site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कसले तोडफोड गर्‍यो हनुमानढोकामा मल्लकालीन शिलालेख ? 

काठमाडौं । बिहीबार बसन्तपुरको हनुमानढोका दरबार क्षेत्रस्थित कृष्ण मन्दिर परिसरको मल्लकालीन शिलालेख तोडफोड गरिएको छ । 

अत्यधिक भिडभाड हुने दरबार क्षेत्र परिसरको शिलालेख तोडफोड भएको हो ।  दरबार क्षेत्र हेरचाह सुरक्षाको लागि विभिन्न सात निकायसहित सीसीटीभी क्यामेराको निगरानी रहेको छ । 

शिलालेख तोडफोड भएको थाहा पाएलगत्तै हनुमानढोका दरबार क्षेत्र हेरचाह अड्डाले महानगरीय प्रहरी बृत्त जनसेवा न्युरोड र पुरातत्व विभागलाई जानकारी गराएको थियो । तर अहिलेसम्म तोडफोड गर्ने समूहको पत्ता भने लाग्न सकेको छैन । 

विश्व सम्पदा सूचीमा सूचीकृत दरबार क्षेत्रमा निगरानीका लागि काठमाडौं महानगरपालिका हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रम, हनुमानढोका दरबार क्षेत्र हेरचाह अड्डा, महानगरीय प्रहरी बृत्त जनसेवा न्युरोड, गुठी संस्थान, पर्यटन प्रहरी, नगर प्रहरी, नेपाली सेनासहित सात निकाय रहेका छन् । 

सात–सात सरोकारवाला निकाय भए पनि पुरातात्विक शिलालेखको सुरक्षा नहुँदा तोडफोड भएको सम्पदा संरक्षणकर्मीहरुले बताएका छन् । सम्पदा संरक्षणकर्मी गणपतिलाल श्रेष्ठले सुरक्षा निकायको गैरजिम्मेवार प्रवृत्तिले निरन्तर पुराना ऐतिहासिक एवं पुरातात्विक सम्पदामाथि तोडफोड र चोरीका घटनाहरु बढिरहेको बताए ।  

‘‘यस क्षेत्रमा रहेका पुरातात्विक सम्पदाको सुरक्षा नहुँदा विश्व सम्पदाको अस्तित्व संकटमा छ । सम्पदा हेरचाह अड्डा, महानगर लगायत सरोकारवाला निकायबीच समन्वय छैन् । यो समस्या मुख्य जडको रुपमा खडा भएको छ,” उनले भने । 

हनुमानढोका हेरचाह अड्डाका कार्यकारी निर्देशक सन्दिप खनालले बिहीबार बिहान उक्त शिलालेख तोडफोड भएको बताए । 

‘‘कसले कुन उद्देश्यले शिलालेख तोडफोड गरेको भन्ने विषयमा अहिलेसम्म पत्ता लाग्न सकेको छैन । यस विषयमा प्रहरी र पुरातत्व विभागलाई पनि जानकारी गरेका छौँ,” उनले भने । 

कार्यकारी निर्देशक खनालका अनुसार शिलालेख तोडफोडबारे सीसीटीभी क्यामेरा हेर्ने काम भइरहेको छ । अड्डाले राखेको सीसीटीभीमा शिलालेख तोडफोडको दृश्य देखिएको छैन ।

‘‘काठमाडौं महानगरको सीसीटीभी पनि त्यहाँ छ । उक्त सीसीटीभी हेर्न महानगरमा रिपोर्ट गरिएको छ,” खनालले भने । 

शिलालेख वि.सं. १७०५ मा राखिएको हेरचाह अड्डाले जनाएको छ । खनालका अनुसार शिलालेखका टुक्राहरु जम्मा गरेर सुरक्षित राखिएको छ । टुक्रा जोडेर पहिलेजस्तै शिलालेख बनाउन विज्ञ टोलीसँग छलफल भइरहेको खनालले बताए । 

शिलालेख तोडफोड गर्नेलाई स्थानीय संम्पदा संरक्षणकर्मीहरुले कारबाहीको माग गरिरहेका छन् । विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदा क्षेत्रको मल्लकालीन शिलालेख तोडफोडबारे सम्बन्धित निकायले बेवास्ता गरिरहेको सम्पदा संरक्षणकर्मी यादवलाल कायस्थले सामाजिक सञ्जाल फेसबुकमार्फत लेखेका छन् । 

विश्व सम्पदा क्षेत्रका असाधारण सम्पदाहरु क्षति हुँदै आएको बताएका छन् । यस विषयमा जानकारी नआएको काठमाडौं महानगरपालिकाले जनाएको छ । 

शिलालेखबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी बृत्त जनसेवा न्युरोडले जनाएको छ । अड्डाको खबर आएपछि प्रहरीले अनुसन्धान गरिरहेको प्रहरी नायब उपरिक्षक दिलबहादुर मल्लले जानकारी दिए । ‘‘हनुमानढोका दरबार क्षेत्र हेरचाह अड्डाले हेरिरहेको छ । हामीले हाम्रो तर्फबाट अनुसन्धान गरिरहेका छौँ,” उनले भने । 

प्राचीन स्मारक संरक्षण ऐन २०१३ को दफा १२ (ग) मा कुनै पुरातात्विक वस्तुलाई नष्ट गरेमा, भत्काएमा, बिरूप पारेमा, चोरी गरेमा वा अनधिकृत रूपमा हटाएमा वा परिवर्तन गरेमा वा कुनै किसिमले हानिनोक्सानी गरेमा त्यस्तो पुरातात्विक वस्तुको बिगोबमोजिमको रकम असुलउपर गरी पाँच हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, पुस १६, २०७८  १६:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro