
काठमाडौं । सांगीतिक क्षेत्रका निम्ति वर्ष ०८१ लोकप्रिय गीतका कारणभन्दा पनि चर्चाले विशेष रह्यो । ०८१ मा नयाँपुस्ताका गायकगायिका नै चर्चाको केन्द्रमा रहे । अग्रज लगभग गुमनाम रहे ।
०८१ मा कति गीत सार्वजनिक भए ? यो तथ्यांक कसैसँग छैन । तर, गत वर्षजस्तै गीतसंगीतको संख्या औसत नै रह्यो । राम्रा गीत कति आएभन्दा पनि आए कि आएनन् भनेर सोच्नुपर्ने अवस्था रह्यो । तर, चर्चामा ०८१ अगाडि नै रह्यो ।
०८१ मा वर्षौंदेखि नेपाली स्रोतादर्शक र सञ्चारमाध्यममा चर्चामा रहेका भन्दा पनि नयाँ अनुहारले राम्रो स्थान पाए । कुमा सागरदेखि पूर्ण राई र जोन चाम्लिङसम्मले बजार लिए ।
कुमा, पूर्ण र जोन अझै आमस्रोतादर्शकभन्दा युवापुस्तामा पपुलर छन् । भूमिगत शैलीमा युवापुस्तामा ‘भाइरल’ भएका गायक हुन् यी । सञ्चारमाध्यमदेखि अलि टाढै बसेर उनीहरूले युवापुस्ताको मन जित्ने काम गरे ।
यो वर्षको हिट ओपनिङ ‘बोक्सीको घर’को गीत ‘बुझिनँ मैले’ले गरेको थियो । प्रकाश सपूत र समीक्षा अधिकारीको स्वर रहेको यो गीत भाइरल भएको थियो ।
सुशान्त केसीको ‘बार्दली’ लोकप्रिय हुँदा यो वर्ष धेरैले रुचाएको अर्को गीत हो, ‘राई माइला’ । चलचित्र ‘गाउँ आएको बाटो’ रिलिज हुँदा श्रवण मुकारुङको शब्दरचना रहेको गीत ‘राई माइला’ लोकप्रिय भयो । गाउँ कसरी खाली भइरहेको छ भन्ने यथार्थ समेटिएको गीतलाई धेरैले रुचाए । संगीत थियो कालीप्रसाद बास्कोटाको । स्वर सुनिता थेगिमको । पछि कालीले पनि यो गीत मेल भर्सनमा गाए ।
वर्षको अन्तिमतिर चलचित्रको मुख्य कथा भनिएको ‘अञ्जिला’को गीत ‘रात किन हुन्छ हजुर’ पनि लोकप्रिय बन्यो । यसमा थानेश्वर गौतमको संगीत, उनी स्वयं र शान्तिश्री परियारको स्वर छ ।
यो वर्ष जसरी नयाँ सर्जकको आगमन भयो, त्यसैगरी पुरानाले पुनरागमनको प्रयास गरे । विशेष गरी यसमा ब्यान्ड अगाडि रहे ।
‘कर्मा’देखि ‘कन्दरा’सम्मले पुनरागमन गर्दा यही बाटोमा ‘१९७४ एडी’ पनि देखियो । कुनै समयमा लोकप्रिय यी ब्यान्डले आफूलाई बिउँताउने प्रयास गरे । ‘कन्दरा’ यसमा सफल पनि भयो । विदेश टुर नै गर्यो ।
‘नेपथ्य’ त सदाबहार नै भइगयो । यो ब्यान्डलाई देशदेखि विदेशसम्म भ्याइ नभ्याइ भयो । सप्ताहान्तमा पनि ‘नेपथ्य’ले विदेश फन्को लगाइरहेको छ ।
लोकलयकै गीतले कब्जा गरे, ०८१ । ‘रुकुम मैकोट’ होस् वा ‘कश्मीरे पछ्यौरी’ – यी दुवै गीत लोकलयमा आधारित थिए । यी गीत लोकप्रिय मात्र भएनन्, ग्लोबल ट्रेन्डिङको यात्रा सुरु गरे ।
नेपाली गीत ग्लोबल ट्रेन्डिङमा जाने सुरुआत यही वर्ष भयो । यिनै गीतले सुरु गरे । त्यसपछि दुर्गेश थापाको गीत ‘दुस्मन हेरेको हेर्यै’ले पनि ग्लोबल ट्रेन्डिङको बाटो पछ्यायो ।
०८१ ग्लोबल ट्रेन्डिङका हिसाबले नेपाली सांगीतिक क्षेत्रका निम्ति उपलब्धिपूर्ण रहेको संगीतकार अर्जुन पोखरेलको निष्कर्ष छ । नेपाली संगीत पनि विश्वबजारमा पुगेका रूपमा यसलाई लिन सकिने उनी सुनाउँछन् ।
“अहिलेसम्म हामी युट्युब ट्रेन्डिङलाई नै सफलताको आधार मानेर बसिरहेका थियौँ । ०८१ देखि हाम्रो संगीत वर्ल्ड म्युजिकको ठूलो प्लेटफर्ममा पनि अगाडि आउन थालेको छ,” अर्जुन भन्छन्, “यसको अर्थ विदेशी दर्शक तथा स्रोताले हाम्रो संगीत सुन्न थाले भन्ने हो । यो हाम्रा लागि ०८१ को उपलब्धि हो ।”
रिलिज भएदेखि नै ०८१ मा ‘म त ढलेँ ढलेँ’ र ‘दुस्मन हेरेको हेर्यै’ले बजार लिए । के बालबालिका, वृद्धवृद्धा सबैको ओठमा यी गीतको मुखडा झुन्डियो । सामाजिक सञ्जालमा यी गीतको चर्चा भयो । मिम बनाइए । स्टाटस लेखिए । टिकटक प्रशस्तै । यी गीतका सर्जक धेरै खोजिए ।
यीसँगै ‘पूर्ण बहादुरको सारङ्गी’को गीत ‘काँधेकुरी’, ‘छक्का पञ्जा–५’ को गीत ‘ब्रेकअप’ सङ पनि लोकप्रिय भए ।
गायिका एलिना चौहानको डिभोर्सले नेपाली सञ्चारमाध्यममा ठूलो चर्चा पायो । सुरुमा श्रीमान्सँग सम्बन्ध चिसिएको बारे प्रश्न गर्दा तर्कने एलिनाको सम्बन्धविच्छेदको घटना अदालतमा पुगेपछि मात्र बाहिरिएको थियो ।
डिभोर्सपछि पनि एलिनाको यो घटना सेलाएन । आफ्नै जिन्दगीसँग मिल्दोजुल्दो गीत गाएपछि उनलाई धेरैले प्रश्न गरे– किन आफैँसँग मिल्ने गीत गाएको ? भलै, उनले यसलाई अस्वीकार गरिन् । यो संयोग मात्र भएको भन्दै टारिन् ।
एलिनासँगै समीक्षा अधिकारी, रचना रिमाल, अस्मिता अधिकारी, शान्तिश्री परियार, दुर्गेश थापाले स्टेजमा राज गरे । यही विषय छाइरह्यो ।
कुमा सागर यो वर्षको मध्यदेखि अन्तिमसम्म चर्चामा रहे । विशेष गरी उनको गायनमा रहेको अस्पष्टताको पक्ष र विपक्षमा धेरै स्रोतादर्शक विभाजित भए । कसैले भाषिक विविधता र अस्पष्ट टोन नै उनको मौलिक विशेषता भएको भनेर बचाउ गरे । कसैले गीतसंगीतमा शुद्ध उच्चारण हुनु पहिलो सर्त भएको भन्दै आलोचना गरे । तर, उनले आफ्नो अर्को विशेषतालाई नै निरन्तरता दिए । समाज पक्ष/विपक्षमा विभाजित हुँदा कुमा मौन रहे । बरु, उनले ०८१ बाटै विदेशमा सांगीतिक यात्रा थाले ।
उता, जोन चाम्लिङ र पूर्ण राईले पनि आफ्नो बलियो प्रभाव ०८१ मै देखाए । उनीहरूको भव्य कन्सर्ट पूर्वी नेपालमा हालसम्मकै ठूलो भएको दाबी गर्ने धेरै भए ।
०८१ मै हो, सोनु निगम र गुलाम अलीको लाइभ संगीत नेपाली स्रोताले आफ्नै भूमिमा सुनेको । हायात होटेलको ग्राउन्डमा सोनुलाई ठूलो संख्यामा नेपाली स्रोतादर्शकले साथ दिए ।
पाकिस्तानी गजल गायक गुलाम अलीका तीन पुस्ता नेपाल आएर एउटै मञ्चमा गाए । गुलामसँगै उनका छोरा आमिर र नाति नाजिर चैत पहिलो साता काठमाडौंमा लाइभ गुन्जिए । उनीहरूले नेपाली गजल पनि रेकर्ड गराए ।
०८१ को आकर्षण चर्चाका हिसाबले ‘म त ढलेँ ढलेँ’ र ‘दुस्मन हेरेको हेर्यै’ बने । ‘म त ढलेँ ढलेँ’का कारण शान्तारानी परियारले नेपाली सांगीतिक क्षेत्रमा आफूलाई स्थापित गरिन् । गीत रिलिजपछि उनलाई स्टेज कार्यक्रममा भ्याइ नभ्याइ भयो ।
दुर्गेश वर्ष २०८१ का ‘हट केक’ हुन् । चर्चा र लोकप्रियताका हिसाबले उनले सबैलाई पछि पारिदिए । समग्र नेपाली सांगीतिक क्षेत्रमा सबैभन्दा धेरै चर्चा उनकै रह्यो ।
जो आफूलाई गायक होइन, पफर्मर भन्न रुचाउँछन् । तर, उनकै गीतले सबैलाई छायामा पारिदियो । आफू कुशल गायक नभए पनि अब्बल डिजाइनर भएको उनले बताइरहे । यही कुशल डिजाइनले काम गर्यो । उनको गीत भाइरल भयो ।
त्यसपछि सुरु भयो दुर्गेशको चर्चा । उनलाई मेला–महोत्सवमा भ्याइ नभ्याइ भयो । हरेक दिनजसो उनी स्टेज कार्यक्रममा देखिन थाले ।
एकैदिन दूरीका हिसाबले टाढा दुई कार्यक्रममा जानुपर्ने भएपछि उनी हेलिकोप्टर चढेर महोत्सवमा पुगे । त्यसपछि थप चुलिएको थियो, दुर्गेशको चर्चा । अनि, ओझेलमा परे अरू ।
उनका कार्यक्रममा हजारौँमा भीड लाग्न थाल्यो । दुर्गेश स्टेज पफर्मेन्सका निम्ति पहिलो रोजाइको गायक/पफर्मर बने । अनि त उनले जे गरे पनि समाचार । स्टेज भत्किएकोदेखि भत्काइदिन्छु भनेकोसम्म समाचार बने । घाइते दर्शकलाई अस्पताल पुगेर सहयोग गरेकोसम्म समाचारका हेडलाइन बने । दुर्गेशको जति चर्चा ०८१ मा भयो, सायदै अरूको भयो । उनले एकछत्र राज गरे ।
वर्षको बिट मार्यो, खेम सेञ्चुरी र शान्तिश्री परियारको झगडाले । लामो समय सँगै संघर्ष गरे पनि ‘अरेली काँडैले’ गीतको सेलिब्रेसन यी दुईबीचमा फाटो ल्याउने कारण बन्यो ।
गीत सफल भएपछि सेलिब्रेसन गरौँ भन्ने संगीतकार खेमको प्रस्तावलाई शान्तिश्रीले बेवास्ता गरेपछि सुरु भएको झगडाले सँगै काम नगर्ने अवस्थामा यी दुईलाई पुर्याइदियो । अहिले खेम पहिले नै गाएका डोयट गीत जुन रिलिज हुन बाँकी छन्, तीबाट आफ्नो भोकल झिकिदिन आग्रह गरिरहेका छन् । यो विवाद हाल सांगीतिक क्षेत्रभित्र मात्र होइन, त्यसको पर्खाल तोडेर बाहिर आइसकेको छ । वर्ष ०८१ सकियो । खेम र शान्तिश्रीको झगडा सकिएको छैन ।
काव्यात्मक हिसाबले यो वर्ष उच्चकोटिका गीत निकै कम आएको संगीतकार अर्जुन पोखरेलको निष्कर्ष छ । यसको कारण टिकटक भएको उनको अनुभव छ ।
टिकटकमा हिट हुने ‘हुकलाइन’ अनिवार्यजस्तै भइसकेको र त्यसको प्रभावका कारण काव्यात्मक हिसाबले राम्रा गीत कमै मात्र आएको अर्जुनको ठम्याइ छ । टुक्का मिलेका गीतकै यो वर्ष दबदबा रहेको उनले सुनाए ।
“दुर्गेशको गीत पनि फरक टेस्टसहित आएका कारण र अडियन्सले पनि फरकपन खोजिरहेका कारण हिट भयो । ढलेँ ढलेँ पनि हिट भयो,” अर्जुन भन्छन्, “यसले चलचित्रका गीतमा भन्दा सिंगल ट्रयाकमा मिहिनेत देखिएकाले हो । पछिल्लो समय चलचित्रका गीतभन्दा सिंगल ट्रयाकमा धेरै मिहिनेत गरेको देखिन्छ । ०८१ पनि त्यस्तै रह्यो ।”