site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बीआरआईमा कांग्रेस–एमाले : कस्तो समझदारी गर्ने, साझा धारणा तयार भयो त ? 
प्रधानमन्त्री केपी शर्मा ओली (बायाँ) र कांग्रेस सभापति शेरबहादुर देउवा । फाइल तस्बिर ।

काठमाडौं । उत्तरी छिमेकी चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई) सम्झौताका मामलामा सत्ता गठबन्धनभित्र केही समय शंकासहित खिचलो देखापर्‍यो ।

सत्तासाझेदार कांग्रेस र एमालेबीच बीआरआई चीनको प्रस्तावअनुरूप अघि बढाउने या त्यसमा संशोधन गर्नेसम्बन्धी बहसले गठबन्धनको भविष्यमा प्रश्न उठाउन थालिएको थियो । चीनको महत्त्वाकांक्षी योजना हो, बीआरआई ।

कांग्रेसले बीआरआई सम्झौताका कतिपय अस्पष्ट प्रावधान सच्याउने र कार्यान्वयनका सन्दर्भमा खाका प्रस्तुत गर्दै त्यसलाई छुट्टै नाम दिने प्रस्ताव गरेको थियो । तर, कांग्रेसले मुलुकलाई भार पर्ने गरी ऋण स्वीकार नगर्ने अडान राखेको थियो । कांग्रेसको अडानसँगै सत्ता गठबन्धन खिचलो सतहसम्म आइपुगेको हो ।

Dabur Nepal
NIC Asia

कांग्रेसले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिखित सुझाव समेत दिनुपर्ने अवस्था आयो । उक्त सुझावपछि कांग्रेस–एमाले सम्बन्ध फरक अवस्थामा फर्किएको छ ।

कांग्रेसले बीआरआईको ‘कार्यक्रम कार्यान्वयन योजना’को प्रस्तावित मस्यौदा संशोधन गरी ‘बीआरआई कोअपरेसन फ्रेमवर्क’ बनाउने प्रस्ताव गरेको छ । त्यसमा सकारात्मक हुँदै एमालेले तत्काल र दीर्घकालमा सम्झौता कसरी अघि बढाउने तथा कार्यान्वयन गर्ने भनी कार्ययोजना बनाउँदै नयाँ नाम दिएर जाने समझदारी गरेको छ ।

“सबै कुरा टुंगिइसकेको छैन । कांग्रेसले बीआरआई कोअपरेसन फ्रेमवर्क भनेर नाम प्रस्ताव गरेको रै’छ, नाम के हो मा त्यति ठूलो समस्या होइन,” एमाले नेता डा. राजन भट्टराईले बाह्रखरीसँग भने, “कांगेस र एमालेबीचमा के चाहेको भन्नेमा तात्त्विक रुपमा फरक छैन ।”

उनका अनुसार, तत्कालका निम्ति नेपालको वैदेशिक ऋणको बोझ बढी भएका कारण नथपौँ भन्ने समझदारी बनेको छ । त्यसबाहेक चीनबाट घोषित अनुदान उपयोग गर्न नसकिरहेको अवस्थामा किन ऋण खोज्ने भन्ने कांग्रेसको तर्कले स्थान पाएको छ ।

कांग्रेस नेता तथा पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशशरण महत आफूहरूको प्रस्तावमा प्रधानमन्त्री केपी शर्मा ओली सहमत भइसकेकाले प्राविधिक विषय मात्र मिलाउन बाँकी रहेको बताउँछन् । उनका अनुसार, बीआरआईअन्तर्गत ऋण नलिने विषयमा समझदारी बनेको छ ।

“हामी बीआरआई फ्रेमवर्कभित्र चीनको अनुदान सहयोग स्वीकार गर्छौँ । कार्यान्वयन गर्न सकिने विषय अघि बढाउने समझदारी गर्ने हो,” डा. महतले भने, “यसमा प्रधानमन्त्री केपी शर्मा ओली सहमत हुनुभइसकेको छ । त्यसैले एमाले र हामीबीच असमझदारी छ भन्ने कुराकोे अब औचित्य छैन ।”

डा. महतका अनुसार, देशको अन्तर्राष्ट्रिय ऋणको स्थिति, चीनसँगका समझदारी कार्यान्वयन हेरेर सम्झौता अघि बढाउने विषयमा कांग्रेस स्पष्ट छ । एमालेलाई पनि स्पष्ट पार्ने र कार्यान्वयनको सम्झौता अघि बढाउनुपर्ने उसको धारणा छ ।

चीनले सन् २०१४ मा अघि सारेको महत्त्वाकांक्षी अन्तर्राष्ट्रिय परियोजना बीआरआईको ‘एमओयू’मा सन् २०१७ मा डा. महतले नै हस्ताक्षर गरेका थिए । हस्ताक्षरको सात वर्षसम्म पनि यो कार्यान्वयनमा आएको छैन । यसै पृष्ठभूमिमा चीनले प्रधानमन्त्री ओलीको आसन्न भ्रमणका क्रममा कार्यान्वयन योजना सम्झौतामा हस्ताक्षर गर्न १० पृष्ठ लामो प्रस्तावको मस्यौदा नेपाल सरकारलाई पठाएको छ ।

चीनको प्रस्तावमा कांग्रेसले जस्ताको तस्तै सहमति जनाउन नसकिने अडान लिएको छ । कांग्रेसले बीआरआई कोअपरेसन फ्रेमवर्क नाम दिएर नयाँ प्रस्ताव गर्ने सुझाव राखेपछि कूटनीतिक च्यानलबाट प्रधानमन्त्री ओलीले चीनको पनि सहमति लिएको बुझिएको छ ।

कांग्रेस महामन्त्री गगन थापा, एमाले उपमहासचिव तथा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल र प्रधानमन्त्रीका आर्थिक विज्ञ डा. युवराज खतिवडालाई सम्झौताका निम्ति प्रस्ताव तयार गर्ने कार्यदलमा राखिएको छ । त्यसबाहेक विज्ञको सुझाव लिएर कार्यान्वयन गर्न नेपालका तर्फबाट सम्झौताको प्रस्ताव तयार पारिनेछ । त्यसमा चिनियाँ पक्ष सहमत भएमा प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा बीआरआई कार्यान्वयनको सम्झौता हुनेछ ।

सम्झौताको खाका नभए पनि कार्यान्वयनमा नेपालको प्रस्ताव राख्ने गरी परराष्ट्रमन्त्री डा. आरजु रााणा बिहीबार चीन प्रस्थान गरिसकेकी छन् । छेन्दुमा हुने चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेटमा नेपालले चीनसँग राखेको अपेक्षा प्रस्ट पार्नेछिन् । यही मंसिर १७ गतेदेखि हुने प्रधानमन्त्री ओलीको पाँचदिने चीन भ्रमणको माहोल उनले तयार पार्नेछिन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१  १६:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro