site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भिनाजुको स्वेटर

सविता उफ्रँदै–उफ्रँदै आई र शान्तिलाई भनी, “दिदी, ए दिदी ! भिनाजुले भन्या सिनेमा हेर्न जाने रे ?”

“जान्न भन्दे जा,” शान्तिले सानो स्वर तर आवाजमा कठोरपना ल्याएर जवाफ दिइन् ।

सविता एक छिन अबोध चेहरा लिएर उभी, उभिरही । उसलाई लाग्यो, उसकी दिदी कस्ती नीरस छिन् ! रसरंगको कुरापट्टि पटक्कै चाख लिन्नन् । उभन्दा कति वर्षले जेठी हुन् र ! पाँच वर्षको त फरक छ नि ! सविता दिदीको मुख्र्याइँप्रति मनमनै खिसी गरेर गई ।

Dabur Nepal
NIC Asia

पर पुगिसकेकी सवितालाई बोलाएर शान्तिले सोधिन्, “तैँले जाऊँ भनेको कि भिनाजुले हिँड् भनेको ?” यसो भन्दा शान्तिको अनुहारमा बनावटी खुसीको झलक थियो । सवितालाई आश्चर्य लाग्यो । 

उ घुँडा कसेर बसी, दिदीको चुल्ठो हातमा खेलाएर आफ्नो स्वभावसँग मिल्दोजुल्दो चञ्चल बाणीमा भन्न लागी्, “म बारीमा घाम तापेर बसिरहेको थिएँ, भिनाजु आएर सिनेमा हेर्न जान्छयौ ? भनी सोध्नुभो । अनि, म दिदीलाई सोधेर आउँछु है त भनेर आएको ।”

शान्तिको चेहराबाट खुसी खस्यो । ठिक त्यसैगरी, जसरी बिहानको दुबोमा टल्केर बसेको शीतबिन्दु हावाको हल्का थप्पडमा खस्तछ । योपटक उनले कुनै पनि वाक्य झर्केर बोलिनन् । केवल यत्ति भनिन्, “हुुन्छ, जाउँला...।”

“हो, दिदी !” सविताको खुसी पानीको फौवाराजस्तै फुट्यो । उसको चेहराबाट उसको हृदय छर्लंग देखिएको थियो, तैपनि शान्तिको हृदयको भित्री भागमा एक प्रश्न अल्झि नै रहेको थियो, जसलाई सुल्झाउन नसकी उनी बारबार पन्छ्याउने गर्थिन् । फेरि पनि प्रश्न उनको सन्मुख आइ नै रहन्थ्यो, उनलाई सताइ नै रहन्थ्यो ।

यता, केही महिनादेखि सविता दिदीकहाँ आएर बसेकी थिई । शान्ति र सविताको बालककालदेखि नै साह्रै मेल थियो । अहिले पनि शान्तिलाई बहिनीको लडकपन र चञ्चल चरित्र देख्ता मायाले म्वाइँ खाऊँजस्तो लाग्छ । किनभने, सविता अहिलेसम्म पनि कानेकानेपिच्च र लुकामारी खेल्छे । अहिले उसको हिँडाइ, चालचलन, सब उस्तै छ, केवल उमेरको रङ उसले थाहा नपाई नपाई चढिरहेछ ।

शान्तिलाई त अब त्यस किसिमका खेलहरू मन पर्न छोडे । कहिलेकाहीँ बाल्यकालको स्मृतिले खेलूँखेलूँजस्तो लागे पनि लाज र संकोचले खेल्नै दिँदैन । अर्को कुरा, उनको प्रकृति पनि बहिनीको जस्तो थिएन । उनलाई हमेसा यही सोच्नुपरेको थियो कि उनले पतिलाई रिझाउन किन सकिनन् ।

सविता जब उनको पोइको तारिफ गर्दै भन्थी कि भिनाजु असाध्यै जाती हुनुहुन्छ, त्यस बेला शान्तिको मनमा एक प्रकारको चोट लाग्थ्यो । बहिनीमाथि अनौठो किसिमको गुप्त ईष्र्या भड्केर आउँथ्यो । तर, आवेशमा आएर कहिले पनि उनले बहिनीलाई यस्तो कुरा भनेकी थिइनन्, जुन उनको अँध्यारो मनभित्र माकुराले जालो लगाएझैँ आफै–आफै उनिँदै गइरहेको थियो ।

एक दिन शान्ति बार्दलीमा बसेर कपाल कोर्न लागेकी थिइन् । अघिल्तिर यौटा सानो ऐना थियो । ऐनामा आफ्नो अनुहार देख्ता अनायास उनलाई बूढी भएजस्तो लाग्यो । कोर्दा कपालका केस्रा झर्ने गरिरहेका थिए । मुखभरि चायाको टाटै–टाटो देखियो । शान्तिले धमाधम पाउडर दलिन् । उनको मुख हिउँजस्तो सेतो देखियो ।

यत्तिकैमा ठूलठूलो आँखामा गाजल लगाएर सविता आइपुगी । उसले सेतो नैनसूतको सुरुवाल र बुट्टैबुट्टा भएको सिल्केन घाँघर लगाएकी थिई । उसको गालामा मानौँ रातो गुलाफ फुलेको थियो । जिउ टम्म र पुष्ट ।

“किन दिदी, हजुरको त कपाल पनि फुलेछ ! यी...” सविताले यौटा सेतो केस्रा उखेलेर शान्तिको हातमा राख्तै भनी ।

शान्तिले सविताको केश हेरिन्, चेहरा हेरिन्, हात हेरिन्, खुट्टा हेरिन्, सम्पूर्ण अंगको निरूपण गरिन् । तर, सविताको हातमा राखिदिने कुनै पनि वस्तु फेला पार्न सकिनन् । चुपचाप लागिन् । केही बोलिनन् । हातको सेतो रौँ हातमा मल्दै केवल यति भनिन्, “अँ...।”

“ऊ, भिनाजु आउनुभो,” सविता प्रफुल्ल मुद्रामा बोली । गोपीनाथ नजिकै आइपुगेपछि उसले लाडिएर भनी, “भिनाजु, दिदीको कपाल फुलेछ हेर्नुस्, कपाल कालो हुने तेल ल्याइदिनुस् न ।”

शान्तिलाई बहिनीको यो सहानुभूति रत्तीभर मन परेन । भित्र–भित्र चिढिइन् र पोइको मुखतिर हेरिन् । गोपीनाथको आँखा एक तमाससित सवितालाई हेरिरहेको थियो । उनले भने, “भोलि प्रदर्शनीमा किनिदिउँला ।”

प्रदर्शनीको वातावरण त्यस दिन निसास्सिएको थियो । जताततै हुल, घुइँचो । आँखा झिमिक्क गर्न नहुने । एक ठाउँमा रोटेपिङ घुमिरहेको थियो । 

सविताले इच्छा गरी । गोपीनाथले टिकट किने । शान्ति मानिनन् । सविताले आग्रह गर्दै भनी, “जाऊँ न दिदी, के भो र, एक छिन त हो नि । कस्तो मन छ, दिदीको त केही कुरामा पनि नबस्ने...।”

“तँ जा न, ऊ क्या भिनाजु भैहाल्नुहुन्छ नि । मलाई रिङटा लागेको छ । म यहीँ बसिरहन्छु ।”

“भैगो भैगो, रिंगटा लागेको मान्छेलाई किन कर गर्ने,” गोपीनाथले खाली भएको ठाउँ पूरा गरी भने ।

कसैले नदेख्ने गरी शान्तिले दुई थोपा आँसु जमिनमा खसालिन् । आँखा पुछी बाँसको खम्बामा अडेस लगाएर उभिरहिन् । पिङ घुम्यो । गोपीनाथ र सविता पनि घुमे । शान्तिले हेरिरहन सकिनन् । साँच्चि नै उनलाई अब रिंगटा लागेर आयो । दृष्टि हटाएर अर्कैतिर लगिन् । त्यस बखत उनको मुखमा ग्लानि गडेको थियो ।

एक ठाउँ यस्तो आइपुग्यो, जहाँ अत्यन्त घुइँचो लागेको थियो । हुलमा शान्ति अलमलिइन् । गोपीनाथ र सविता एकातिर परे । शान्तिले आँखा च्यातेर चारैतिर हेरिन् । ओठ सुक्यो । शान्ति बेचैन भइन् ।

एउटा पसलबाहिर राखेको बेन्चमा बसी आउने–जाने मानिसको मुख अनुहार नियालेर हेर्न थालिन् । समयको कठोर पाइलाले शान्तिलाई कुल्चँदै गयो । उनको कल्पनाले अनुमान खिच्न थाल्यो । अनुमानमा यस्ता चित्रहरू उपस्थित भए, जसलाई देखेर शान्तिको मन भित्रभित्रै डाह, ईष्र्या, प्रतिशोध धप्प बल्यो । उनको आँखामा आँसु थिएन, त्यस बेला ताप चढेको थियो ।

“ल ! दिदी त ह्याँ मजाले बसिरहनु’भा रहेछ... हामी ह्वाँ खोज्दा–खोज्दा कस्तो...।”

शान्तिले झस्केर हेरिन् । गोपीनाथ र सविताको चेहरा रातो–रातो निकै रमाएको देखिन् । सविताले झोलाभित्र हात घुसार्दै भनी, “हेर्नुस्, यी भिनाजुले हजुरलाई कपाल कालो हुने तेल किनिदिनुभएको छ । मलाई स्वेटर बुन्ने ऊन छ, क्रिम छ, पाउडर छ, घरमै गएर हेरूँला सब, हुन्न दिदी...?” 

“हुन्छ, के भो र, यहाँ जम्मै हेरेर साध्य पनि त छैन,” शान्तिले गोपीनाथतिर पुलुक्क फर्केर हेरी जवाफ दिइन् ।
गोपीनाथले भने, “ल, ल, हिँड अब, धेरै बेर भो ।”

बाटोमा सविताले हातको ऊन देखाउँदै भनी, “दिदी, यो ऊनको म भिनाजुलाई स्वेटर बुनिदिन्छु, हुन्न दिदी ?”
“कुन्नि मलाई के सोध्छेस्, सोध्न जसलाई बुन्ने हो,” शान्तिको उत्तरमा हल्का रोष थियो ।

सविता स्वेटर बुन्नमा यति तल्लीन हुँदै गई कि उसलाई दिन बितेको थाहै हुँदैनथ्यो । स्वेटर तयार हुँदै गइरहेको थियो । सन्तोष र सफलताको झलक उसको मुखमा झन्–झन् खुल्दै आइरहेको थियो ।

स्वेटरलाई बाहिरैबाट आफ्नो छातीमा लगाएर हेरी । फूलको बुट्टा राखेको उसलाई साहै्र राम्रो लाग्यो । हातमा स्वेटर झुन्डयाएर रोजको जस्तै सविता भिनाजुको आङ नाप्न गई । भर्याङमा उसको शान्तिसित भेट भो ।

“हेर दिदी, भिनाजुको स्वेटर सिद्धिनै लाग्यो । एकचोटि आङ नापूँ भनेर जान लागेकी । काखी अलिकता सानो हुन्छ कि जस्तो लाग्यो । कस्तो छ दिदी, भिनाजुलाई सुहाउँदैन त, सुहाउँछ हगि ?” सविताले यसरी भनी मानौँ उसलाई अरू कुरा गर्ने फुर्सतै छैन ।

शान्तिको आंठमा बनावटी मुस्क्याइँ फुट्यो । घुटुक्क थुक निलेर उनले जवाफ दिइन्, “यो फूल राखेको सुहाएन, आइमाईले लगाउनेजस्तो भो, बरु मलाई देन यो, म भिनाजुलाई अर्को बुनिदिउँला ।”

“अँ...कस्तो मजाको कुरो, अर्काले कति दुःख गरी बुनेको भिनाजुलाई...,”  सविताले हेलचेक्र्याईंका साथ आँखीभौँ खुम्च्याएर हाँस्तै भनी ।

सविता भिनाजुको कोठातिर दौडी । शान्तिले टोलाएर हेरिरहिन् । रोज–रोज यसरी आङ नाप्ने निहुँले भिनाजुको कोठातिर गइरहेकी सवितालाई देख्ता शान्तिको मनमा त्यो सन्देह जागरूक हुन थाल्यो, जसलाई रोक्नका लागि उनले कयौँ रात नसुती–नसुती बिताएकी थिइन् ।

फलस्वरूप, त्यस दिन राति पनि शान्तिलाई निद्रा लागेन । तीन–चारपल्ट उठिन् । पानी पिइन् । घडी हेरिन् । साढे दुई बजेको थियो । चकमन्न रातमा शान्ति जुरुक्क उठेर सविताको छेउ पुगिन् ।

सविताको सुखद श्वासले उनलाई पोल्न थाल्यो । हो न हो, शान्तिलाई यस्तै लाग्यो कि उनको निद्रा सविताले नै चोरेकी छ । अनायास शान्तिको हातको पन्जा सविताको गोल घाँटीमा पुग्यो । वातावरण बिलकुल नौलो देखियो । तर, धेरै बेर टिक्न सकेन ।

शान्तिको दृष्टि सविताको सिरानबाट च्याएको स्वेटरमा अल्झ्यो । बिस्तारै तानिन्् । स्वेटरको अगाडि पछाडिको पाटा जोडिन लागेको थियो । अनुमान लगाउँदा भोलि बेलुकीपख स्वेटर तयार हुने सम्भावना देखियो । किनभने, सविताको तल्लीनतामा कुनै मानसिक व्रत छ, सायद कुनै बलियो तपस्या ! यस तपस्याले उसको शरीरमा कत्ति पनि शिथिलता र शुष्कता ल्याएको छैन । बरु, स्फूर्ति र तागत चढाएको छ ।

शान्ति सोच्तै जान्छिन् । भोलि बेलुका जब गोपीनाथको आङमा स्वेटर छिर्नेछ, त्यसपछि उनको अधिकारको कुनै मूल्य रहने छैन । गोपीनाथको आङलाई स्वेटरको न्यानोपनाले यति विमोहित पार्नेछ कि फेरि उनले त्यसलाई छोड्न चाहने छैनन् । यो पनि निश्चय छ कि जबसम्म गोपीनाथको आङमा स्वेटर रहन्छ, तबसम्म शान्तिको आत्मा छटपटाइ नै रहन्छ ।

शान्तिलाई यस्तो भान पर्यो, मानौँ उनको अगाडि एउटा भयानक खेलको पर्दा खुल्न लागिरहेछ, जसको पूर्वसूचक घण्टीको आवाज उनको सम्पूर्ण शरीरभर थर्किरहेछ ।

अनि, शान्तिको आकांक्षामा गाँठो पर्दै आयो । हातको स्वेटर चपक्क समातिन् । भन्दछन्, रोग लागेपछि औषधिभन्दा रोगको बाटै छेक्नु जाती । त्यसो भए किन उनले गोपीनाथको आङमा पुग्नुअगावै स्वेटर नजलाइदिउन् । किनभने, स्वेटर अहिले उनको कब्जामा छ ।

यस्तो सोच्ता शान्तिको मनमा सविताउपर अलिकता पनि सहानुभूति आएन भन्न सकिन्न । त्यसैले त उनको ईष्र्याले तत्काल अर्को रूप धारण गर्यो र शान्ति बिस्तारै बिस्तारै स्वेटर उधार्न थालिन् ।

केही क्षणपछि नै उनको यो क्रिया यसरी बढ्दै गयो कि मानौँ कुनै मेसिनको तेज पुर्जाले स्वेटर उधारिरहेछ । उध्रेको ऊन एकातिर फराकिलिँदै गैरहेछ ।

कार्यको यस दौडमा शान्तिको हातले एकबाजि सविताको पिठ्युँमा धक्का लाग्न पुग्यो । सविता ब्युँझी । एक तमासको अनुहार लगाएर दिदीलाई हेरी । डरले काँपेको सानो आवाजमा उसले सोधी, “के भो दिदी, किन उधार्नुुभा यो...?”

शान्तिको स्वेटर उधार्ने क्रिया बन्द भो । उनले दृढ स्वरमा भनिन्, “भिनाजुलाई यस्तो स्वेटर सुहाउँदैन, म आफै बुनिदिउँला...।”

सविताको चेहरा आश्चर्यले लाल भयो । उसले झ्वाट्ट भनी, “यो भिनाजुको हो र, योचाहिँ त दिदीलाई बुनिदिएको । भिनाजुको स्वेटर त हिजै राति लगेर दिसकेँ, कस्तो सुहाएको छ हेर्न जानुस् न, त्यही लगाएर त सुत्नु’भा छ नि ।”

O O O

भिनाजुको स्वेटर : कथाकार परिचय

नेपाली साहित्यिक जगतमा प्रतिष्ठित नाम हो पोषण पाण्डे । कविता र कथा लेखनमा समान रूपमा कलम चलाउने पोषण पाण्डेका कथा पढ्दा अनुभूत हुन्छ, उनका कथामा माटोको सुगन्ध भेटिन्छ । समाज भेटिन्छ । जीवन भेटिन्छ ।

वि.सं. १९८९ सालको माघ महिनामा काठमाडौंको इन्द्रचोकमा जन्मिएका साहित्यकार पाण्डेको लेखनकर्मको थालनी कविताबाट भए पनि उनलाई ख्याति भने कथाकारका रूपमा मिल्यो । तथापि, उनका केही कविताकृति पाठकसमक्ष छन् ।

साहित्यकार पाण्डेको वि.सं. २०२१ सालमा ‘आँखीझ्याल’, २०२५ मा ‘मानस’ तथा २०३२ सालमा ‘हिउँमा परेका डोबहरू’ कथासंग्रहका रूपमा प्रकाशित भयो । पाण्डेको कवितासंग्रह ‘वटवृक्षको उद्घाटन’ २०२५ सालमा तथा २०५२ मा ‘मनसा’ प्रकाशित भयो । केही समयअघि मात्र उनको नयाँ कवितासंग्रह ‘मेरी नैनी’ प्रकाशनमा आएको छ ।

साहित्यसहित विभिन्न क्षेत्रको क्रियाशीलताका लागि अनेकन पुरस्कार तथा सम्मान प्राप्त गरेका पोषण पाण्डेको २०४९ साल वैशाखमा निधन भयो । उनै प्रसिद्ध साहित्यकार तथा कवि पोषण पाण्डेको कथाकृति ‘आँखीझ्याल’का सम्पूर्ण कथाहरू ‘पोषण पाण्डे–तीर्थ सदन’को स्वीकृतिमा धारावाहिक रूपमा हरेक शनिबार प्रकाशित गर्दै जानेछौँ । प्रस्तुत कथा ‘आँखीझ्याल’को पहिलो कथा हो ।

 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २९, २०७८  ०६:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro