site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
म बौलाएकै हो
SkywellSkywell

शब्द संयोजनका कुशल साधक र लयका मास्टर डा. नवराज लम्साललाई रेडियो वाक्पटुताको कौशलले ०५८ सालमा रेडियोमा बोल्न सिकाउने तालिमका सिलसिलामा मकवानपुर पुर्‍याएको थियो । दिनभर अनुज पुस्ताका सञ्चारकर्मीसँग आफ्ना अनुभव सुनाउने उनी साँझ समाज बुझ्न चोकतिर बरालिन्थे । एक दिनको एक साँझ उनले अस्ताउँदो पुस्ताको भिडको एक मुखारविन्दबाट सुने पुरानो कथा । इतिहासका पानामा पढेका मकवानपुरे राजा हेमकर्ण सेन (राज्यकाल : वि.सं. १७९०–१८१६) को कथा ।

हेमकर्णलाई जेठी तरबार बनाउन मन लागेछ । राजाको आग्रह मान्नै परेछ । ओरोला लाग्दो ७५ वर्षको उमेरका ठूले कामी तयार भएछन् । आफ्नै हजुरबाबाट सिकेका रहेछन् उनले तरबार बनाउने सीप । उनले १६० धार्नी फलाम पिटेर एकजोर जेठी तरबार बनाएछन् । ६ जना कालिगडले ९ महिना आरनमा अर्जाप्दा–अर्जाप्दा तरबार यस्तो भएछ– खिया नलाग्ने तरबार । फलाम काट्दा पनि धार नदोब्रिने चमकदार इस्पात बनेछ  तरबार ।

त्यो जेठी तरबार राजासामु पुगेछ । राजा रिसाएर जंगिँदै भनेछन्– १६० धार्नी फलामको तरबार यति सानो हुन्छ ? रिसाएका राजाले तरबार थुतेर बगैँचातिर हुत्याएछन् । राजाले फालेको तरबार हुनहुनाउँदै गएर धसिएको बडेमाको रूख केही दिनमै सुकेछ । हात्तीसारमा आगलागी हुँदा हात्ती बाँधेको फलामे साङ्लो त्यही तरबारले चटाचट काटेर १३ वटा हात्ती बचाइदिएछ । बल्ल राजाले त्यो तरबारको ताकत देखेछन् । र, ठूलेलाई भेट्ने इच्छा जाहेर गरेछन् । तर, समय घर्किसकेको थियो । ठूले कामी परमात्मामा लीन भइसकेका थिए ।

KFC Island Ad
NIC Asia

किंवदन्ती त नवराजले सुने, तर, त्यसलाई पुष्टि गर्न बाँकी नै थियो । उनले थुप्रै प्रयास गरे । सहज थियो र ? थिएन । कच्चा बन्नु थिएन । हतारमा लेखेर आलोचनाको पात्र बन्नु थिएन । त्यसैले त उनले परिपक्व हुन चाहे । समय लिएरै किंवदन्तीलाई पुष्टि गर्न चाहे । धेरै इतिहासविद्लाई भेटे । इतिहासका पुस्तक पढे । तर, उनले चित्त बुझाउन सकेनन् । त्यसैले मनमा अंकुरण भइसकेको यो काव्य लेखनको ढोका खुलेन ।

बरु, ढोका उघारे ‘कर्ण’को । कर्णले सीमान्तकृत समुदायलाई अगाडि सार्‍यो । हेपिएका र चेपिएकाहरूको कथा महाकाव्यका पंक्तिमार्फत सुनाइदियो । 

Royal Enfield Island Ad

०६६ साल बितिसकेको थियो । तर, मकवानपुरमा सुनेको किंवदन्तीको कथाको ढोका उघार्न उनले सकिरहेका थिएनन् । ०६४ सालमा केही जानकारी नपाएका होइनन्, तर त्यतिमै चित्त बुझाएर सुरु गर्ने आँट गरेनन् । जसोतसो तानतुन गरेर लेख्न त लेखौँला, तर त्यो आफ्नै लागि ‘ब्याकफायर’ हुने उनलाई डर लाग्यो । विकल्पहरू थुप्रै थिए । त्यसैमध्येबाट उनले रोजे ‘धरा’को कथा ।

‘धरा’मार्फत नवराजले समाजको बहुलताको कथा भने । नेतृत्वले एकल राज्यका सपना बाँडिरहेका बेला नवराज ठ्याक्कै उल्टो हिँडेर बहुल राज्यको परिकल्पना गरे । राजनीतिको धार एकातिर बगिरहेको थियो । तर, ‘धरा’मार्फत नवराजको कलमको निप ठिक उल्टो बाटो दौडिरहेको थियो । भलै, उनको परिकल्पना साकार भयो । एउटा सर्जकको सिर्जना राजनीतिज्ञको चेतनाभन्दा माथि पुग्यो भनेर कसैले तारिफ नगरे पनि उनको कलमको निपले सार्थकता पायो । त्यसैलाई उनले आफ्नो काव्यिक सफलताको मापक माने ।

भूगोल, संस्कृति र इतिहासको जगमा बसेर समय, समाज र संवेदना लेख्नुपर्छ भन्ने चेतनालाई न्यूनतम मापदण्ड बनाएर कलम चलाउने नवराजलाई ०५८ सालमा सुनेको किंवन्दतीको ढोका उघार्न हम्मे–हम्मे परिहेको थियो । तर पनि उनी थाकेनन् । कथाको ऐतिहासिक आधिकारिकता खोजी नै रहे ।

०६४ सालमा खड्का क्षेत्री महासमाजको प्रकाशन ‘संक्षिप्त परिचय पुस्तिका–२०६४’ भेटे । त्यसमा प्रा. डा. राजाराम सुवेदीको ‘खड्का, कड्गग्राहर खड्गसिद्ध’ शीर्षकको लेखमा उनले ०५८ देखि खोजिरहेको कुरा भेटे । अर्थात्, त्यहाँ सुवेदीले लेखेका थिए, जेठी तरबारको कथा । जब नवराजले भेटे सुवेदीसँग, तब घुरुक्क उघ्रियो ‘अग्नि’को ढोका । अनि, लेख्न थाले ‘अग्नि’का पंक्तिहरू । कथा विश्वकर्मा (कामी)को थियो । कथा फलाम र आरनको थियो । त्यसैले उनले आरनबाटै देश चियाउने चेष्टा गरे । बार्दलीबाट तल हेरेर विचरा दलित, मधेसी, गरिब, जनजाति र विचरा महिला भनेर राज्यसत्ताले भनिरहेका बेला ‘अग्नि’मार्फत नवराजले आरनबाट देश हेरे । आरनबाट देशको कथा र व्यथा बोले । आरनको आँखाबाट देशको यर्थाथ उदांगो पारिदिए ।

समग्रमा आरनबाट देशको इतिहास, धर्म, परम्परा, संस्कृति, संस्कार र समग्र राज्यसत्ता सञ्चालन कस्तो देखिँदो रहेछ हेर्ने प्रयास गरे ।

छेलाङ विश्वकर्माको हजुरबुवाको पुस्ता जसले मकवानपुरमा जेठी तरबार बनायो, त्यो तरबार पृथ्वीनारायाण शाहको दरबारमा पुग्यो । कालिका मन्दिरमा राखियो । दलमर्दन शाहले त्यही जेठी तरबार ल्याएर नुवाकोट युद्धमा शंखमणि रानालाई ‘काटेर’ नेपालको एकीकरणको बाटा खुलेको बिउ कथामा ‘अग्नि’ उभिएको छ ।

नवराजले समय र संवेदनालाई छोए । आरनमा बसेर तरबार चम्काउने कामीको आफ्नै जीवन कति चम्किलो छ, बताए । आफैँले अर्जापेको तरबारको त्रासमा शासित ठूले कामीको कथा भने । आफैँलाई शासन गर्ने तरबार उद्याउँदा–उद्याउँदै जीवन बिसाउने कामीको कथा नवराजले २० वर्ष मिहिनेत गरेर आरनबाटै भने ।

कसैको जात, धर्म, आस्था र विश्वाससँग जोडिएको विषयमा काव्य लेख्नु सहज थिएन । जब उनले प्रा. सुवेदीलाई भेटे, त्यसपछि उनी मकवानपुर गढी पुगे । इतिहास खोतले । विश्वकर्मालाई भेटे । उनीहरूका आरन डुले । जातसँग जोडिएपछि जातका कुरा खोजे । विषय धर्मसँग जोडियो । धर्मका कुरा खोजे । “जब म यो काव्य सिर्जना गर्न खोज्दै थिएँ, मलाई लाग्दै थियो– कमजोर अध्ययनको जगमा बसेर लेखेँ भने कसैको आस्थामाथि छुरा चलाएसमान हुनेछ । यो मेरै लागि ब्याकफायर हुनेछ । समाजलाई घाटा हुनेछ भने समग्र सर्जक र स्रष्टाहरूमाथि नै वितृष्णा पैदा हुनेछ,” नवराज अतीततिर लम्किए, “जब २० वर्ष पुग्यो, मैले गर्न सक्नेजति अध्ययन गरिसकेको थिएँ । त्यसैले मेरो मनले भन्यो– नवराज, तैँले गर्न सक्ने अध्ययन गरिसकिस्, यसबारे योभन्दा धेरै तैँले खोज्न सक्तैनस्, त्यसैले लेख्न बस् ।”

लेख्न त उनले ०६४ भन्दा अगाडि पनि थालिसकेका थिए ‘अग्नि’ । तर, ६६ पछि उनले यसको लेखनलाई तीव्रता दिए ।

समयको कथा नवराजसँग बेग्लै छ । समयका सन्दर्भमा उनी आफूलाई ‘बौलाहा’ भन्छन् । बिहान १० देखि साँझ ५ बजेसम्म रेडियो नेपालमा काम गर्थे । रेडियोको जागिर सकेर बीबीसी नेपाली सेवा पुग्थे । त्यहाँबाट फर्किएर घर पुग्दा रातको १० बजिसकेको हुन्थ्यो । छोराछोरी सुतिसकेका हुन्थे । श्रीमती भात खान कुरेर बसेकी हुन्थिन् । चिसो भइसकेको भात तताएर खान्थे । श्रीमती ओछ्यान जान्थिन् । नवराज बत्ती निभाएर घुप्लुक्क सुत्ने बेलामा टेबल र कुर्सीतिर लाग्थे । ल्यापटप खोलेर महाकाव्यका पंक्तिहरू लेख्न थाल्थे । दैनिक पत्रिकामा साप्ताहिक स्तम्भ थियो । त्यसका लागि किबोर्डका किमा औँला डुलाउँथे ।

“सुत्दा बिहान ३ बजिसकेको हुन्थ्यो । दुई घण्टा सुतेर उठ्यो । फेरि चियाको चुस्कीसँगै ल्यापटपमा लेख्न थाल्यो । ९ बजे खाना खाएर रेडियो नेपाल गयो । यसैगरी मेरा दुई दशक बिते,” नवराज भन्छन्, “मेरा साथी थुप्रै छन् । तर, ल आज भृकुटीमण्डपको चौरमा बसेर बदाम र सुन्तला खाऔँ, जावामा बसेर आज साँझ कफी पिऔँ, यो शनिबार नगरकोट जाऔँ, गुडफ्राइडे ठमेलको रेस्टुराँमा बसेर एक पेग लगाएर मनाऔँ भन्ने छैनन् । सायद त्यस्ता साथी बनाएको भए आज मसँग रमाउने साथी त हुन्थे, तर ‘कर्ण’, ‘धरा’ र ‘अग्नि’ मसँग कहाँ हुन्थे होला र ?”

गएको सोमबार अनामनगरको शिखरफुडमा पंक्तिकारसँग कफी गफ गरिरहँदा उनकी श्रमती पनि सँगै थिइन् । “मैले यो दुई दशक न श्रीमतीलाई समय दिएँ न छोरीसँग समय बिताएँ । वास्तवमा मैले तिमीहरूलाई धेरै दुःख दिएँ है बुढी ?,” श्रीमतीतर्फ हेर्दै उनले क्षमामिश्रित स्वरमा प्रश्न गरे ।

थाहा छैन उनलाई ‘हो तिमीले दुःख दियौ’ भन्ने मन थियो कि थिएन । तर, उनका ओठ उघ्रिएनन् । उनी चुपचाप बसिरहिन् । नवराजका कुरा सुनिरहिन् । म अनुमान लगाउँदै थिएँ, उनी विलखबन्दमा परिन् । हो भनौँ श्रीमान् नाजायज काम गरेर बिग्रिएर हिँडेको होइन । होइन भनौँ पर्याप्त समय सँगै बिताउन नपाएकै हो ।

प्रसँग थोरै बदलिएछ । हामी परिवारबाट पुनः काव्यतर्फ फर्कियौँ । नवराज आफैँ भन्छन्– ‘अग्नि’ गणितीय हिसाबले लेखेको महाकाव्य हो ।

उनी कुनै काव्य सुरु गर्नु अगाडि मनोलग गर्छन् । मैले यो नलेखे के हुन्छ ? हिजो यति धेरै लेखिए, आज लेखिरहेकै छन्, भोलि पनि लेखिनेछन् । तर, मैले लेखिनँ भने नेपाली साहित्यकालाई के घाटा हुन्छ ? र, यो नै किन लेख्ने ? यी प्रश्नले उनलाई दपेटिरहन्छ ।

कथामा खर्रर बगेर ‘कर्ण’ लेखेँ । समाजको बहुलता ‘धरा’मा लेखेँ ।

‘अग्नि’ उनले तीनवटा योजना बनाएर लेखे– 
१. गद्यमा लेख्छु, ताकि १२ कक्षाका विद्यार्थीले पनि बुझून् ।

२. समाजशास्त्रीय आँखाले हेर्दा आरनबाट देश देखिनुपर्छ । ब्राह्मणले आफ्नो छोराको व्रतबन्ध गरेर जनै लगाइदिन्छ । तर, त्यो जनै बनाउन सिकाउँदैन । छोरो विद्रोही हुन्छ, सेना हुन्छ । हतियार बोकेर हिँड्छ, हतियार खेलाउन सिक्छ । तर, उसलाई त्यो हतियार बनाउन सिकाइँदैन । बाहुनको छोरोलाई संकल्प पढेर मन्दिरमा पूजा गर्न सिकाइन्छ । तर, त्यही मूर्ति बनाउन सिकाइँदैन । कामका आधारमा रहेको समाजशास्त्रीय विभेद देखिनुपर्छ ।

३. नेपाली राजनीतिमा अहिलेको चल्तीको शब्द हो, पहिचान र मुक्ति । तर, त्यो पहिचान र मुक्तिको भेट दुर्लभ छ । यी दुई पक्षको तत्काल भेट हुँदैन । यो कुरालाई मैले बुझाउन सक्नुपर्छ ।

“अग्निको कथा एक रातको कथा हो । फ्ल्यासब्याकको कथा हो । एउटा कवि तथा सञ्चारकर्मी हुन्छ । ऊ आरनमा पुग्छ र भन्छ– दाजै, मलाई अँगालोमा बेर्नुस् । उसले आफ्नो जन्म र जात मेरो बसमा छैन । म सबै कुरा छोडेर मान्छे मात्रै हुन्छु । र, तपाईंको कथा लेख्छु । त्यो पात्रले भन्छ– कसको स्पोन्सरसिपमा आयौ ? किन लख्छौ ? तिमीले लेखेर के हुन्छ ? हाम्रा छोराछोरीले दलित भनेको के हो भनेर सोध्छन्, हामीले के भनेर जवाफ दिने ? उसले आफ्ना सबै कुरा भन्छ । रातभर गफ गर्छन् । कवि तथा सञ्चारकर्मीले भन्छ– तपाईंले भनेका सबै कुरा ठिक हुन् । त्यसैले म यही कुरा लेख्छु । त्यही आरनमा बस्छन् उनी । जुनीमाया विश्वकर्माले खाना बनाएर दिन्छिन् । सँगै बसेर तीनजनाले खान्छन् । रात त्यहीँ बिताउँछन्,” नवराज काव्य लेखनको परिकल्पनाको कथा सुनाउँछन्, “भोलि बिहान लेखकले म जान्छु भाउजू भन्दा उनी भन्छिन्– मेरो पनि अन्तरजातीय विवाह हो । म ठकुरीकी छोरी हुँ । विश्वकर्मासँग विवाह गरेर आएँ । गाउँबाट बसाइँ सरेर आउन मैले नै भनेकी हुँ । आरन यिनले चलाए पनि मैले चलाउन भनेकी हुँ । आज मलाई राजनीतिमा जाऊँजस्तो लाग्छ । सहकारीमा बसौँजस्तो लाग्छ । मन्दिरमा आफ्नै हातले पूजा गरेर शिवजीलाई बेलपत्र चढाऊँझैँ लाग्छ । तिजमा पूजा गरेर छमछमी नाचौँझैँ लाग्छ । आफ्नै हातले सेल बनाएर खुवाऔँ भन्ने लाग्छ । महिला विद्रोही कुरा गर्छिन् ।”

मकवानपुरगढीमा अहिले पनि कृष्णको मन्दिर छ । मन्दिरभित्र कृष्णको मूर्ति छ । तर, बाहिरबाट ताल्चा लगाएर राखिएको छ । बाहिरबाटै फूल–अक्षता फ्याँकिदिएर पूजा गर्ने चलन छ । किंवदन्तीअनुसार कृष्ण राति–राति मन्दिरबाट हराउँथे । कहाँ जाँदा रहेछन् भनेर चियो गर्दा छतिउन भन्ने ठाउँमा रहेको तोरीबारीमा गोपिनी भेट्न जाँदा रहेछन् । कृष्णका खुट्टाभरि तोरीको फूल टाँसिने रहेछ । भगवान् भएर यसरी गोपिनी भेट्न जाने भन्दै थुनेर राख्ने निर्णय गर्दै स्थानीयले ताल्चा लगाएर थुनिदिए । आज पनि त्यो मन्दिरमा ताल्चा नै लागिरहेको छ ।

कवि आरनबाट फर्किने बेलामा डाँडाको एउटा घरको भित्तामा नेपालको झन्डा देखियो । त्यो झन्डाको आकार बढेर ठूलो भयो । झन्डामा नेपालका सबै जातजाति, भाषाभाषी तथा सम्प्रदाय मिलेजस्तो देखियो । र, कविले संकल्प गर्छ– अब म काठमाडौँ जान्छु र ‘अग्नि’ महाकाव्य लेख्छु ।

महाभारतको कथामा कृष्ण जेलभित्र थिए । कृष्ण जन्मिएपछि ताल्चा आफैँ खुल्यो, ढोका खुल्यो र कृष्ण बाहिर निस्किए भन्ने किंवदन्ती रहेजस्तै त्यो बेला टाढाबाट ठूलो आवाज प्रतिध्वनित हुन्छ, मन्दिरको ताल्चा खुल्यो रे ! र, कृष्ण बाहिर निस्किए रे ! बाहिर निस्किएपछि कृष्णले ‘आजसम्म हामी कृष्णहरूको, भगवान्हरूको सालिक विश्वकर्माले बनाए, ठूले कामी जसले दरबार बनाए, उनको सालिकचाहिँ अब म बनाउँछु’ भनेर ठूले कामीको सालिक बनाउन थालेको आवाज प्रतिध्वनित हुन्छ । महाभारतको यो मिथकसँगै ‘अग्नि’ महाकाव्यको पाना सकिन्छ ।

‘कर्ण’मा उसको मृत्यु भएपछि कृष्णले सेतो कपडाले उनको मृत शरीर ढाकिदिए भनेर लेखेपछि नवराजका हात थरथराएका थिए । दिमागमा कल्पना गरेर कल्पनाशिलतमा मुसार्दै अक्षरमा उन्दा जसरी कर्णको मृत्युमा कैयौँ दिन विक्षिप्त भएका थिए नवराज, कृष्णले ठूले कामीको सालिक बनाउन थालेको लेख्दा त्यति नै खुसीको अनुभूत गरे ।

‘अग्नि’ बजारमा आयो । पढ्नेहरूले भने– यही कथामा उपन्यास लेखौँ न । स्वयं प्रकाशक बुक हिलकै प्रकाशक भूपेन्द्र खड्काले पनि यो आग्रह गरे । ‘गज्जबको उपन्यास हुन्छ भने किन नलेख्ने नवराज दाइ ? एउटै कथामा एउटै लेखकले महाकाव्य पनि लेख्यो र उपन्यास पनि लेख्यो भन्ने नयाँ प्रयोग पनि हुन्छ ।’ प्रयोग गर्न रुचाउने भूपेन्द्रको आग्रहलाई नवराजले अस्वाभाविक त मानेनन्, तर स्वीकार पनि गरेनन् ।

नमान्नुको पनि कारण छ उनीसँग । भन्छन्, “यो पनि उपन्यासजस्तै छ भने किन उपन्यासकै बान्की दिनु ? एक लाइनमा भन्न खोजेको कुरा ट्वाक्क भन्नुको मजा लामा–लामा प्यारेग्राफमा भन्दा कहाँ आउला र ?”

कविता धेरै लेखिन्छ । किशोरावयमा त कविता नलेख्ने कमै मान्छे हुँदा हुन् । तर, विडम्बना यही सबैभन्दा कम बिक्री हुने विधा हो बजारमा । आख्यानले बजार खाइरहेका बेला नवराजलाई काव्यमै टिक्न मन छ । समाज, संस्कृति र भावनाका कुरा छोटा–छोटा पंक्तिमा ट्वाक्क–ट्वाक्क भन्ने रहर अझै जागृत छ ।

४० को दशकको सुरुआतदेखि कविता लेख्न थालेका समकालीनहरू कति कवितामै टिकिरहेका होलान् ? फुर्सदिलो कसैले भोलि खोजतलास गरेछ भने कतै त्यहाँ नवराजजस्ता एकाध ‘बहुलट्ठी’ साधकहरू मात्रै पो भेटिएलान् कि ! उनलाई थाहा छ, बजारमा उपन्यासका पाठक छन् । जति धेरै पाठक त्यति धेरै रोयल्टी । तर, उनले आजसम्म नजरअन्दाज गरिरहेका छन् । त्यसैले त उनी पंक्तिकारसँग भन्छन्, “म बौलाहा हुँ । बहुलाएर मात्रै यी महाकाव्य लेखेको हुँ । नत्र कहाँ सम्भव थियो ।”

बस्नलाई काठमाडौंमा घर थियो । खानलाई रेडियो नेपाल र बीबीसीको जागिर थियो । चढ्नलाई रेडियोले साधन दिएकै थियो । रेडियोमा बान्की पुर्‍याएर बोल्न सक्ने कलाले समाजमा प्रतिष्ठा दिएकै थियो । कविता, गीत र सञ्चारकर्मीको हैसियतले सार्वजनिक कार्यक्रममा मञ्च उपलब्ध गराएकै थियो । तर पनि महाकाव्यको पछि लागिरहे उनी । बल्ल–बल्ल आउने शनिबार फुर्सदको एक दिन आफ्नो हुन्थ्यो । तर, उनी शुक्रबार साँझ नै हाफपाइन्ट र झोला बोकेर काठमाडौंको चार पहाड काट्थे । आफूलाई चाहिएको के हो खोजेर आइतबार बिहान १० बजे रेडियोमा हाजिर हुन्थे ।

नेपालमा सुषुप्त अवस्थामा रहेको, अक्सर लेख्न छोडिएको । लेखे पनि प्रभावकारी लेखन नभएको महाकाव्य विधालाई नवराज लम्सालले चलायमान बनायो भनेर सुनिने एकाधका एक हरफले उनलाई ऊर्जा दिइरह्यो । त्यसैले उनी दशक–दशकसम्म यसमै घोत्लिरहे । उनकै शब्दमा ‘बौलाएर’ लेखिरहे । धेरैले हिँड्नै नचाहेको र हिँडेर पनि परित्याग गरेको । “मैले सक्नेजति खोजेर लेखेको छु । लेखिसकेर पाठक भएर हेर्दा म सप्रेम बौलाएको छु । पात्रसँग एकाकार भएर बौलाएको छु,” उनी भन्छन् ।

रुमानी साहित्यमा प्रवेश गरेर कान्छो पुस्ता सेलिब्रिटी लेखक बन्यो । तर, उनले त्यसमा लोभिएनन् । उनी भोलि आख्यानमा आउने सम्भावना त नकार्दैनन्, तर पुस्तकको संख्या मात्रै बढाउने कमजोर विषयमा रमाउँदिनँ भन्ने संकल्प तोड्दिनँ भन्छन् ।

उनलाई सर्लाहीबाट एक पाठकले भने, “नवराज सर, मेरो पुस्तकालयमा तपाईंका सबै पुस्तक छन् । तपाईंका तीनवटै महाकाव्य मैले रिट्ठो नबिराई पढेको छु । अग्नि तपाईंको लेखनको क्लाइमेक्स हो । अब लेख्न छोडिदिनुस् ।”

लेखकको नाताले पाठकले पछिल्लो काव्य औधी रुचाएकोमा फुरुंग त उनी भए नै तर लेखनमै पूर्णविराम लगाउने सल्लाह त उनलाई किन शिरोधार्य हुन्थ्यो र ? एउटा फकिर नडुली किन बस्न सक्थ्यो र ?

उठ्ने बेला कफीको अन्तिम कपमा त्यसको मात्रा निख्रिँदै थियो । तर, नवराजको आफूलाई लेख्न मन लागेका विषय र प्रसंगको सूची थपिँदै थियो ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ १, २०७८  ०७:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro