काठमाडौं । गायिका अञ्जु पन्तले गीतकार विपीन किरणले आफूसँग सल्लाह नगरी न बिर्सें तिमीलाई न पाएँ तिमीलाई...को नयाँ भर्सन सार्वजनिक गरेको बताएकी छन् । विपीन किरणले आफूले अञ्जुसँग अनुमति लिएर नै गीत रचना रिमाललाई गाउन लगाएको बताएका थिए ।
विपीन किरणले यो गीत रेकर्ड गराउनु अघि गायिका अञ्जु पन्तलाई खबर गरेको र यसमा उनको कुनै आपत्ति नभएको दाबी गरेका थिए । तर, आज अञ्जुले रचनाले गाउनेबारे आफूसँग सल्लाह नै नगरेको स्पष्ट पारेकी छन् ।
उनले आफ्नै स्वरमा पुनः रेकर्ड गराउनेबारे भन्ने सल्लाह भएको जानकारी दिएकी छन् ।
“केही समयअघि विपीन किरण भाइले यो गजल नयाँ एरेन्जमा मेरो आवाजमा नै रि–रेकर्ड गर्ने भन्नु भएको थियो । र, सोही अनुसार एरेन्जर महाराज थापाले गर्नुभएको नयाँ एरेन्ज पनि मलाई पठाउनु भएको थियो । हामी समयअनुकुल मिलाएर पुनः रेकर्ड गर्ने योजनामा थियौँ,” उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, “यसैक्रममा उहाँले कभरको रुपमा किड्स भर्सन नयाँ भाइ बहिनीहरुलाई गाउन दिने कुरा मसँग सोध्नुभएको थियो । मैले खुसीसाथ हुन्छ भनेकी थिएँ ।”
पछिल्लो समय ओर्जिनल स्रष्टालाई छायामा पार्दै उनीहरुलाई क्रेडिटसम्म नदिने गरेको उनले गुनासो गरेकी छन् । “उही संगीत, उही एरेन्जमेन्ट नयाँ भर्सनमा ओर्जिनल गायकगायिकाको नामसमेत उल्लेख नगरी, अफिसियल भनेर सार्वजानिक हुनु चाँही दुखद र अन्यायपूर्ण कुरा हो । के र कुन उद्देश्यका लागि यस्तो भयो । मलाई थाहा भएन । म एक ब्यक्तिको कुराभन्दा पनि यो चलनले भोलिका दिनमा संगीत र कलाकारलाई दिने सम्मान र आदरको संस्कार नै पो भुल्न लागिरहेका छैनौं भन्ने चिन्ता लागेको छ ।”
उनले युट्युबमा आएपछि मात्रै गीतको नयाँ भर्सन आएको जानकारी पाएको बताएकी छन् ।
विपीन किरणको शब्द, महेश खड्काको संगीत, किरण कँडेलको एरेन्ज, शम्भु तन्डुकारको रेकर्डिङ र महेश्वर राजभण्डारीले मिक्सिङ गरेको यो गजलमा अञ्जु पन्तले आवाज भरेकी थिइन् ।