site stats
बाह्रखरी :: Baahrakhari
देश
यसकारण बढ्दैछ खडेरी, महामारीजन्य रोगको जोखिम
फाइल तस्बिर

काठमाडौं । यसवर्ष मनसुनपछि र हिउँदमा वर्षा भएन । 

सामान्यतः डिसेम्बरको दोस्रो साता आसपास हिउँदे वर्षा हुने गरेकोमा यसवर्ष फेब्रुअरी सकिन लाग्दा पनि पानी परेको छैन (केही स्थानमा छिटफुटबाहेक) । 

वर्षा नहुँदै तापक्रम वृद्धि हुन थालेपछि यसको प्रत्यक्ष असर दैनिक जनजीवनदेखि जनस्वास्थ्यसम्म पर्न थालेको छ । 

सुख्खा हिउँदका वर्षहरु बढ्दै जाँदा महामारीजन्य रोगहरुको जोखिम र तिनको नियन्त्रण पनि चुनौती बन्दै गएको छ ।

त्यतिमात्रै नभइ सुख्खा वर्षहरु बढदै जाँदा यसले खडेरीको अवस्थाले झनै विकराल रुप लिँदै गएको अध्ययनहरुले देखाएका छन् ।

किन परेन यसपटक हिउँदमा पानी ? 

अक्टोबर १६ यता नेपालका अधिकांस प्रदेशमा पानी परेको छैन । 

कर्णाली, सदूरपश्चिम र प्रदेश एकमा भएका छिटफुट वर्षा पनि अत्यन्तै न्यून मात्रामा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

नेपालमा पश्चिमी वायुको प्रभावले वर्षा गराउने गरेको छ ।  यसवर्ष पूरै हिउँदमा पश्चिमी वायु निकै कमजोर देखियो । 

यसको पछाडि प्रशान्त महासागरमा भएको तापक्रमको अवस्थाले भूमिका खेलेको छ । 

विशेषगरी प्रशान्त महासागरको समूद्री सतहको तापक्रम परिवर्तनमा दुईवटा सामुन्द्रिक प्रणाली हुन्छन्, ‘ला– निना’ र ‘एल–निनो’ । 

महासागरमा पूर्वी भाग बढी तातो भएको अवस्था ‘एल निनो’ हो भने चिसो भएको अवस्था ‘ला निना’ हो । 

जल तथा मौसम विज्ञान विभागका हावापानी विश्लेषण शाखा प्रमुख डा. इन्दिरा कँडेलका अनुसार अहिले पनि ‘ला निना’ प्रशान्त महाशागरको पूर्वी भागमा विकास भएको छ । 

यो प्रणाली विकास हुँदा त्यहाँबाट बहने हावाको दिशा परिवर्तन भएको छ ।  यसरी बहावको दिशा परिवर्तन हुँदा पश्चिमी वायु कम सक्रिय भएका कारण वर्षा हुन सकेन । 

डा. कँडेलका अनुसार अबको एक सातासम्म पनि वर्षा नभएमा यो वर्षको हिउँद पनि सुख्खा हिउँदको रुपमा सूचीकृत हुनेछ । 

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार छिटफुटबाहेकका वर्षा गराउनसक्ने कुनै प्रणाली विकास भएको देखिँदैन । 

पछिल्ला १६ मध्ये १० वटा वर्ष सुख्खा

जल तथा मौसम विज्ञान विभागका देशभर रहेका २० वटा मुख्य मापन केन्द्रको रेकर्डअनुसार नेपालमा वार्षिक करिब एक हजार ८५० एमएल वर्षा हुने गरेको छ । 

यसको करिब ४ प्रतिशत ६० एमएल वर्षा हिउँदमा हुन्छ । 

तर यसपटकको हिउँद (डिसेम्बर जनवरी फेब्रुअरी २३ सम्म) मा भने ६० एमएलमध्ये पनि १४.२ प्रतिशत मात्र वर्षा भएको विभागको तथ्यांक छ । 

माघको दोस्रो साता सुदूरपश्चिम र कर्णाली तथा फेब्रुअरी तेस्रो साता प्रदेश एकका केही जिल्लामा छिटफुट वर्षा भए पनि यसको मात्रा नगण्य रहेको डा. कँडेल बताउँछिन् । 

यो तथ्यांक नेपालका लागि नयाँ भने होइन विभागको पछिल्ला १६ वर्षयताको तथ्यांक हेर्दा १० वटा वर्ष सुख्खा देखिएका छन् । 

वर्ष २०६४, ०६५, ०६६, ०६७, ०६८, ०७२, ०७३, ०७४, ०७७ र ०७८ मा औषतभन्दा कम वर्षा भएको देखिन्छ । 

तीमध्ये पनि २०६४, ०६५, ०७२, ०७३, ०७४, ०७७ का हिउँदमा ६० एमएलभन्दा कम पानी पर्दा अधिक सुख्खा वर्षको रुपमा सूचीकृत भएका छन् । 

योवर्ष मनसुनमा पर्याप्त वर्षा भए पनि हिउँदमा वर्षा नहुँदा सुख्खा वर्षमा नै हुने डा. कँडेल बताउँछिन् । 

khaderi121677384770.jpg

यो वर्ष मनसुनमा पनि कम वर्षा हुन्छ ?
हिउँदमा वर्षा नहुँदा त्यसको असर मनसुनमा कस्तो हुने भन्नेबारे कुनै ठोस वैज्ञानिक आधार देखिँदैन । 

हिउँद र मनसुनमा हुने वर्षाको सकारात्मक सम्बन्ध भए पनि यकिन गर्न सकिने ठोस आधार भने नभएको डा. कँडेलको भनाइ छ । यद्यपी आगामी दिनमा दैनिक औषत तापक्रम भने बढ्दै जाने विभागले जनाएको छ । 

यसकारण बढ्दैछ खडेरी 

सुख्खा वर्षहरुको संख्या बढ्दैजानु र सिजनअनुसार पानी नपर्नुलाई विज्ञहरुले जलवायु परिवर्तनसँग जोडेर व्याख्या गरेका छन् । 

काठमाडौं इन्स्टिच्युट अफ एप्लाइड साइन्सेसकी निर्देशक तथा वैज्ञानिक डा. हेमु काफ्ले पछिल्ला वर्षहरुमा सुख्खा हिउँद हुनु जलवायु परिवर्तनको प्रमुख असर भएको दाबी गर्छिन् । 

“प्राकृतिक प्रणाली त आफ्नो ठाउँमा छँदैछ, तर मानवीय गतिविधिले ग्लोबल वार्मिङ बढाउने काममा ठूलो भूमिका खेलेको छ, यसको असर मौसमी प्रणालीदेखि जनजीवीका र मानव स्वास्थ्यसम्म परेको छ,” डा. काफ्ले भन्छिन् ।

अहिले पश्चिमी वायु कमजोर बन्नु तथा वायुमण्डलमा आद्रता घट्नुमा ग्लोबल वार्मिङकै मुख्य भूमिका रहेको उनको दाबी छ । 

“पश्चिमी वायु नेपाल आइपुग्दासम्म पनि यहाँको तापक्रमका कारण कमजोर भएको देखिन्छ,” डा. काफ्ले थप्छिन् । 

उनका अनुसार बढ्दो सहरीकरण, खुम्चिँदा पानीका स्रोतहरु तथा मासिँदो वन जंगलले ग्लोबल वार्मिङलाई बढावा दिएको छ । 

सन् १८८० यता पृथ्वीको तापक्रम प्रत्येक दश वर्षमा ०.०८ डिग्री सेल्सियसका दरले बढ्दै गएको छ भने सन् २०२२ यो शताब्दीको छैटौँ गर्मी वर्षको रुपमा रेकर्ड भएको छ । 


खडेरीको मार जनजीविकादेखि जनस्वास्थ्यसम्म 

लामो समयसम्म पानी नपर्दा निम्तिने खडेरीको असर मौसमी परिवर्तन हुँदै जनस्वास्थ्य  देखि सामाजिक आर्थिक पाटोसम्म परेको छ । 

लामो समय पानी नपर्दा हुने वायु प्रदूषण त छँदैछ, वायुमण्डलमा कम आद्रता भएकै कारण नाक, कान घाँटी सुख्खा हुने श्वासप्रश्वासजन्य रोगहरुको सम्भावना पनि त्यतिकै बढेर गएको विज्ञहरु बताउँछन् । 

सुख्खा याममा वातावरणमा अक्सिजनको मात्रा कम र अन्य दूषित ग्यासहरु हावी हुने हुँदा श्वासप्रश्वासजन्य समस्या बढ्ने विभिन्न अध्ययनहरुले देखाउका छन् ।

त्यतिमात्र नभइ हावामा अक्सिजनको मात्रा कम हुँदा छालाको बाहिरी तहलाई चाहिने भिटामिन सी र इ को मात्रालाई घटाइदिन्छ । 

यसको परिणाम छालाको बाहिरी तहमा विभिन्न समस्या हुँदै यसको असर भित्रसम्मै पुग्छ । 

त्यस्तै अचानक हुने यस्तोखाले मौसम परिवर्तनलाई मानिसको छालाले तुरुन्तै पचाउन सक्दैन र एलर्जी, छाला सुख्खा हुँदै जाने डिहाइड्रेसन, एक्जिमाजस्ता समस्या देखा पर्नसक्छन् । 

प्रदूषित हावापानीका कारण संक्रमणले छिटो आक्रमण गर्ने, श्वासप्रश्वासमा समस्या निम्त्याउने तथा निमोनियाको सम्भावना बढाउने त्रिवि शिक्षण अस्पतालका वरिष्ठ छातीरोग विशेषज्ञ डा. निरज बम बताउँछन् । 

त्यतिमात्र नभइ सुख्खायामको जनस्वास्थ्यसँग प्रत्यक्ष र दीर्घकालिन सम्बन्ध जोडिएको विज्ञहरु बताउँछन् । 

खडेरीका कारण पानीको गुणस्तर घट्ने, पानीको उपलब्धता कम हुँदा सरसफाइमा कमी हुने कारणले विभिन्न संक्रामक रोगहरुको जोखिम बढ्ने वैज्ञानिक डा. काफ्ले बताउँछिन् । 

यसबाहेक मौसमजन्य विपद्का घटना बढ्ने र त्यसको प्रत्यक्ष असर जनस्वास्थ्यमा परेका तथ्यहरु छन् ।  वि. सं. २०७७ अधिक सुख्खम वर्षमा सूचीकृत भएको छ । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वर्ष २०७७ मा मात्रै दुई हजार दुई सयवटा डढेलोका घटना भएका थिए । 

डढेलोबाट भएको वायु प्रदूषणका कारण विद्यालयहरु समेत बन्द गर्नुपर्ने अवस्था सो वर्ष भएको थियो । 

त्यस्तै बढ्दो तापक्रमकै कारण लामखुट्टेजन्य रोगहरुको संक्रमण बढेको र लामो समयसम्म जोखिम रहने गरेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक छ । 

महाशाखाको तथ्यांकमा यो वर्ष जुलाइदेखि सेप्टेम्बरसम्म मात्रै २७ हजार ९४२ जनामा डेंगी संक्रमण पुष्टि भएको छ यो नेपालमा डेंगी देखिएयता सन् २००४ यताकै सबैभन्दा बढी संख्या हो ।  

भने अन्य लामखुट्टेजन्य रोगहरुको संक्रमण पनि बढ्दै गएको तथयांक छ । 

महाशाखाका रोग निगरानी तथा अनुसन्धान शाखा प्रमुख डा. अनु शाक्य जलवायु परिवर्तन र बढ्दो तापक्रम नै संक्रामक रोग बढ्नुको प्रमुख कारण भएको बताउँछिन् ।

जलवायुजन्य संक्रामक रोगहरुको प्रकोप बढ्दै गएपछि महाशाखाले चारवटा अस्पताललाई लिएर निगरानी र रेकर्ड अध्ययन गर्न थालेको छ । 

जलवायु परिवर्तको असरस्वरुप नेपालमा डेंगी, कालाजार, पेटसम्बन्धी संक्रामक रोगहरु, श्वासप्रश्वासजन्य समस्याहरुको नियन्त्रण चुनौती बन्दै गएको डा. शाक्यको अनुभव छ । 

त्यस्तै लामो समयको खडेरीले माटोको प्रकृति नै परिवर्तन गरिदिने र यसको नकारात्मक प्रभाव कृषि हुँदै सामाजिक आर्थिक अवस्थासम्म पुग्न सक्ने वैज्ञानिक डा. काफ्लेको ठहर छ । 


 

प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९  ०९:५६
प्रतिक्रिया दिनुहोस्