site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
किन भइरहेको छ सुरक्षाको आलोचना ? ‘भाइरल’ हुने पहिलो नायिका होइनन् !
फाइल तस्बिर ।

काठमाडौं । अभिनेत्री सुरक्षा पन्त विवादमा तानिएकी छन् । सञ्चारमाध्यममा दिएको अभिव्यक्तिका कारण उनी विवादमा तानिएकी हुन् । 

पूर्वयुवराज पारस शाहका छोरा हृदयन्द्रका विषयमा सुरक्षाले गरेको टिप्पणीलाई लिएर विवाद भइरहेको छ । कसैले सुरक्षाको विरोध गरिरहेका छन् त कसैले समर्थन ।

राजावादीहरूले सुरक्षाको चर्को आलोचना गरिरहेका छन् । केहीले सुरक्षाको बचाउ गरिरहेका छन् । 

भएको के थियो ?
तीन दिनअगाडि एक टेलिभिजन शोमा उनले 'यो तस्बिर कसको हो, चिन्नुहुन्छ ?' भन्ने प्रश्नमा हृदयन्द्रका बारेमा बोलेकी थिइन्, ‘पारसको छोरा होइन ? के रे नाम ?’

कार्यक्रम सञ्चालक प्रकाश सुवेदीले उनको नाम भन्छन् ।

त्यसपछि सुरक्षा भन्छिन्, ‘उहाँको ठूलो फ्यान छ नि दाइ । योङ्स्टर नानी, केटीहरूको । धेरैले उहाँलाई मन पराउनुहुन्छ, हाहाहा...।’ 

कार्यक्रममा उनलाई प्रकाशले फेरि ‘भविष्यमा कुन रूपमा हेर्न चाहनुहुन्छ ?’ भनेर प्रश्न गर्छन् ।

जवाफमा सुरक्षा भन्छिन्, ‘आउनुस् फिल्म इन्डस्ट्रीमा । राम्रो हुनुहुन्छ । लुक्सहरू राम्रो छ । आई होप अभिनय पनि सक्नुहुन्छ होला ।’

‘आर्टतिर लाग्नुभयो भने दामी हुन्छ । सिनेमा क्षेत्रमा स्वागत छ,’ सुरक्षा थप्छिन् ।

‘कुनै राजनीतिकर्मीले उहाँलाई राजा बनाए हुन्छ भनेका छन् नि’ भनेर सोधेपछि उनी भन्छिन्, ‘ए, राजा बनाउने भन्ने व्यवस्था त हामीले स्वीकारेकै छैनौँ नि ! राजा बनाए पनि हुन्छ... हा.हा..हा...। त्यो त भन्न सकिन्नँ ।’ 

‘फिल्म उद्योगमा चाहिँ भविष्य उज्ज्वल छ ?’ फेरि अर्को प्रश्न गरेपछि सुरक्षा जवाफ दिन्छिन्, ‘फिल्म उद्योगमा वा केमा रुचि राख्नुहुन्छ । आई थिंक पहिलाको राजपरिवारको सदस्यहरूले स्पोर्टसमा रुचि राखेको पाएको छु । मेबी कुनै स्पोर्स्टसमा रुचि भए इन्भल्ब हुन सक्नुहुन्छ ।’

‘सिनेमा क्षेत्रमा हिरोको रूपमा आउनुभयो भने हिरोइनका रूपमा खेल्ने ?’ फेरि अर्को प्रश्नको जवाफमा सुरक्षा प्रस्ट पार्छिन्, ‘मलाई भन्नुभ’को, म त हुँदैन । म भन्दा त निकै कान्छो होला नि ! तर, सुहाउँछ, धेरैजनासँग उहाँको राम्रो जोडी देखिन्छ । अभिनय चाहिँ आउनुपर्‍यो । त्यतिकै त कसले एक्सेप्ट गर्छ र ? 

बिनाकारण गाली !
सुरक्षाले अन्तर्वार्तामा भनेको यति हो । यही अभिव्यक्तिलाई लिएर केहीले समर्थन गरे पनि धेरैजसोले भने टिप्पणी गरिरहेका छन् ।   

पूर्वराजपरिवारका सदस्यलाई मयार्दाहीन तरिकारले टिप्पणी गरेको भन्दै विशेष गरी राजतन्त्र पक्षधरहरूले सुरक्षाको आलोचना गरिरहेका छन् । सामाजिक सञ्जालमा अहिले सुरक्षा ‘भाइरल’ भइरहेकी छन् । 

पक्षमा बोल्नेहरूले हृदयन्द्रलाई सुरक्षाले नराम्रो केही नबोलेको बताइरहँदा केहीले पूर्वराजपरिवारका सदस्यबारे मर्यादा राखेर बोल्न सचेत गराइरहेका छन् ।

सामाजिक सञ्जालमा सुरक्षाको चलचित्र ‘बहिष्कार गरौँ’ भनेर भनिरहेका छन् । केहीले अभिव्यक्ति स्वतन्त्रताको ढुक्कले उपभोग गर्न पाउने पनि बताइरहेका छन् । 

सुरक्षाले हृदयन्द्रको ‘लुक्स’ राम्रो रहेकाले सिनेमा उद्योगमा पनि ‘फिट’ हुन सक्ने आशयको जवाफ दिएको प्रस्ट छ । सँगै उनी ‘यदि, रुचि छ भने’ भनेर पनि भन्छिन् । योसँगै सुरक्षाले प्रस्ट शब्दमा पूर्वराजपरिवारका सदस्यको रुचि सिनेमाभन्दा पनि खेल क्षेत्रमा बढी देखिएको पनि बताइरहेकी छन् । त्यसैले आलोचना हुने गरी बोलेको देखिँदैन । उनको जवाफ सुन्दा नियत खराब राखेर अथवा खिसिट्युरी गरेजस्तो पनि देखिँदैन । तर, पनि उनी गालीको सिकार भइरहेको देखिन्छ । 

भाइरल हुने अरू कलाकार
सुरक्षा अभिव्यक्तिकै कारण भाइरल हुने पहिलो नायिका होइनन् । पटकपटक कलाकारले गाली खाँदै आएका छन् । केहीले होस् नपुर्‍याई बोल्दा गाली खाइरहेका छन् । कोही अनाहकमा सिकार भएका छन् ।

सामाजिक सञ्जालमा होस् वा मिडियामा, गाली खानेमा दीपाश्री निरौलादेखि आँचल शर्मा, पूर्जा शर्मा, वर्षा राउत, प्रियंका कार्कीसम्म छन् । तर, भाइरल हुनुका पछाडि कारण भिन्नभिन्न छन् । 

कोरोना संक्रमणको त्रासले लकडाउन भइरहेका बेला नेपाली सिनेक्षेत्र ठप्प थियो । महँगो पारिश्रमिक लिने कलाकार/निर्देशकमा ठूलो प्रभाव नपरे पनि दैनिक काम गरेर खाने प्राविधिक समस्यामा थिए । 

उनीहरूलाई केही कलाकारले राहतसमेत प्रदान गरेका थिए । प्राविधिकको संस्था चलचित्र प्राविधिक संघले राहत संकलन र वितरण गरेको थियो ।

सोही क्रममा कलाकार तथा निर्देशक दीपाश्री निरौलाले एक टेलिभिजन कार्यक्रममा ‘राजेश हमालले महानायकको भूमिका निर्वाह गर्न नसकेको’ बताएकी थिइन् । प्राविधिकले खाना खान नपाइरहेको अवस्थामा राजेशले सहयोग नगरेको भन्दै उनले आलोचना गरेकी थिइन् ।

उनको त्यो अन्तर्वार्ता सार्वजनिक भएसँगै राजेशका प्रशंसकले दीपाश्रीलाई गाली गरे, उनले माफी नै माग्नुपर्‍यो । पछि राजेश आफैँले आफूविरुद्ध बोल्ने कसैलाई पनि गाली नगर्न आग्रह गरे ।

तर, दीपाश्रीमाथिको गाली रोकिएन । त्यही कारण उनलाई ‘मुन्द्रेको कमेडी क्लब’बाट हटाइयो । उनलाई दर्शकले गाली गरेकै कारण ‘छक्का पञ्जा–४’ अर्कैले निर्देशन गरे । 

‘छक्का पञ्जा’का सिरिज उनले निर्देशन गर्दै आएकी थिइन् । तर, ‘छक्का पञ्जा–४’ हेमराज बिसीले निर्देशन गरे । योबाहेक भने दीपाश्री खासै विवादमा आएकी कलाकार होइनन् ।

आँचल पनि विवादमा आइरहने नायिकामध्येकी एक हुन् । ‘बढी टिकटक चलाउने गरेका कारण महिला धेरै क्रिएटिभ हुने’ बताएपछि उनी ट्रोलको सिकार बनेकी थिइन् ।

नायिका पूजा शर्मालाई ‘अग्रज’ भनेपछि आँचल ट्रोल नै बनिन् । उनले आफूभन्दा धेरै अगाडि पूजा चलचित्र उद्योगमा आएको बताएकी थिइन्, जबकि उनीहरू दुवै एउटै जेनेरेसनका नायिका हुन् । 

पूजा शर्मा पनि समयसमयमा विवादमा आइरहने नायिका हुन् । ‘नेपालमा ७२ प्रदेश र १४ जिल्ला रहेको’ बताएपछि पूजाको आलोचना मात्रै होइन ट्रोल नै बनेकी थिइन् । एक टेलिभिजन अन्तर्वार्तामा यस्तो बताएपछि आफ्नै देशबारे न्यूनतम जानकारीसमेत नरहेको भन्दै उनको चर्को आलोचना भएको थियो ।  

प्रियंका कार्की पनि विवादमा आइरहने नायिका हुन् । ‘यूएसचाहिँ धेरैपटक गइरहेको थिएँ, तर अमेरिका भने पहिलोपटक आएको हुँ’ भनेपछि प्रियंका ट्रोल नै बनेकी थिइन् । 

केही वर्षअघि ‘बेबी बम्प’को फोटोसुट गराउँदा पनि उनी ट्रोल बनेकी थिइन् । तस्बिरमा उनले हातमा गिलास लिएर जुस पिइरहेको देखिएको थियो । पेटमा पनि गिलासबाट जुस पिइरहेको तस्बिर कोरिएको थियो । यो तस्बिर सार्वजनिक भएपछि भद्दा कमेन्ट धेरै गरिएको थियो ।

वर्षा राउत पनि बेलाबेलामा बोलीका कारण विवादमा तानिइरहने नायिका हुन् । नेपाल र भारतबीचको सीमा विवादका सन्दर्भमा दिएको अभिव्यक्तिका कारण उनले आलोचना खेपेकी थिइन् ।

उनले भनेकी थिइन्, ‘देशको माया लाग्छ भन्दैमा यो हाम्रै हो, तिमीहरूले किन यस्तो गरेको भनेर झगडा गर्ने कुरा होइन । यो त टेबल टक गरेर यता र उताको सरकार मिलेर गर्ने कुरा हो । यहाँ त दुवैतर्फका पत्रकार मिलेर झगडा पारिरहेका छन् ।’

योसँगै वर्षाले ‘मेरो इन्डियन साथीहरूसँग मैले कसरी फेस गर्ने र मेरो इन्डियन साथीहरूले मसित कसरी फेस गर्ने भइरहेको छ’ भन्ने बताएपछि ट्रोल बनेकी थिइन् । सामाजिक सञ्जालमा ट्रोल बनेपछि उनले ‘आइन्दा विचार पुर्‍याएर मात्र बोल्ने’ बताएकी थिइन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२  १४:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro