site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रामकुमारी झाँक्रीको ‘पिर्के सलामी’को आलोचना, भन्छिन्– आपराधिक काम होइन 

काठमाडौं । गुल्मी जिल्लाको भ्रमणका क्रममा सहरी विकास मन्त्री तथा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमार झाँक्री इलाका प्रहरी कार्यालय पुर्कोट दहमा आइतबार सलामी ग्रहण गरिन् ।

उनले ग्रहण गरेको सलामीको तस्बिर सामाजिक सञ्जालमा यतिबेला भाइरल भएको छ ।

मन्त्रीको तस्बिर सामाजिक सञ्जालमा भाइरल हुनुको मुख्य कारण हो– उनले दुई वर्षअघि स्थानीय तहका प्रतिनिधिले लिँदै गरेको सलामीको चर्को आलोचना सामाजिक सञ्जालमार्फत नै गरेकी थिइन् ।

“यो पिर्का त पहिलो, दोस्रो र तेस्रोलाई सम्मानस्वरुप पदक दिन उभ्याउने हो क्यारे,” ५ जुलाई २०१९ मा झाँक्रीले गरेको ट्विट हो यो । 

त्यसलगत्तै उनले कुर्सीमाथि चढेर सलामी लिँदै गरेको तस्बिर राखेर लेखिन्– टेबल सलामी, पिर्के सलामीपछि कुर्ची सलामी ।”

अहिले झाँक्रीले त्यसबेला गरेको टिप्पणीलाई सामाजिक सञ्जालमा भाइरल गराइएको छ । झाँक्रीका आलोचकहरुले ‘समाजवादमा पुग्ने गणतान्त्रिक शैली’ भन्दै आलोचना गरेका छन् ।

तर मन्त्री झाँक्रीले मन्त्रीको हैसियतमा सलामी ग्रहण गर्दा यसलाई अन्यथा लिन नहुने बताइन् । बाह्रखरीसँगको कुराकानीमा उनले यस्तो बताएकी हुन् ।

उनले दैनिक रुपमा स्थानीय तह अन्तर्गत हुने कार्यक्रममा पिर्के सलामी खान नहुने तर औपचारिक कार्यक्रममा यस्तो व्यवस्थालाई अन्यथा लिन नहुने बताइन् ।

‘‘उहाँहरुको पिर्के सलाम दिने औपचारिकता हुँदो रहेछ । उक्त कार्यक्रममा कि त मै नजानु थियो । गएपछि गर्नै पर्ने हुँदोरहेछ । म त्यहाँ जानै पर्ने थियो । त्यहाँ धेरै कुराको निरीक्षण गर्नुथियो,” उनले भनिन् ।

राज्यको विभागीय मन्त्री भएको हिसाबले निरीक्षणमा जाँदा प्रहरीले आफ्नो कर्तव्यअनुसार जिम्मेवारी निर्वाह गरेको बताइन् ।

‘‘मैले नगर्नुस्, भन्दा पनि सम्मान गर्नु भो । त्यहाँको चौकी द्वन्द्वका क्रममा विस्थापित भएको थियो । उक्त चौकी पुनःस्थापना गर्न पहल गरेकी थिएँ । त्यसैले त्यहाँका स्थानीय अगुवाले सबै क्रेडिट मलाई दिनुहुन्छ । उक्त कार्यक्रममा जान मलाई  प्रोत्साहन गर्नुभयो,” उनले भनिन् । 

मन्त्री झाँक्रीले स्थानीयलाई बेखुसी बनाएर जान्न भन्ने अवस्था नभएको र औपचारिक कार्यक्रममा सलामी लिएको प्रष्ट पारिन् ।

‘‘त्यहाँ गएँ । मलाई सलामी दिनुभयो । सहज लाग्छ । स्वाभाविकरुपमा लिएँ । औपचारिकता निभाउनका लागि पनि सलामी लिनैपर्ने भयो,” उनले भनिन् । 

सलामी लिनै नहुने गैरकानुनी र आपराधिक काम नभएको मन्त्री झाँक्रीको भनाइ छ । उनका अनुसार राज्यको विभागीय व्यक्तिलाई अरुले गर्ने सम्मान सहर्ष स्वीकार गरिएको हो । 

‘‘त्यसलाई वास्ता र बेवास्ता गर्नुको मेरा कुनै अर्थ पनि रहने थिएन । सामाजिक सञ्जालमा हुने आलोचनाको क्रिया प्रतिक्रियाबारे केही पनि भन्दिन । पहिलेदेखि आफैँ लागेको कार्यक्रममा नजान पनि भएन । सबैको सल्लाह मै कार्यक्रममा सहभागी भएँ । मेरो गाउँका सबैजना खुसी हुनुहुन्छ । बाहिर गरेको आलोचनाको कुनै अर्थ छैन,” उनले भनिन् । 

प्रहरीको समारोह व्यवस्थापन कार्यविधिअनुसार पदीय दर्जाअनुसार कसलाई कसरी सलामी दिने भन्ने निर्धारण भएको प्रहरी प्रवक्ता एसएसपी बसन्त कुँवरले जानकारी दिए ।

उनका अनुसार सलामी अग्लो ठाउँमा राखेर दिइने हुँदा धेरै ठाउँमा सहजैरुपमा प्राप्त हुने पिर्का भएकाले त्यसैमा राखेर दिइने बताए ।

तर कोही पनि विशिष्ट व्यक्तिले अहिले सलामी ग्रहण गर्दिनँ भन्यो भने नदिन पनि सक्ने व्यवस्था छ ।

“म यो सलामी खान्न भन्यो भने नदिन पनि सक्छ,” कुँवरले भने ।
 

प्रकाशित मिति: सोमबार, पुस १९, २०७८  १४:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro