काठमाडौं । गत जेठ २५ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै भन्यो कोभिड १९ विरुद्धको खोप भण्डारणका लागि देशभर आठवटा खोप भण्डारण गृह तयार भएका छन् ।
खोप भण्डार गर्न सबै खालका पूर्वाधारसहित भण्डारण गृह तयार गरिएको छ । सहरी विकास मन्त्रालय, सहरी विकास तथा भवन निर्माण विभागले कोभिड १९ विरुद्धको खोप शीघ्र उपलब्ध गराउन भण्डारण गृह तयार गरिएको मन्त्रालयले जानकारी दियो ।
तर नयाँ बनेका कोल्डचेनमा सबै प्राविधिक तयारी पूरा भयो त ? तीमध्ये कति कोल्डचेन सुचारु भए त ? अनि केन्द्रमा रहेका जनशक्ति र उपकरणले कसरी धान्दैछ त यसबारे मन्त्रालयले उति ध्यान दिएको नदेखिएको स्वास्थ्य मन्त्रालयकै एक अधिकारी बताउँछन् ।
नेपालमा अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य सेवा विभाग टेकु र बाराको पथलैयामा मुख्य भण्डारण केन्द्रहरु रहेका छन् । यिनमा अन्य नियिमत खोप तथा औषधि भण्डारण गर्ने गरिन्छ ।
यीबाहेक कोभिड १९ का दुईवटा लहरमा सरकारले भण्डारण केन्द्रीय खोप भण्डारण गृह बाराको पथलैयामा, प्रदेश १ को विराटनगर, प्रदेश २ को जनकपुरधामस्थित मुजेलिया, वाग्मती प्रदेशको हेटौँडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवलस्थित तामनगर, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिमको धनगढीमा कोल्डचेन थप गरेको थियो ।
एउटा केन्द्रको एक करोड २० लाख रुपियाँ लागत पर्ने गरी कुल नौ करोड ६० लाख रुपियाँमा कोल्डचेन थप गरिएको थियो ।
सम्बन्धित प्रदेशहरूका लागि आवश्यक खोप प्रदेशअन्तर्गतको भण्डारण गृहमा राखिने तथा बाँकी खोप केन्द्रीय भण्डारण गृहमा राख्ने सरकारको योजना थियो ।
हरेक खोप केन्द्रमा बाहिरी फ्रेमका रूपमा तीनवटा कम्पार्टमेन्ट निर्माण गरी ‘वाचिङ कुलर’ राख्ने समेत योजनाले ती कोल्डचेन बनाइएका थिए ।
तर कतिपय कोल्डचेनमा अझैसम्म पनि ती सबै उपकरण जडान हुन नसक्दा कोल्डचेन सुचारु भएका छैनन् ।
टेकुपछिको ठूलो भण्डारण केन्द्रको रुपमा रहेको बाराको पथलैयाको भण्डारण केन्द्रमा तीनवटामध्ये एउटा वाचिङ कुलर जडान गर्न बाँकी नै छ ।
प्रदेश २ का आठ जिल्लामा खोप सप्लाइ गर्ने केन्द्रमा प्रदेशकै एउटा रेफ्रिजेरेटर भ्यान छ । कोभिड १९ को खोप कार्यक्रम सुरु भएपछि प्रदेश सरकार आफैंले भ्यान खरिद गरी जिल्लाहरुमा खोप पठाइरहेको केल्डचेन अधिकृत लालबहादुर ठाकुर बताउँछन् ।
यता स्वास्थ्य सेवाको पहुँचमा यसैपनि पछाडि परेको कर्णाली प्रदेशमा अहिले पनि आफ्नै कोल्डचेन सञ्चालनमा छैन । लुम्बिनी प्रदेशको आपूर्ति व्यवस्थापन केन्द्रबाट कर्णालीका १० जिल्लामा खोप पठाइँदै आएको छ ।
भर्खरै बनेको नयाँ केल्डचेनमा उपकरण जडानको काम भइरहेको तर सञ्चालनमा भने आइनसकेको कोल्डचेन अधिर्कत देवीराम पौडेल बताउँछन् ।
“कोभिड १९ विरुद्धको खोप कार्यक्रम सुरु गर्दा जिल्लाहरुमा खोप पुर्याउन निकै कठिन भयो, पहाडी जिल्ला एउटा मात्रै रेफ्रीजेरेटर भ्यान हामीलाई खोप सप्लाइमा निकै हम्मे हम्मे पर्यो, पछि जिल्लाका साथीहरुले राम्रोसँग व्यवस्थापन गर्नुभयो,” पौडेल भन्छन् ।
कोभिड १९ को खोप भण्डारणकै लागि लुम्बिनी प्रदेशमा निर्माण गरिएको नयाँ कोल्डचेन पनि अहिलेसम्म सञ्चालनमा आएको छैन । कोल्डचेन निर्माणको काम सकिए पनि प्राविधिक तयारी नसकिएका कारण कोल्डचेन सञ्चालनमा नआएको हो ।
“अहिले हामीलाई पूर्ण सञ्चालन गर्न बजेट अपुग भएको छ झन्डै ८ लाख रुपैयाँ अपुग भएपछि थप बजेट बजेट माग गरेका छौं छिट्टै बजेट आउला र पूर्ण सञ्चालन गरौंला भन्ने तयारीमा छौं,” कोल्डचेन फोकल पर्सन हरि आचार्य भन्छन् ।
यता केन्द्रीय कोल्डचेन टेकुमा भने कोभिड १९ विरुद्धको खोप पर्याप्त आए पनि व्यवस्थापनमा कठिनाइ भएको छ ।
यसअघि रहेका २ वटा नियमित कोल्डचेनसहित नयाँ बनेको औषधि भण्डारण कक्षलाई पनि कोल्डचेनकै रुपमा प्रयोग गरिएको छ । सरकारसँग अहिले एक करोड ३० लाखभन्दा बढी डोज कोभिड १९ विरुद्धको खोप भण्डारणमा छ ।
तर माइनस ८० डिग्रीमा राख्नुपर्ने फाइजरजस्ता खोप भण्डारणका लागि अहिले पनि टेकुमा पर्याप्त उपकरण छैनन् ।
अहिलेलाई एक पटकमा कति फाइजर खोप ल्याएर भण्डारण गर्न सकिन्छ त ? बाह्रखरीको प्रश्नमा आपूर्ति व्यवस्थापन शाखाका फार्मेसी अधिकृत बडेबाबु थापा भन्छन्, “अहिले त हामीले साढे ६ लाख डोज भण्डारणका लागि मात्रै तयारी गरेका छौं थप खोप भण्डारणको तयारी फेरि गर्नेछौं । हामीलाई अहिले जनशक्ति व्यवस्थापनमा पनि समस्या छ । खोप दिनको एक लट आएमा हामी सजिलै व्यवस्थापन गर्नसक्छौं तर एकैदिन ठूलो परिमाणमा खोप आउँदा शाखाका सीमित कर्मचारीले त्यो खोप व्यवस्थापन गर्न भ्याइनभ्याइ हुन्छ, खोप विमानस्थमा र टेकुसम्म ल्याउने भण्डारण गर्ने गर्न दुइदेखि चार घण्टासम्म लाग्छ त्यसैले एकैदिन ठूलो परिमाणमा ल्याउन गाह्रो छ ।”
नेपालले कोभिड १९ का दुईवटा लहर पार गरिसकेको छ, कोभिड १९ विरुद्धको खोप लगाउन सुरु गरेको पनि एक वर्ष पूरा हुनै लागिसकेको छ । यो बीचमा उपचार सेवामा धेरै लगानी गरिएको छ र सरकारले त्यसैलाई उपलब्धिको रुपमा बेला बेलामा सार्वजनिक पनि गर्दै आएको छ ।
तर एक वर्षसम्म पनि खोप व्यवस्थापनमा नै बलियो नुहनु सरकारको लापरबाही भएको सरोकरावालाहरु टिप्पणी गर्छन् ।