पोखरा । सत्ता गठबन्धनको एक घटक माओवादी केन्द्रका निवर्तमान अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफूले आफैँलाई केन्द्रीय कमिटी सदस्यमा घोषणा गर्दा साँझको ७ बजिसकेको थियो । आइतबार उनी निर्वाचन प्रक्रियामा नगई पार्टी केन्द्रीय सदस्यहरूको नाम घोषणा गर्न निकै व्यस्त थिए ।
त्यही व्यस्तताका कारण आसन्न राष्ट्रियसभा निर्वाचनमा उमेदवार टुंग्याउने विषयमा छलफल गर्न उनले भ्याएनन् । प्रचण्डको व्यस्तताका कारण गठबन्धनको बैठक बस्न सकेन । उक्त बैठक अब सोमबार बिहान ८ बजे बस्ने भएको छ ।
सत्तारूढ नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी, राष्ट्रिय जनमोर्चा लगायतका दल गठबन्धनमा छन् । तर, जनमोर्चा भने सत्ताबाहिर छ । राष्ट्रियसभा निर्वाचनमा भने उसले भाग खोजेको छ ।
राजमो गण्डकी संसदीय दलका नेता पियारी थापाले पाए गठबन्धनबाट नपाए एक्लै भएपनि जनमोर्चाले निर्वाचनमा भाग लिने बताएकी छन् ।
०७४ को माघमा सम्पन्न राष्ट्रियसभा निर्वाचनमा गण्डकीबाट निर्वाचित ३ राष्ट्रियसभा सदस्यको ४ वर्षे कार्यकाल माघ १२ गतेदेखि सकिँदैछ । उनीहरूले गोलाप्रथगामा ४ वर्षको कार्यकाल पाएका थिए ।
उनीहरूको स्थानमा रिक्त हुने भएपछि आगामी माघ १२ गते निर्वाचन हुँदैछ । जसको मनोयन मंगलबार तोकिएको छ ।
निर्वाचन कार्यतालिकाअनुसार मनोनयनको समय ४८ घण्टा पनि बाँकी नरहँदा सत्ता घटक दलले भने उमेदवार टुंग्याउने कुरा त छाडौँ, क्लस्टरको पनि भागबण्डा मिलाएका छैनन् । बैठक नै बस्न सकेको छैन । त्यसको कारण माओवादी केन्द्रको महाधिवेशन हो ।
आइतबार माओवादी केन्द्रले केन्द्रीय सदस्य टुंग्याएसँगै सोमबार बिहान गठबन्धनको बैठक तय भएको छ ।
उक्त बैठकले नै गठबन्धनले कुन क्लस्टर पाउने टुंगो लगाउने छ । त्यसपछि मात्रै सम्बन्धित दलले आफ्ना उमेदवार तय गर्नेछन् ।
गण्डकीमा अन्य खुलातर्फबाट निर्वाचित बागलुङका दिनानाथ शर्मा, तत्कालीन एमालेबाट महिला कोटामा निर्वाचित (हाल नेकपा समाजवादी) बागलुङकै शान्तिकुमारी जिसी र माओवादी केन्द्रले दलिततर्फबाट उमेदवार बनाई निर्वाचित स्याङजाका खिमकुमार विकको कार्यकाल सकिएका कारण यी तीन क्लस्टरमा निर्वाचन हुनेछ ।
दुईवटा माओवादी केन्द्र र एक समाजवादीबाट निर्वाचित राष्ट्रियसभा सदस्य भएका कारण पुनः यही पदमा गठबन्धनले कसरी भागबण्डा गर्छ त्यसको टुंगो पनि सोमबार नै लाग्नेछ ।
अहिले गण्डकीमा पनि कांग्रेस नेतृत्वको सरकार छ र यहाँ उसले पनि आफ्ना उमेदवारलाई अगाडि बढाउन चाहान्छ । कांग्रेस गण्डकी प्रदेशका महामन्त्री विष्णु लामिछानेकाअनुसार विभिन्न ११ जिल्लाबाट अहिलेसम ४० जनाले राष्ट्रियसभाको उमेदवार बन्न आाकांक्षा देखाएका छन् ।
तर, कांग्रेसको भागमा उमेदवार पर्छ कि पर्दैन वा परेपनि कुन क्लस्टरमा पर्छ भन्नेमा नै प्रदेश समिति अन्योलमा छ । क्लस्टर नटुंगिएकै कारण प्रदेश समितिले आकांक्षीको नाम केन्द्रमा सिफारिस गर्न पाएको छैन ।
कांग्रेस प्रदेश सभापति शुक्रराज शर्माले केन्द्रले क्लस्टर टुंगो लगाएपछि मात्रै बाँकी प्रक्रिया अगाडि बढ्ने बताए ।
बाँकी प्रक्रिया भनेको सोमबार बिहान ८ बजेका लागि बोलाइएको गठबन्धनको बैठक हो ।
उक्त बैठकको निर्णय आएपछि मात्रै अगाडि बढ्न सकिने महामन्त्री लामिछानेले जानकारी दिए । “प्रचण्डजी व्यस्त भएका कारण आइतबार बैठक बस्न सकेन, सोमबार बिहान ८ बजे बैठक बसेपछि केही थाहा होला । अहिलेसम्म कुन पार्टीले कुन क्लस्टर पाउने भन्नेमा नै अन्योल भएका कारण बैठक त बसेको छ तर केही निर्णय भने भएको छैन,” उनले भने ।
गण्डकीमा ६० मध्ये हाल ५९ जना (राजमोका कृष्ण थापा पार्टीको कारबाहीपछि पदमुक्त) प्रदेशसभा सदस्य छन । एमालेका २७, कांग्रेसका १५, माओवादी केन्द्रका १२, जसपाका दुई, जनमोर्चाका दुई र एक स्वतन्त्र सांसद छन् ।
त्यसमध्ये सांसदको मतभार ४८ र स्थानीय तहका प्रमुख/उपप्रमुखको मतभार १८ कायम हुन्छ ।
गण्डकीमा ५९ सांसदको मतभार दुई हजार ८३२ र ८५ स्थानीय तहका १७० प्रमुख/उपप्रमुखको मतभार तीन हजार ६० सहित कुल पाँच हजार ८९२ मतभार रहेको छ ।