1629479424.jpg)
काठमाडौं । सरकारले यही चैत अन्तिमसम्म कोभिड १९ विरुद्धको खोप लगाउन लक्षित सबै नागरिकलाई खोप दिइसक्ने लक्ष्य लिएको छ । सोही योजनाअनुसार पछिल्लो समय ‘पाँच लाख खोप १५ दिन अभियान’ घोषणासमेत गरेको छ । तर, दैनिक खोप दिइएको तथ्यांक हेर्दा सरकारको योजनाअनुसार खोप कार्यक्रमले गति लिएको छैन । नेपालमा पछिल्लो समय नियमित खोप आए पनि पर्याप्त वितरण हुन नसक्ुनले सरकारले यही वर्षमा खोपको लक्ष्य नभेट्ने सम्भावना बढेको छ ।
खोपको घट्दो दैनिक कभरेज
नेपालमा ०७७ माघ १४ गतेदेखि कोभिड १९ विरुद्धको खोप दिन सुरु गरिएको थियो । प्राथमिकताका आधारमा विभिन्न चरणमा हुँदै अहिले देशभर १२ वर्षमाथिका सबै नागरिकलाई खोप दिइँदैछ । एघार महिनाको अवधिमा नेपालमा १ करोड ४ लाख ९६ हजार ४०१ जनाले पूर्ण खोप र १ करोड ४१ लाख १८ हजार २७ जनाले पहिलो डोज खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ । प्रतिशतका हिसाबले यो क्रमश ः ५२.७ र ७०.९ प्रतिशत हो ।
कोभिड १९ को पछिल्लो भेरियन्ट ओमिक्रोन नेपालमा समेत भेटिएपछि दैनिक ३ लाख जनालाई खोप दिनेगरी व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई मन्त्रिपरिषद बैठक्ले निर्देशन दिएको थियो । पछिल्लो एक महिनायता सरकारले १२ वर्षदेखि १७ वर्षसम्मका बालबालिकालाई कोभिड १९ विरुद्धको खोप दिने योजनासहित फाइजर र मोर्डना खोप अभियान सुरु गरेको थियो । तर, खोपका लागि सिरिञ्ज आइनपुगेका कारण काठमाडौं उपत्यकासहित ८ जिल्लामा फाइजर खोप कार्यक्रम हाललाई स्थगित गरिएको छ । बाँकी ५७ जिल्लामा यो उमेर समूहका बालबालिकालाई मोर्डना खोप दिइँदैछ ।
घोषणा पाँच लाख लगाइयो ५६ हजार
कोभिड १९ विरुद्धको खोपको दायरा बढाउन सरकारले पुस १२ गते निजी अस्पतालहरुलाई पनि खोप केन्द्र सञ्चालन गर्न पाउने निर्णय गर्यो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोही नछुटुनुहोस्, कोरोनाको अर्को लहरबाट बच्नुहोस् भन्दै सोही दिनदेखि ५ लाख प्रतिदिन १५ दिन अभियान पनि घोषणा गरेको थियो । तर, सो अभियान सुरु भएयताका कुनै पनि दिनमा ५ लाख जनाले खोप लिएको तथ्यांक मन्त्रालयसँग छैन । अभियान सुरु गरेको भोलीपल्ट पुस १३ गते २ लाख ८२ हजार जनाले खोप लगाएका थिए । त्यस्तै १४ गते खोप लिनेको संख्या २ लाख २ हजार थियो । तर, यो संख्या १५ गते ५६ हजारमा झर्यो । पुस १६ गते पनि १ लाख ३९ हजारले मात्रै खोप लिए भने १७ गते ५९ हजारले मात्रै खोप लगाए । १८ गते पनि १ लाख ३३ हजार जनाले मात्रै खोप लिएको मन्त्रालयको तथ्यांक छ ।
खोपको कभरेज प्रदेश २ र गण्डकी प्रदेशमा निकै कम छ । काठमाडौं उपत्यकाबाहेक अन्य प्रदेशमा पनि अपेक्षाकृत रुपमा नागरिकसम्म खोप पुगेको छैन ।
खोपको गति किन सुस्त ?
विश्वभर कोभिड १९ को दोस्रो लहर सुरु भइरहँदा नेपालमा खोप ल्याउन निकै मुस्किल भएको थियो । तर, पछिल्ला केही महिनायता नेपालमा अनुदान र खरिदको गरी पर्याप्त खोप आएको स्वास्थ्य सेवा विभागको तथ्यांक छ । नेपालमा हालसम्म विभिन्न ६ प्रकारका ३ करोड ९२ लाख ३ हजार ५३५ डोज खोप भित्रिएको विभागको खोप भण्डारण शाखा प्रमुख बडेबाबु थापाले बताए । सरकारले १२ देखि १७ वर्षसम्मका बालबालिकालाई लक्षित गरी मोर्डना र फाइजर खोप ल्याएको थियो ।
देशभरका ५७ जिल्लाबाट अहिले विद्यालयलाई केन्द्र बनाएर मोर्डना खोप दिइँदैछ । तर, काठमाडौं उपत्यकासहित ८ जिल्लाका बालबालिकालाई पुस १४ गतेदेखि दिने भनिएको फाइजर खोप दिने मिति अझै टुंगो लागेको छैन । खोप दिनका लागि आवश्यक पर्ने ०.३ एमएलको ५० लाख थान सिरिञ्ज आइनपुग्दा खोप दिने मिति अन्योल भएको हो । जनवरी ४ तारिखमा सिरिञ्ज आइपुगेपछि फाइजर खोप दिने मिति तय गरिने स्वास्थ्यसचिव डा. रोशन पोख्रेलको भनाइ छ । तर, यसबाहेक १८ वर्षमाथिका नागरिकलाई दिइने खोप कार्यक्रम पनि तीव्र गतिमा अघि बढेको छैन ।
अहिलेसम्म ८० प्रतिशत कभरेज भइसक्नुपर्थ्यो
नेपालमा पहिलो पटक भारत सरकारले उपलब्ध गराएको १० लाख डोज कोभिशिल्ड खोप अनुदानमा आएको थियो । त्यसपछि खरिदको खोप ल्याउन पनि नेपालालाई ठूलो सकस परेको थियो । नेपालमा अहिलेसम्म ८० प्रतिशत खोप कभरेज भइसक्नुपर्ने टिप्पणी गर्छन् इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. बाबुराम मरासिनी । “सरकारले पहिले खोप ल्याउनै ढिला गर्यो ल्याएपछि अहिले लगाउन ढिलो भयो । कमसेकम जिल्ला अस्पतालहरुबाट मात्रै पनि खोप दिएको भए कभरेज बढ्थ्यो । अहिलेसम्म नेपालमा खोपको पूर्ण कभरेज ८० प्रतिशत पुगिसक्नुपर्ने हो,” डा. मरासिनीको तर्क छ ।
नागरिकलाई आश्वस्त पार्न सकिएको छैन
प्रदेश २ मा लक्षित नागरिकमध्ये हालसम्म ३६ प्रतिशतले मात्रै पूर्ण खोप लगाएका छन् । यो प्रदेशमा पहिलो डोज खोप लगाउने पनि ४८ प्रतिशत मात्रै छन् । भारतसँग सीमा नाका जोडिएका जिल्लाहरुमा भेरोसेल खोप लगाउन नमान्नेहरुको संख्या ठूलो छ । “सीमाका नागरिक चाइनिज खोप भनेर लगाउन मान्दैनन् । उनीहरुलाई आश्वस्त पार्न हामी प्रयास गरिरहेका हुन्छौं,” २ नम्बर प्रदेश स्वास्थ्य निर्देशनालयका तथ्यांक अधिकृत सरोज यादव भन्छन्, “केही मुस्लिम समुदायमा पनि खोप लगाउन नमान्ने नागरिक छन् । यी सबै समुदायलाई समेट्दै खोपको कभरोज बढाउन लागि परेका छौं ।
प्रदेश १ मा पनि अपेक्षाकृत रुपमा खोप लगाउन नसकिएको स्वीकार गर्छन् स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञानेन्द्र बहादुर बस्नेत । सबैखाले अस्पतालमा खोप कार्यक्रम सञ्चालन गर्न केही प्राविधिक समस्याहरु रहेको र त्यसलाई समाधानको प्रयास गरिरहेको बस्नेतको भनाइ छ । यसरी केन्द्रदेखि स्थानीय तहसम्मका स–साना कमजोरीले नेपालमा खोप कार्यक्रम लक्ष्यअनुरुप अगाडि बढ्न सकेको छैन ।