काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयहरूले ‘स्मार्ट लकडाउन’ यसअघिका जस्तो कडा नहुने बताएका छन् । प्रशासनले स्मार्ट लकडाउन गर्ने तयारी गर्दा पहिलेजस्तो नहुने भन्दै त्रसित नहुन आग्रह गरिएको छ ।
कोरोना महामारीको जोखिम कम गर्न काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासनले स्मार्ट लकडाउनको तयारी गरेका छन् । स्मार्ट लकडाउनको प्रकृति, प्रावधान कस्तो गर्ने भन्नेबारे गृह मन्त्रालयसँग छलफल जारी रहेको प्रजिअहरूले बताएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमससी)को बैठकले स्मार्ट लकडाउन प्रभावकारी रूपमा कार्यान्वयन गर्न देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिइसकेको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले सोमबार बाह्रखरीसँग स्मार्ट लकडाउन यसअघिको निषेधाज्ञाजस्तो नहुने बताएका थिए । उनले भिडभाड हुने विद्यालयलगायत केही क्षेत्र बन्द गरी पूर्ण रूपमा स्वास्थ्य ‘प्रोटोकल’ अपाउनुपर्ने प्रावधान ल्याउन लागिएको बताए ।
‘‘स्मार्ट लकडाउनलाई लिएर नागरिक भ्रमित र त्रसित भएका छन् । वास्तवमा स्मार्ट लकडाउन पहिले जारी भएजस्तो लकडाउन र निषेधाज्ञाजस्तो होइन । स्वास्थ्य प्रोटोकल अनिवार्य, बढी भिडभाड हुने क्षेत्र नियन्त्रण, जनजीवन सहजीकरण गरिने प्रावधान हो,” प्रजिअ रिजालले भने ।
प्रजिअ रिजालमा कोरोना संक्रमण पुष्टि भएको छ । आज बस्ने तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकमा सहायक प्रमुख जिल्ला अधिकारीलाई पठाइने प्रशासनले जनाएको छ ।
भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले स्मार्ट लकडाउनबारे नागरिकलाई जानकारी नहुँदा त्रास फैलिएको बताइन् । उनले जिल्लाभित्रका अस्पतालको अवस्था, संक्रमणदर, मृत्युदर, स्वास्थ्य सामग्रीको आपूर्ति हेरेर जिल्लापिच्छे फरक प्रावधान अपनाई स्मार्ट लकडाउन जारी गरिने जानकारी दिइन् ।
‘‘खोप र स्वास्थ्य प्रोटोकल प्राथमिकतामा राख्छौँ । यसलाई आमनागरिकले पालना गरे संक्रमणको चेन ब्रेक गर्न सक्छाँै । यद्यपि, संक्रमणदर र मृत्युदरले नै आगामी दिनको अवस्था निर्धारण गर्ने हो,” प्रजिअ शर्माले भनिन् । प्रजिअ शर्माले स्मार्ट लकडाउनलाई यसअघिका लकडाउन र निषेधाज्ञासँग तुलना नगर्न आग्रह गरिन् ।
आइतबारको सीसीएमसीसी बैठकको निर्णयले सार्वजनिकस्थलमा २५ जनाभन्दा धेरै जम्मा हुन नदिन, माघ १५ गतेसम्म शैक्षिक संस्थाहरू बन्द गर्न सिफारिस गरेको थियो । यसलगत्तै सोमबार शिक्षा मन्त्रालयले माघ १५ गतेसम्म शैक्षिक संस्थाहरू बन्द गर्ने निर्णय गरिसकेको छ । सार्वजनिकस्थलमा जाँदा अनिवार्य रूपमा खोप लगाएको प्रमाण देखाउनुपर्ने निर्णय पनि गरिएको छ ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले स्मार्ट लकडाउन कडा नभई व्यवस्थित गर्दै लैजाने बताए । उनले सीसीएमसीसीको निर्णयबमोजिम भिडभाड रोक्न स्मार्ट लकडाउन जारी गर्न लागिएको जानकारी दिए ।
सोमबार गृह मन्त्रालयले देशभर हुने भेला, महोत्सवलाई प्रतिबन्ध लगाउन प्रशासनहरूलाई निर्देशन दिइसकेको छ । ‘‘शिक्षा मन्त्रालयले शैक्षिक संस्थाहरू बन्द गर्ने निर्णय गरिसकेको छ । अन्य भिडभाडजन्य सार्वजनिक यातायात, सिनेमा हल, पार्टी प्यालेसलगायत क्षेत्रका बारेमा तत्काल कुनै तयारी भएको छैन् । संक्रमणदरले नै यसको निर्धारण गर्छ । संक्रमणका आधारमा प्रतिबन्धात्मक व्यवस्थाको प्रकृति फरक हुनसक्छ,” प्रजिअ भुसालले भने ।
संक्रमण बढ्दै गए एकैपटक सबै क्षेत्र बन्द नगरी चरण–चरण गर्दै कदम चालिने प्रशासनका अधिकारीहरूले बताएका छन् ।
आज उपत्यकाका प्रजिअहरूको बैठकअघि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठक बस्ने जनाइएको छ । उक्त बैठकले संक्रमणदरको समीक्षा गर्नेछ । यस्तै, सीसीएमसीसीको निर्णयको प्रभावकारी कार्यान्वयनबारे छलफल गरिनेछ । त्यसपछि तीन जिल्लाका प्रजिअको बैठक बसी औपचारिक निर्णय गरिने बताइएको छ ।