‘प्रेम जहिले भेटियो त्यो समय मिठो । प्रेम जति भेटियो त्यो तृप्ति मिठो । प्रेम जसरी भेटियो त्यो अवस्था मिठो । भेटेर पनि नभेटिएजस्तो लाग्ने प्रेमको तृष्णा मिठो । नभेटे पनि भेटेजस्तै लाग्ने प्रेमको भ्रम मिठो ! प्रेम हर समयमा मिठो । हर उमेरमा मिठो । प्रेमको हर रङ मिठो, हर रूप मिठो !’
यी हरफ प्रेमकथा लेखक सुबिन भट्टराईका हुन् । आज फेब्रुअरी १४ अर्थात् भ्यालेन्टाइन्स डे (प्रणय दिवस) । मायाको यो विशेष दिनमा ‘साया’, ‘समर लभ’, ‘मनसुन’जस्ता कृतिका रचनाकार भट्टराईसँग बाह्रखरीका वर्षा महर्जनले गरेको कुराकानीको सम्पादित अंश :
प्रणय दिवस मनाउनुहुन्छ ?
अहिलेसम्म प्रेम दिवस नै भनेर मनाउने गरेको छैन । त्यो एक दिन मात्रै सीमित राख्नुभन्दा पनि हरेक दिन प्रेम दिवस हो जस्तो लाग्छ । प्रेम गर्नका लागि हरेक पल, हरेक मिनेट उत्तिकै महत्त्वपूर्ण छ जस्तो लाग्छ । लेखाइ प्रेम सम्बन्धित लेखे पनि रियल जीवनमा केही फरक छु ।
प्रेम के हो ?
प्रेमलाई व्याख्या गर्न सकिन्न । तर, म यति भन्न चाहन्छु कि १५/१६ वर्षमा विपरीत लिंगीलाई देखेर हृदयमा जुन किसिमको उतारचढाव आउँछ, २१/२२ वर्षको उमेरमा आउने उतारचढाव फरक हुन्छ । जुन मैले अनुभव गरेँ ।
प्रेमका धेरै आयामहरू छन् । त्यसैले यो भनेको शरीरमा आएको हर्मोनल चेन्ज मात्रै नहुन सक्छ । भर्खर प्रेममा परेका प्रेमी–प्रेमिका र भर्खरै ब्रेकअप खेपेका प्रेमी–प्रेमिकाका लागि नै प्रेम फरक हुन्छ ।
प्रेम पुरानो हुँदै जान्छ ?
प्रेम हराउँदै जान्छ, धमिलिँदै जान्छ भन्दा पनि स्वरूप फरक हुँदै जान्छ । सुरुमा प्रेमी–प्रेमिका भएर गर्ने प्रेम र त्यही व्यक्तिसँग विवाह गरेपछिको प्रेममा जिम्मेवारीलगायत अरू धेरै कुराहरू आउँछन् । जति जीवनमा जति उकालो–ओरालो हुन्छ, प्रेम त्यति नै डाँडाकाँडा हुँदै जान्छ जस्तो मलाई लाग्छ ।
तर, प्रेम ‘चुइगमको गुलियो’ जस्तो मात्रै पनि होइन, एक छिनमै हराउने । हो, त्यो क्षणिक काउकुती मात्रै हो । तर, जति समय बिताउँदै गयो त्यो प्रेम अनि सम्बन्ध अझै गाढा, बलियो र मच्योर हुँदै जान्छ ।
यसले गर्दा लेखाइ पनि मच्योर हुँदै जान्छ ?
मैले जुन उमेर समूहको पात्रको प्रेमकथा लेख्छु, त्यही उमेरको प्रेमीसँग ढल्नुपर्ने हुन्छ । त्यसैले मेरो आफ्नो अनुभवमा प्रेम र सम्बन्ध मच्योर भए पनि मैले सधैँ ताजा अनि भर्खरको प्रेममा भएको अनुभव गर्नुपर्छ । लेखकमा हुनुपर्ने गुण भनेको कल्पना गर्न सक्नुपर्छ र त्यो पात्रमा ढल्न सक्नुपर्छ ।
तपाईंका कथा पढेर कति युवायुवतीले आफ्नो माया पोखे होलान्, कतिले सम्बन्ध सुधार्ने कोसिस गरे होलान् !
किताब पढेर प्रेरित त भइहाल्छ, किनभने लेखक बन्नुअघि म आफैँ पनि पाठक नै थिएँ । कुनै किताब पढ्दा त्यो पात्रमा म आफैँ पनि डुब्थेँ । पक्कै कति पाठकहरूले मेरो कथा पढेर दुःख पोख्न आउने, समस्याहरू सुनाउन आउने र समाधान सोध्न आउनुभएको धेरै कुरा छ ।
कतिको सल्लाहकार बनेँ, कतिको मनोविज्ञ बनेँ, त्यो फेज एकदमै थियो । साया र समर लभ पढेर धेरैले मलाई म्यासेज गर्ने, मेल गरेर सल्लाह माग्नुभएको छ । तपाईंको कथा पढेर आत्महत्या गर्न लागेको पनि गरिनँ, तपाईंको कथा पढेर माफी मागेँ भन्नेहरू हुनुहुन्थ्यो ।
कतिले त म मर्दै छु भनेर आफ्नो व्यथा पोख्नुहुन्थ्यो । मलाई त्यो सुनेर रातभरि निन्द्रा लाग्दैन थियो । अनि, भोलिपल्ट बिहानै पत्रिकाहरू पल्टाएर आत्महत्याको खबर पो आयो कि भनेर पनि हेथेँ । तर, धन्य मैले मरेको खबरचाँहि सुन्नु परेन ।
तपाईंले कसैलाई प्रेमपत्र लेख्नुभएको छ ? वा कसैका लागि लेखिदिनुभएको छ ?
बकैदा । त्रिचन्द्र क्याम्पसमा बीएससी पढ्दा हरेक फेब्रुअरी १४ मा प्रेमपत्र प्रतियोगिता नै हुन्थ्यो । त्यो प्रतियोगिताको लागि भनेर अगाडिको दिनमै १७÷१८ पानाको लामो प्रेमपत्र लेखेको थिएँ । सबैभन्दा लामो प्रेमपत्र मेरै थियो । तर, दुःखको कुरा पहिलो, दोस्रो त कुरै छोडौँ, सान्त्वना पुरस्कार पनि पाएन ।
हाम्रो समयसम्म मोबाइल फोन आइसकेको थियो । त्यसैले लभलेटर लेख्ने जमाना सकिसकेको भएर लेख्नु परेन ।
आफैँलाई कस्तो प्रेमी वा श्रीमान् हुँ जस्तो लाग्छ ? १० पूर्णांकमा आफूलाई कति नम्बर दिनुहुन्छ ?
म राम्रै प्रेमी हुँ जस्तो लाग्छ । केयरिग, मच्योर र प्रेमिकालाई महत्त्व दिने खालको थिएँ ।
अहिले श्रीमान् हुँदा प्रेमी मात्रै हुन सकिन्न । हुन त महिलाहरूले आफ्नो श्रीमान् सधैँ प्रेमीजस्तै भइरहोस, फर्ल्ट गर्ने रोमान्टिक भइराखोस् भनेर सोच्छन् । तर, विवाहपछिको जिम्मेवारी र सन्तान भएपछिको जिम्मेवारी अझै फरक हुन्छ । त्यही पनि म बोरिङ श्रीमान् भने छुइनँ । फर्ल्ट गर्ने अनि क्वालिटी समय बिताउने गरिरहन्छौं र त्यो आवश्यक पनि छ सम्बन्धलाई ताजा बनाउनका लागि । १० मा आफूलाई ९ सम्म दिन्छु ।
सम्बन्धमा ‘पर्सनल स्पेस’को कतिको महत्त्व हुँदो रहेछ ?
सम्बन्धमा यसको महत्त्व एकदमै धेरै हुन्छ । पहिलो त पर्सनल ग्रुम गर्नका लागि पनि चाहियो । सेल्फ लभ भनेको एकदमै जरुरी छ । जुन व्यक्तिले आफूलाई प्रेम गर्छ, आफूलाई इज्जत दिन्छ अनि बल्ल उसले त्यसको महत्त्व बुझ्छ र अर्को व्यक्तिलाई दिन्छ । आफू खुसी भएपछि बल्ल न दोस्रो व्यक्तिलाई खुसी दिन सकिन्छ नि होइन र ? त्यसैले यसका लागि पनि सम्बन्धमा पर्सनल स्पेस चाहिन्छ जस्तो लाग्छ ।
जस्तै : मेरो नै उदाहरण दिनुपर्दा मेरो ‘लङ डिस्टेन्स रिलेसनसिप’ थियो । त्यसले गर्दा महिनामा एकचोटि भेट्न पनि हामी कति कुर्ने गर्दथ्यौँ । त्यो भेटमा उत्सुकता अनि उत्साह दुवै हुन्थ्यो । तर, विवाहपछि हामी सधैँ सँगै हुने भएर त्यो उत्सुकता भने हराउँदै गएको छ, जुन हरेक सम्बन्धमा हुन्छ पनि ।
तपाईंको पनि प्रेम विवाह, समर लभले जुराएको जोडी रे हो ?
हो । समर लभकै एउटा कार्यक्रममा जाँदा देखादेख भएको अनि मेरा लेखहरू पनि पढिरहेको । हामी फेसबुकमा पनि जोडिएका रहेछौँ । किताब मन परेर भन्दा पनि मान्छे चित्त बुझाएपछि प्रेम सम्बन्ध जोडियो ।
तपाईंको किताबमा जस्तै फिल्मीशैलीमा माया दर्शाउनुभयो ?
हाम्रो त्यस्तो फिल्मी भएन । किताबमा मैले फ्यरिटेल जस्तो लेखे पनि रियल जीवनमा आई लभ यू भन्ने र घुँडा टेकेर रातो गुलाफ दिएर माया पोख्ने कहिले पनि गरिनँ ।
वास्तविक जीवनमा माया पोख्न जरुरी छैन ?
माया पोख्न आई लभ यू नै भन्नुपर्छ जस्तो मलाई लाग्दैन । माया गर्ने भनेको आफ्नो व्यवहारले देखाउने हो ।
रचना आफ्नै अनुभवबाट सुरु हुन्छ र विस्तारै कल्पना, देखेको र सुनेको कुराबाट बिल्डअप हुँदै जान्छ रे हो ?
पक्कै पनि । धेरै लेखकहरूले आफ्नै विगतलाई उदिनेर लेख्नुहुन्छ । तर, आफ्नै जीवनमा सबै कुरा नहुन सक्छ । त्यसैले आफ्नोनजिकको व्यक्तिहरूका भोगाइ, सुनाइलाई जोड्नुहुन्छ । जुनचाँहि कल्पना नै हो । मेरो लेखाइमा पनि सबैको सम्मिश्रण छ । तर, राम्रो र पढ्न मिठो लाग्ने भनेको आफ्नै भोगाइलाई उतारेर लेखिएको नै हो ।
लभस्टोरीमा धेरै किताबहरू छन्, यही विषयमा यति धेरै पुस्तक लेख्न दिक्कलाग्दो हुँदैन ? एक वाक्यमा लेख्न सकिने कुरालाई यति धेरै पुस्तकमा लेख्दा मानसिक तनाव हुँदैन ?
मानसिक तनाव होइन, डिप्रेसन नै भन्नुपर्छ । एउटै किताबलाई तीन/चार वर्ष लगाएर तयार बनाउनुपर्छ । यति लामो वर्ष ती पात्रहरू आफूसँगै बोकेर हिँड्नुपर्ने हुन्छ । पात्रहरूले आफूलाई घोचिरहेको हुन्छ । उपन्यास लेख्नु भनेको एकदमै गाह्रो काम हो ।
किताब पढेर यो भएन त्यो भएन भन्न सजिलो हुन्छ । तर, एउटा उपन्यास तयार गर्न लेखक डिप्रेसन, एनजाईटी र पल्पिटेसन, इनसोमानियाबाट गुज्रिनुपर्छ । तर, कसले कति डुबेर लेख्छ भन्ने कुरामा पनि भर पर्छ । म दिमागले भन्दा पनि मनले लेख्ने मान्छे हो । त्यसैले मलाईचाहिँ शारीरिक, मानसिक उतारचढाव बाट गुज्रिनुपर्छ ।
तपाईंका कृतिहरूमा अलि गाह्रो र लामो समय लागेको कृति कुन हो ?
अहिले आउन लागेको नयाँ किताब हो । सम्पादन सकेर प्रिन्टिङमा छ । अहिलेसम्मकै सबैभन्दा लामो । यो मैले नियमित प्रेमकथा नभएर सामाजिक विषय समेटेको छु । समर लभ लेख्नलाई धेरै सजिलो भएको थियो, किनभने प्रेमका भावहरू पहिलोपल्ट पोख्दा सललल बगिरहेको थियो । तर, पहिलो दोस्रो किताबमै जीवनको सारा अनुभव सकिइसकेको हुन्छ ।
लभस्टोरी राइटर सुबिन भट्ट्राई विस्तारै अरू विषयमा हामफाल्नुको कारण ?
मलाई दोहोर्याउन मन लागेन । अघि भनेको जस्तै प्रेमका कुरा दुई/तीनवटा किताबसम्म त सबै पोखिसकेँ, फेरि त्यही लेख्नुभन्दा मलाई यो जनारा नै अहिले बिसाउन पर्छ जस्तो लाग्यो ।
तर, प्रेमकथा सदाबहार विषय बनेकाले पछि फेरि केही नयाँपनका साथ प्रेमकथा लेख्ने नै छु । तर, अहिलेचाहिँ नयाँ चिज गरौँ भनेरै हो ।
अरू विषयमा जाँदा पाठक भड्किएलान् कि !
पक्कै, तपाईंले सहि भन्नुभयो । यो त जोखिम नै हो । मेरो पछिल्लो उपन्यास ‘प्रिय सुफि’मा पनि मैले जोखिम मोलेकै हो । पाठकले लभस्टोरी आशा गरिरहँदा मैले ओछ्यानमा लडिरहेको मोनोटोनस पात्रलाई लिएर आएँ । तर, पाठकहरूले राम्रो प्रतिक्रिया नै दिनुभयो । त्यसैले पनि मलाई हौसाएको हो ।
यद्यपि, समर लभले मलाई चिनाएको र लाखौँमा पुर्याएको हो । यदि, प्रिय सुफिले माया नपाएको भए म जबर्जस्ती फेरि प्रेमकथामै फर्किने योजना बनाएको थिएँ । तर, त्यसले मलाई फरक विधामा पनि लेख्न हौसायो ।
सामाजिक सञ्जालको युगमा मायाप्रेम, सम्बन्धमा कस्तो बदलाव आएको महसुस गर्नुभएको छ ?
केहीको माया बढ्दै पनि गएको होला । तर, मेरो अनुभवमा यसले गर्दा असुरक्षा (इन्सेक्योरिटिज) बढ्दै गएको जस्तो लाग्छ । म्यासेजमा आएको भन्दा बेगर हामी देख्दैनौँ नि त ! त्यसले गर्दा जोडीहरूमा इन्सेक्योरिटिज बढ्छ जस्तो लाग्छ । आफ्नो प्रेमी–प्रेमिका र श्रीमान्–श्रीमतीले अरू कसैको फोटोमा कमेन्ट गरे ईष्या गर्ने, कमेन्ट लाइक गर्नै नपाउने । यस्तो कुराले गर्दा सम्बन्धमा बाँधेर राखेको जस्तो पनि हुन्छ । स्वतन्त्रता नै नभएको जस्तो लाग्छ मलाई ।
अनलाइन भएर पनि बोलेन, टाइपिङ भनेर देखाइराखेको छ तर म्यासेज ढिला आयो भन्दै यस्ता साना–साना कुराहरूले गर्दा सम्बन्ध नै टुटेको पनि देखेको छु । मैले मेरो किताबमा पनि यी कुराहरू मेन्सन गरेको छु । विगतमा प्रेम सम्बन्धमा हुँदा मैले पनि धेरै अनुभव गरेको छु । तर, प्रत्यक्ष भेटेर कुरा गर्न नसकेकाहरूका लागि यो फेरि राम्रो माध्यम हो ।
लेखेरै आर्थिक हिसाबमा सुरक्षित हुन सकिन्छ भन्ने उदाहरण नै बन्नुभयो है ?
११ वर्ष भयो, अहिलेसम्म गरिरहेकै छु जस्तो लाग्छ । कति नयाँ लेखकहरूलाई प्रेरित गर्न पनि सकेको छु जस्तो लाग्छ । हाम्रोजस्तो सानो मुुलुक र मार्केटमा यो उदाहरण दिन सक्नु आफैँमा राम्रो कुरा हो ।
तपाईंलाई चेतन भगतसँग पनि तुलना गरियो नि !
समर लभ आएपछि तुलना त भयो, तर लभस्टोरी लेखेकाले हाम्रो बाटो क्रस भएको हुनसक्छ । तर, सामान्य विषयवस्तु मिल्दैमा तुलना गर्न मिल्दैन । किनभने, हाम्रो कथा भन्ने शैलीमा आकाश–जमिन नै फरक छ । त्यो सूक्ष्म अध्ययन गर्नेलाई मात्रै थाहा हुन्छ ।
माया र यौनको कुरा धेरै लेख्नुहुन्छ भन्ने पनि आरोप छ, मायाको कुरा गर्दा यौन जोडिएरै आउँछ ?
मायासँग जोडिएर यौन आइहाल्छ नि ! फेरि, हामी कुन जमानामा छौँ भन्ने कुरा पनि हो । युवाले आफूलाई रिलेट गर्ने गरी ग्राफिकल्ली लेख्दा धेरै यौनको कुरा लेख्यो भन्नु भनेको सानो मन र दुनियाँ नै नदेखेकोहरूले भन्नुहुन्छ जस्तो लाग्छ ।
संसार कहाँबाट कहाँ पुगिसक्यो, न्युडिटीलाई कति सुन्दर तरिकामा प्रस्तुत गरिन्छ । हुन त बीपी कोइरालालगायत त्यति बेलाकै लेखकहरूले पनि यौनको कुरालाई समेट्नुभएको छ ।
पर्दामा हामीले स्वीकारेका छौँ । विदेशी किताबमा स्वीकारेका छौँ । तर, नेपाली किताबमा युवायुवतीको प्रेमको कुरा गरेर त्योसँगै जोडिएर आउने यौनको कुरा गर्दा हामीले खतम काम गरेको भन्नु हुँदैन ।
‘मेकिङ लभ’लाई हामीले सुन्दर रूपमा हेर्नुपर्छ जस्तो लाग्छ । संसार बनेकै त्यही कारणले हो । फेरि, हामीले त्यसलाई भर्लगर रूपमा प्रस्तुत गरेका पनि छैनौँ ।