केसीले भने, “मैले त्यहाँ वाल लगाएको पनि आफ्नो रहरले होइन । जनप्रतिनिधिहरुकै आग्रहमा हो र सरकारी जग्गा सरकारकै नाममा छ । मेरो जग्गा मेरै नाममा छ ।” 

उनले आफू नुवाकोटमा रहेको भन्दै काठमाडौंमा भए सबै कागजात देखाउन पनि तयार रहेको बताए । 

डा. केसीले वडा कार्यालयमा निवेदन दिएको बताएपछि हामीले तारकेश्वर नगरपालिका–९ का वडाध्यक्ष श्यामकृष्ण महर्जनलाई सम्पर्क गर्‍यौँ । 

उनले त्यस्तो निवेदन केही पनि नआएको बताए । उनले जग्गामा प्रश्न उठेपछि मालपोतबाट बुझ्ने काम भइसकेको भन्दै कित्ता नम्बर ६२ को जग्गा केदारनरसिंह केसीको र कित्ता नम्बर ६३ को जग्गा नेपाल सरकारको नाममा रहेको (सडकका लागि) भनेर छुट्टयाइएको बताए । 

तर, उनले आफू वडाध्यक्ष भए पनि जग्गाको नजिकको व्यक्ति पनि भएकाले वडा सदस्य श्यामकृष्ण महर्जनलाई जिम्मेवारी दिएको बताए । 

“हामी अलग पार्टीबाट निर्वाचित भए पनि समन्वयमै काम गरिरहेका छौँ । मेरै नाम भएको वडा सदस्य श्यामकृष्ण महर्जनलाई यसको जिम्मेवारी दिएकाले उहाँलाई नै यसको विस्तृत जानकारी छ,” वडाध्यक्ष महर्जनले भने, “जग्गा व्यक्तिको र नेपाल सरकारको भनेर छुट्टिइसकेकाले त्यसमा विवाद गर्नुपर्ने जरुरी म देख्दिनँ ।”

वडा सदस्य महर्जनलाई सम्पर्क गर्दा उनले विगतदेखि नै स्थानीयले प्रश्न उठाएपछि व्यक्तिको जग्गा र सरकारी जग्गा एकिन भइसकेको हुँदा अहिले विवादको कुनै अर्थ नभएको बताए ।

सरकारी जग्गा सरकारकै नाममा र व्यक्तिको जग्गा व्यक्तिकै नाममा भइसकेकाले अहिले विवाद चर्काउन खोज्नुको कुनै अर्थ नरहेको उनको टिप्पणी छ ।

“हामीले मोठ भिडाउनेसहितका काम गरिसकेका छौँ । पहिले नै कित्ता नम्बर ६३ प्रस्तावित बाटो भनेर पास भएको रहेछ । भित्रबाट सिमाना पनि गरिरहेका छौँ, अहिले किन विवाद झिकिएको हो बुझ्न सकेको छैन,” उनले भने ।
त्यसबाहेक सदस्य महर्जनले जग्गाको सिमाङ्कन गरिदिनु भनेर एक वर्षअघि नै निवेदन दिएको पनि खुलाए । 

“उहाँले (केदारनरसिंह केसी) सिमाङ्कन गरिदिनु भनेर निवेदन दिनुभएको छ । हामी गरिसकेका पनि छौँ । सबै उतारेर ल्याएका छौँ,” महर्जनले भने, “त्यसमा हामीले त सबै राखेर निर्णय र सिमांकन गरिदिनुपर्ने हो । व्यक्तिको पुर्जा अनुसार लिएर भोगचलन गरिराखेका छन् । बाँकी जग्गा खाली नै छ । विवाद यसबेला आएर किन चर्किएको छ मैले बुझ्न सकेको छैन ।” 

वडा सदस्य महर्जनले त सरकारी बजेटले नै सरकारी जग्गाको भरथेग गर्न पर्खाल लगाइएको बताए ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१  १८:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro