site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘लैंगिक विभेद र दुर्व्यवहारबाट बच्न महिलामात्रै नभई समाज नै सचेत हुनुपर्छ’

काठमाडौं । नाबालिग एक किशोरीले आफूमाथि जबरजस्तीकरणी गरेको भनी अभिनेता पल शाहविरुद्ध उजुरी दिएपछि नेपाली मनोरञ्जन क्षेत्रमात्रै नभएर नेपाली समाज नै बहसमा केन्द्रित छ ।

जसका कारण फेसबुकका वाल र मिडियामा समग्र नेपाली मनोरञ्जन क्षेत्र, भाइरल हुने भोकले निम्त्याउने नकारात्मक असर र अभिभावकत्वको जिम्मेवारीजस्ता विषयमा बहस जारी छ । 

उनीहरुको विषयमा सुरुवाती दिनमा आरोपितको पक्षमा केही सेलिब्रेटी र प्रशंसकको समर्थन देखियो । त्यसपछि केही भोकल अभिनेत्रीलगायत दर्शक पीडित भनिएकी बालिकाको पक्षमा उभिन थाले । 

तर, पीडित नाबालिगको चरित्रमाथि प्रश्न गर्दै उनैमाथि अधिकांश प्रश्न तेर्स्याउनेको कमी पनि रहेन । जुन कुरा पितृसत्ताको अवशेष भएको समाजका लागि नौलो कुरा भएन । 

यसले महिलाले अझै आफूमाथि भएको अन्याय सहेर मौन बस्नुपर्ने कुरामा जोड दिएको देखिन्छ । फिल्म इन्डस्ट्रीमा महिलामाथि अझै पनि विभेद रहेको बताउँछिन् अभिनेत्री ऋचा शर्मा  । 

“विभेद त हुन्छ नै । चाहे महिलाकेन्द्रित चलचित्र होस् वा पात्र र पारिश्रमिककै कुरामा किन नहोस् फिल्म इन्डस्ट्रीमा विभेद छ ।” 
तर, उनी समग्र मनोरञ्जन क्षेत्र नै खत्तम छ भनेर भन्न नमिल्ने बताउँछिन् । 

कुनै समय फिल्मी इन्डस्ट्रीमा यौन दुर्व्यवहार हुने गरेको सुनिन्थ्यो । जसका कारण समाज र यही इन्डस्ट्रीभित्रका कलाकारले यस क्षेत्रमा आबद्ध महिला कलाकारलाई फरक नजरले हेर्थे । 

तर, अभिनेत्रीद्वय ऋचा शर्मा र केकी अधिकारी आफूले यस्तो दुर्व्यवहार आफूले भोग्न नपरेको बताउँछन् ।  यस्ता घटनामा केही कमी आए पनि पूर्ण रूपमा निर्मूल भइनसकेको उनीहरूको दाबी छ । 

कुनै महिलामाथि दुर्व्यवहार भयो भने समाजले केटी नै खत्तम भनेर चरित्रमाथि प्रश्न चिन्ह उठाउने, पीडितको परिवारलाई गलत दृष्टिकोणले हेर्ने र परिवारले पनि भविष्य हेर्ने हुँदा यसखालका घटना बाहिर आउन नसकेको ऋचा शर्मा बताउँछिन् । 
पछिल्लो घटना यसैको उदाहरण भएको केकीको जिकिर छ । 

भर्खर करियरमा उदाउँदै गरेकी बालिकाले एक उँचो दर्जामा पुगिसकेका र प्रशस्तै प्रसंशक कमाएका अभिनेताविरुद्ध बोल्दा उनको पक्षमा बोल्ने आवाज सुनिएन । 

इन्डष्ट्रिभित्र भन्दा पनि समाजले महिला कलाकारलाई हेर्ने नजर र व्यवहार आपत्तिजनक भएको उनको बुझाइ छ ।

फिल्म उद्योगबाट भन्दा पनि समाजले हेर्ने दृष्टिकोण बढी खराब भएको उनी बताउँछिन् । इन्टरटेन्मेन्ट इन्डस्ट्री उदार भएकाले दर्शकले पनि गलत तरिकाले लिने गर्दछन् । 

पब्लिक फिगर भएकाले सार्वजनिक स्थानमा प्रशंसक नजिक आएर छुन खोज्ने, सेल्फी खिच्न आउने र जे पनि भन्न मिल्छ भनेर सोच्नेहरूको हाबी भएको केकी बताउँछिन् । 

पछिल्लो केसकी पीडितको पक्षमा बोलेका कारण अभिनेत्री रेखा थापा, रिचा शर्मा, प्रियंका कार्कीलगायत अभिनेत्रीलाई ट्रोलरहरूले चरित्र हत्यासमेत गरे । 

जसपश्चात् अभिनेत्री थापाले त कानुनी बाटो  रोजेकी छन् । 

यी घटनाले हाम्रो समाज कति शिक्षित, कानुन बुझेको र महिलाको पीडा कति बुझेको छ भन्ने बुझाउँछ । 
  
अभिनेत्री अधिकारी एक महिलाका लागि महिला कलाकार मात्रै नभएर पुरुष कलाकार सिंगो समाज अन्यायबारे बोल्नुपर्नेमा जोड दिन्छिन् । 

यो केसमा महिला पिछडिएको वर्ग भएकाले मास महिलाकै विपक्षमा उभिएको उनी बताउँछिन् । घटना टुंगिने  प्रक्रियामा रहेकाले यसबारे चिर्नु जरुरी रहेको उनको भनाइ छ । 

अभिनेता पलको सम्बन्धको घटना बाहिरिएसँगै अभिनेत्री करिष्माले स्टाटस लेखेपछि पीडित किशोरीको पक्षमा मत बन्दै गएको थियो । तर, आलोचना बढेसँगै उनले सामाजिक सञ्जालबाट स्टाटस हटाएकी थिइन् । यद्यपि उनी आफू कसैको पक्ष/विपक्षमा आफू नबोलेको बताउँछिन् । 

“इन्डष्ट्रि मलाई मेरो आफ्नै परिवारजस्तो लाग्छ । त्यसैले केही कुरा उठ्यो भने म बोली हाल्छु । मैले पक्ष/विपक्ष लिएको होइन । उनीहरू दुवै मेरा छोराछोरीजस्तै हुन्,” उनले भनिन्, “तर, पब्लिक फिगर भएका कारण ट्रोलको सिकारमा भइहाल्छौँ ।” 

इन्डस्ट्रीलाई दिएको योगदानलाई नहेरी नानाथरि कमेन्ट गर्दा मानसिक तनाव हुने गरेको उनी बताउँछिन् । 

अभिनेत्री करिष्मा मानन्धर, ऋचा शर्मा नाबालिग उमेरमै इन्डस्ट्रीमा प्रवेश गरेका थिए । करिष्मा चलचित्र क्षेत्रमा आउँदा १४ वर्षकी थिइन् भने रिचा १७ वर्षकी । 

त्यतिबेला उद्योग साँघुरो र पारिवारिक वातावरण हुँदा यौन दुव्र्यवहार कम हुने गरेको अभिनेत्री शर्माको अनुभव छ । 

भाइरल हुने लोभले अभिभावक आफैँले पनि आफ्ना नाबालिग छोरीलाई त्यस्तै हाउभाउ र वयस्कको गीतमा भिडियो बनाएर राख्ने गर्छन् । 

जसका कारण बालिगहरूलाई आफू परिपक्व भइसकेको हो कि भन्ने गलत बुझाइ हुने हुँदा अभिभावक सचेत हुनुपर्ने उनीहरूको जोड छ । 


किशोरावस्थामा हार्मोनल चेन्ज हुने उमेर भएकाले पनि अभिभावकले आफ्नो सन्तानको विशेष ध्यान दिनुपर्ने बताउँछिन् करिष्मा । 

त्यसैगरी, ऋचा पल– किशोरी घटना यस क्षेत्रमा आउनेहरू र उनीहरूका अभिभावकहरूका लागि शिक्षा भएको बताउँछिन् । 

उनी यसखालका घटना फिल्म इन्डस्ट्री मात्रै नभएर राजनीतिकलगायत क्षेत्रमा पनि व्याप्त रहेको बताउँछिन् । तर फिल्मी क्षेत्रका कुरा अलि धेरै बाहिर आउने गरेको उनको बुझाइ छ । 

“लैंगिक विभेद र दुर्व्यवहारबाट अछुतो कुनै पनि इन्डस्ट्री छैन्,” उनले भनिन् । 

लैंगिक विभेद र दुव्र्यवहारबाट बच्न केटी आफैँ जोगिनुपर्छ भन्ने मान्यता गलत रहेको बताउँदै उनले यस विषयमा समाज नै सचेत हुनुपर्ने बताइन् । 

ऋचा शर्मा, करिष्मा मानन्धर र केकी अधिकारी फिल्मी इन्डस्ट्रीमा भएका केही घटनाका आधार समग्र इन्डस्ट्री र यस क्षेत्रसँग जोडिएकाहरूलाई दोषपूर्ण दृष्टिले नहेर्न अनुरोध गर्छन् । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, फागुन २७, २०७८  २०:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro