site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
स्ववियुका वागी उमेदवारलाई कारबाहीका निम्ति नेवि संघले माग्यो विवरण 

काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले स्ववियु निर्वाचनका क्रममा संघका आधिकारिक उमेदवारविरुद्ध वागी उमेदवारी दिनेहरूलाई अनुशासनात्मक कारबाही गर्ने भएको छ । 

संघको केन्द्रीय अनुशासन समितिले मंगलबार विज्ञप्ति जारी गर्दै वागी उमेदवारी दिनेहरूको विस्तृत विवरणसहित नामावली पेस गर्न आह्वान गरेको छ । संघले आधिकारिक उमेदवार तथा संघद्वारा समर्थन प्राप्त उमेदवारविरुद्ध उमेदवारी दिने, त्यस्ता उमेदवारको प्रस्तावक वा समर्थक बन्ने, वा अन्य संगठनको तर्फबाट उमेदवार भएर प्रतिस्पर्धा गर्ने व्यक्तिहरूले संगठनको विधान र आचारसंहिताको गम्भीर उल्लंघन गरेको ठहर गर्दै उनीहरूमाथि कारबाही अघि बढाएको हो । 

Argakhachi Cement Island Ad

“यस सन्दर्भमा, नेपाल विद्यार्थी संघको विधान, २०२७ (संशोधन सहित)को धारा २४ (१), (२), (३) तथा आचारसंहिता, २०८१ को नियम ५ (क), (ग) र नियम ७ बमोजिम अनुशासनको कारबाही गर्न आवश्यक भएकाले, त्यस्ता वागी उमेदवार, तिनीहरूका प्रस्तावक, समर्थक तथा अन्य संगठनबाट उमेदवारी दिने व्यक्तिहरूको नामावलीसहित विस्तृत विवरण तीन दिनभित्र संघको अनुशासन समिति समक्ष पेस गर्न निर्देशन गरिन्छ,” नेविसंघ केन्द्रीय अनुशासन समितिका संयोजक परोपकार अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

सार्वजनिक रूपमा वागी उमेदवारी फिर्ता लिएका, मौखिक वा लिखित रूपमा स्पष्ट घोषणा गरेकाहरूको हकमा भने अनुशासनात्मक कारबाही आवश्यक नरहने बताइएको छ । 

प्रकाशित मिति: मंगलबार, चैत २६, २०८१  २२:०१
प्रतिक्रिया दिनुहोस्