site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
परराष्ट्रमन्त्री राणा चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी किन गइन् ?

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा शुक्रबार नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाका ‘तातोपानी’ पुगेकी छन् ।  तातोपानी पुगेकी परराष्ट्रमन्त्री राणाले त्यहाँस्थित भन्सार कार्यालयको निरीक्षण पनि गरिन् । 

त्यतिमात्र होइन, उनले तातोपानी नाका र भन्सार कार्यालयलाई थप व्यवस्थित बनाउन निर्देशन समेत दिएकी छन् । 

पर्यटन प्रवर्धनका हिसाबले पनि सो नाका महत्वपूर्ण रहेको र यहाँबाट चीनको धार्मिक पर्यटकीय स्थल मानसरोबरका लागि सहज हुने भएकाले यस नाकालाई थप व्यवस्थित गर्नुपर्नेमा उनले जोड दिएकी थिइन् ।

परराष्ट्रमन्त्री अचानक चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी पुग्नुपछाडि केही कूटनीतिक सन्देश त लुकेको छैन ?  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएपछि नेपाल र भारतबीच सम्बन्धमा न्यानोपना देखिएको छैन । 

फलस्वरुप नेपालमा प्रधानमन्त्री नियुक्त भएको केही दिनमै भ्रमणको लािग निम्तो दिने भारतले ओली प्रधानमन्त्री भएको नौ महिना बित्दा पनि निम्तो दिएको छैन । प्रधानमन्त्री ओलीलाई भारत भ्रमण गराउने उद्देश्यले परराष्ट्रमन्त्री राणा आफै यो नौ महिनामा तीन पटक भारत पुगिन् । तर भारतले निम्तो गर्ने केही संकेत गरेको छैन । 

गत चैत महिनामा मात्र बिमस्टेक शिखर सम्मेलनको साइड लाइनमा थाइल्यान्डको बैंककमा प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको थियो ।  भेटवार्ता भएपछि दुवै प्रधानमन्त्रीले ‘पोजेटिभ टोन’मा सामाजिक सञ्जालमा आफ्ना धारणा सार्वजनिक गरेका थिए ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल एक्समा मोदीलाई ‘श्री’ र ‘जी’ लगाएर सम्बोधन गरेका थिए । मोदले भने ‘श्री’ र ‘जी’ नलगाई सिधै ‘प्रधानमन्त्री केपी शर्मा ओली’ भनेर सम्बोधन गरेका थिए । 

बैंककमा ओली र मोदीबीच भेटवार्ता भएको करिव दुई सातापछि शुक्रबार परराष्ट्रमन्त्री एक्कासी चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी पुगेकी हुन् । र, त्यहाँ उनले कैलाश मानसरोवर यात्रा र नाकालाई थप व्यवस्थित गराउने कुरा गरेकी हुन् । 

यो कतै हामीलाई वेवास्ता गरै चीनसँग नजिकिन्छौँ भन्ने भारतलाई सन्देश त होइन ? भन्ने प्रश्नमा परराष्ट्र मन्त्रालय स्रोतले भन्यो, “त्यस्तो होइन । एउटा छिमेकी सीमामा गएर अर्कोलाई घुर्कि लगाउने काम नेपालले गर्दैन । सिन्धुपाल्चोकमा एउटा कार्यक्रममा सहभागी हुने क्रममा नजिकै रहेको तातोपानी नाका पनि एक पटक त भन्ने उद्देश्यले त्यहाँ जानुभएको हो ।” 

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार सिन्धुपाल्चोकका नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतले मन्त्रीले एउटा कार्यक्रममा सहभागी गराउन त्यहाँ लगेका हुन् । 

भोटेकोशी गाउँपालिका वडा नं २ अन्तर्गत पर्ने ऐतिहासिक तातोपानी धाराको पुनः निर्माण कार्य सम्पन्न भएको र तातोपानी धाराको नवनिर्मित भवनको उद्घाटन गराउने उद्देश्यले परराष्ट्रमन्त्री राणालाई बोलाइएको थियो । उनी प्रमुख अतिथिको रुपमा भोटेकोशी गाउँपालिका–२ तातोपानी पुगेकी हुन् ।

भवन उद्घाटन कार्यक्रम सकिएपछि नजिकै रहेको तातोपानी नाका निरिक्षण गर्न परराष्ट्रमन्त्री राणा गएकी थिइन् ।  निरीक्षणका क्रममा उनले तातोपानी नाका र भन्सार कार्यालय थप व्यवस्थित गर्न सरकारले आवश्यक पहल गर्ने बताएकी थिइन् । 

परराष्ट्रमन्त्री राणाले अन्तर्राष्ट्रिय व्यापारिक मार्ग काठमाडौँ कोदारी राजमार्गका साथै यस तातोपानी नाकासँग जोडिएका अन्य सडकहरुको पनि स्तरोन्नति गर्न सरकारले आवश्यक पहल गर्ने बताइन् ।

त्यहाँ उनले सिन्धुपाल्चोकका सांसद, स्थानीय जनप्रतिनिधि र अन्य सरोकारवालाहरुसँग पनि कुराकानी गरेकी थिइन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२  १७:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro