
काठमाडौं । कोभिड–१९ संक्रमणका दुईवटा लहरमा कोभिड विरुद्धको खोप लगाएका स्वास्थ्यकर्मीलगायत केही व्यक्तिको मृत्यु भएको खबर बाहिर आए । खोपको असर र प्रभावकारीताबारे विभिन्न मुलुकका वैज्ञानिकहरुले तत्काल अनुसन्धानसमेत अघि बढाए । तर, पूर्ण खोप लगाएका व्यक्तिको कोभिड–१९ कै कारण मृत्यु भएको हो अथवा ति मृत्यु भएकाहरुमा खोपको कस्तो प्रभाव देखिएको थियो ?
यस्ता छन् घटना
गत फेब्रुअरीमा भारतमा कोभिड–१९ विरुद्धकोे खोप लगाएका दुई स्वास्थ्यकर्मीको मृत्यु भएको थियो । कर्नाटक र उत्तर प्रदेशका दुई स्वास्थ्यकर्मीको दुई दिनको फरकमा मृत्यु भएको थियो । एकदिन अगाडि कोभिड–१९ विरुद्धको खोप लगाएका उनीहरुको मृत्युलाई सुरुमा खोपसँग जोडेर हेरिएको भए पनि ती दुवै स्वास्थ्यकर्मीको मृत्युको कारण भने हृदयाघात भएको जयदेव इन्स्टिच्युट एण्डा कार्डियोलोजी सेन्टरले पुष्टि गरेको थियो ।
गत फेब्रुअरीदेखि जुन महिनाबीचमा इन्डोनेशियामा कोभिड–१९ विरुद्धको खोप लगाएका ९४९ स्वास्थ्यकर्मीको विभिन्न कारणले मृत्यु भएको थियो । जसमध्ये २० चिकित्सक र १० जना नर्सहरूले सिनोभ्याकको पूर्ण मात्रा खोप लगाएको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ । ती व्यक्तिहरुमा फोक्सो मुटुलगायत समस्या रहेको पाइएको थियो । इन्डोनेसियाकै एक विशेषज्ञ समूहले गरेको अध्ययनमा फोक्सोको समस्या भएका केही व्यक्तिहरुलाई विशेषज्ञका लागि भने सिनोभ्याक निष्प्रभावी देखिएको पाइएको थियो ।
यद्यपि, सो अध्ययन पुष्टि हुन बाँकी छ । न्यूजिल्यान्डमा कोभिड–१९ विरुद्धको फाइजर खोप लिएपछि एक महिलाको मृत्यु भएको विषय पनि अनुसन्धानकर्ताहरुका लागि खोजीको विषय बनेको थियो । गत अगष्टमा भएको उक्त घटनालाई फाइजर कोभिड खोपसँग सम्बन्धित पहिलो मृत्यु मानिएको थियो । एउटा स्वतन्त्र खोप सुरक्षा अनुगमन समूहले सम्भवतः फाइजर खोपका ‘मायोकार्डाइटिस’ अर्थात् मुटुको मांसपेशीको सुजन भएर ती महिलाको मृत्यु भएको हुनसक्ने जनाएको थियो । अनुगमनले त्यस्तो अवस्थालाई दुर्लभ दुष्प्रभावका रुपमा व्याख्या गरेको छ ।
अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी)का अनुसार अक्टोबर २५ सम्म अमेरिकामा १४१ मिलियन मनिसलाई कोभिड–१९ विरुद्धको खोप लगाएको मध्ये ९ हजार १४३ जनाको खोप लगाइसकेपछि मृत्यु भएको रिपोर्ट छ । जुन प्रतिशतका हिसाबले ०.००२२ प्रतिशत हो । तर, ती व्यक्तिको मृत्युको कारण कोभिड संक्रमण मात्रै नभइ मुटु, मस्तिष्क, लगायत कुनै न कुनै घातक रोग रहेको रिपोर्टमा उल्लेख छ ।
कस्तो छ नेपालको अवस्था ?
कोभिड–१९ विरुद्धको कोभिसिल्ड खोपको दुई डोज लगाएका धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहलाई ०७७ चैतमा कोभिड संक्रमण भएको थियो ।
खोपको डोज पूरा गरेर पनि पुनः संक्रमण भएको घटना सम्भवतः नेपालमा यो पहिलो भएको जनाइएको छ । चैत १७ गते दोस्रो डोज खोप पूरा गरेका डा. साहलाई संक्रमित छोराको सम्पर्कमा आएपछि उनलाई पनि संक्रमण भएको थियो । सो समयमा नेपालमा प्रयोग भइरहेको अक्सफोर्ड–आस्ट्राजेनेका खोपले डेल्टा भेरिअन्टको हकमा पनि सिकिस्त हुने, आईसीयूमा भर्ना हुने दर ९० प्रतिशतको हाराहारीमा घटाएको र मृत्यु हुने दर झन्डै ९५ प्रतिशतले घटाएको तथ्यांक सार्वजनिक भएको थियो । यसपछि पनि नेपालमा पूर्ण खोप लगाएका व्यक्तिहरु संक्रमित भएका घटना धेरै बाहिरिए । जसलाई खोपले संक्रमणको जोखिम पूर्ण रुपमा नघटाउने तर सिकिस्त हुने सम्भावना भने कम हुने घटनाको रुपमा विज्ञहरुले बुझाउने गरेका छन् ।
केही व्यक्तिमा खोप लगाए पनि प्रतिरोधी क्षमता बन्दैन
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको तथ्यांकमा कोभिड–१९ विरुद्धको खोप लगाएका व्यक्तिहरु अस्पताल भर्ना भएका घटना पनि छन् । कोभिड–१९ विरुद्धको खोप लगाएको केही दिनमा रोग प्रतिरोधी क्षमता विकास नहुँदै संक्रमित भएर केही व्यक्तिहरु अस्पताल भर्ना हुन आउने गरेको अस्पतालका निर्देशक डा. अनुप बास्तोला बताउँछन् । खोप लगाएका व्यक्तिहरु आईसीयूसम्म पनि भर्ना भएका छन् । तर, मृत्यु भएको भने रेकर्ड छैन । कतिपय वृद्ध उमेरका, अत्यन्तै घातक रोगबाट सर्भाइभ गरिरहेका व्यक्तिहरुमा खोपले पनि रोग प्रतिरोधी क्षमता विकास नहुनसक्छ । त्यस्ता व्यक्तिहरुको खोप लगाएपछि पनि मृत्यु भयो भनेर अचम्मित हुनपर्ने अवस्था छैन । किनकी केही व्यक्तिमा रोग प्रतिरोधी क्षमता विकास गर्न नसक्ने जेनेटिक समस्या पनि हुन्छ, डा. बास्तोला बताउँछन् ।
पूर्ण खोप लगाएकाले संक्रमण सार्न सक्छन्
पूर्ण खोप प्राप्त गरेका व्यक्तिहरुबाट पनि कोभिड–१९ संक्रमण हुन सक्ने एक अध्ययनले देखाएको छ । बेलायतमा हालै भएको एक अध्ययनले कोभिड–१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएका व्यक्तिहरूलाई पनि कोभिड संक्रमण भएको पाइएको हो । ती संक्रमित व्यक्तिबाट अरूलाई पनि संक्रमण हुने गरेको अध्ययनले देखाएको छ । गत सेप्टेम्बरसम्म एक वर्ष लगाएर गरिएको उक्त अध्ययनमा लण्डन र बोल्टनमा कोभिडका लागि पीसीआर परीक्षण गरेका ४४० घरपरिवारलाई छनोट गरिएको थियो । उक्त अध्ययनअनुसार खोप प्राप्त व्यक्तिबाट नलगाएका व्यक्तिले जत्तिकै संक्रमण फैलाउन सक्ने सम्भावना रहेको छ । खोप लगाइसकेका संक्रमितले खोप नलगाएका अरू मानिसमा कोभिड सार्ने सम्भावना ३८ प्रतिशत रहेको सो अध्यनन गर्ने विज्ञको दाबी छ । उनीहरूले पाँच मध्ये दुई जनालाई कोभिड सार्न सक्छन् । विज्ञहरुले खोप लगाएका व्यक्तिबाट कोभिड सर्दैन भनेर विश्वस्त नहुन र सतर्कता अपनाउन अनुरोध गरेका छन् । सबैले अनिवार्यरूपमा पूर्ण मात्राको खोप लिन विज्ञले सुझाएका छन् ।