काठमाडौं । वसन्तपुर हनुमानढोका दरबार क्षेत्रस्थित कृष्ण मन्दिर परिसरमा मल्लकालीन शिलालेख तोडफोड घटनाबारे प्रहरीको अनुसन्धान जारी छ । तोडफोड घटनाबारे सीसीटीभी हेर्दै अनुसन्धानमा गरिरहेको महानगरीय प्रहरी वृत्त जनसेवा न्युरोडका प्रहरी नायव उपरीक्षक दिलबहादुर मल्लले जानकारी दिए ।
उनकाअनुसार अनुसन्धान घटना नजिक पुगेको छ । ‘‘सीसीटीभी फुटेजमा तोडफोड गरिएको शिलालेखका टुक्रा खसालिएको देखिएको छ । उक्त टुक्राहरू राति १० बजेदेखि २ बजे बीचको समयमा फालिएको देखिएको छ । तर, शिलालेख रहेको ठाउँसम्म सीसीटीभीको निगरानी नरहेको हुँदा तोडफोड गर्ने मान्छे देखिएन,” उनले भने, ‘‘चोरी गर्ने उद्देश्य वा अन्य कुनै उद्देश्यले तोडफोड गरिएको भन्नेबारे खुल्न सकेको छैन ।”
सीसीटीभी फुटेजमा तोडफोड भएको क्षेत्रमा राति एक महिलाको मात्रै आवतजावत देखिएको उनले बताए । घटना अनुसन्धानकै क्रममा रहेकाले थप जानकारी खुलाउन नमिल्ने प्रहरीले जनाएको छ ।
शिलालेख तोडफोड घटनाको सत्यतथ्य छिटोभन्दा छिटो सार्वजनिक गर्न स्थानीय र सम्पदा संरक्षणकर्मीहरूले प्रहरीलाई दबाब दिइरहेका छन् ।
तोडफोड मात्रै कि चोरी प्रयास ?
दरबार हेरचाह अड्डाले गत १५ गते बिहान शिलालेख तोडफोड गरेको जानकारी पाएको थियो । त्यस लगत्तै पुरातत्व विभाग र न्युरोड प्रहरीलाई घटनाबारे जानकारी गराएको थियो ।
प्रहरीले हेरेको सीसीटीभी फुटेजमा बुधबार राति १० देखि २ बजेको समयमा शिलालेख तोडफोड गरिएको खुलाएको छ । दरबार क्षेत्रमा अत्याधिक भिड हुने भएकाले कसले शिलालेख चोर्न खोजेको वा तोडफोड गर्न खोजेको भन्ने विषयमा प्रहरी निष्कर्षमा पुग्न सकेको छैन ।
‘‘शिलालेखमा पूर्ण रूपमा क्षति नभएकाले पुन: जोड्न मिल्ने देखिएको छ । तोडफोड पछि शिलालेखको सबै टुक्राहरू संकलन गरेर सुरक्षित राखेका छौँ । जोड्नेबारे सरोकारवालासँग छलफल पनि भइसकेको छ । अब केही दिनमा शिलालेख जोड्ने काम सुरु गर्छौं,” खनालले भने ।
जोडिसकेपछि उक्त शिलालेखलाई सुरक्षित रूपमा सोही स्थानमा स्थापित गरिने खनालले बताए ।
शिलालेखमा के लेखिएको थियो ?
हनुमानढोका दरबार क्षेत्र हेरचाह अड्डाकाअनुसार तोडफोड शिलालेख ऐतिहासिक, पुरातात्विक र मल्लकालको हो । नेपाल संम्वत ७६९ विक्रम संम्वत १७०५ मा प्रताप मल्लद्वारा राखिएको शिलालेख हो । उक्त शिलालेख जम्मा ३६ ओटा पङ्तिमा लेखिएको थियो ।
आफ्ना दुईओटा रानी रुगमती र राजमतीको अचानक मृत्यु भएपछि शोकमा रहेका राजाले अष्ठाकोणाकार कृष्ण मन्दिर बनाउन लगाएका थिए । रुगमती बिहारबाट आएकी थिइन् भने राजमती कल्याण वंशकी थिइ्न । कृष्ण मन्दिर आठकुने छ जसलाई च्यासिङ देग पनि भनिन्छ ।
त्यसमा रुगमिणी सत्य भावना सहित कृष्णको मूर्ति स्थापना गरिएको थियो । सो मन्दिरको व्यवस्थापनको लागि विभिन्न गुठीहरू स्थापित गरिएको थियो । प्रताप मल्ल आफैँ सुर्यवंशी राजा थिए ।
उनको समयसम्म आउँदा कुन–कुन वंशावली आए भनि ३६ शिलालेखमा लेखिएको छ ।
राजा प्रताप मल्लले कृष्ण मन्दिर निर्माण गर्दा राखिएको शिलालेख हो । उक्त शिलालेखको तौल करिब १५० किलो रहेको छ ।