
काठमाडौं । वर्ष २०७८ मा आज पहिलोपटक नेपालमा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या शून्यमा झरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा कोभिड–१९ संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन । मृत्यु हुनेको संख्या शून्य भएको यो आठ महिनायताकै पहिलो रेकर्ड हो ।
पछिल्लो समय २०७८ चैत ४ गते नेपालमा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या शून्य भएको थियो ।
यस्तो छ चैतयताको तथ्याङ्क
नेपालले २०७६ चैतयता कोभिड–१९ का दुईवटा लहर पार गर्यो । पहिलो लहर समुदायमा फैलिँदै गर्दा नेपालमा पहिलोपटक कोभिड–१९ संक्रमणका कारण ०७७ जेठ ३ गते सिन्धुपाल्चोककी एक सुत्केरी महिलाको मृत्यु भएको थियो । त्यसयता जेठदेखि भदौ अन्तिमसम्म दैनिकजसो १ देखि ३ जनाको नियमित मृत्यु भइरहेको थियो ।
पहिलो लहरमा नेपालमा संक्रमित हुनेको तुलनामा मृत्यु हुनेको संख्या कम थियो । ०७७ माघ २ सम्म नेपालमा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या २ हजार ४७ पुगेको थियो भने ०७७ फगुन २९ गते ३ हजार १४ पुगेको थियो ।
फागुनको अन्तिम साता दैनिक मृत्यु हुनेको संख्या लगातार शून्य हुँदा चैत ५ गतेबाट यो संख्या पुन: बढ्न थाल्यो । नेपालमा ०७८ चैतबाट कोभिड–१९ को संक्रमण बढेसँगै दोस्रो लहर सुरु भएको थियो ।
यसरी पछिल्लोपपटक चैत ४ गते शून्य मृत्यु रेकर्ड भएको थियो भने त्यसपछि आज मात्रै यो रेकर्ड तोडिएको हो । अर्थात् २०७८ सालमा कोभिड–१९ का कारण कसैको मृत्यु नभएको आज नै पहिलो दिन हो । ०७८ चैत ३० गते एकैदिन १३ जनाको मृत्यु रेकर्ड भएको थियो भने मृतकको संख्या चैतभरमै ३ हजार ५८ पुगेको थियो ।
वैशाख र जेठमा सबैभन्दा धेरैको मृत्यु
नेपालमा कोभिड–१९ संक्रमणका कारण २०७८ वैशाख र जेठमा सबैभन्दा बढी नागरिकले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क छ । वैशाख र जेठमा मात्रै नेपालमा कोभिड संक्रमणबाट ५ हजार ४०७ जनाको मृत्यु भएको थियो । स्वास्थ्य तथा जनसंख्या तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेल यो अवधिलाई नेपलमा कोभिड महामारीको कठिन तथा चुनौतिपूर्ण अवस्थाको रूपमा सम्झिन्छन् ।
मन्त्रालयको तथ्याङ्कअनुसार वैशाखभर १ हजार ६११ जनाको मृत्यु भएको थियो । मन्त्रालयको तथ्याङ्क हेर्दा जेठ ५ गते २४६ जनाको मृत्यु पुष्टि भएको थियो । यो कोभिड महामारीका दुईवटा लहरकै सबैभन्दा उच्च मृत्युको संख्या हो ।
जेठ महिनाभर ३ हजार ७९६ जनाको मृत्यु भएको थियो । त्यस्तै असारमा दैनिक मृत्यु हुनेको संख्या घटेर १५ सम्म पुग्यो तर शून्य भने हुन सकेन । असारभर कोभिड संक्रमणबाट ९९८ जनाले ज्यान गुमाएका थिए । साउन महिनामा मृत्यु हुनेको संख्या केही घट्यो तर साउनमा नै नेपालमा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या १० हजार कटेको थियो । साउनभर ८६४ जनाको मृत्यु भएर मृतकको संख्या १० हजार ३२७ पुग्यो । ०७८ भदौमा नेपालमा कोभिड–१९ को संक्रमण घटेर दैनिक ७ सम्म पुगेको थियो । तर, संक्रमणको तुलनामा कम भएन ।
भदौ महिनामा दैनिक दुई हजार ४ सय संक्रमित हुँदापनि ४४ जनासम्मको मृत्यु भएको थियो । भदौमा ६७५ जनाको मृत्यु भएसँगै नेपालमा ०७८ भदौ अन्तिमसम्म कोभिड–१९ संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २ पुग्यो । असोजयता नेपालमा संक्रमण दर र मृत्यु हुनेको संख्या ओरालो लागेको थियो । असोजमा २८२ जना मात्रै मृतक थपिएका थिए । त्यस्तै कात्तिकमा १९८ जनाको मृत्यु भएको रेकर्ड छ ।
यस्तै मंसिरका १६ दिनमा ५३ जना थपिएसँगै नेपालमा मंसिर १६ गतेसम्म कोभिड–१९ संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५३५ पुगेको छ भने संक्रमित हुनेको संख्या ८ लाख २२ हजार १७२ पुगेको छ । अहिले देशभर ६ हजार ९२१ जना रहेका छन् जसमध्ये ६ हजार ५७९ जना होम आइसोलेसनमा, ३४२ जना संस्थागत आइसोलेसन, १०७ जना आईसीयू तथा ३४ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रायको तथ्याङ्क छ ।
मृत्यु हुनेमा ५० वर्षमाथिका बढी
नेपालमा कोभिड–१९ का दुईवटा लहरमा सबैभन्दा बढी ५० वर्षमाथिका नागरिकले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कले देखाएको छ । मन्त्रालयकाअनुसार हालसम्म मृत्यु हुनेमा ५० देखि ६९ वर्षसम्मका नागरिक २ हजार ४२० जना, ७० देखि ७९ वर्षका २ हजार २८४ जना, ५० देखि ५९ वर्षका २ हजार २३२ जना, ४० देखि ४९ उमेरका १ हजार ६३२ जना, ८० देखि ८९ वर्षका १ हजार ५४८ जना, ३० देखि ३९ उमेरका ९३९ जना, २० देखि २९ वर्षका ३६१ जना, १० देखि १९ वर्षका ५७ जना, ९ वर्षमुनिका ४९ जना र उमेर नखुलेका १३ जना रहेका छन् ।
संरचनाले नधान्दा बचाउनसक्ने संक्रमित पनि गुमे
नेपालमा कोभिड–१९ को दोस्रो लहर उच्च भएको बेला दैनिक डेढसय जनासम्मको मृत्यु हुनसक्ने प्रक्षेपण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको थियो । तर, संक्रमण उच्च भएको बेला अस्पताल भर्ना हुनेको संख्या अस्पतालहरूमा अति उच्च हुँदा अक्सिजनकै अभावमा धेरै संक्रमितको मृत्यु भएको थियो ।
वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. अनुप सुवेदी नेपालको स्वास्थ्य संरचनाले धान्न नसक्दा अक्सिजन मात्रै दिएर बाँच्ने कोभिड–१९ संक्रमितहरूलाई पनि गुमाउनु परेको बताउँछन् । मृत्युदर १ भन्दा कम देखिए पनि बचाउन सकिने संक्रमितहरूको पनि मृत्यु भएकाले यो अनुपात संक्रमणको तुलनामा बढी नै भएको डा. सुवेदीको तर्क छ ।
नेपालमा ०७८ माघदेखि कोभिड–१९ विरुद्धको खोप लगाउन सुरु गरिएको थियो । तर, सुरुवाती चरणमा खोप अपर्याप्त भएकाले संक्रमणले उच्च रूप लिएको थियो । पछिल्लो समय कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै संक्रमण धेरै देखिएका नौ मुलुकबाट नेपाल प्रवेशमा सरकारले रोक लगाइसकेको छ । साथै दैनिक कम्तीमा २ लाख जनालाई कोभिड–१९ विरुद्धको खोप दिइने पनि मन्त्रालयले जनाएको छ ।