
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वदेश फर्किएपछि नयाँ गठबन्धन बनाउने विषयमा छलफल गर्ने तयारी गरेको छ ।
बिहीबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देउवा फर्किएपछि संवाद सुरु गर्ने ब्रिफिङ गरेको एक सांसदले जानकारी दिए ।
“यो सरकार उल्टो–उल्टो काम गरेर संविधानको खारेज गर्ने दिशामा जान खोजेको देखिन्छ । संविधानको रक्षार्थ शेरबहादुर देउवाजी फर्किएपछि संवाद सुरु हुन्छ । सरकारबारे पनि कुरा हुन्छ,” प्रचण्डको भनाइ उद्धृत गर्दै ती सांसदले भने ।
देउवा स्वास्थ उपचारका लागि वैशाख ७ गते स–परिवार थाइल्यान्ड गएका छन् । यसअघि सिंगापुरमा उपचार गराएका देउवा फलोअपका लागि भन्दै बैंकक गएपछि पार्टीका नेताले नै बैठकमा प्रश्न उठाएका थिए ।
प्रचण्डले उनी फर्किएपछि संवाद सुरु गर्ने बताएका हुन् । प्रचण्डले सरकार शिक्षकको मागबारे अनुदार देखिएको टिप्पणी गरेका छन् । सरकार उदासीन देखिए प्रतिपक्षीसँग मिलेर सदनमा प्रस्ताव अघि सार्नुपर्ने अवस्था आउने बताएका छन् ।
“शिक्षक आन्दोलनबारे सरकार अनुदार देखिन्छ । उपसमितिमा बखेडा निकालेर अल्झाउन सक्छ । सरकारले नगरे प्रतिपक्षी दलहरुसँग मिलेर संकल्प वा कुनै प्रस्ताव पेश गर्ने हुन पनि सक्छ,” प्रचण्डको भनाइबारे ती सांसदले भने ।
शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका विभिन्न माग राखेर शिक्षकहरु आन्दोलनमा छन् ।