पोखरा । पर्यटकीय नगरी पोखरामा बिहीबारदेखि २३औँ सडक महोत्सव सुरु भएको छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर त्रिदिवसीय महोत्सवको आयोजना भइरहँदा सबैको ध्यान भने पोखरा र फेवातालको संरक्षण तथा विकासमा केन्द्रित हुने गर्दछ । बिहीबार ताल किनारको कोमागाने पार्कमा भएको औपचारिक उद्धाटन कार्यक्रममा बोल्ने वक्ताहरूले पनि पोखरा र फेवातालबारे समय खर्चिए ।
रेस्टुरेन्ट एन्ड बार एसोसियसन नेपाल (रेबान) पोखराले बेर्सेनि यो कार्यक्रम गर्दै आइरहेको छ । पछिल्ला दुई वर्षयता कोरानाले सबैभन्दा प्रभावित पर्यटन क्षेत्र बन्यो । उपस्थित सरोकारवालाले पोखरेली पर्यटनको सर्भाइभबारे विभिन्न प्रतिबद्धता व्यक्त गरे ।
गृहमन्त्री बालकृष्ण खाँडलाई रेबानले प्रमुख वक्ताको रूपमा निम्त्याएको थियो । त्यही कार्यक्रम उद्धाटनमा आएका गृहमन्त्री खाँडले प्रदेशमा रहेका आफ्नै सरकारले राखेको मागबारे भने एक शब्द पनि बोलेनन् ।
त्यो विषय थियो– पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने सिफारिस गर्ने प्रदेश सरकारको निर्णय ।
खाँणभन्दा अगाडि बोलेको गण्डकीका पर्यटनमन्त्री मणिभद्र शर्माले गण्डकी सरकारले पोखरालाई पर्यटकीय राजधानी बनाउन केन्द्र सरकारसँग माग गर्ने निर्णय प्रदेश सरकारले गरेको भनेर सम्झाएका पनि थिए ।
तर, फेवाताल, पोखरामा रात्री व्यवसाय चलाउने, त्यसको सुरक्षा लगायतको विषयमा बोलेका गृहमन्त्री खाँडले आफ्नै पार्टीका प्रदेशमन्त्रीले बोलेको कुरा भने सम्बोधन गरेनन् ।
गत १ गते गण्डकी सरकारले दोस्रोपटक गण्डकी सरकारले पोखरालाई ‘पर्यटकीय राजधानी’ बनाउन भन्दै संघ सरकारलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।
यसअघि नै गण्डकीमा तत्कालीन नेकपा सरकार हुँदा पृथ्वी सुब्बा गुरुङ क्याबिनेटले पनि सोही निर्णय गरेको थियो । तर, प्रदेशले पठाएका सिफारिस र मागपत्रबारे संघ सरकारले बेवास्ता गर्ने गरेको छ ।
गुरुङ सरकारले त स्थापनाको दुई वर्ष पुगेको अवसरमा पुस्तक प्रकाशन गरी ‘प्राकृतिक रूपले सुन्दर र सांस्कृतिक विविधताले सम्पन्न गण्डकी प्रदेशको राजधानी पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्न नेपाल सरकारमा सिफारिस गरिएको’ भनेर उपलब्धिमासमेत राखेको थियो ।
बेलाबखतमा सार्वजनिक कार्यक्रममा पनि गुरुङले पोखरा पर्यटनको राजधानी बन्नुपर्ने कुरा उठाइरहेकै थिए । तर, उक्त उपलब्धि संघ सरकारले वास्तै गरेन । केन्द्रमा पनि नेकपाकै सरकार हुँदा गरिएको उक्त सिफारिस कार्यान्वयन गरिएन । हालको नेपाली कांग्रेस नेतृत्वको गठबन्धन सरकारले पनि सोही सिफारिस केन्द्र सरकारलाई गरेको हो ।
गण्डकी सरकारले महत्वपूर्ण भनेर सुनाएको यो निर्णयको प्रतिक्रिया केन्द्रले दिन्छ कि दिँदैन हेर्न बाँकी नै छ ।
सोही अवसरमा पर्यटकीय नगरी पोखरामा नै आयोजना गरिएको कार्यक्रम र केन्द्रमा पनि आफ्नै सरकार भएको हुँदा गण्डकीका पर्यटनमन्त्री शर्माले फेरि उक्त माग स्मरण गराएका थिए ।
तर, गृहमन्त्री खाँण भने त्यसबारे एक शब्द पनि खर्चिएनन् ।
फेवाताल संरक्षणमा ओलीलाई व्यंग्य
फेवाताल संरक्षणको लागि भनेर सरकारले विभिन्न समयमा कार्यदल गठन गरेर प्रतिवेदन बनाएको छ । तर, सरकार आफैँले ती प्रतिवेदनको कार्यान्वयन भने गरेको छैन । पोखरामा नेताहरूले सबैभन्दा बढी सार्वजनिक खपतका लागि फेवातालको नाम लिन्छन् । तर, त्यसको कार्यान्वयन भने सुरु पनि हुन सकेको छैन ।
रेबानको कार्यक्रममा पनि मञ्चासिन सबैले फेवाताल संरक्षणको कुरा उठाउन बिर्सिएनन् ।
गृहमन्त्री खाँणले त पूर्व प्रधानमन्त्री ओलीमाथि नै व्यंग्य कस्न भ्याए । यसबाहेक उनले अहिले फेवातालको संरक्षणको कुरा उठाउनेहरू नै कार्यान्वयन गर्न नदिनका लागि खासखुसमा लाग्ने भन्दै त्यसो नगर्न आग्रह समेत गरे ।
“प्रतिवेदनहरू कार्यान्वयन गर्ने प्रतिवद्धता गरोस् भन्नुभएको छ । सरकार ताल संरक्षणमा प्रतिवद्ध छ, प्रतिवेदन कार्यान्वयन गर्ने सम्बन्धमा मञ्चमा आएर बोल्नेहरूले साथ दिनुहोस् । कार्यान्वयन गर्ने भन्ने तर खुसुखुसु यस्तो हुन्छ भन्ने थाहा थिएन भन्ने हैन । कार्यान्वयन गर भन्नुभयो भने फर्केर प्रारम्भ गर्छु । तर, ठूला नेता आउने, मलाई कुन होटलमा राख्नुभएको छ थाहा छैन ठूला नेतालाई ल्याउने, प्रतिवेदनभित्र, फेवातालको सिमाङ्कनभित्रै भएको होटलमै राखिदिने, नेतालाई भाषण गर्न लगाउने, ठूला नेताले उद्घाटन–समुद्घाटन पूर्व नै नेता हिँडे पनि भित्तामा प्लेट राखिदिने । फलानाद्वारा समुद्घाटन भनेर । २ वर्ष अगाडि पत्रिका पढेको है । आधिकारिक हैन । पत्रकारलाई थाहा होला । पोजिसनमा हुँदा एउटा र पोजिसनमा नहुँदा अर्को बोले गाह्रो हुन्छ । बोलेको कुरा रेकर्डमा राखिदिनुहोला,” उनले भने ।
खाँणले पत्रपत्रिकामा पढेको भनेतापनि उक्त व्यंग्य एमाले अध्यक्ष ओलीलक्षित थियो । त्यसबेला प्रधानमन्त्री रहेका ओली २०७६ जेठमा पोखरामा मापदण्ड मिचेर बनाइएको स्विस इन्टरनेसनल सरोवर होटेलको उद्धाटनमा आएका थिए । तर, विरोधपछि ओलीले उद्धाटन नगरेपनि होटलको भित्तामा ओलीद्वारा उद्घाटित भन्ने प्लेट टाँसिएको थियो ।
पछाडिको ढोकाबाट निस्कनु नपरोस्
गृहमन्त्री खाँणले पोखराका होटल रेस्टुराँहरू २४ सै घण्टा खुलोस् भन्ने आफ्नो चाहना भएको पनि बताए । काठमाडौंमा दरबारमार्गस्थित एक रेस्टुरेन्टको घटना स्मरण गर्दै उनले भने, “जाने बेलामा अगाडिको ढोकाबाट गएका थियौँ, निस्किने बेलामा त पछाडिको ढोकाबाट निस्कनुपर्यो, झण्डै हिलामा जुत्ता डुबेन ।”
पोखरामा प्रहरीले नै रात्रीकालीन व्यवसाय बन्द गराउँदै हिँड्ने हुँदा उनले होटल र रे रेस्टुराँलाई २४ सै घण्टा खोल्ने वातावरण बनाउन प्रशासनलाई निर्देशन पनि दिए । होटल र रेस्टुराँले शान्ति सुरक्षामा खलल पुर्याउन नहुने उनको भनाइ थियो ।
तर, रात्रीकालीन रूपमा सञ्चालन हुने होटेल र रेस्टुराँहरू करको दायरामा आएको हुनुपर्ने उनले बताए ।
सडक महोत्सव सुरु
पोखरामा आजबाट सडक महोत्सव सुरु भएको छ । पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडको ३ किलोमिटर क्षेत्रलाई लक्षित गरी महोत्सव सुरु भएको हो ।
“सडकमै खाऊँ, सडकमै रमाऔँ” भन्ने नारासहित रेस्टुरेन्ट एन्ड बार एसोसियसन (रेबान) पोखराले महोत्सवको आयोजना गरेको हो । यो महोत्सवको २३औँ संस्करण हो । महोत्सव ३ दिनसम्म चल्नेछ ।
पोखरालाई अंग्रेजी नयाँ वर्षको गन्तव्य बनाउने उद्देश्यले महोत्सव आयोजना गरिएको संयोजक तथा रेबानका प्रथम उपाध्यक्ष नरेश भट्टराईले बताए । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको त्रासका कारण ५ दिने महोत्सवलाई ३ दिनमा झारिएको र स्वास्थ्य मापदण्ड अपनाएरै महोत्सव आयोजना गरिन लागेको उनले बताए ।
उनका अनुसार महोत्सवको बेला अवलोकनकर्तालाई कोभिडको खोप पनि दिइने छ । करिब ५ सय जनाजतिलाई जोन्सन एन्ड जोन्सनको खोप दिने प्रबन्ध मिलाइएको उनले बताए ।
महोत्सवको अवसरमा प्याराग्लाइडिङदेखि होटलको कोठा र खानासम्म नै छुट दिइएको छ । महोत्सवको क्रममा लेकसाइड क्षेत्रका ठूला होटलहरू सबै बुकिङ भइसकेका छन् ।