असार ३०, शुक्रबार
स्थान : सामाखुसी
कक्षा ९मा पढ्ने सत्या सापकोटा सामाखुसीमा नालीमा खसेकी र भलले बगाएको अनि पछि उद्धार गरिएको भिडियो सामाजिक सञ्जालमा ‘भाइरल’ भयो जुन संयोगवश खिचिएको थियो । ती किशोरी भलले पूरै ढाकिएको सडकको नालीमा खसेपछि ह्युम पाइप हुँदै भेलसँगै बग्दै झन्डै ३० मिटरजति पर पुग्दा एक युवकले उद्धार गरेको पनि सोही भिडियोमा देख्न सकिन्छ । त्यो भिडियो विषेशतः फेसबुकमा अत्यधिक सेयर भयो र पढ्न जान्ने÷नजान्ने सबैले हेरे । सरकारले सडक, खानेपानी र ढल निकासका काम राम्रोसँग नगरेको विषयमा यथेष्ट आलोचना भए । हरेक पोस्टमा सरकारलाई गाली गरियो । विशेषतः घरको दैलोदेखि मूल सडकसम्म मेलम्ची खानेपानी आयोजनाले पाइप बिछ्याउन खनेका खाल्टा र लामो समयदेखि धुलो, हिलो, ढल र भल निकासजस्ता समस्याले आजित काठमाडांैबासीले आफ्नो रिस थाम्न सकेकन् र सरकारी अकर्मण्यतालाई भकुरे ।
ठीक त्यसै दिन ।
स्थान : नेपालटार, काठमाडौं
बाटो ठम्याउन नसक्दा ३ कक्षामा पढ्ने विनीता फुयाँललाई नालीमा आएको भलले बगायो । उनी केही किलोमिटर तल भेटिइन् । उपचार क्रममा अस्पतालले उनलाई मृत घोषणा ग¥यो । विनीताको घटना सामाजिक सञ्जालमा खासै चर्चा भएन । केही मूलधारका सञ्चारमाध्यम र अनलाइनका समाचारबाट हामीले थाहा पायौंँ । सत्याको घटना जति चर्चा भयो विनीताको मृत्युले त्यसको कैयौं गुणा कम महत्त्व पायो । सत्याको भिडियोलाई लिएर देश, विदेश सबैतिर सामाजिक सञ्जालमा ‘हट टपिक’ बन्यो, सरकारी कमजोरीहरू औँल्याइयो । दक्षिण एसियाली मुलुक, डोमिनिकन रिपब्लिक र अमेरिकामै पनि मंगाल तथा ढल छोप्ने ढकनीहरू चोरी हुने गरेका बहससम्म भए ।
आलोचनालाई खासै वास्ता नगर्ने सरकार पनि अन्ततः बोल्न बाध्य भयो । दबाब धेरै बढेपछि प्रधानमन्त्री शेरबहादुर देउवा १५ दिनभित्र काठमाडौंका सबै खाल्डाखुल्डी पुर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिन बाध्य भए । मंगलबारबाटै सो निर्देशनबमोजिम कामहरू अगाडि बढेका समाचार पनि आइरहेका छन् । सडकले हतारको काम लतरपतर गर्ने हो कि मेलम्चीले बिना पाइप ती खाल्डाखुल्डी पुर्ने हो, हेर्न बाँकी छ । झन् त्यसमाथि खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले सोमबारको संसदीय बैठकमा भनिदिए, “सामाखुसीमा भएको घटनामा हाम्रो कुनै सरोकार छैन, सडकमा पानी जमेपछि हिँड्दै गएर नालीमा हाम फालेर भएको हो । बालिकाको मृत्यु भएको कुरा पनि नयाँ होइन २ वर्षअघि पनि २२ वर्षीय युवकको मृत्यु भएको थियो ।”
उनको यही अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जाल फेरि तातेको छ । उनले त यतिसम्म भनिदिए, “अहिले बन्द÷हड्ताल हुने हो भने कामले गति लिने थियो ।”
जिम्मेवार सचिवको यस्तो भनाइपछि धेरैले लख काटिसके– काठमाडौंको दुरवस्था अन्त्य हुने दिन धेरै टाढा छ ।
देशकै राजधानी काठमाडौंमा रणनीतिक सडक सञ्जालमात्र झन्डै ३०० किलोमिटर छ र यसको तुलनामा स्थानीय सडक र भित्री सडकहरूका सञ्जाल झन् बढी हुने नै भए । मनसुनका बेला पनि यी सडकहरूमा खानेपानी, ढल निकास र सडक निर्माणका काम भइरहेका हुन्छन् । त्यसमाथि पुराना खाल्डाखुल्डीको हिसाबै छैन । यस्तो अवस्थामा ती सबै खाल्डा पुर्ने काम पक्कै सम्भव छैन । पुरिए पनि माटो हालेर पुर्ने हो । बर्खाको बेला त्यो माटो त्यही खाल्डोमै भइराख्छ भनी सोच्ने सरकारी कर्मचारीले फेरि एकपटक खप्की खाने निश्चितजस्तै छ ।
सत्याको भिडियोले देशविदेशमा चर्चा पाउनु, सरकारको ध्यानाकर्षण हुनु, सबैको ध्यान तानिनुको एउटै स्पष्ट कारण हो – सामाजिक सञ्जाल र यसको शक्ति । यो भिडियोको ठाउँमा कुनै फोटो वा फगत समाचारमात्रै भएको भए यो घटनाले यत्तिको महत्व पाउने थिएन र सरकारले पनि एक कानले सुनेर अर्को कानले उडाउने पुरानै प्रवृत्ति दोहोरिन्थ्यो । त्यो घटनाबाट बाँच्न सफल सत्याको युट्युबमा आइतबार राखिएको राखिएको एक अन्तर्वार्ता लाखौंपटक हेरिएको छ । इन्टरनेट सेवा तुलनात्मकरूपमा सस्तो र गति पनि राम्रो नभएको भए उनको यो अन्र्तवार्ता यति धेरै हेरिने पक्कै थिएन । यसले उनी कति प्रख्यात भइन् भन्ने पनि स्पष्ट हुन्छ । अवश्य नै गत वर्षको ‘तरकारीवाली’ कुसुमजत्तिकै ।
बेलाबेला समाजिक सञ्जालमा भएका चर्चा, बहस र विरोधले देश तथा विदेशमा परिवर्तनहरू ल्याएका थुप्रै उदाहरण छन् । गत २०७२ सालमा असार १५ अर्थात् धान दिवस मनाउन एक कार्यक्रममा सरिक भएका तत्कालीन कृषिमन्त्री हरि पराजुलीले एक महिलालाई दुर्व्यवहार गर्दा सामाजिक सञ्जालमा भएको व्यापक विरोधका कारण उनले पदबाट राजीनामा दिनु पर्यो । छिमेकी देश भारतमा सन् २०१२ मा एक जघन्य बलात्कार भयो, जुन ‘दिल्ली ग्याङ्ग रेप’ ले प्रख्यात छ । सामाजिक सञ्जालहरूमा उर्लिएको आन्दोलनका कारण सरकारले कानुनै परिर्वनत गर्यो र अदालतले दोषी चार जनालाई मृत्युदण्डको सजाय सुनायो । सन् २०१० मा ‘अरब स्प्रिङ्’को नामले फैलिएको अभियानले ३० वर्षसम्म सत्ता जमाएर बसेका इजिप्टका राष्ट्रपति होस्नी मुबारकलाई पद त्याग्न बाध्य बनायो ।
सूचना तथा सञ्चार प्रविधिमा पहुँच बढेसँगै मानिसहरूका लागि आफ्ना खुसी, दुःखदेखि रिसराग र कुण्ठा पोख्ने ठाउँ बनेका छन् सामाजिक सञ्जालका भित्ता । इन्टरनेट र स्मार्टफोन प्रयोग तथा पहुँचमा वृद्घि अनि फेसबुक÷ट्विटरजस्ता सञ्जालमा नेपालीहरूको आबद्घता नबढेको भए सत्याको यो घटना पक्कै पनि बिलाएर जान्थ्यो । भाइरल भएको भिडियो र जनताले सरकारप्रति व्यक्त गरेका रिस र गुनासाहरू नीति निर्मातादेखि कार्यान्वयन निकायसम्मलाई रामवाणझैं भयो ।
अस्ति भर्खरै प्रकाशित एक समाचारका अनुसार ५० प्रतिशतभन्दा बढी नेपाली मोबाइल प्रयोगकर्ताले स्मार्टफोन बोक्ने गरेका छन् । यसरी हेर्दा नेपालमा ७५ लाखभन्दा बढी मोबाइल सेवाका ग्राहक स्मार्टफोन बोक्छन् । नेपाल दूरसञ्चार प्राधिकरणले प्रकाशित गरेको पछिल्लो विवरणअनुसार इन्टरनेट ग्राहक संख्या १ करोड ५३ लाख नाघिसकेकोे छ जुन जनगणना २०६८ अनुसार कुल जनसंख्याको ५८ प्रतिशत हो । फेसबुककै अनुसार २०१७ को फेबु्रअरीसम्ममा ८० लाखभन्दा बढी नेपालीहरू फेसबुकमा आबद्घ छन् ।
इन्टरनेटमा पहुँचले मानिसलाई जागरुक र सजग बनाएको छ भन्ने ज्वलन्त उदाहरण पनि हो सत्याको भिडियो । दु्रतगतिमा विकास भइरहेको दूरसञ्चार सेवाका कारण इन्टरनेटमा पहुँच बढ्ने क्रम जारी छ । अहिले गाउँगाउँसम्म उच्च गतिको मोबाइल इन्टरनेट ‘थ्रीजी’को पहुँच फैलिँदै गएको छ । दुई ठूला मोबाइल सेवाप्रदायकले चौथो पुस्ताको अर्थात् ‘फोरजी’ सेवा पनि सञ्चालनमा ल्याएका छन् । उच्च गतिको मोबाइल इन्टरनेटमा पहुँच अनि सूचना तथा सञ्चार प्रविधि साक्षरता बढ्दै जाँदा यसले ल्याएका परिवर्तनले मानिसहरुको जनजीवन सहज बनाउँदै लगेको छ । थ्रीजी, फोरजी र फिक्सलाइन ब्रोडब्यान्ड सेवा फैलिँदै जाँदा, स्मार्टफोनको प्रयोग अझ बढ्दा र सरकारले विद्युतीय सरकारको अवधारणाअनुसार काम अगाडि बढाउदै जाँदा के कस्ता परिणाम र परिवर्तनहरू आउलान् त्यो भने हेर्न बाँकी छ ।