site stats
बाह्रखरी :: Baahrakhari
विशेष
टिकटकले खस्कायाे नेपाली सेलिब्रिटीकाे स्टारडम ? यसो भन्छन् निर्देशक

वर्षा महर्जन । कुनै समय थियो सेलिब्रिटी विशेषतः कलाकारहरुलाई हेर्न अझ भनौं उनीहरुको अभिनय हेर्न दर्शक चलचित्रको पर्दा कुरेर बस्थे । सेलिब्रिटीहरु के खान्छन् ?, कहाँ बस्छन् ?, घर कस्तो हुन्छ ?, उनीहरुको दिनचर्या पनि आम मानिसको जस्तै हुन्छ कि फरक हुन्छ होला ? भन्ने कौतुहल दर्शकमा हुन्थ्यो । 

जब फेसबुक प्रयोगमा आयो दर्शकका यी कौतहुल आंशिक रुपमै भए पनि सम्बोधन भए । फेसबुक आएसँगै कलाकारहरुको दिनचर्या विस्तारै त्यसमा पोस्ट हुन थाल्यो । आम दर्शकले थाहा पाए सेलिब्रिटीहरु पनि आम मानिसको जस्तै व्यक्तिगत सम्बन्धमा रमाउँदा रहेछन् । 

इन्स्टाग्राममा सेलिब्रिटीहरु फेसबुकमा भन्दा पनि धेरै खुल्न थाले । विदाको दिनमा को सँग कता गएदेखि के खाए, के–के गरे भन्नेसम्मका गतिविधिहरु त्यसमै पोखिन थाल्यो । सेलिब्रिटीहरुको व्यक्तिगत पाटोबारे जान्ने चाहना दर्शकलाई हुन्छ नै ।
 
सामाजिक सञ्जालको विकास र प्रयोग बढ्दै जाँदा कौतुहल घट्दै गएको छ । टिकटकले झन धेरै उनीहरुको निजी जीवन बाहिर ल्याइदियो । सेलिब्रिटीका नितान्त व्यक्तिगत कुराहरु टिकटकबाटै बाहिर आएपछि लाग्छ अब उनीहरुका दैनिक क्रियाकलाप हेर्न केही बाँकी छैन । उनीहरु यतिधेरै फुर्सदिला भए घण्टौं टिकटकमा लाइभ बस्छन् ।
 
टिकटकले नेपाली सेलिब्रिटीहरुलाई सस्तो बनाएकै हो ? “कलाकार भन्दैमा आम मानिसभन्दा सधैँ टाढा बस्नुपर्छ । उनीहरुको सम्पर्कमा नै आउनु हुन्न भन्ने होइन केही कलाकारकारहरु टिकटकमा लाइभमा आएरै गिफ्ट माग्ने र सजिलै उपलब्ध हुनु भने राम्रो होइन्,” निर्देशक दीपेन्द्र लामा भन्छन्, “तर यो भनिरहँदा सबै कलाकारलाई एउटै बकेटमा राखेर हेर्न मिल्दैन । लाइभमा बस्नु गलत होइन आफ्नो कामको प्रमोशनका लागि यो प्लेटफर्म प्रयोग गर्दा हुन्छ । तर, गिफ्ट माग्ने जस्ता कार्य गर्दा त्यसले नकारात्मक छबी बनाइरहेको हुन्छ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

निर्देशक लामा फुर्सदमा टिकटकमा अनावश्यक लाइभ आउनुभन्दा उक्त समय अध्ययन अनुसन्धानमा खर्चिँदा राम्रो हुने बताउँछन् । 

टिकटकलगायत सामाजिक सञ्जालहरुले नेपाली सेलिब्रिटीहरुलाई सस्तो मात्रै बनाएको छैन उनीहरुको स्टारडम पनि खस्काइदिएको छ । पब्लिक फिगर भैसकेपछि आफ्नो छबीबारे कलाकारहरु सधैँ सचेत हुनुपर्छ । तर, नेपाली  कलाकारहरुमा यो बुझाई निकै कम रहेको उनी बताउँछन् । 

परिणामः नेपालमा सेलिब्रिटीप्रति दर्शकलाई चासो छैन । तर, बलिउडमा कलाकारहरुप्रति ठूलो क्रेज छ । नेपाली सेलिब्रिटीहरु नेपालमा पापराजी नै नभएको भन्दै उल्टो गुनासो पोखिरहेका हुन्छन् । आफैं सामाजिक सञ्जालमा छरपष्ट भइसकेपछि जान्ने कुरा नै केही नरहेपछि कसले खोज्छ ? 

भारतमा शाहरुख खान, सलमान खान, अमिताभ बच्चनजस्ता कलाकारहरुको एक झलक पाउन दर्शक घण्टौं उनीहरुका बंगाला बाहिर कुरेर बस्छन् । घरको बार्दलीमा आएर परबाट हात मात्रै हल्लाएर नमन गर्दा पनि प्रशंसकहरु धन्य ठान्छन् । 

यसले कलाकारहरुको स्टारडमलाई प्रस्ट्याउँछ । तर, के नेपाली सेलिब्रिटीहरुको स्टारडम पनि यस्तै बलियो छ ? निर्देशक प्रदीप भट्राई नेपाली सेलिब्रिटीहरुको स्टारडम नभएको बताउँछन् । “यसलाई स्टारडम छैन नै भन्नुपर्छ । त्यसैले त टिकटकमा भेटिएला कि इन्स्टाग्राममा भन्दै खोजिरहेका छन्,” उनी भन्छन् । 
 
नेपाली कलाकारहरु सामाजिक सञ्जालहरुमा सजिलै देखिनुमा उनी कोरोना महामारीको असर र गुमनाम हुने डरको परिणाम भएको बताउँछन् । “महामारीमा चलचित्र उद्योग ठप्प भयो । दर्शकसँग यही माध्यममार्फत मात्रै जोडिने कलाकारहरुसँग अर्को विकल्प नै भएन,” उनी भन्छन्, “दर्शकले नचिन्ने डर पनि हो । यो भनेको मायामा बिछोडको पीडा जस्तै हो । चिनिने कलाकारहरुलाई नचिनिने डर हो ।” 

सहजै उपलब्ध हुँदा यसको असर पर्दामा देखिने उनी बताउँछन् । सामाजिक सञ्जालमा सेलिब्रिटीहरु आउनु नै गलत नभए पनि निश्चित सीमाभित्र बस्नुपर्ने उनको धारणा छ । 
 

प्रकाशित मिति: शुक्रबार, माघ ७, २०७८  १७:२४
प्रतिक्रिया दिनुहोस्