काठमाडौं । ‘कालो चस्मा आँखैमा मेरो...’, ‘चट्ट रुमाल...’, ‘अच्छा लेकिन लन्डनको...’, ‘बाँझो खेतमा...’, ‘हामीलाई पनि मायाले हेर...’ बोलका गीत धेरै नेपालीले सुनेका छन् । यी चर्चित गीतका सर्जक हुन् शम्भुजीत बासकोटा । जसले करिब ३६० चलचित्र र तीन हजार गीतमा संगीत भरिसकेका छन् ।
‘हिट मेसिन’लगायत उपमा पाएका बासकोटाको एउटा गीत यति बेला टिकटकमा निकै चर्चित छ । ‘हिरो’ चलचित्रमा रहेको उनले स्वर र संगीत भरेको ‘घट्ट जस्तै फनफनी...’ शीर्षकको गीत । जसमा फिमेल भर्सजनमा दीपा झाले गाएको एक टुक्रा ‘पापी लर्के जोवनले कहिले हँसायो, कहिले रुवायो’ लाइन टिकटकमा ‘भाइरल’ भइरहेको छ ।
आफ्नो गीतले दुई दशकपछि एक्कासि अहिलेको पुस्ताका स्रोता–दर्शकलाई पनि प्रभावित पार्न सफल बनेकोमा संगीतकार बासकोटा खुसी छन् । यद्यपि अहिलेको चर्चित एप टिकटकप्रति भने उनी त्यति धेरै सकारात्मक छैनन् । “आफूले सिर्जना गरेका कामले फेरि पनि एक्कासि जनमानसमा माइलेज पाउँदा स्रष्टालाई खुसी लाग्नु स्वाभाविक नै हो । खुसी नै छु । यद्यपि, अहिले टिकटकमा जति विकृतिहरू फैलिएका छन्, म त्यसको विरोधी हुँ ।”
बासकोटा टिकटकमा छैनन्, तर साथीभाइ र चिनेकाहरूबाट यसबारे जानकारी पाइराख्छन् । योसँगै ‘हामीलाई पनि मायाले हेर पार्वती’, ‘मेरी प्यारी हाई डार्लिङ कमला’, ‘रातो टीका निधारमा’लगायत थुप्रै गीतहरू टिकटक प्रयोगकर्तामाझ ‘भाइरल’ भइसकेका छन् । तर, उनी यो ‘भाइरल’ शब्द त्यति रुचाउँदैनन् । टिकटकमा आएर केही दिन ‘भाइरल’ हुनुभन्दा पनि मौलिक र राम्रो संगीत सिर्जना गर्नेतर्फ नयाँ सर्जकहरू लाग्नुपर्नेमा उनी जोड दिन्छन् ।
सर्जकलाई मात्रै होइन, उनी टिकटक प्रयोगकर्तालाई पनि राम्रो गीत–संगीतलाई प्राथमिकता दिएर भद्दापनमा नलाग्न आग्रह गर्छन् ।
संगीतकार बासकोटाले त्यो समयमा सांगीतिक करिअर सुरुवात गरे, जुन समय गीत रेकर्ड गराउन रेडियो नेपाल मात्रै थियो । तर, अहिले छ्यापछ्याप्ती रेकर्डिङ स्टुडियोहरू सञ्चालनमा छन् । “वर्षको एकपटक मात्रै मौका पाइन्थ्यो । त्यसैले हामी आफ्नो अभ्यास र साधनामा लगनका साथ अघि बढ्थ्यौँ । अर्को वर्ष कुर्न नपरोस् भनेर आफूलाई निखारेर जान्थ्यौँ । तर, अहिले त्यस्तो छैन । सजिलै आज नभए भोलि अनि भोलि नभए पर्सि रेकर्ड गराउन सक्छन् । तयारी अनि निखारता जाँच्ने पनि कोही छैन,” उनी भन्छन् ।
वर्षमा एकपटक मात्रै पाइने मौका त्यसमाथि कहिलेकाहीँ स्वास्थ्य समस्याका कारण राम्रो प्रतिभा भएर पनि स्वर परीक्षामा ‘फेल’ भएको देखेर उनले ती प्रतिभाहरूका लागि भनेरै नेपाल टेलिभिजनमा प्रतिभाको डबली नामका रियालिटी शो सुरु गरेका थिए । रियालिटी शो मात्रै होइन, उनलाई पहिलो म्युजिक भिडियो निर्माण र प्यारोडीका सर्जकको श्रेय पनि दिइन्छ ।
कुनै बेला आफ्नै रियालिटी शो सञ्चालन गरेको श्रेय पाएका बासकोटा अहिले फेन्च्राइजी शो नेपाल आइडल सिजन–४ को जजको रूपमा आबद्ध छन् ।
लोकभाका मिल्दा चोरी भन्ने/नभन्ने ?
लोकभाका नै भए पनि नेपालमा फरक–फरक जाति, भाषाका लोकभाका छन् । “यी लोकभाकाहरू पहिला कसैले सिर्जना गरे । तर, पछिल्लो पुस्ताका सर्जकहरू पनि यही देशका भाका सुनेर हुर्किएका हुन् । त्यसैले उनीहरूमा पनि त्यो भाका सिर्जना गर्ने क्षमता हुन्छ । एउटै परिवेशमा हुर्किने भएकाले त्यो भाका मिल्न जानु स्वाभाविक हो,” संगीतकार बासकोटा भन्छन् ।
उनले लोकभाकाको लय मिल्नुलाई चोरी भन्न नहुने बताए । तर, अरूले सिर्जना गरिसकेका संगीतलाई शब्दहरू परिवर्तन गरेर वा धुनलाई जस्ताको त्यस्तै प्रयोग गर्नुलाई भने चोरी नै भन्न सकिने उनको धारणा छ । लय मिल्नुलाई भने प्रभाव भन्नुपर्नेमा उनले जोड दिए ।
आफ्नो सिर्जना चोरी भएका छन् कि छैनन् भन्ने जिज्ञासामा उनी भन्छन्, “म कहिलेकाहीँ मेरो गीत आयो कि भनेर झुक्किन्छु । तर, नाम अर्कैको हुन्छ । लय लिँदासम्म त केही भनेको छैन, तर धेरैपटक झसंग हुँदा कति सताउँछौ जस्तो लाग्छ । आजसम्म त ठिकै छ भनेर बसेको छु, तर कुनै दिन साह्रै गाह्रो पर्यो भनेचाहिँ केही गर्नुपर्ला ।”
रोयल्टी
परिश्रम गरेर तयार पारेका सिर्जनाहरूको रोयल्टी पाउनुपर्ने उनको माग छ । तर, यसको माग गर्दागर्दै थाकिसकेको उनी बताउँछन् । उनीनिकटहरूले जिस्काउँदै उनलाई भन्छन्, ‘तपाईंका सिर्जनाहरूको रोयल्टी आए त हेलिकोप्टर नै चढ्नुहुन्छ ।”
उनी भन्छन्, “दशकौँ भइसक्यो यसका लागि लडिरहँदा म थाकिसकेँ । सही व्यक्ति ठाउँमा भयो भने मात्रै यो सम्भव होला । रोयल्टीको आशा गर्दागर्दै कति स्रष्टाहरूले धर्ती छोडेर गइसक्नुभयो । हाम्रो पनि त्यही हालत हुने हो कि !,” उनले निराशा पोखे ।
रोयल्टीको कुरालाई उनी हिउँदमासको हिउँको संज्ञा दिँदै भन्छन्, “हाम्रो दामनमा लाग्ने हिउँजस्तै भइसक्यो । गर्मीमा हुँदैन । हिउँद आएसँगै सुरु हुन्छ । फेरि गर्मी लाग्छ पग्लेर केही छैन । यो त सगरमाथाको हिउँजस्तो बाह्रैमास हुनुपर्छ ।”
चलचित्र र विज्ञापनको आधिकारिक संस्था अर्थात् बोर्ड भएजस्तो संगीत विकास बोर्ड पनि हुुनुपर्ने आवश्यकता उनले महसुस गरेका छन् । बोर्डको स्थापना भयो भने मात्रै रोयल्टी, पाइरेसीलगायत विषयमा भइरहेका समस्याको समाधान हुने उनको धारणा छ । उनले संगीत मात्रै भरेका छैनन्, थुप्रै गीत लेखेका र गाएका पनि छन् ।
अहिलेका संगीतकारलाई सुविधा
अहिलेका संगीतकारले प्राविधिक रूपमा धेरै सुविधाहरू पाउन थालेको उनी बताउँछन् । नेपाली संगीत केही समय अलमलिए पनि पुनः संगीतकारहरू आफ्नै मौलिकतामा फर्केको महसुस बासकोटाले गरेका छन् ।
रातभर रेकर्डिङ गरेका दिनदेखि, ट्रेनमा मुम्बई जाने, दिन होस् वा रात लगनका साथ साधना गरेर सांगीतिक करिअरमा अघि बढेको पनि पाँच दशक पार भइसकेको छ ।
थुप्रै गायक र गायिकासँग सहकार्य गरिसकेका उनले देविका वन्दनालाई धेरै मौका दिनुभयो नि भन्ने प्रश्नको जवाफमा शम्भुजीत भन्छन्, “मैले कसैलाई मौका दिने होइन, आफ्नै प्रतिभाले पाउने हो । हो, देविकाको आवाज धेरै मिल्ने भएकाले त्यस्तो लागेको होला ।”
फ्युजन : टाइमपास संगीत
पछिल्लो समय केही संगीतकारहरूले फ्युजनका नाममा लोकपप र आधुनिक लयलाई मिसाएर नेपाली संगीत नै बिगारिरहेको भन्ने टिप्पणीप्रति उनी सहमति जनाउँछन् ।
यसलाई ‘टाइमपास’ संगीतको नाम दिँदै उनी भन्छन्, “त्यो टाइमपास संगीत हो । उहाँहरूले प्रयोग गर्नुभएको हो । गर्न मिल्दैन भन्न सकिन्न । तर, त्यस्तो संगीतलाई माइलेज कति दिने भन्ने कुरा नेपाली जनतामा निर्भर छ ।”
उनी थप्छन्, “यथार्थमा भन्दा केही समय रमाइलो होला, तर त्यसले नेपाली संगीत विकासका लागि कुनै पनि योगदान दिँदैन ।”
संघर्षका दिन
“धेरै आलोचना, अप्ठ्यारा दिन, समस्या अनि खुट्टा तान्नेहरूसँग लडेर आज यहाँसम्म आएको छु । तर, म जस्तो परिस्थितिमा पनि आफ्नो मुडलाई अन राख्ने व्यक्ति हुँ,” उनी भन्छन् ।
आफ्ना संघर्षका दिनहरूका तीनवटा किताब लेख्ने योजना रहेको उनले सुनाए । नेपालमा र मुम्बईको संघर्ष अनि सांगीतिक करिअरका मित्रतालाई लिएर तीनवटा किताब लेख्ने योजना बुनेका छन् ।
सुनिधी चौहान, कुमार सानु, सोनु निगम, उदितनारायण झालगायत थुप्रै सर्जकसँग पनि सहकार्य गरेका उनको भारतमा आउजाउ धेरै हुन्थ्यो । किनभने, त्यो समयमा गीत रेकर्डिङका लागि गन्तव्य भारत नै थियो । यतिसम्म कि उनलाई मुम्बईका संगीकर्मीहरू केही दिन नदेख्दा ‘गाउँतिर गएको ?’ भनेर प्रश्न गर्थे ।
ठूलो इन्डष्ट्रिका संगीकर्मीहरूसँग राम्रोसँग घुलमिल भएका उनलाई भारतकै संगीत करिअरमा अघि बढ्ने मौका नमिलेको होइन । तर, उनलाई आफ्नै भूमिमा फर्केर यहाँको संगीतमा केही गर्छु भन्ने जोस थियो ।
उनलाई उतै भुलिएला कि भन्ने डर धेरै थियो । तर, आफ्नो देशमा केही गर्नुपर्छ भन्ने उत्साहलाई मर्न दिएनन् । र, नेपालमै संघर्ष गरे र सफलताको उचाइ चुमे ।