site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वास्तवमा को पर्‍यो अन्यायमा, अञ्जु कि विपीन ?

काठमाडौं । गत वर्ष एउटै गीत धेरै गायक/गायिकाले गाए । र, लोकप्रिय पनि भयो । राजनराज शिवाकोटीको ‘फूलबुट्टे सारी...’ नेपाली मात्रै होइन, विदेशीले पनि गाए । मेल, फिमेल, किड्स देश–विदेश जति पनि यो गीतका भर्सन आए सबैले तारिफ नै पाए ।

दशक अगाडिको गीत पुनः रेकर्ड गरिएको थियो । नयाँ स्रोता–दर्शकमाझ गीत पुग्यो । त्यसले स्रोताको माया पायो । युट्युबमा राम्रो भ्युज पायो । सम्भवतः त्यसबाट केही आर्थिक उपार्जन पनि भयो । कोभिड–१९ को महामारी नभएको त यसका गायक/गायिकालाई स्टेजमा यति बेला भ्याइनभ्याइ हुन्थ्यो ।

तर, अहिले सायद त्यस्तै अभ्यास गर्न खोजेका अर्का सर्जक विपीन किरणले भने तारिफभन्दा आलोचना बढी खेपिरहनुपरेको छ । आफ्नै शब्दमा रहेको गजल ‘न बिर्सेँ तिमीलाई...’ जब नयाँ भर्सन रचना रिमालको स्वरमा सार्वजनिक गरे, त्यसबाट उनले एकाध तारिफबाहेक गालीकै सामना गरिरहनुपरेको छ ।

स्वयं यसको पुरानो भर्सनकी गायिका अञ्जु पन्तले पनि असन्तुष्टि जनाइन् । आफूले पुनः रि–रेकर्ड गराउने तयारी भए पनि आफूसँग सल्लाह नै नगरी रचनाको स्वरमा गीत सार्वजनिक हुँदा आफू अचम्मित भएको उनको गुनासो छ । किड्स भर्सनका लागि आफूले खुसी–खुसी अनुमति दिएको तर रि–रेकर्ड भने विदेशबाट फर्किएपछि आफ्नै स्वरमा गर्ने गीतकार विपीन किरणसँग सल्लाह भएको भन्दै उनले फेसबुकमा लामो स्ट्याटस लेखेकी छन् । उही संगीत र उही ट्रयाकमा राखिनुले मूल सजर्कलाई ओझेलमा पार्न खोजिएको र यो प्रवृत्ति नै गलत भएको उनले बताएकी छन् ।

अञ्जुकै पक्षमा उभिए संगीतकार लक्ष्मण शेष । सिर्जनामा पहिलो अधिकार सर्जकको हुने भए पनि लामो समयको साधना तथा ज्ञान र बुद्धि आर्जन गरेर प्रस्तोता (गायक/गायिका)ले गाएको हुँदा कानुनमा जे भए पनि उसको अनुमतिबिना पुनः जस्ताको तस्तै रेकर्ड हुनु गलत भएको उनको धारणा छ । यद्यपि, यसमा कानुन मौन रहेको उनी बताउँछन् ।

“धेरै वर्षको त्याग, तपस्या र मिहिनेतले गीतलाई जीवन दिएको हुन्छ । त्यसैले ठूलो योगदान दिएको गीतलाई यो वा त्यो बहानामा अर्को मान्छेलाई बिनाअनुमति गाउन दिनु गलत हो,” रोयल्टी अधिकारका अभियान्ता समेत रहेका उनी भन्छन्, “यो प्रवृत्ति पूर्णतया गलत छ । गीत/संगीतका विभिन्न संस्थाका पदाधिकारी र सर्जकहरू बसेर हामीले एउटा एमओयू पनि गरेका छौँ । त्यसले पनि यो अधिकार दिँदैन ।”

संगीतकार संघ, गीतकार संघ, प्रस्तोता समाज, उत्पादक संघ, संगीत उद्योग संघ, म्युजिक नेपाललगायत संघ–संस्थाका पदाधिकारी बसेर ०७३ मा एमओयू गरेका थिए । जसले प्रस्तोताको अनुमतिबिना गीत रि–रेकर्ड गराउन पाइँदैन भन्छ ।

यता, विपीन किरण यो बाध्यकारी कानुन वा नियम नभएको बताउँछन् । उक्त सहमतिमा पालना गर्न सकिने केही कुराहरू उल्लेख गरिए पनि त्यसमा बाँधिनैपर्छ भन्ने बाध्यकारी नियम नरहेको उनी बताउँछन् ।

सर्जकहरू यस्तै प्रवृत्ति र पैसामुखी हुँदै गए भोलिका दिन अग्रज सर्जकका धेरै गीत बिनाअनुमति रेकर्ड गरेर ओर्जिनल सर्जकलाई छायामा पार्ने गलत काम हुने संगीतकार लक्ष्मण शेष बताउँछन् । “कुनै समय नाम र दाम दिएर कालजयी बनेको गीतले अब आम्दानी दिन छोड्यो भनेर त्यो गीत र त्यसका सर्जकलाई अपमान गरिनु आपत्तिजनक कार्य हो,” लक्ष्मण भन्छन्, “लैनो हुन्जेल दूध खाएको गाई थाकेपछि अथवा बूढो भएपछि गोठबाट फुकाएर खेद्न मिल्छ ?”

न बिर्सेँ तिमीलाई...का गीतकार विपीन यो गीतको ब्रान्ड भ्यालु कसरी जोगाउने त्यो चिन्ता र दायित्व अरूलाई भन्दा आफूलाई धेरै रहेको बताउँछन् ।

संगीतकार संघका अध्यक्ष पारस मुकारुङ नैतिक रूपमा विपीनले गलत काम गरेको बताउँछन् । संगीतकार उही, ट्रयाक उही गायिका मात्रै परिवर्तन गरिनु नैतिक रूपमा गलत भएको उनको बुझाइ छ । त्यसमा पनि ओर्जिनल प्रस्तोतालाई क्रेडिट समेत नदिई रि–रेकर्डलाई नै अफिसियल भन्नु कानुनी हिसाबले पनि पूर्ण कमजोरी भएको उनको तर्क छ ।

“कानुनानुसार न्यूनतम पाँच वर्षसम्म गीत चलाउन पाइँदैन भनिएको छ । तर, यसमा पनि गायकीमा, संगीतमा, एरेन्ज वा मिक्सिङमा केही कमजोरी भएको छ भने प्रोडुसरले राम्रो बनाउन रि–एरेन्ज गर्न सकिन्छ,” संघका अध्यक्ष पारस भन्छन्, “तर, उही संगीत र ट्रयाकमा अफिसियल भन्दै गाउन लगाउनुचाहिँ अन्याय हो । पुराना सिर्जनालाई जीवन्त बनाउन रि–रेकर्ड गराउन सकिन्छ । तर, यसो गर्दा न्यूनतम मूल्य–मान्यतालाई भुल्न हुँदैन ।”

फरक एरेन्ज गराएर विपीनले यो गीत आफूले चाहेको गायक/गायिकालाई गाउन लगाउन सक्ने तर उही ट्रयाकमा गाउन लगाउनुले उनी कानुनी रूपमा कमजोर देखिएको पारस बताउँछन् । 

“विपीनजी आफैँ रोयल्टीको अधिकार स्थापित गर्ने अभियानमा हिँडेको मान्छे यस्तो काम कसरी गर्नुभयो भन्ने लागिरहेको छ,” उनी भन्छन्, “यहाँ अब नैतिकताको प्रश्न पनि उठ्यो । अञ्जुजीले प्रश्न उठाएको अवस्थामा यो गीत विपीनजीले युट्युब च्यानलबाट हटाउनु पनि पर्ने हुनसक्छ ।”

विपीन भने यसमा आफ्नो कमजोरी नरहेको तर्क गर्छन् । रि–रेकर्ड मात्रै भएकाले आफूले अञ्जु पन्त र जगदीश समालको नाम नराखेको उनको जिकिर छ । “मैले यसलाई रिमेक र कभर भर्सन नभएर रि–रेकर्ड मात्रै भएकाले ओर्जिनल मेल भोकल जगदीश समाल र ओर्जिनल फिमेल भोकल अञ्जु पन्त भनेर उल्लेख नगरेको हुँ,” विपीन भन्छन्, “यदि, रिमेक र कभर हुन्थ्यो भने मलाई जञ्जु र जगदीशको नाम राख्न कुनै संकोच छैन, म राख्छु नै राख्नु पनि पर्छ ।”

आफूले धेरैजनासँग सल्लाह गरेर राख्नु पर्दैन भन्ने सुझावानुसार नै ओर्जिनल भोकल उल्लेख नगरेको उनी सुनाउँछन् ।

गायक/गायिकाहरूको पेसागत संस्था प्रस्तोता समाज नेपालका अध्यक्ष शिव हमाल कानुनी रूपमा आफूसँग कपिराइट रहेको गीत अर्को व्यक्तिलाई गाउन दिनु गलत नभए पनि नैतिकताका आधारमा भने गलत भएको बताउँछन् । प्रस्तोताको नाम मेटिने गरी मेकानिकल राइट्सअन्तर्गत नाम हटाएर नयाँ व्यक्तिलाई गाउन दिनु गलत भएको उनी बताउँछन् । मेकानिकल राइट्सअन्तर्गत ओर्जिनल सर्जकको नाम रि–रेकर्ड गरे पनि हटाउन नमिल्ने उनको भनाइ छ ।

“कोही चल्यो वा भाइरल भयो भन्दैमा पुराना सदाबहार गीत रि–रेकर्ड गर्नु नै गलत हो भन्ने मेरो धारणा छ । त्यही गीतमा कसैको जीवन अड्किएको हुन्छ । भोलि अञ्जु पन्त यो धर्तीमा नरहँदा उहाँको अस्तित्व मेट्ने काम भएको छ,” प्रस्तोता समाजका अध्यक्ष शिव भन्छन् ।

यद्यपि, लगानीकर्तामा आर्थिक अधिकार सुरक्षित रहेको अवस्थामा उसले आफूलाई मन लागेको व्यक्तिलाई गाउन लगाउन भने दिन सक्ने उनी बताउँछन् । तर, अग्रजको नाम नै हटाउनु वा मेटाउने अधिकार भने कसैसँग पनि नरहेको उनको भनाइ छ । जसले गाएको हो ऊ चल्दाचल्दै, रहँदारहँदै वा गाउँदागाउँदै व्यावसायिक लाभका लागि मात्रै गाउन लगाउनु नै गलत कार्य भएको उनको जिरिह छ ।

“कुनै चलेको गीत दुई वा दुईभन्दा धेरैलाई गाउन लगाउनुभन्दा नयाँ सिर्जना गर्नु राम्रो हो,” उनी भन्छन्, “यो समयमा अर्को गीत तयार भएको भए रचनाको स्वरमा नेपाली सांगीतिक क्षेत्रले अर्को नयाँ गीत पाउने थियो । त्यो सर्जक र सांगीतिक क्षेत्र दुवैलाई फाइदा हुन्थ्यो ।”

गीतकार संघका अध्यक्ष शुभ मुकारुङ कानुनी रूपमा सर्जक तथा स्रष्टाले निश्चित अवधिपछि कपिराइट आफूमा रहेको गीत अरूलाई गाउन लगाउन सक्ने बताउँछन् । “सिर्जनाको मुख्य अधिकार सर्जक र स्रष्टा अर्थात् गीतकार र संगीतकारमा हुन्छ,” अध्यक्ष मुकारुङ भन्छन्, “गायक/गायिकालाई पाँच वा दश वर्षको सम्झौता गरेर पारिश्रमिक दिएर गीत गाउन लगाइएको हुन्छ । त्यसैले यो अधिकार सर्जक र स्रष्टामा हुन्छ ।” 

कपिराइट आफूमा रहेको अवस्थामा आफूले चाहेको व्यक्तिलाई गाउन लगाउन सक्ने तर ओर्जिनल प्रस्तोताको नाम भने उल्लेख गरिनुपर्नेमा उनको जोड छ ।

“नेपालमा सम्झौताअनुसार पाँच/दश वर्ष प्रस्तोतालाई पनि कपिराइटको अधिकार दिने प्रचलन छ । यो सम्भवतः नेपालमा मात्रै गरिएको अभ्यास हो,” उनी भन्छन्, “अरू देशमा कपिराइट सर्जक/स्रष्टामा मात्रै हुन्छ ।”

एकपटक रेकर्ड भइसकेको गीत पुनः अर्को व्यक्तिलाई गाउन दिने वा नदिने त्यो कपिराइट भएको व्यक्तिको अधिकारमा निहित रहेको तर कानुनी रूपमा गलत भने नहुने अध्यक्ष शुभ मुकारुङ बताउँछन् ।

अञ्जुले भनिन्– रचनाले होइन मेरै स्वरमा न बिर्सें तिमीलाई... रि–रेकर्ड गर्ने सल्लाह थियो

विपीन किरण भन्छन्– न बिर्सेँ तिमीलाईको किड्स भर्सन पनि आउँछ 

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २६, २०७८  १४:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro