site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्टेजमा उत्रेकै कारण मार्नेसम्मको धम्की आयो : अभया सुब्बा (भिडियो वार्ता)

काठमाडौं । नेपालमा रक गीतहरू गाइरहेका गायक/गायिका तथा ब्यान्ड औँलामा गन्न सकिनेछन् । मुक्ति एन्ड रिभाइभल, १९७४ एडी, अभया एन्ड द स्ट्रिम इन्जन्स्, एज ब्यान्ड, एल्बट्रसलगायत ब्यान्डका कतिपय सदस्यहरू तितरबितर भइसकेका छन् ।

तर, अभया एन्ड द स्टिम इन्जन्स्की गायिका अभया सुब्बा लामो समयदेखि निरन्तर गायनमा सक्रिय छिन् । उनी नेपालमा रक जनरा बामे सर्दै गर्दा आफैँ ब्यान्ड खडा गरेर यो क्षेत्रमा आएकी हुन् । उनी यो क्षेत्रमा लागेको दुई दशक बितिसकेको छ ।

तत्कालीन समाजमा छोरी मान्छेका लागि अनेक बाधाबीच उनी रक जनरामा परिचय बनाउन लागिपरिन् । “मलाई छोरीप्रति हुने व्यवहार र सोचमा परिवर्तन गर्नु थियो । आफ्नै तरिकाले जिउन सक्ने केटीहरू खुसी हुन्छन् भन्ने कुरा पुष्टि गर्नु थियो,” उनी भन्छिन्, “मलाई केटा र केटीबीच हुने गरेको भेदभाव तोड्नु थियो ।”

करियरको सुरुवाती दिनमा घरकै ल्यान्डलाइन फोनमा ‘केटी मान्छे भएर स्टेजमा अराजक किन भइस् ?’, ‘किन गीत गाइस् ?’ भनेर मार्नेसम्मको धेरै धम्की आएको उनको भनाइ छ ।  उनले भनिन्, “तर, मलाई कहिल्यै डर लागेन । बरु, हौसला दियो ।”

घर–परिवारमा आफू भेदभावरहित वातावरणमा हुर्किएको उनले सुनाइन् । उनी भन्छिन्, “मेरो पारिवारिक वातारणका कारण ममा हक्की अनि स्ट्रेट फर्वाड स्वभाव आयो । रुखो र ठाडो बोल्ने गायिकाको छवि बन्यो । अनि, विवादमा तानिएँ ।”

आफूलाई चित्त नबुझेको कुरामा बहस गरिहाल्ने, विचार पोखिहाल्ने उनको बानी छ । यही स्वाभावका कारण ‘द भ्वाइस अफ नेपाल’को पहिलो सिजनमा कोचका रूपमा आबद्ध भएकी उनी विवादमा तानिइन् ।

‘बोल्ड एन्ड रक’ चिनारी बनाएकी अभयाकोे हालै सफ्ट फ्लेवरको नयाँ गीत ‘लैजाऊ मलाई’ रिलिज भएको छ । त्योसँगै अभया र उनको ब्यान्ड रकबाट अरू जनरामा सिफ्ट हुन लागेको हो कि भन्ने धेरैको जिज्ञासा छ ।

तर, उनी यसलाई रक छाड्न लागेको नभई समयको आवश्यकताका रूपमा बुझिदिन आग्रह गर्छिन् । “खासमा म रक म्युजिक गर्ने हो । मलाई अरू जनराका गीत पनि बनाउन मन थियो । कोरोनाको समयमा यो गीत लेख्ने समय पनि जुर्‍यो । अहिलेको टिकटक जेनेरेसनले रक गीत रुचाउनु हुन्न । यो समयको आवश्यकता हो । तर, मेरो पहिलो एल्बम नै गिरीश खतिवडासँग हिपहप फ्लेवरमा थियो र म अरू फ्लेवर पनि एक्सपेरिमेन्ट गरिराखेको हुन्छु ।”

यो दुई दशकको संगीतिक यात्रामा कतिपयले खुट्टा टान्न खोजे, कतिले गिराउन खोजे । तर, उनले आफ्नो हौसलालाई डगमगाउन दिइनन् । यो उपलब्धि हासिल गर्न श्रीमान् र परिवारिक सदस्यको हौसलाले सम्भव भएको उनी बताउँछिन् ।

विवाह बन्धनमा बाँधिनुअघि केही समय उनी हतोत्साहित भएकी थिइन् । उनी भन्छिन्, “नकारात्मकताले घेरिएपछि कहिलेकाहीँ मान्छे हतोत्साहित हुनेरहेछ ।”

त्यो समयमा आफू फ्रस्टेड भएको उनले सुनाइन् । श्रीमान्ले गाउने वातावरण सिर्जना गरेर हौसला प्रदान गरेको उनी बताउँछिन् ।

“म बीचमा धेरै समय हराएँ । म फ्रस्टेड भइसकेको थिएँ । तर, श्रीमान्ले तिमीले गाउनुपर्छ भनेर हौसला दिइरहनुभयो,” अभयाले भनिन्, “यदि, श्रीमान् र परिवारको आर्थिक पाटो बलियो नभइदिएको भए म यहाँ हुन्न थिएँ ।

आफ्नो प्यासनमा रमाउने भएकाले पनि यही पेसामा छिन् । अहिले माहोल परिवर्तन भएको उनको भनाइ छ । “अहिले सजिलो छ । स्पोन्सर भेटिन्छन् । लैजाऊ मलाई गीतका लागि स्पोन्सर भेटेकी थिएँ ।”

स्रोता–दर्शकको सकारात्मक प्रतिक्रिया र माया पाएर आफू दंग भएको अभया बताउँछिन् । उनी गीत रचना र कम्पोजिसन पनि गर्छिन् । हालै रिलिज भएको ‘लैजाऊ मलाई’मा आवाजसँगै अभयाको रचना र कम्पोजिसन छ ।

रक गीतका ‘अडियन्स’ घट्दै गए पनि पप, कन्सर्ट, क्लबमा ब्यान्डको ‘भाइब्रेन्ट’ अझै रहेको उनी बताउँछिन् । “नेपालीलाई त्यो ड्रमको, गीतारको आवाज मनपर्छ । त्यो लाउड म्युजिकमा झुम्नुहुन्छ । हामीले रकमा फोल्क फ्लेवर दिन सक्यौँ भने नेपाली रक म्युजिकको लाइफ छ” अभया भन्छिन् ।

दर्शकले गीतमा आफ्नो भोगाइ, कथा हेर्न रुचाएकाले रक गीतले मार्केट लिन नसकेको उनको भनाइ छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, फागुन ९, २०७८  ११:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro