site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हर्के तामाङको संस्मरण
SkywellSkywell

हर्के तामाङ । यौटा चौध वर्षको तामाङ ठिटो । उसको बगलीभरि मोहोर–रुपियाँ छ र हातमा कपडाको पोको । पाँच वर्षपछि नोकरीबाट ऊ आज आफ्नो गाउँघरतिर फर्किरहेछ ।

ऊ यौटा फुक्का चालले हिँडिरहेछ । जाडोको रमाइलो घाम उसको आँखामा चम्किरहेछ । बाटोमा हिँड्दा हिँड्दै सहरका ठूलठूला घर, चौडा सडक, मोटर–गाडी र मानिसको घुइँचो, कोलाहल उसको पछाडि छुट्तै गइरहेछ ।

हर्के कहिले फटाफट हिँड्छ, कहिलेचाहिँ एकाएक टक्क अडेर पछाडि फर्किन्छ । उसबाट क्रमशः टाढा–टाढा हुँदै गएका सहरका घरहरू र ती घरैघरहरूका बीचमा रहेको त्यो अग्लो घर हो, जसलाई ऊ आफ्नो नांगो पैताला उचाली उचालीकन हेर्ने गर्छ ।

KFC Island Ad
NIC Asia

फेरि, तुरुन्तै उसको होस बगलीको मोहोर, रुपियाँमा जान्छ र झ्वाट्ट ऊ आफ्नो बगली छाम्छ । अनौठो किसिमको हर्ष–विस्मात उसको मनमा खेलिरहेछ ।

त्यही अग्लो घर हो, जसमा उसले आफ्नो पाँच वर्षको नोकरीकाल बिताएको थियो र त्यही अग्लो घर हो, जसमा उम्रेका स–साना घटनाहरूको संस्मरण अहिले उसको मनभित्र उडिरहेछ, खण्डित बादलजस्तै ।

Royal Enfield Island Ad

एक दिनको कुरा हो । मुमासाहेबको आज्ञानुसार हर्के तामाङ मैयाँनानीलाई बोलाउन उनको कोठाभित्र पस्छ । मैयाँनानीलाई कोठामा नदेखेर ऊ फर्किन्छ, बिस्तारै–बिस्तारै आफ्नो आदतअनुसार भित्ताको ठूलो ऐनालाई हेर्दै–हेर्दै ।

हर्के तामाङलाई दिनको दुई–तीनपटक मैयाँनानीको कोठामा कामकाजले जानुपर्छ । हरेकपटक जाँदा, फर्कंदा ऊ भित्ताको ऐनामा हेर्ने गर्छ जहाँ ऊ आफ्नो बाटुलो तामाङ अनुहार खिस्स हाँसेको देख्छ ।

यति मात्र होइन, त्यहाँ ऊ आफ्नो पूरा शरीर नै, खुट्टा, आङ जम्मै देख्छ । घिउमा मुछेको पिठोझैँ उसको पिडौँलाको मासु र तिघ्रा पनि छर्लङ देखिन्छन् ।

ऐनामा ऊ आफ्नो अनुहारलाई विभिन्न मुद्रामा ढालेर हेर्छ । कहिले दाँत ङिच्च पारेर, कहिले आँखा च्यातेर र कहिले खुम्च्याएर । शीतमा भिजेको जंगली पातझैँ त्यस चौध वर्षको तामाङ ठिटोको आँखा ऐनामा ज्यादै रमाएको देखिन्छ ।

हर्के तामाङ बिस्तारै हिँड्दै आफूलाई ऐनामा हेर्दै जान्छ । ढोकाको सँघारमा हर्केको जिउ हतार–हतार गरी आइरहेकी मैयाँनानीको शरीरसँग जुध्छ...।
“धत्...”
एक्कासि मैयाँनानीको मुखबाट निस्कन्छ । हर्के पनि झस्किन्छ । किञ्चित् डराएर ऊ मैयाँनानीको मुखतिर हेर्छ । फेरि, खिस्स हास्छ । निमेषभरमै ऊ त्यो कोठामा आउनुको कारण बिर्सिन्छ । जसबाट ऊ भित्रभित्र अत्यन्त भयभीत हुन्छ । कहीँ उसलाई तुरुन्तै मैयाँनानीले किन भनेर सोधिन् भने !

ओठलाई दाँतले टोकी मैयाँनानी आँखा झ्वाट्ट उचालेर संकेतद्वारा सोध्छिन्, “किन...?” हर्के अल्मलिएकै थियो, झन् अल्मलिन्छ ।
“किन आको...? के भन्न आइस्...?”
मैयाँनानी अघिको अनुहार बदलेर सोध्छिन् । एक्कासि तामाङ खिस्स हाँसेर जवाफ दिन्छ, “हजुरलाई मुमाले बोलाइबक्स्याछ ।”
“आएँ...ल...,” मैयाँनानी आल्मारी खोल्दै भन्छिन् । हर्के जहाँको तहीँ उभिन्छ । मैयाँनानीलाई टोलाएर हेर्छ, हेरिरहन्छ । मानौँ, ऊ वैज्ञानिक कुनै चमत्कारी वस्तुलाई हेरिरहेछ ! अनायास ऊ कोठाभित्र दुई पाइला चाल्छ, फेरि टक्क पिस्तौलअगाडिको अपराधीझैँ रोकिन्छ ।

“के...किन...,” मैयाँनानी सोध्छिन् । हर्के तामाङ खिस्स हाँस्छ । सक्पकाउँछ, ऊ आफ्नो आङको मैलो कमीजलाई कच्याककुचुक पारेर भन्छ, “हजुरलाई मुमाले बोलाइबक्स्याछ...”
“सुनिहालेँ नि...कतिचोटि भनिरा त्यो...के छाँटको मान्छे रे छ,”  मैयाँनानी झर्केर उतिर फर्कँदै ठूलठूलो आँखा पार्छिन् । हर्के बिस्तारै फर्किन्छ ।

“सुन ए...,” मैयाँनानी उसलाई चड्किलो आवाजले बोलाउँछिन् र टेबुलमाथिको करुवा देखाएर भन्छिन्, “त्यसमा पानी लेरा त...”
हर्के चाँदीको करुवा लिएर पानी लिन जान्छ । दगुर्दै जान्छ । 
०००
यता, हर्के पनि दगुर्न थाल्छ । एकै छिनपछि आफ्नो मूर्खतापूर्ण वेगलाई सम्झेर ऊ मनमनै छ्याङ खस्छ र रुक्छ । फेरि, बिस्तारै हिँड्न थाल्छ ।

अहिले ऊ सहरबाट धेरै पर आइसकेको छ । सहरको इलाका नाघिसकेको छ । चारैतिर खेतको खुला फाँट छ । जमिनको तह अब सहरको झैँ सम्म छैन, उबडखाबड तलमाथि हुँदै गइरहेछ । अगाडि भञ्ज्याङको पहाड नजिक आइरहेछ । पहाडी रूख र झाङहरूको आकृति अलि–अलि देखिन थालिसकेको छ ।

यही पहाड हो, जुन सहरको कुनै कौसी अथवा बार्दलीबाट हेर्दा निलो मसीको टाटोजस्तै देखिन्छ । अब यो आ–आफ्नो हरियो रूख, पात छुट्ट्याउँदै हर्के तामाङको आँखा नजिक–नजिक आइरहेका छन् । आकाशको कुनाकाप्चातिर बादलका ससाना टुक्रा रुमलिरहेछन् ।

हर्के तामाङको मनमा पुनः पूर्वघटनाहरूको संस्मरण चल्न थाल्छ । गर्मीको बखत । घामको आलस्यले गर्दा हर्केबाट कुनै पनि काम छिटो–छरितो ढंगले हुन सकेको छैन । ऊ तलमाथि, यताउति गरिरहेछ ।

ऊ जहाँ जान्छ, घाम पनि उतै–उतै सर्दै आउँछ । बरन्डा, बार्दली, अटाली जम्मै ठाउँमा घाम पोतिएको छ । सकभर काम चाँडो सिद्ध्याएर ऊ शीतल ठाउँमा एक छिन आराम लिन चाहन्छ ।

फलतः ऊ छिटो–छिटो काम सिध्याउँदै अन्तमा मैयाँनानीको टेबुलमा पानी राख्न कोठाभित्र पस्छ ।

ढोकाभित्र छिर्नासाथ हर्के तामाङलाई सरासर कोठाभित्र पस्ने हिम्मत आउँदैन । किनभने, मैयाँनानी पलङमा सुतिरहेकी देखिन्छिन् । हर्के बिस्तारै चाल मारेर जान्छ । टेबुलमाथि करुवा राख्छ । यौटा सानु आवाज खत्र्याक्क निस्किन्छ, जसले गर्दा ऊ स्तम्भित हुन्छ । टुलुटुलु मैयाँनानी सुतेको हेर्न थाल्छ ।

एकाएक फेरि कुनै यन्त्रतुल्य पलङतिर सर्दै जान्छ, क्रमशः सर्दै जान्छ । सुतेको मैयाँनानी र हर्के तामाङको फासला कम–कम हुँदै यौटा नगण्य खालीपनामा टुंगिन्छ ।

चौँतीस वर्षीया विधवा मैयाँनानीको जिउ पलङमा लेटिरहेछ । उनको शरीरको पातलो वस्त्र कच्मचिएर स्थानान्तर भइरहेछ । मैयाँनानीको सेतो पिँडौला घुडासम्म छर्लंग देखिएको छ, जुन अहिले यौटा हिउँको स्निग्ध ढिक्काजस्तो प्रतीत भइरहेछ ।

होसमा भए मैयाँनानीको अनुहारमा हर्के तामाङ निमेषभर पनि हेर्न सक्तैनथ्यो । तर, अहिले हर्के उनलाई यसरी हेरिरहेछ मानौँ, उनी उसकी आमा नै हुन् । मैयाँनानी त्यस बेला कुनै हिमखण्डकी मूर्तिजस्तै देखिएकी थिइन् ।

हर्के तामाङ मैयाँनानीलाई मानौँ सुँघेझैँ गरी हेरिरहेछ । कोठाको सुनसानपना बगैँचापट्टिको झ्यालबाट वैशाखी हावा आइरहेछ, जुन मैयाँनानीको शरीरमा फरफर चलिरहेछ । हर्के तामाङ यौटा निरीक्षकजस्तो मैयाँनानीको शरीरको सबै अंग हेर्दै जान्छ ।

मैयाँनानीको जिउबाट गन्ध आउँछ । अचम्मको गन्ध । कुनै चाट्न हुने लयालो वस्तुजस्तो । दूध, मह र घ्यू मिलाउँदा उठ्ने अनौठो गन्ध ।

हर्के तामाङ अब आफ्नो टाउको र नाकलाई मैयाँनानीको जिउमा जोर्न खोजेजस्तो गरी सँुघिरहेछ । मैयाँनानीको जिउबाट उसैगरी गन्ध आइरहेछ । उस्तै, केही फरक छैन ।

हर्केले आफ्नी आमाको गन्धको स्वाद पाएको छ । आमाको दूध चुस्ता, आमाको काखमा गुट्मुटिँदा र आमाको आङमा चढी खेल्दा ।

तर, हैन । मैयाँनानीको शरीरबाट अलिकता भिन्दै किसिमको स्वाद आइरहेछ । त्यसमा उसलाई शंका लाग्छ । भित्रभित्रै डर पनि । अँध्यारो कुना–काप्चातिर कुनै भूतप्रेतले समाती काखी–कुनामा काउकुती लगाइदिँदा जसरी आङ सिरिङ तथा रोमाञ्चित हुन्छ, उसैगरी हर्के मैयाँनानीको जिउ सुँघिरहँदा बीचबीचमा झसंग हुन्छ ।

मैयाँनानीले जम्मै जिउ घोप्ट्याएर कोल्टो फर्किँदा एक्कासि उनको हात हर्केको आङमा लाग्छ ।
“को...?” मैयाँनानी झस्केर आँखा खोल्छिन् । हर्केको आँखा तल निहुरिन्छ ।
हात–खुट्टा लुलो हुँदै जान्छ र ऊ बिस्तारै वर–वर सर्दै आउँछ । टेबुलमाथिको चाँदीको करुवा समातेर उभिन्छ ।

घुँडाबाट सारी सार्दै मैयाँनानी उठ्छिन् र पलङमा बस्याबस्यै हेर्दै जान्छिन् । उनको आँखा जागा हुँदा जसरी उचालिन्थ्यो र जसले हर्केलाई बाँधेझैँ प्रतीत हुन्थ्यो, अहिले पनि उस्तै छ । यद्यपि, भर्खरै सुतेर उठ्दाखेरि उनको आँखामा छाएको लट्ठपना र आलस्यता कायमै छ ।

हर्केको मनमा सम्भावित आशंकाहरूको घुइरो लाग्दै आउँछ । ऊ चाँदीको करुवा लियालियै उभिरहेछ ।
“खै त्यो पानी ले...,” मैयाँनानी आलस्य मानेर भन्छिन् । हर्के करुवा लिएर नजिक जान्छ । 
“अलि यता लेन...”
हर्के एकदम नज्जिक गएर मैयाँनानीको हातमा करुवा दिन्छ । करुवा हातमा लिएर मैयाँनानी पानी पिउन थाल्छिन् । पानी पिउँदा–पिउँदै भन्छिन्, “तँ ह्याँ के गरिरा...!”

मैयाँनानीको मुखमा गुलाफी हाँसो पोतिन्छ । हर्केलाई यस्तो किसिमको हाँसोले ज्यादै दुःख दिन्छ । यसले उसको घाँटी नै चपक समात्छ । यस्तो किसिमको हाँसोदेखि उसलाई डर लाग्छ ।
“पानी राख्न आ’थेँ...,” हर्के बिस्तारै बोल्छ ।
“अनि..., अनि ह्याँनिर के गरिरा’नि...!” मैयाँनानीले पलङनिर जहाँ ऊ अघि उनी सुत्दाखेरि उभिएको थियो, औँल्याएर सोधिन् ।

हर्के केही बोल्दैन, बोल्नै सक्तैन । के बोल्ने, के भन्ने । उसलाई स्वयम् थाहा छैन ऊ त्यहाँ किन उभिएको थियो । एक मन उसलाई यस्तो पनि लाग्छ कि पाउ दबाउन भनूँ कि...तर, अहँ कसरी भन्ने नभा’ कुरो, ऊ यस अक्मकिएर उभिरहन्छ ।
“ऐनामा पल्याकपुलुक हेर्न त जान्दछस् नि...”
हर्के तामाङको रातो–रातो गालामा हातले प्याट्ट हानेर मैयाँनानी पलङबाट जिउ उफार्छिन् । र, झ्यालमा गएर मुख धुन थाल्छिन् ।
सायद मैयाँनानीले फर्केर हेर्दा हर्के कोठाबाहिर गइसकेको थियो...।
०००
खेतको आली गोरेटो सिद््याएर हर्के तामाङ पहाडको फेदीमा आइपुग्छ । ठूला–ठूला रूखपात र झाङले ढाकिएको पहाड । हर्के धमाधम चढ्दै जान्छ, पहाडको जंगली बाटो— कतै पातको चरमर्–चरमर आवाज, कतै चराहरूको चिरबिर–चिरबिर जंगलभित्रभित्र खेलिरहेको ध्वनि–प्रतिध्वनि...

हर्के उक्लिँदै गइरहेछ । पहाडको जंगली रहस्य झन्–झन् सघन हुँदै छ । सूर्यको किरण पहाडको टुप्पो–टुप्पोमा खेलिरहेछ । तलतिर साँझको घनत्व क्रमशः सुरू हुँदै छ ।

हर्के कहिले रूखको लहरा तान्दै जान्छ, कहिले हातको लट्ठीले झाङ र पातहरूमा हान्दै जान्छ । ऊ आफ्नो मनको तर्कनाबाट अझै मुक्त भएको छैन ।

त्यस सुनसान जंगलको बाटोमा हर्केको आँखाअगाडि झ्वाट्ट–झ्वाट्ट मैयाँनानीको अनुहार आउँछ– एकदम मायावी, कुनै मोहिनीजस्ती !

अब त मैयाँनानी दन्त्यकथामा वर्णित कुनै मोहिनी रूप धारण गर्न सक्ने रहस्यमयी आइमाईजस्ती लाग्न थाल्छ ।

हर्केको मनमा रोमाञ्चक भयको सञ्चार हुन्छ । उसको तामाङ आँखाले अतीतका धमिला दृश्यहरू खोतल्छ र ऊ क्रमशः आफ्नो पुरानो संस्मरणको यौटा निलो गुफाभित्र प्रवेश गर्दै जान्छ...
गोठ । गोबर र गोमूत्रको अपूर्व गन्ध । साँझ–सबेर हर्केलाई त्यहाँ जानुपर्छ । गाईलाई खोले खुवाई दूध दुहुन्छ । त्यसपछि पराल र भुस मिलाई गाईको थान्को लगाउँछ । बेलुका साँझ झमक्कै पर्छ । गोठभित्र अँध्यारो र कहिलेकाहीँ त एकदम रात झमक्क पर्छ । हर्के आफ्नो तामाङ सेलो गीत गाउँदै गोठमा काम गर्छ ।

एक साँझ, गोठमा प्रशस्त अन्धकार फैलिन्छ । हर्केको सुरिलो आवाज अकस्मात् बन्द हुन्छ । झस्स उसको मनमा शंका लाग्छ, कुनै हातजस्तो वस्तु उसको पिठ्युँमा सर्दै आइरहेछ । हातको नरम–नरम औँलाले उसको आङको मासु दबाउँछ ।

औँला सर्दै उसको घाँटीमा आउँछ । उसको गालामा चिल्लो गरम–गरम हातको पन्जा टाँसिन्छ । उसलाई सन्चो लाग्छ, साथै डर पनि । उसलाई भूतको कल्पना आउँछ र जुरुक्क उठ्छ ।

अब ऊ यौटा मासु नै मासु भरिएको न्यानो जिउमा टाँसिन्छ । उसको आङलाई दुइटा गरम पाखुराले चपक्क समातेको छ । ऊ उभिएकै छ ।

हर्केको हातको औँला तानिएर यौटा अनौठो भागमाथि थिचिन्छ, साह्रो, कुनै बाटुलो, चिप्लो ढुंगाजस्तो । त्यहाँ धेरै बेरसम्म उसका औँलाहरू किचिमिची पर्छन् ।

ऊ एकदम वेगले चलेको ढकढक आवाज सुनिरहन्छ । उसको नाकमा कुराउनीको गन्ध आउँछ । उसलाई गोठमा छु भन्ने होस छैन । किनकि, गोबरको गन्ध पटक्कै छैन ।

अब हर्केको आङ, कम्मर जोरले खिचिन्छ । मानौँ, उसलाई थाममा बेसरी कसैले डोरी लगाएर कसिरहेछ । उसको घाँटी र तातो सासले भरिएको मुख जोरिन आउँछ । हर्के मनमनै विचलित हुन्छ । छटपटाउँछ । कुनै डोरी चुँडाल्न खोजेजस्तो गरी ऊ बल गर्न थाल्छ...।
०००
हर्के स्वाँ–स्वाँ गरी पहाड चढ्दै छ । उसको गर्दनमा पसिना उम्रिरहेछ । चारैतिर जंगली रूखको विशाल छहारी सुई...सर्र... चिरचिर...चिरचिर । कतै–कतै रूखका पातहरू झर्दा निस्कने सर्याकसुरुक अस्पष्ट आवाज ।

गोठको रहस्यमयी घटना सम्झिँदा अहिले पनि हर्के तामाङको आङ सिरिङ गर्छ । उसलाई लाग्छ, गोठको त्यस अन्धकारमा प्रकट हुने त्यो रहस्यमयी आइमाई भूत नै हो । आइमाईको रूप लिएर आएकी उसलाई सताउन । आइमाईको पनि त्यस्तो जिउडाल हुन्छ केराको थामजस्तो !

हर्केलाई त्यो गोठ मात्र हैन, मैयाँनानीको घर नै रहस्यमय लाग्छ । रहस्यमय वस्तुको संग्रहालयजस्तो । अझ भन्ने हो भने, क्याम्पा जम्मै यौटा जादु–टुनाको गढतुल्य प्रतीत हुन्छ ।

आज बिहान एक्कासि हर्के तामाङलाई मुमासाहेबले बोलाएर भनेकी थिइन्, “हर्के याँ तेरो काम सिद्धियो । अब अहिलेलाई तँ आफ्नो घर जा बुझिस्, पछि चाहियो भने बोलाउँला, के बुझिस्... अहिले जा, ला यो...बक्सिस्...,”
मुमासाहेबले हर्केको हातमा रुपियाँ राखिदिइन् । केही पुराना लुगाफाटा पनि दिँदै उनले भनिन्, “ल यो लगाएर...जा ।”
त्यतिखेर हर्के तामाङ एक छिन रुखजस्तो ठिङ उभिएको थियो ।

अहिले ऊ भञ्ज्याङको शिखरमा उभिएको छ । अनायास उसको आँखा टाढा सहरको बस्तीमा पर्न जान्छ । घरको टाटैटाटो गुचुमुचुक्क ! यौटा अँध्यारो गोठजस्तो । अस्पष्ट, उस्तै रहस्य । मैयाँनानीको हिमखण्ड मूर्ति लोटिरहेछ...।


(पोषण पाण्डे–तीर्थ सदनको स्वीकृतिमा प्रसिद्ध कवि/कथाकार पोषण पाण्डेको ‘आँखीझ्याल’ कथासंग्रहको छैटौँ कथा । यस कथासंग्रहका सम्पूर्ण कथाहरू धारावाहिक रूपमा हरेक शनिबार प्रकाशित गर्दै जानेछौँ ।)

तस्बिर

युवतीको छल

प्रेम र घृणा

छाया

भिनाजुको स्वेटर

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २, २०७८  ०७:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro